Home मत / मतान्तर पुन मगरहरु पुन जातिमा पहिचान खोजिरहदा बल्झेका यी मनहरु

पुन मगरहरु पुन जातिमा पहिचान खोजिरहदा बल्झेका यी मनहरु

E-mail Print PDF
AddThis Social Bookmark Button
ईन्द्र एलजी थापामगर
मे २१, हङकङ

गत हप्ता नेपालबाट रुद्र श्रीस मगर र मीना थापा मगरले पुन समाज, नेपालको प्रथम राष्ट्रिय सम्मेलन शुरु हुनु भन्दा पहिले र सम्पन्न पश्चात रिपोटीङ गर्नु भएका समाचार र त्यस पश्चात विशेष गरि पुन मगरहरु बीच यसबेला विचार-विमर्श चलिरहेको स्थिति वा घटनाबारे अनभिज्ञता प्रकट गर्न सकिने कुरा भएन। किन भने मगर कै एउटा विशेष महत्व राख्ने थर पुनले थर नभएर जाति भएको दावी गरिरहेको सन्दर्भवमा आफुलाई लागेका केही कुराहरु ओकल्न मन लाग्यो। सायद रगतको नाताले यसो भएको हुनुपर्छ।

पुन मगरहरुले आफुलाई नेपाल मगर संघले बेवास्ता गरेको मात्र होइन मगर भाषा बोल्न नजानेको कारण कतिपय मगरहरुले मगर नभएको भनेको र अन्य मगर भन्दा फरक मौलिक पहिचान, संस्कृति र भेषभुषा लगायतका कारणहरु देखाएर नेपाल आदिवासी जनजाति सूचिकरण कार्यदलका संयोजक प्रा. डा. ओम गुरुङलाई बुझाएको जानकारीको साथ पुन समाजका महासचिव खिमन शेर्पुजाले यदि मगर संघलाई महासंघको रुप दिइन्छ र पुनहरु जस्तै अन्य थरका मगरहरु राना, थापा, आले, बुढा, घर्ती, रोका आदिको पनि समाज बनाएर गइन्छ भने मात्र हामी नेपाल मगर महासंघमा  आबद्ध हुन सक्छौं पनि भनेका रहेछन्। यसरी हेर्दा पहिलो कारण त नेपाल मगर संघले नै यो स्थितिमा पुराएको रहेछ भन्ने हुन्छ। यधपि यसबारे नेपाल मगर संघको आधिकारीक धारण के छ कम्तिमा यसबेला म अनभिज्ञ छु। निश्चितरुपमा यो स्थितिसम्म आउनुमा एउटाको मात्र होइन धेरथोर कमिकमजोरी दुबै तर्फबाट भएको हुनुपर्छ भन्ने मेरो बुझाइ छ। 

जहाँसम्म माथि उल्लेखित कारणहरु कै कारणले पुन मगरहरु मगर जातिबाट छुट्टिएर जानु पर्ने कुनै तुक छैन। पहिलो त मगर संघ हाम्रो साझा घर हो। घरको समस्याहरु घरभित्रै समाधान गर्नु पर्छ। ठूलो घरमा यस्ता समस्याहरु आइनै रहन्छ। समस्या समाधान भएन भनेर जाति नै होइनौ भन्नु कति बुद्विमानी कुरा हो ? भोलि पुनले जस्तै अन्य थरहरुले पनि मगर संघ वा मगर समुदायसंग समस्या भएको कारण देखाउदै जातिबाट बहिरगमन हुदै जाने हो भने नेपाल भूमिबाट मात्र होइन वीर जातिको नामले संसार भर चिनिने मगर जाति नै हुने छैन। त्यस वेला हामी नेपालमा बहुसंख्याक बाट अल्पसंख्यक, सीमाङकृत, अतिसीमाङकृत र लोपमुख जातिकोरुपमा हुनेछौ। के हामीले चाहेको यहि हो त ? 

