चुरा थापा
डिसेम्बर ३१ २००८
हंगकंगबाट फर्म फाइभ सकेर अहिले आइभीइ दोस्रो वर्षमा अध्ययनरत तक बहादुर थापाका अनुसार एउटा कक्षामा कम्तिमा पनि ३० जना विद्यार्थी हुन्छन् । त्यसमा एक दुई जना नेपालीहरु बाहेक अन्य सबै चिनियांहरु नै हुन्छन् । अनि त शिक्षकले पनि वाध्य बनेर चाइनिज भाषामा कक्षा चलाउछन् । उनले सन २००५ मा यहांको डेलिया माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा सकेका थिए । माध्यमिक शिक्षामा उनले दोस्रो भाषा प्रुेन्च लिएका थिए । तर अहिले फ्रेन्च भाषा पढेको कुनै काम आएको छैन । जताततै चाइनिज भाषाको मात्र माग छ हंगकंगमा । रोजगारी व्यापार व्यवशाय तथा अध्ययन र अन्य व्यवशायिक तालिमका क्षेत्रहरुमा चाइनिज भाषा नजान्नेहरुका लागि कुनै अवसर उपलब्ध छैन ।
भाषा ज्ञान भनॆको कुनै पनि समाजको प्रवेशद्धार जस्तै हो । यदि कसैले सो भाषा जानेको छ भने उक्त समाजको गुह्य कुरा सजिलै पत्ता लगाउन सक्छ । तर भाषा जानेको छैन भने उ आफैं बसेको ठाउं समुदाय र समाजको बारेमा कौडी बराबरको ज्ञान पनि हासिल गर्न सक्दैन । त्यसैले कुनै पनि भाषा सिक्नु भनेको उक्त भाषासंग सम्बन्धित सभ्यताको सुनौलो भकारीमा प्रवेश गर्ने सांचो हासिल गर्नु जस्तै हो । तर अर्कोतर्फ भाषा अज्ञानता भयो भने मानिसले यो संसारमा कहीं कतै ठाउं पाउन सक्दैन सिवाय कसैले दया गरेमा ।
हंगकंगका नेपालीहरुको अगाडि अहिले आफ्ना नानीहरुलाई कुन भाषा सिकाउने होला वा कुन भाषामा शिक्षा दिलाउने होला भन्ने विषयमा ठूलो द्धिविधा खडा भएको छ । विगत एक दशक भन्दा बढी समयदेखि नेपालीहरु हंगकंगमा नागरिक जीवन बिताउदैं आइरहेका छन् । र प्रायः जसो मानिसहरुले विगत एक दशकको अवधिमा आफ्ना नानीहरुलाई यहांका अंग्रेजी माध्यम विद्यालयहरुमा अध्यापन पनि गराउंदै आएका छन् । वर्षको एक पुस्ताका दरले माध्यमिक शिक्षा उत्तीर्ण गरेको मान्ने हो भने पनि अहिलेसम्म कम्तीमा पनि दश पुस्ता नेपालीहरुले हंगकंगका विद्यालयहरुबाट माध्यमिक शिक्षा पूरा गरेका छन् । यो दश वर्षको अवधिमा कम्तिमा पनि एक एक जना डाक्टर वा इन्जिनियर नेपालीहरु हंगकंगमा जन्मनुपर्ने हो । तर यस मामलामा नेपालीहरुको उपलब्धि सून्य प्रायः रहेको छ । अरु त अरु हंगकंगको एचकेरसीइइ (HKCEE) र एचकेएल सकेर निस्कने विद्यार्थीहरुले समेत यहांको विश्वविद्यालयहरुमा भर्ना समेत पाएका छैनन् । यसको एउटै कारण हो चाइनिज भाषा ज्ञानको अभाव । किनकि अधिकांश जसो नेपाली र अन्य गैर चिनियां मूलका बासिन्दाहरुले आफ्ना नानीहरुलाई यहांका अंग्रेजी माध्यमका विद्यालयहरुमा पढाउंदा उनीहरुले अंग्रेजी बाहेक दोस्रो भाषामा फ्रेन्च उर्दु तथा हिन्दी भाषा लिएर माध्यमिक शिक्षा उत्तीर्ण गर्दछन् । तर माध्यमिक शिक्षा सकिएपछि ती कुनै पनि भाषाहरुको हंगकंगमा उपादेयता नै रहन्न । त्यसैले विश्वविद्यालयहरुमा उनीहरुले भर्ना पाउनै मुश्किल पर्दछ । एकाध भर्ना पाउनेहरु पनि साना तिना व्यवसायिक तालिमको लागि मात्र पाएका छन् ।
