नेपाल सवाददाता १९ अप्रिल २००९ तदनुसार वैशाख ६, जापान सरकारको अनुदान सहयोगमा निर्माणाधिन बीपी राजमार्गको दोस्रो खण्ड सिन्धुलीमाढी- खुर्कोट खण्डको ३५ किलोमिटर सडकको निर्माण कार्य पूरा भएको छ। बाँकी ९ किलोमिटर सडक निर्माण भएपछि दोस्रो खण्डको निर्माण पूरा भएको हो। यसअघि,निर्माण पूरा भएको सडक मध्ये रतनचुरासम्मको २६ किलोमिटर सडक दुइवर्ष अघिनै नेपाल सरकारलाइ जापानले हस्तान्तरण गरिसकेको छ। चार खण्डमा निर्माण हुने उक्त सडकको अब तेस्रो खुर्कोट-नेपालथोक खण्ड मात्रै निर्माण हुन बाँकी रहेको छ।
तेस्रो खण्ड सडक निर्माणका लागि जापान सरकारसंग सम्झौता नै हुन बाँकी रहेकाले अहिले सडक विभाग र जिल्ला विकास समिति मिलेर ट्रयाक निर्माण गरी यातायात सुचारु गराएका छन्। बिगत दुई महिना यता बीपी राजमार्ग भएर साना गाडीहरु राजधानी आवत जावत गर्न थालेका छन्।
कुल १ सय ५८ किलोमिटर लम्बाईको बीपी राजमार्गको पहिलो खण्ड बर्दिबास-सिन्धुली ३७ किलोमिटर तथा नेपालथोक-धुलीखेल ५० किलोमिटरको चौथो खण्डको निर्माण पूरा भइसकेको छ। तेस्रो खण्ड खुर्कोट नेपालथोक सडकको ३६ किमिमा निर्माण कार्य शुरु गर्न अहिले प्रारम्भिक संरचनागत अध्ययन भई रहेको छ। यो खण्डको निर्माण सुरु भएपछि सम्पन हुन करिब पाँच बर्ष लाग्ने हाज्माताइसेले जनाएको छ। राजमार्गको निर्माण सन् १९९६ देखि सुरु भएको र सन् २०११ सम्ममा निर्माण पुरा गर्ने लक्ष्य राखिएकोमा २०१३सम्ममा पुरा हुने अपेक्षा गरिएको छ। हालसम्म कुल १२२ किलोमिटर सडक निर्माण पुरा भएको छ।
खुर्कोटसम्मको सडक निर्माण पुरा भएपनि औपचारिक उद्घाटन भएको छैन। सडक निर्माण कम्पनी स्रोतका अनुसार बैशाख २७ गते प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण पूरा भई हस्तान्तरण हुन लागेको सडकको औपचारिक उदघाटन गर्ने कार्यक्रम रहेको छ। निर्माण कम्पनीका अनुसार यो सडकको सुरुदेखि नै जापानी निर्माण कम्पनी हाज्माताईसे ज्वाईन्ट भेन्चरको प्रत्यक्ष रेखदेखमा निर्माण हुदै आएको छ। नेपालको पूर्वि तराईका जिल्लालाई छोटो दुरीमा राजधानी काठमाण्डौसंग जोड्ने वैकल्पिक राजामार्ग निर्माणका क्रममा नेपालमा नै पहिलो पटक नयाँ प्रविधि जियोटेकको प्रयोग गरिएको छ।

