इमान्दारीताको साथ भन्ने हो भने नेपाल मगर संघलाई यो स्थान सम्म ल्याउन पुन मगरहरुको ठूलो योगदान छ। स्थापक अध्यक्ष हेम बहादुर पुन मगर र भू.पू. अध्यक्ष कविराज पुन मगर लगायत धेरै समाजसेवीहरुको पसिना भिजेको छ। अहिलेको समितिमा पनि वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष लगायत सदस्यमा पुन मगर छन्। यति हुदाँहुदै पनि कसरी नेपाल मगर संघ र पुन समाजबीच यस स्थिति सृजना भयो ? विचारणीय र सोचनिय छ।

प्रशंग म म्याग्दीवासी हुँ। म्याग्दी, बाग्लुङ लगायतका त्यस क्षेत्रमा कुनै पनि मगरहरु मगर भाषा बोल्दैनन्।  स्वयं मैले परिचयको क्रममा धेरै ठाँउमा मगर परिचय दिदाँ मगर भाषा नबोलेको कारण मगर होइनौ भनेर कतिपय मगर मित्रहरुले व्यङ्ग गरेका छन्। हेयको हिसाबमा होइन। जुन कुरा पुन दाजुभाइहरुले पनि अनुभाव गरेका रहेछन्। यसलाई हामीले अनर्थ लगाउनु हुदैन। बरु अन्य क्षेत्रका मगरहरु जस्तै हाम्रा क्षेत्रका मगरहरु किन मगर भाषा बोल्न नसेको हो ? कसरी यस क्षेत्रमा मगर भाषा लोप हुन गयो ? आदिबारे खोज अनुसन्धान गर्ने तिर लाग्ने हो भने हाम्रा भावि सन्ततिका लागि एक कदम आगाडि बढ्नेछौ।

अर्को कुरा क्षेत्र वा ठाँउ विशेषमा जातिय समाज खोल्नु धेरै राम्रो हुन्छ नकि थरहरुको नाममा समाज खोल्नु। किन कि थरको नाममा खोलिएका समाजहरु त्यो जातिको लागि कालन्तरमा घाटक हुन्छ भन्ने मेरो विचार हो। यसले जाति भित्र विभेद ल्याउन मद्दत गर्छ। किन भने स्वभाविकरुपमा यस किसिमको समाजले जातिलाई भन्दा थरलाई महत्व दिन्छ। त्यसवेला बहुसंख्यक र सक्षम थरहरुले अल्पसंख्यक तथा असक्षम थरहरुमा मनोवैज्ञानिक असर परेको हुन्छ। त्यति मात्र होइन साँगठानिक संरचना बलियो हुदै गयो भने त्यसैको भरमा जे जस्तो निर्णय पनि हुन सक्छ। जुन हामीले यसबेला देखि रहेका छौ।

जहासम्म अन्य मगर भन्दा फरक मौलिक पहिचान, संस्कृति र भेषभुषा लगायतका कारणहरुले पुनहरु मगर नभएको र पुन जाति भएको भन्ने सवाल छ यो खोज र अनुसन्धानको विषय हुन सक्छ। डा. केशर जंग बरालको प्रतिवेदन ( वि.सं.२०४० ) अनुसार थापा ५५६, आले २५०, राना १८६, घर्ति ६२, पुन ५४, बुढाथोकी ३२ गरी जम्मा मगरका थर १,१४० भएको थाहा हुन्छ। यधपि पुन मगरहरुको थरबारे पुन मगर समाज हङकङको साँगठानिक प्रतिवेदन अनुसार करिब डेढ दर्जन, मेजन पुन मगर ( कानूङ लाङ्घा, वर्ष २ अंक २ ) अनुसार ३० उल्लेख भएको पाइन्छ। यस हिसाबले मगर थरहरुको वास्तविक संख्याबारे गहनरुपमा खोज अनुसन्धान गरी लिपिबद्व गर्नु पर्ने देखिन्छ। सायद यति धेरै थर र उपथरहरु नेपालमा मात्र होउन विश्वमै सायद पाइएला यधपि यो पनि खोजको विषय बन्न सक्छ। प्रशंग ल्याउनु कारण यति धेरै थरहरुमा विभाजित हामी मगरहरु नेपाल भरीनै छौ। देश, काल, परिस्थिति र स्थानीय समाजको स्वरुप अनुसार भेष भुषा, भाषा, संसस्कृति, रितिरिवाज र रहनसहन आदिमा फरक पाइन्छ। यसैलाई आधार बनाएर छुट्टै जातिको पहिचान खोजिन अत्यन्तै गम्भीर विषय हो। मगर जाति भनेको थर, उपथर युक्त फूलहरुले भरीएको रंगीन फूलबारी हो। हामीले विभितामा एकता देख्नु पर्छ अन्य अर्थमा होइन।

