आइतवार, 10 जनवरी
पवित्रा सुनार, काठमाडौं, पुस २६- पैसाका लागि अनेक जालझेल भइरहने यो संसारमा एक व्यक्तिले करोडौँको व्यक्तिगत खर्चमा अस्पताल मात्रै बनाइँदिँदै छैनन्, सरसफाइ र मर्मत व्यवस्थापनको जिम्मेवारी पनि आफैले लिएका छन्। भाटभटेनी सुपरमार्केटका प्रबन्धक मीनबहादुर गुरुङले शिक्षण अस्पताल, महाराजगञ्जमा आकस्मिक कक्षका लागि भवन निर्माण, सरसफाइ र मर्मत व्यवस्थापन गर्न लागेका हुन्। अस्पतालले मात्र जिम्मा लिँदा प्रभावकारी नहुने देखेर उनले जिम्मा लिएका हुन्। उनले भने, 'आकस्मिक कक्ष झनै सफा हुनु पर्यो, म यसलाई आफ्नो सुपर मार्केटभन्दा सफा बनाउँछु।'
निर्माणाधीन अत्याधुनिक भवन राम्रो व्यवस्थापनसहित बनाउँदै गरेको उनले बताए। 'पस्ने बित्तिकै बिरामीलाई उपचार हुन्छ भन्नेमा ढुक्क होस्,' भवनबारे उनले भने। गुरुङले स्वर्गीय मातापिताको सम्झनामा भवन बनाइदिँदै गरेका हुन्। 'बृषबहादुर/धनमाया गुरुङ स्मृति आकस्मिक कक्ष' नाम राखिने भवनका लागि उनले ६ करोड ८३ लाख खर्च गर्नेछन्।
साँघुरो आकस्मिक कक्ष भएको शिक्षण अस्पतालमा तीन जनासम्मलाई एउटै शैय्यामा उपचार गर्नुपर्ने बाध्यता छ। भारतले महात्मा गान्धीको नाममा आकस्मिक कक्ष बनाउन लागेको सुनेपछि आफैं बनाइदिने सोच पलाएको गुरुङले बताए। 'एक नर्सबाट यो सुनेपछि भवन आफैं बनाउने निर्णय लिएको हुँ,' उनले भने, 'अरु देशका नेताको नाममा भवन बनाउन लागिएको सुन्दा कस्तो-कस्तो लाग्यो।'
शिक्षण अस्पतालले उनको लगानीलाई नेपालमै ठूलो बताएको छ। 'यति ठूलो सहयोग कुनै पनि नेपालीले गरेका थिएनन्,' अस्पतालको योजना शाखाका सहप्रशासक नेत्रप्रसाद थपलियाले भने। भवन निर्माणसहित भौतिक सामग्रीको व्यवस्थासमेत उनैले गर्दा झन्डै १३ करोड खर्च हुने थपलियाले बताए। उनले भने, 'अरु भौतिक संरचना पनि किनिदिने भनेका छन्।'
चार महिनाभित्रै भवन तयार गर्ने योजना रहे पनि सरकारी प्रक्रियाले ढिलो भएको उनले बताए। स्वास्थ्य संस्थाका लागि निर्माण सामग्रीमा भन्सार छुट दिने प्रक्रियामा अर्थ मन्त्रालयले ढिला गर्दा भवन निर्माण समय लम्बिएको उनले बताए।
सामाजिक उत्तरदायित्व पूरा गर्न मात्र नभई भावनात्मक सन्तुष्टिका लागि भवन निर्माण गर्न लागेको गुरुङले बताए। 'स्वास्थ्य क्षेत्रमा योगदान गर्नु मेरो रुचि हो,' उनले भने।
आफू खोटाङको विकट ठाउँमा जन्मिएको र उपचार अभावले दुःख पाएकाले स्वास्थ्य क्षेत्रमा काम गर्ने रुचि जागेको उनले बताए। 'म किसानको छोरा, बर्षामा भिज्दा तीन दिनसम्म ज्वरो आएको थियो,' विगत सम्झँदै उनले भने, 'भनेको बेला सिटामोल पनि पाइनँ, स्वास्थ्यचौकी टाढा थियो।'
आकस्मिक भवन निर्माणले केही जिम्मेवारी पूरा भए पनि सामुदायिक स्वास्थ्यका क्षेत्रमा थप काम गर्ने सोच गुरुङले लिएका छन्।
६ वर्षभित्र १ अर्ब संकलन गरी प्रतिष्ठान निर्माण गर्ने र सामुदायिक स्वास्थ्यमा लगानी गर्ने योजना उनले बताए। उनले भने, 'मलाई मीनबहादुर नेपाली जनताले बनाएका हुन्, छोराछोरीलाई दिएर मात्र मेरो सामाजिक दायित्व पूरा हुँदैन।'
साभारः नागरिक
















