हङकङ ३१ अगष्त। हङकङ सरकारको न्यूनतम तलव निर्धारण समितिले दिएको एक प्रतिवेदनका आधारमा हङकङ सरकारका प्रमुख डोनाल्ड चाङगले कामदारको प्रति घण्टा तलव २८ तोक्न सक्ने सम्भावना छ। उक्त न्यूनतम तलव निर्धारण समितिको गठन आज भन्दा करीब १८ महिना अगाडि भएको थियो। यसका सवालमा आज देखि पुन तिव्र विवाद र बहस हुने भएको छ। गत १७ जुलाई २०१० का दिन करीब ४१ घण्टा लामो छलफल र बहस पश्चात पारित न्यूनतम तलवको मस्यौदाले अझै पनि पूर्ण आकार पाउन सकेको छैन। हङकङमा स्थापित मजदुर युनियनहरुले ३३ हङकङ डलर नै प्रति घण्टा कामदारको ज्याला हुनु पर्ने माग गर्दै आएका छन्।
यदि हङकङ डलर २८ प्रति घण्टा तलव निर्धारण गरिएमा करीब तीन लाख कामदारहरुको मात्र तलव वृद्धि हुनेछ। यसका विरुद्धमा मजदुर युनियनहरु पुनः संगठित भइ आवाज उठाउने जनाएका छन्। व्यापार व्यवसायी भने २८ हङकङ डलर कायम गर्दा पनि धेरै कामदारहरुले रोजगार गुमाउन सक्ने जनाएका छन्। हङकङ सरकारको यो घोषणा अन्तिम नभए पनि त्यसको अन्तिम निर्णय गर्ने अधिकार सरकार प्रमुखलाई भएकोले विश्लेषकहरुका अनुसार हङकङ डलर २८ नै कामदारको प्रतिघण्टा न्यूनतम तलव हुन सक्ने वताएका छन्।
हंगकंगमा अब देखि मजदुर कानुन लागु भए पछि धेरै कामदारहरु लाभान्वित हुने निश्चित भएको छ। अहिले सम्म सबै कम्पनीहरुले आ आफनो मनोमानी कामदारको ज्याला निर्धारण गर्दे आएका थिए। यो नियमले मूलत सुरक्षा गार्ड, फूड एण्ड बेभरेज सरसफाई जस्ता क्षेत्रहरुमा कार्यरत मजदुरहरु धेरै लाभान्वित हुने निश्चित भएको छ। यो नियम आगामी सन् २०११ को मध्य बर्ष देखि लागु हुनेछ।
हंगकंगमा स्थापित सबै मजदुर युनियनहरुले र प्रजातान्त्रिक पार्टीहरुले मजदुरहरुको न्यूनतम ज्याला प्रति घण्टा हंगकंग डलर ३३ नै कायम गरिनु पर्ने माग पुनः गर्ने भएका छन्। सरकार र व्यपार व्यवसायीहरु भने मजदुरको ज्याला प्रति घण्टा हंगकंग डलर ३३ कायम गर्न मज्जुर छैनन। सरकार र व्यनपार व्यवसायीहरु भने मजदुरको न्यूनतम ज्याला प्रति घण्टा हंगकंग डलर २८ देखि २९ डलर सम्म कायम गर्न सकिने जिकिर गर्दै आएका छन्। तथापि सरकारले न्यूनतम तलव निर्धारण समितिले दिएका सुझवालाई कार्यान्वयन गर्दै मजदुरको प्रति घण्टा तलव २८ कायम हुने सम्भावना बढी छ।

