यस बेला पुन मगरहरु पुन जातिको लागि ठूलै कसरत गरिरहेको देखिन्छ। जुन कुरा पुन समाज नेपालको प्रथम सम्मेलन र त्यस सम्मेलनले घोषणा गरेको १४ बुँदाहरुले प्रष्ट्याउछ। त्यति मात्र होइन आधिकारिकरुपमा मगर संघको उपस्थिति नहुनु र गैर मगर संघ अर्थात नेपाल जनजाति महासंघको अध्यक्ष प्रमुख अतिथि हुनुले पनि स्थितिबारे सजिलै आँकल गर्न सकिन्छ। यस बेला नेपाल मगर संघ र नेपाल मगर विधार्थी संघले के गरिरहेको छ ? मगर बुद्वजीवीहरु के गरिरहेका छन ? घरको इट्टाहरु  खसिरहदा घरको संरक्षण कर्ताहरु के गरिरहेका छन ? आदि/इत्यादि यस बेला मगर एकता र जातिय पहिचान चाहने आम मगरहरु प्रश्न गरिरहेका छन। यसको समाधानको पहल गर्न नलागेर किन सबै मौन बस्न चाँहन्छन् ? औसत उपल्ला दर्जाका मगर लेखकहरु किन चुप बसेका छन ? बुझ्न सकिएको छैन। त्यति मात्र होइन पुन मगरका प्रवुद्व वर्गहरु, ठुला राजनैतिक पार्टीहरुमा जिम्मेबार बहन गरेका राष्ट्रिय स्तरका नेताहरु, समाज सेवीहरु किन गम्भिर देखिदैनन् ? के यस प्रकारको समस्यालाई समाधान गर्न हामीबीच सहजकर्ता वा मध्यस्थाकर्ता गर्न सक्ने कोही छैनौ ? की चाहेका छैनौ ? निश्चयनै यसो हुनु दु:खको कुरा हो। मृत्यु पछिको औषधिको के अर्थ ?

यसो त स्वंय नेपाल सरकारले जातिको विकास होइन विनाश चाहिरहेको छ। किन भने आदिवासी जनजातिको पहिचान दिने नाममा जाति हुन तपशिलका मापदण्ड पुगेमा घोषणा गरिरहेको छ। यसले समग्र जातिहरुलाई फाइदा गर्दैन। हिजो केही संख्यामा रहेका आदिवासी जनजातिहरु ५४ हुदै ५९ र भर्खरै डा. ओम गुरुङको संयोजकत्वमा गठित नौसदस्यीय कार्यदलको प्रतिवेदनमा नयाँ सूचीकरणमा २२ नयाँ थपी ८१ जनजातिको नाम प्रस्ताव गरिएको छ। जस्को लागि १३२ जनजातिहरुले कार्यदलमा  निवेदन दिएका थिए। यी जनजातिहरु अन्य देश वा ग्रहबाट आएका होइनन्। यहीका आदिवासी भित्रबाट तपशिलका मापण्द पुरा गरेर भएका हुन ती जाति वा थर वा व्यावसाय वा केही हुनसक्छन्। प्राविधिकरुपमा मापदण्ड पुरा ग-यो भनेर जातिय संरचनामा विग्रह वा विभाजन लिने काम जसरी शुरु भएको छ यसका पछाडी जातिय अस्तित्व र एकताको विरुद्व षड्यन्त्रको आवास देखिन्छ। यसमा सबै सचेत हुन पर्ने देखिन्छ। यदि थरलाई पनि जनजातिमा सुचीकरण हुदै गयो भने कुनै जाति भित्रका महात्काँक्षी वा सन्की व्यक्तिले आफ्नो थरलाई छुट्टै जातिय पहिचानको लागि समाजलाई आन्दोलित ग-यो भने नेपालका जातिहरुको भविष्य सोचनिय हुनेछ। त्यसवेला नेपाल अहिलेको डेढसय जातिको होइन, केहि हजार जातिको नेपाल हुनसक्नेछ।