अहिले हंगकंगका गैर चिनियां विद्यार्थीहरुको लाथि माध्यमिक शिक्षापछिको रोजाइ बनेको छ यहांको लागि व्यवसायिक तालिम दिने संस्था आइ।भि।इ। । हंगकंग सरकारले यहांको माध्यमिक शिक्षामा अनुत्तीर्ण हुने विद्यार्थीहरु पनि पछि नपरुन् भन्ने ध्यय राखेर व्यवशायिक तालिमको लागि खडा गरेको संस्था हो आइभिइ । अहिले करीब १०० जति नेपाली विद्यार्थीहरु आइभिइमा होटेल व्यवशाय तथा बिजनेस एडमिनिस्ट्रेसन विषय लिएर अध्ययन गरिरहेका छन् । त्यस बाहेक यहांको सबैभन्दा ठूलो विश्वविद्यालय हंगकंग विश्वविद्यालयमा अध्ययन गर्ने नेपालीहरु पुगनपुग आधा दर्जनको हाराहारीमा भएको अनुमान गरिएको छ । ती मध्ये धेरैजसो नेपालमै कम्तिमा पनि स्नातक सकेर आउनेहरु नै रहेका छन् । हंगकंगका स्थानीय विद्यालयहरुमा अध्ययन गरेर विश्वविद्यालय प्रवेश गर्ने नेपालीहरु शायदै होलान् ।
हुन त हंगकंगको माध्यमिक शिक्षामा राम्रो अंक ल्याउन नसक्नेहरुले पनि आइभिइमा करीब चार पांच वर्ष अध्ययन गरे भने फेरि विश्वविद्यालय भर्नाको अवसर पाउन सक्छन् । नभए पनि दक्ष इन्जिनियर वा नस्र बन्न सक्छन् । तर चिनियां भाषा नजान्नेहरुका लागि भने यो अवसर उपलब्ध छैन भन्दा पनि हुन्छ । उनीहरुका लागि उपलब्ध अवसर भनेको होटेल व्यवशाय तालिम र बिजनेस एडमिनिस्ट्रेसन विषय पढ्न पाउने मात्र हो । आइभिइमा उपलब्ध अन्य सबै विषयहरु चाइनिज भाषामा पढाइ हुने हुनाले आफुले भने जस्तो विषयमा तालिम गर्न नपाएको गुनासो गर्दछन् यहांका अधिकांश गैर चिनियां विद्यार्थीहरु ।
हंगकंगमा नेपालीहरुको जनसंख्या अत्यन्त सानो रहेको छ । सन् २००२ मा सरकारले गरेको जनगणना अनुसार नेपालीहरुको जम्मा जनसंख्या यहांको सम्पूर्ण जनसंख्याको ०.२ प्रतिशत मात्र रहेको छ । त्यसमाथि अहिले ठूलो संख्यामा नेपालीहरु ब्रिटिश नागरिकता लिएर यूकेतिर गइरहेका छन् । स्वभावैले अहिले नेपालीहरुको जनसंख्या केही वर्ष पहिले भन्दा घटेको छ ।
अहिले हंगकंगका विद्यालयहरुमा अध्ययन गर्ने सम्पूर्ण दक्षिण एशियालीहरुको संख्या पुग नपुग ३३९० भएको कुरा गत वर्ष यहांको विद्यायिका परिषदमा शिक्षा तथा जनशक्ति ब्यूरो दिएको जानकारीमा उल्लेख छ । नेपाली विद्यार्थीहरुको संख्या यकिन गरी उल्लेख गरिएको त छैन । जानकारहरुका अनुसार हंगकंगभरिका विद्यालयहरुमा नेपाली विद्यार्थीहरुको संख्या १००० भन्दा कम भएको अनुमान गरिएको छ । यति सानो जनसंख्यामा रहेका जातिहरुले ठूला र छुट्टै खाले मागहरु राख्दा पनि सरकारले सुनिहाल्ने अवस्था रहेको छैन । त्यसो भएकाले पनि हंगकंगका नेपाली विद्यार्थीहरुलाई यिहंकै परिवेशमा संघर्ष गर्नुपर्ने थप चुनौति खडा भएको छ ।
चाइनिज भाषामा अध्ययन गर्ने नेपालीहरु बढ्दो संख्यामा
हंगकंगको शिक्षा माध्यमलाई दुई माध्यममा वर्गीकरण गरिएको छ । सन् १९९७ पहिले हंगकंगका बहुसंख्यक माध्यमिक विद्यालयहरुमा अंग्रेजी माध्यममा पढाई हुन्थ्यो । तर सन् १९९७ मा हंगकंग चीनलाई हस्तान्तरण भएपछि अधिकांश विद्यालयहरुको अध्यापनको माध्यम चाइनिज भाषा बनेको छ । अहिले सिमित संख्याका माध्यमिक विद्यालयहरु बाहेक अन्य सबैमा अध्यापनको माध्यम चाइनिज भाषासीएमआइ रहेको छ । जसका कारण शुरुमा