HongKongNepali.com, The Next Media

Thursday
Oct 23rd
Home मत / मतान्तर ताररहित ईन्टरनेट, डा. महावीर पुन र गैर आवासीय नेपाली संघ

ताररहित ईन्टरनेट, डा. महावीर पुन र गैर आवासीय नेपाली संघ

E-mail Print PDF
AddThis Social Bookmark Button
ईन्द्र एलजी थापामगर
नोभेम्बर १५

नोभेम्बर ८ तारिख, बि.बि.सि. नेपाली प्रसारणमा ताप्लेजुङ संवाददाता सीता निरौलाको समाचारमा ताप्लेजुङको विकट गाँउ, वलाङचुङ गोलाकी एक महिला विदेशमा रहेका आफ्नो छोरासँग टेलिफोन गर्न ४ दिन लगाएर सदरमुकाम दुई पटक आएको तर टेलिफोनको समस्याको कारणले फोन गर्न नसकेको दु:खेसो उनकै आवाजमा सुन्दा मन दु:खले भरियो। एक कल फोन गर्न ४ दिन लगाएर आउँदा उनले कति शारिरिक दु:ख भोगेकी होलीन् ? ४ दिन सम्म घरको कामकाज अझ वालवच्चा रहेछन् भने तिनीहरुको हेरविचारको व्यवस्था कसरी गरिन् होलीन् ? आदि/ईत्यादि थुप्रै समस्याका प्रश्नहरु श्रव्यदृश्य झैँ मेरो सामु आइरहयो। मलाई लाग्छ वलाङचुङ गोलाकी ती महिलाले देशभरका दूर्गम पहाडी गाँउहरुको प्रतिनिधित्व गर्छिन्। यधपि नेपाल सरकारले सबैको घरघरमा ईन्टरनेट र हातहातमा मोबाईलको व्यवस्था गर्ने योजना बताइरहे पनि वास्तविक स्थिति यस्तो छ।

झल्याँस्स सम्झेँ, एसियाको नोवेल मानिने रामोन म्याग्सेसे पुरस्कार प्राप्त गर्ने डा. महावीर पुन, उनको नेतृत्वमा शुरु भैरहेको ताररहित ईन्टरनेट, यसबाट पुर्याउन सकिने सुविधाहरु, यसको लागि उनले विदेशमा बस्ने नेपालीहरुबीच शुरु गरेका ‘वन डलर अ मन्थ’ अभियान र गैर आवासीय संघ। सोचें यसपटक यसै सन्दर्भवमा मत/मतान्तर किन नलेखुँ ?

डा. महावीर पुन विगत एक दशक देखि आफ्नो जन्मस्थान म्याग्दीको नाङ्गी देखि शुरु गरेर अहिले देशका दुर्गम पहाडी क्षेत्रहरुमा ताररहित ईन्टरनेट प्रविधिको संजाल बिच्छाइरहेका छन्। औसत नेपालीहरुको सपनाको देश सोच्ने विश्वको वैभवशाली देश अमेरिकाको केयर्नी स्थित नेब्रस्का विश्वविधालयबाट उनले उच्च शिक्षा हासिल गरेर त्यहाँ नबसी सिधै जन्मस्थान नाँङगी गएर कर्म क्षेत्र रोजे। २४ वर्ष पछि आफ्नो जन्मस्थान जाँदा कसैले नचिनेको बताउने डा. महावीर पुनको सत्य कथा एका देशको कहानी जस्तो लाग्छ हामीलाई। तत्पश्चात उनले स्वयंसेवकको रुपमा अहिल नाँङगी देखि देशका दूर्गम पहाडी गाँउहरुमा आफ्ना पैतला खियाइरहेका छन्। औसत नेपालीहरुको सपना भन्दा फरक सोचका साथ तपस्या गरिरहेका छन् नेपाल र नेपालीको लागि।

निरन्तर ७ वर्षको अथक प्रयास पछि सफलता प्राप्त भएपछि चरणवद्वरुपमा म्याग्दी, पर्वत, कास्की, पाल्पा, मकवानपुर, दोल्खा, बझाङ र खुम्बुका ४२ वटा दूर्गम पहाडी गाँउहरुमा यो सुविधा उपलब्ध भैसकेको छ भने अहिले म्याग्दीका प्राय: सबै गाँउहरुमा यो सुविधा पुगिसकेको र बाग्लुङ, गोर्खा, गुल्मी र रसुवाका केही गाँउहरुमा पुर्याउने कार्य भैरहेको छ।

