
रेवत राना
मार्च ५ काठमाण्डौं
नेपाल सरकारले फागुन १७ मार्च १ देखि गैर आवासीय नेपाली एनआरएन लाई परिचय पत्र वितरण शुरु गरेपछि परराष्ट्र मन्त्रालयमा एनआरएन परिचयपत्र लिनेको संख्या क्रमशः बढ्दै गएको छ।
यसरी हङ्गकङ्गबाट पहिलो एनआरएन परिचय पत्र लिनेमा हंगकंग नेपाली डट कमकी फोटोग्राफर अनु थापा मगर रहेकी छिन्। उनी एनआरएन परिचयपत्र लिने दोस्रो महिला पनि बनेकी छिन् । उनलाई परराष्ट्रय मन्त्रालयका उपसचिव श्री सुशिल लम्लासले एनआरएन परिचयपत्र हस्तान्तरण गरेका थिए।
परराष्ट्र मन्त्रालयले जानकारी दिएअनुसार ५५ देशका २६ लाख नेपालीहरुले यो कार्डको सहुलियत लिन पाउने छन् । जुन कार्ड प्राप्त गरेपश्चात् उनीहरुले जग्गा-जमिन राख्न पाउने र लगानी गर्न सक्ने छन्। तर निजी जग्गा जमिनको हकमा भने काठमाण्डौं उपत्यकामा २ रोपनी र तराईमा आठ कठ्ठासम्म राख्न पाउने छन्। लगानीको लागि शुरुमा परराष्ट्र मन्त्रालयमा प्रस्ताव बुझाउनु पर्ने व्यवस्था गरिएपनि स्वीकृती पछि उद्योग विभागबाट काम शुरु गर्न पाउने प्रावधान रहेको छ। यो कार्ड लिए पछि भिसामा १० वर्ष सम्म सहुलियत पाउने छन्।
एनआरएनको विधान अनुसार यो कार्ड पाउन दक्षिण एशियाली मुलुक भन्दा बाहिर न्यूनतम् पनि दुई वर्ष भन्दा बढी समय बिताएको हुनु पर्ने छ। नेपाली मूलका विदेशी राहदानी बाहकले दश वर्ष म्यादको एनआरएन कार्ड प्राप्त गर्ने छ। भने एक सय अमेरिकी डलर र आवश्यक कागजातहरु बुझाउनु पर्ने हुन्छ। यसरी नै विदेशमा रहेका नेपाली राहदानी बाहकले भने दुई वर्षको लागि मात्र कार्ड पाउने छ। उनीहरुको लागि भने दुई सय पचास अमेरिकी डलर शुल्क तोकिएको छ। लामो समय देखि गैर आवासीय नेपालीहरुले दोहोरो नागरिकताको माग गर्दै आएका पछि हाललाई यस्तो व्यवस्था गरिएको स्रोतले बताए।


