मलाई यसबेला केही वर्ष पहिलेको पूर्वी नेपालमा भएको घटनाको सम्झना आएको छ। त्यो के भने त्यसवेलाको स्थिति अनुसार धेरै लिम्बुहरु राई जाति भएका रहेछन। समयान्तरमा जातिय पहिचान र एकताको भावनाले सप्रमाण जिल्लामा गएर राई हटाएर लिम्बु बनेको र गुरुङ बनेका तामाङहरु पुन तामाङ बनेको घटना सम्झी रहदा जुत्ने होइन फुत्ने स्थितिमा रहेको आफ्नो समुदाय देख्दा मन भारी भएको छ।

गत आइतबार नेपालमा जनजाति तथा वैकल्पिक विकास अध्ययन केन्द्रले आदिवासी जनजातिको सूचि परिमार्जन उच्चस्तरीय कार्यदलका संयोजक प्रा.डा.ओम गुरुङ अन्य सदस्यहरु तथा आदिवासी विज्ञ पत्रकार, आन्दोलनकर्मी र व्यक्तित्वहरुबीच आदिवासी जनजाति पुनः सूचिकरण, वास्तविक आदिवासी जनजाति को को  ? खस क्षेत्री आदिवासी हो की होइन ? सूचि परिमार्जन प्रतिवेदनमा के छ ? यसले आदिवासी जनजातिमाथि पार्ने प्रभाव के र कति ? बारे छलफल सम्पन्न गरेको छ। निश्चय नै यस किसिमको छलफलहरुमा भएका निषकर्षहरु सम्बन्धी जाति वा समुदायहरुलाई सूचित वा जानकारी गराउनु पर्छ होइन भने यसको महत्व रहदैन।

अन्तमा, यसबेला म सोचि रहेको छु। सोह्रौ होइन विसौ लाख मगरको पहिचान युक्त एशियाका नोबेल पुरस्कार प्राप्त महावीर पुन मगर, दोस्रो विश्व युद्वमा व्रिटिश सैनिकको सर्वोच्च पदक भि.सी. प्राप्त व्यक्ति तुल बहादुर पुन मगर र नेपाल मगर संघका संस्थापक अध्यक्ष हेम बहादुर पुन मगर लगायतका थुप्रै स्थापति व्यक्तित्वहरुको ती छातीहरुलाई केही सय हजार जातिको पहिचानमा खुम्चाउदा वहाँहरुको त्यो उच्चाइको स्वाभिमानमा कस्तो आँच आउछ ? हाम्रा पुन मगर दाजुभाइहरुले गम्भीर भएर एक चोटि फर्केर सोच्नु पर्छ। त्यति मात्र होइन नेपालको तेस्रो ठूलो बहुसंख्यक जातिबाट अल्पसंख्यक जातिको नाममा पहिचान दिदा के साच्चै आत्मसन्तुष्टि मिल्छ ? पुन भनेका मगर जाति हुन भन्ने आदिकाल देखिको वास्तविक इतिहाँस र धरातलीय यथार्थ जग जाहेर हुदाँहुदै मगर होइनौ भनेर भनिरहदा कतै अधिकास पुन मगरहरुको स्वाभिमान र भावनामा चोट पुराउने कार्य त भएको छैन ? यसबारे पुन समाज, नेपालका पदाधिकारीहरु र अगुवाहरुले ठण्डा दिमागले सोच्नु पर्छ। आशा गरौ, अहीलेको यस घडीमा हामी मगरहरु घाउमा नुन र खुर्सानी छर्कने होइन संजीवनी युक्त मलमबनेर समस्यारुपी घाउको उपचार गरौ।

र मैले जानकारी पाए अनुसार हङकङमा रहेका प्रबुद्व पुन मगरहरु यसवेला विचार विमर्श गरिरहेका छन्। निश्चय नै यसले समस्या समाधान गर्नलाई सहयोग गर्ने छ। यस किसिमको पहल देश विदेशमा रहेका पुन मगरहरुको विशेष भूमिका हुन्छ भन्ने कुरा विर्सनु हुदैन। यसो त नेपाल मगर संघको भूमिकालाई कम आक्नु हुदैन र हामी मगरहर यसबेला भाइ फुटे गबारा लुटे भन्ने उखान नभुलौ। सबै मगरलाई चेतना भया।  

 

Latest News