उनको ताररहित ईन्टरनेटको सुविधा उपलब्ध भएका गाउँ वस्तीहरुमा निम्न कार्य गर्ने योजना रहेको छ।

१. दूर्गम पहाडी गाँउ वस्तीहरुका सरकारी विध्य्यालयमा समयमै पाठ्यक्रम नपुग्ने र कक्षा संचालन गर्न नसक्ने अवस्थामा पाठ्यक्रमहरु ईन्टरनेट मार्फत उपलब्ध गराउने साथै टेलिटिचिङ गर्ने।
२. शिक्षक/शिक्षिका तथा स्वास्थ्य कार्यकर्तालाई समय अनुसार तालिम तथा प्रशिक्षण गराउने।
३. टेलिमेडिसनको सुविधा गराउने। 
४. गाँउलेहरुलाई उनीहरुसँग सम्बन्धित उपयोगि सूचना जस्तै कृषि, स्वास्थ्य, मनोरञ्जन आदिबारे नेपाली भाषामा तयार गरी प्रचार प्रसार गर्ने।
५. सस्तोमा ईमेल, ईफ्याक्स र ईन्टरनेट फोनको सेवा उपलब्ध गराउने।
६. ई व्यावसाय, रेमिट्यान्स र पर्यटकहरुलाई क्रेडिट ट्रान्ससेसन सुविधा आदि।

आजको विश्व सुचना र संचार बिना कुनै पनि विकास मात्र होइन, सामान्य जीवनबारे पनि कल्पना गर्न सकिदैन। सायद यही बुझेर डा. महावीर पुन यो महायज्ञमा होमिएका होलान्। उनको अनुसार यो सोचाइ असम्भव छैन किनभने अहिले २५ लाख गैर आवासीय नेपाली रहेको अनुमान गरिएको छ। ती मध्ये जम्मा ५% ले मात्र महिनाको १ डलर सहयोग गर्ने हो भने पनि हरेक महिना सवा एक लाख डलर संकलन हुन्छ। उक्त रकम भनेको झण्डै १ करोड रुपैयाँ हो। यो रकम सहि तरिकाले प्रयोग हुने हो भने असम्भव नै छैन।

यसैले पछिल्लो समय अर्थात १/२ वर्ष देखि ‘वन डलर अ मन्थ’ अभियान शुरु गरेका छन्। यो अभियान अमेरिकाबाट शुरु गरेर अहिले बेलायत, हङकङ, सिङ्गापुर, जापान, क्यानाडा, अष्ट्रिलिया, बेल्जियम, कोरिया लगायतका देशहरुमा संयोजक समितिहरु गठन भै सहयोग संकलन कार्य भैरहेको छ।

गत डिसेम्बर महिनामा झण्डै १ हप्ताको लागि पुन मगर समाज, हङकङको निमन्त्रणमा आएका डा. महावीर विभिन्न संघ/संस्थाहरुको कार्यक्रममा र विशेष गरी ‘वन डलर अ मन्थ’ कार्यक्रममा वहाँले ‘वन डलर अ मन्थ’ अभियान भनेको के हो ? ताररहित ईन्टरेनेट नेपाल जस्तो देशमा किन आवश्यक छ ? यसले समाजमा के, कस्तो परिवर्तन गरिरहेको छ ? विकासको लागी सूचना प्रविधिको महत्व कति छ ? आदिबारे हङकङबासी नेपालीहरुलाई प्रष्ट्याएका थिए। मसँगको अन्तर्वार्ता, ‘वन डलर अ मन्थ’ अभियानले देशभरका दूर्गम पहाडी तथा तराईका गाँउहरुमा ताररहित ईन्टरनेट सुविधा उपलब्ध गराउने, त्यो भन्दा अझ ठूलो नेपालीहरुबीच भावनात्मक एकता बढाउने र एक डलर अर्थात थोरै पैसाले पनि देशमा ठूलो विकास कार्य गर्न सकिन्छ भन्ने कुरा नेपाली र संसारका अन्य मानिसहरुलाई देखाउन सकिन्छ, उनले भनेका थिए।

अहिले सम्म हङकङबाट संकलित ने.रु. चार लाख पचास हजार पठाइसकिएको समितिका कोषाध्यक्ष दल सेर्बुजाले बताए भने ६ महिना, १, २, ३ र ५ वर्षका लागि सहयोग गर्न साधारण सदस्य बन्ने संख्या झण्डै तीन सय पुगेको र बन्ने क्रम जारी रहेको समितिका संयोजक नेत्र पहराईले बताएका छन्।

