२०१० जुलाई १५। हङकङमा स्थापित विभिन्न मजदुर युनियनहरुले न्यूनतम ज्यालाको माग विगत बर्ष देखि तीव्र रुपमा उठाउदै आएका छन्। सोही बमोजिम हिजो देखि हङकङको व्यवस्थापिका परिषदमा उक्त न्यूनतम ज्यालाको मस्यौदा उपर व्यापक बहस सुरु भएको छ। उक्त मस्यौदा उपरको बहस सम्भवत आज समाप्त हुने अनुमान गरिएको छ। तर विश्लेषकहरु भने आज पनि व्यवस्थापिका परिषदको बैठक छलफलमै सिमित रहन सक्ने अनुमान गरेका छन्। जसरी भए पनि थोरै वा धेरै जे भएता पनि हङकङमा न्यूनतम ज्यालाको कानुन लागु हुने सम्भवत निश्चित भएको छ। आज वा भोली पक्ष विपक्षमा मतदान हुने निश्चित पनि भएको छ।
हङकङमा स्थापित सबै मजदुर युनियनहरुले र प्रजातान्त्रिक पार्टीहरुले मजदुरहरुको न्यूनतम ज्याला प्रति घण्टा हङकङ डलर ३३ कायम गरिनु पर्ने माग गर्दै आएका छन् भने सरकार र व्यापार व्यवसायीहरु भने मजदुरको ज्याला प्रति घण्टा हङकङ डलर ३३ दिन मन्जुर छैनन्। सरकार र व्यापार व्यवसायीहरु भने मजदुरको न्यूनतम ज्याला प्रति घण्टा हङकङ डलर २४ देखि २५ डलर दिन सकिने जिकिर गर्दै आएका छन्।
न्यूनतम ज्यालाको मस्यौदा उपर आज पनि व्यवस्थापिका परिषदको बैठकमा व्यापक बहस हुने भएको छ। मुख्यत व्यापार व्यवसायी र मजदुर युनियनहरुका बीचमा सहमति हुन सकेको छैन किनकी व्यापार व्यवसायीहरु प्रति घण्टा ३३ डलर न्यूनतम ज्याला कायम गर्ने पक्षमा छैनन् भने मजदुर युनियनहरु भने कामदारहरुको न्यूनतम ज्याला हङकङ डलर ३३ कायम गर्ने अडानमा छन्।
हङकङमा स्थापित प्राय फूड एण्ड बिभरेज कम्पनीहरुले बर्षमा मिलियन मिलियन डलर मुनाफा कमाउछन्। तर कामदारको प्रति घण्टा तलव १९ देखि २० डलर दिन्छन्। यो भेदभावको अन्त्यका लागि सबै एकजुट हुन मजदुर युनियनहरुले सबैलाई आवहान गरेका छन्। तर हङकङमा रहेका व्यापार व्यवसायी र सरकार एकपक्षीय ढङगले लागेकाले मजदुर युनियनहरुले प्रस्ताव गरेको मजदुरहरुको न्यूनतम ज्याला प्रति घण्टा हङकङ डलर ३३ हुने सम्भावना निकै कमी रहेको छ।


















