२०१० फेव्रुवरी १५ तारीखका दिन हङकङ स्थित कंघन रेष्टुरेन्टमा नेपाली साहित्य प्रतिष्ठान हङकङद्वारा आयोजित हङकङमा नेपाली साहित्य विषायक अन्तर्क्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भयो। उक्त अवशरमा नेपाली साहित्य प्रतिष्ठान हङकङको दशौं वार्षिकोत्सवमा सहभागी हुन आएका बरिष्ठ समालोचक प्राज्ञ तथा समालोचक प्रा. डा. गोविन्दराज भट्टरार्इ प्रमुख अतिथी तथा धरानबाट आएका भाषाशास्त्री प्रा. डा. टंक प्रसाद न्यौपाने विशेष अतिथी र साहित्यकार तथा पत्रकार प्रदीप सेमी मेन्याङवो अतिथीको रुपमा सहभागी थिए।
उक्त अन्तर्क्रिया कार्यक्रममा प्राज्ञ तथा प्रा. डा. गोविन्दराज भट्टरार्इले उत्तरआधुनिकता एक नयाँ विश्वपरिस्थितीमा नेपाली चेतनाको सन्दर्भ शिर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए। हङकङमा नेपाली साहित्य र प्रा. डा. भट्टरार्इको कार्यपत्र माथी भाषाशास्त्री प्रा. डा. न्यौपानेले टिकाटिप्पणी गरेका थिए। साथै साहित्यकार तथा पत्रकार मेन्याङवोले हङकङमा नेपाली साहित्यले अत्यन्तै चाँडो फड्को मारेको देख्दा आफुलाई गौरव लागेको कुरा बताए। अन्तर्क्रिया कार्यक्रमको दौरानमा बरिष्ठ गायक तथा संगीतकार दिनेश सुब्बा र कवियत्री इप्सुल मगरले कविता वाचन गरेका थिए।
प्राज्ञ तथा समालोचक प्रा. डा. गोविन्दराज भट्टरार्इको कार्यपत्रमा जिज्ञासा उठाउँदै कथाकार प्रदीप कन्दङवा, कवि किराँती भोगेन एक्ले, संगीतकार दिनेश सुब्बा लगायतले उत्तरआधुनिक साहित्य लेखनमा आफुलाई लागेका प्रश्न राखेका थिए। उनीहरुको जिज्ञास मेटाउने क्रममा प्राज्ञ तथा समालोचक प्रा. डा. भट्टरार्इ र भाषाशास्त्री प्रा. डा. न्यौपाने दुवैले पालैपालो विभिन्न विचारहरु पेश गरेका थिए।
सो हङकङमा नेपाली साहित्य विषायक अन्तर्क्रिया कार्यक्रमको सञ्चालन नेपाली साहित्य प्रतिष्ठान हङकङका सदस्य देश सुब्बाले र स्वागत मन्तव्य सदस्य डि.वि.पालुङवाले दिएका थिए। अन्तर्क्रिया कार्यक्रमको अध्यक्षता नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्वाहाम्फेले गरेका थिए।


