यसैले यसवेला यस अभियान मार्फत गैर आवासीय नेपालीहरुले आफ्नो ठाँउबाट देश प्रति सदभाव देखाउने अवसर पनि हो। गैर आवासीय नेपालीहरुले अहिले विश्वभर ५५ देशमा आधिकारी रुपमा संघ स्थापना गरिसकेको जानकारीमा आएको छ। यहि अक्टोबर १३-१५ मा सम्पन्न चौथो विश्व गैर आवासीय सम्मेलनले ‘शान्त र समृद्व नेपाल, हाम्रो साझा सपना’ मूल नाराको साथ १९ वुँदे ‘चौथो गैर आवासीय नेपाली विश्व सम्मेलन २००६६ काठमाडौं घोषणा पत्र’ जारी गरिएको छ। उक्त घोषणा पत्रको वुँदा नं.८ मा उल्लेख गरिएको प्रतिबद्वतालाई विशेष गरि सम्झनु पर्ने हुन्छ। यदि ५५ देशमा स्थापित गैर आवासीय नेपाली संघले यस विषयमा गम्भिर भएर लागिपर्ने हो भने डा. महावीर पुनले भने जस्तै केहि वर्ष भित्रमा देशलाई सूचना प्रविधि युक्त बनाउन सकिन्छ। यो विकासको सबै भन्दा पहिलो आधारभूत संरचना भित्र पर्छ भन्ने बारेमा सायद विमत छैन होला। स्वयं उनको एकल पहलमा यति धेरै कार्यहरु भैरहेको सन्दर्भमा यदि विश्वभरका गैर आवासीय नेपाली संघले ‘वन डलर अ मन्थ’ अभियान वा आर्थिक संकलन गर्ने कुनै योजना लिएर ‘होस्टेमा हैँसे’ गर्ने हो भने केहि वर्षमा हामीले नेपाललाई कम्तिमा यस क्षेत्रमा अन्य देशहरुको दाँजोमा पुराउन सक्छौँ।

डा. महावीर पुन प्रति कसैको शंका छैन। उनी समाजको गरीबी, पछौटेपन, अशिक्षा आदिका विरुद्व लडिरहेका सच्चा सिपाही हुन्। यस्ता सामाजिक नेता नेपालले पाउनु गौरवको विषय हो। हामीलाई थाहा छ, नेपाल जहाँ वर्षेनी अरवौ रुपयाँ सरकारी तथा गैर सरकारी निकाय मार्फत आर्थिक सहयोग विभिन्न विकासको नाममा भित्रिने गरेको छ तर ती सबै बालुवामा पानी खन्याए जस्तै भएको छ भन्दा सायद धेरै विवाद नहोला की ? यस्को मुख्य कारण भनेको इमान्दारीपूर्वक सही ठाँउमा कार्यन्वयन नहुनु हो। यस समय हामीलाई चाहिएको वास्तवमा इमान्दारीपूर्वक सही ठाँउमा कार्यन्वयन गर्न सक्ने नेता चाहिएको छ। त्यस किसिमको नेतृत्व गर्न सक्ने खुवी भएको सामाजिक नेता डा. महावीर पुनको विकल्प सायद कमै होलान्। यदि विश्वभर स्थापित गैर आवासीय संघले कम्तिमा सूचना प्रविधि क्षेत्रमा लगानि गर्ने हो भने निसंकोच डा. महावीर पुनलाई पुरा जिम्मा दिँदा सायद फरक पर्दैन होला। ‘हामी डलर दिन्छौ, तिमी सूचना प्रविधि युक्त देश बनाउ’ भनि जिम्मा दिन संघले सायद ढिला गर्नहुदैन।

र अन्तमा, ‘थोपा थोपा जम्मा गरि घैला’ भर्ने नेपाली उखान यसवेला गैर आवासीय नेपाली संघले सम्झे वलाङचुङ गोलाकी महिलाले केहि वर्ष पछि आफ्नै गाँउबाट चाहेको वेला विदेशमा रहेका छोरासँग कुरा गर्दा त्यसवेला ती महिला कति खुशी होलीन् ? यस्तै थुप्रै खुशीहरु सोच्दै छु।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

Good News!

free counters

(Since April 2009)