१ मार्च २०१०
मगर संघ हङकङको आयोजनामा २८ फेब्रुअरी २०१० का दिन हङकङको मङकी हिल स्थित बि बि क्यू कन्ट्री पार्कमा विविध कार्यक्रम सहित २८ औं मगर दिवस मनाइयो। विभिन्न अतिथि वक्ताहरुले मगर दिवसको सम्बन्धमा प्रकाश पारेका थिए। प्राय वक्ताहरुले आफनो मन्तव्यमा मगर जातिहरुले नेपाल राष्ट्र निर्माण र राष्ट्रियता जोगाइ राख्नका निम्ति अमूल्य योगदान गरेको इतिहास रहेको वताए। आफनो हक अधिकार सुनिश्चित गर्नका लागि र आफनो भेष भुषा तथा भाषा कला संस्कार संस्कृतिको जगेर्ना तथा संरक्षण र सम्बर्दन गर्नका लागि सचेत मगरहरुले बि सं २०१२ साल देखि भूमिगत रुपमै मगरहरुलाई एउटै सूत्रमा बांधने प्रयत्न गरेको इतिहास रहेको पनि वताए।
नेपालको पश्चिम गुल्मी जिल्लाको भार्सेबाट सचेत मगरहरु भेला भई मगर जातिहरु संगठित हुन सुरु गरेको इतिहास रहेको उल्लेख पनि गरे। बि सं २०१४ फाल्गुन २६ र २७ गते गुल्मी जिल्लाको भार्सेमा पश्चिमांचलमा बस्ने मगरहरुबीच ऐतिहासिक सम्मेलन सम्पन्न भएको थियो। सोही बमोजिम बि सं २०२६ सालमा पेशागत तथा मगर विधार्थीहरुको भेला काठमाण्डौंमा सम्पन्न गर्दै लाङघाली परिवार संघको गठन गरिएको वक्ताहरुले वताए।

बि सं २०३६ सालमा डा हर्ष बहादुर बुढामगरको अध्यक्षतामा नेपाल लाङघाली परिवार संघको गठन भएको थियो। उक्त परिवारले बि सं २०३८ सालमा हेम बहादुर पुनमगरको अध्यक्षतामा नेपाल लाङघाली परिवार संघ केन्द्रिय तदर्थ समिति पुनगर्ठन भई पहिलो महाधिवेशन बि सं २०३९ साल फाल्गुन १५ र १६ गते तनहुँ दमौलीमा पहिलो महाधिवेशन सम्पन्न भएको थियो। सोही दिन मगर जातिहरुको हक हितका खातिर आवाज उठाउने संघ तत्कालीन नेपाल लाङघाली परिवार संघ र वर्तमानको नेपाल मगर संघको स्थापना भएकोले उक्त दिन फाल्गुन १५ लाई मगरहरुले मगर दिवसको रुपमा मनाउंदै आएको पनि वक्ताहरुले आफनो मन्तव्यमा बताएका थिए।
बि सं २०३९ सालमा विधिवत रुपमा नेपाल लाङघाली परिवारको स्थापना गरि विधिवत रुपमा मगर जातिहरु संगठित हुन सुरु गरेका हुन्। नेपालमा विस्तारै आएको स्वतन्त्रताका कारण बि स २०४८ सालमा नेपाल मगर संघको नाम परिवर्तन गरि देश विदेशमा रहेका मगरहरु अहिले नेपाल मगर संघको स्थापना भएको दिनलाई मगर दिवसको रुपमा मनाउने गर्दछन्।
मन्तव्य राख्नेहरुमा प्राय सबै मगरहरु नै भएकोले मन्तव्यहरु मिल्दा जुल्दो रहेको थियो। मगर संघ हङकङका निवर्तमान अध्यक्ष नेत्र पहराईमगर, भू पू अध्यक्षहरु एक बहादुर रानामगर, हुम बहादुर थापामगर, पुनमगर समाजका संस्थापक अध्यक्ष कृष्ण पुनमगर, बुद्ध समाजका अध्यक्ष डेनी थापामगर, मगर बुद्ध समाजका अध्यक्ष प्रेम गलामीमगर, भू पू महासचिव भिम बहादुर थापामगर र हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बुले आआफनो मन्तव्य राखेका थिए।
कार्यक्रमको प्रमुख अतिथि मगर संघ हङकङका भूपू महासचिव भिम बहादुर थापामगर थिए भने कार्यक्रमको सभापत्तित्व संघका अध्यष एमबी थापामगरले गरेका थिए। कार्यक्रमको संचालन महासचिव लालप्रकाश थापामगरले गरेका थिए। मगर दिवसमा उपस्थित सम्पूर्ण मगर तथा गैर मगरहरुलाई संघका उपाध्यक्ष दल पुनमगरले स्वागत गरेका थिए। कार्यक्रमका प्रमुख अतिथिले दीप प्रज्जवलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, पत्रकारहरु र अन्य गन्य मान्य सबै अतिथिका रुपमा रहेका थिए।
हरेक बर्ष प्रकाशन गरिने मुख पत्र कानुड इमको विमोचन प्रमुख अतिथिले गरेका थिए। विमोचन पश्चात सो पत्रिका हङकङ डलर बीसमा बिक्रीवितरण सुरु गरिएको थियो। मगर संघलाई विभिन्न क्षेत्रबाट सहयोग गर्नेहरु र संघको आजीवन सदस्यता लिनेहरुलाई पंशंसा तथा प्रमाण पत्रहरु पनि वितरण गरिएको थियो। कानुड इम मुख पत्रमा संघले हरेक बर्ष आर्थिक प्रतिवेदन तथा जिन्सीहरु कार्य प्रगति प्रतिवेदनमा प्रयाप्त विवरणहरु आफनो सदस्यहरुलाई दिनु पर्ने हुन्छ। तर मुख पत्र कानुड इममा संस्थाको मुख्य बिषय वस्तुहरु समावेश नगरिएकोले कार्यक्रममा उपस्थित धेरैले आश्चर्य मानेका थिए। कार्यक्रम राती अवेर सम्म चलेको थियो।

