सबैजसो नेपालीहरुले अंग्रेजी माध्यमका विद्यालयहरुमा आफ्ना बालबालिकाहरु अध्यापन गराए । तर अहिले आएर नेपालीहरुले विस्तारै बुझ्दै गएका छन् । पाल्पा घर भई विगत दश वर्षदेखि हंगकंगमा बस्दै आएका तोरन्धोज थापाले आफ्ना दुई छोरीहरुलाई यिहंको स्थानीय चाइनिज माध्यम विद्यालयमा पढाइरहेका छन् । शुरुमा उनलाई आफ्ना नानीहरुलाई गाइड गर्न गाह्रो परेपनि अहिले भने आफ्नो लागि समेत छोरीहरु अनुवादक भइदिएर सहयोग पुगेको कुरा सुनाउंछन् उनी । उता पांचथर घर भएका हर्क रानाले पनि आफ्नो नानीलाई चाइनिज माध्यमको विद्यालयमा पढाइरहेका छन् । उनको नानीले अहिले चिनियांहरुसंग कुराकानी गर्नुपरेमा दोभाषेको समेत काम गरिदिन्छिन् ।
पहिले पहिले अंगे्रजी भाषाप्रति मात्र बढी मोह भएकाले नेपालीहरुले अंग्रेजी माध्यमका विद्यालयहरुमा पढाए । तर अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरुले हंगकंगमा न त राम्रो अध्ययनको अवसर पाए न त राम्रो रोजगारी नै । त्यसैले अहिले आएर नेपालीहरु विस्तारै आफ्ना नानीहरुलाई चाइनिज भाषा माध्यम विद्यालयहरुमा पढाउन थालेका छन् । हर्क रानाका अनुसार उनले शुरुमा आफ्नी छोरीलाई चाइनिज माध्यमको विद्यालयमा भर्ना गर्दा कैयन नेपाली साथीहरुले निधार खुम्चाएका थिए । तर अहिले तिनै नेपालीहरुले उनलाई आफ्ना नानीको विद्यालय रोजिदिन सहयोग माग्छन् । तिनै नेपालीहरुबाट अहिले हर्क रानाले प्रशंसा पाउन थालेका छन् । उनको बच्चाले अहिले यिहंको एउटा चाइनिज माध्यम विद्यालयमा माध्यमिक एक मा पढ्दैछन् र भविष्यमा आफ्नो नानीलाई हंगकंगकै चिनियां सरह सरकारी जागिरमा वा सम्मानित पेशामा स्थापित गराउने सपना छ हर्क रानाको । उनको बच्चाको शैक्षिक उपलब्धि पनि अहिलेसम्म राम्रो नै रहेको छ । उनले अहिले आफ्नो नानीको उच्च स्तरीय माध्यमिक विद्यालयको खोजी गरिरहेका छन् । हंगकंगमा ब्याण्ड एक विद्यालयहरुलाई उच्च स्तरीय विद्यालयको रुपमा लिइन्छ । ब्याण्ड एकमा पढ्ने विद्यार्थीहरुको विश्वविद्यालय डिग्री करीब करीब सुनिश्चित जस्तै हुन्छ हंगकंगमा । यहांका विश्वविद्यालयहरुमा पढाइ पनि मूख्य गरीकन चाइनिज भाषामै हुने र प्रायः जसो रोजगारीका अवसरहरुमा पनि चाइनिज भाषाको ज्ञान अनिवार्य जस्तै भएको हुनाले पनि चाइनिज भाषामा अध्ययन गर्ने नेपालीहरुको भविष्य उज्यालो देखिन्छ अहिलेलाई । त्यसमाथि यहांको सरकारी जागिर गर्नको लागि अनिवार्यरुपमा चाइनिज भाषामा माध्यमिक शिक्षा पास गरेको हुनुपर्ने एउटा योग्यता रहेको छ । जसका कारणले चाइनिज भाषामा शिक्षा हासिल गर्ने नेपालीहरु भविष्यमा गएर यहांको सरकारी सेवामा पनि प्रवेश गर्न सक्ने सम्भावना बलियो रहेको छ ।
हंगकंगलाई बि्रटिसले करीब १५६ वर्षसम्म शासन गरेको त हो । तर बि्रटेनले यहांको भाषिक अवस्थामा कुनै तात्विक परिवर्तन ल्याउन सकेन । अंग्रेजी भाषालाई लामो समयसम्म हंगकंगको सरकारी कामकाजको भाषा र शिक्षामा पनि अंग्रेृजी लामो समयसम्म लाद्दा पनि यहांका बहुसंख्यक चिनियांहरुले आफ्नो क्यान्टोनिज भाषालाई हंगकंगको मूख्य भाषाको रुपमा स्थापित गराइराखे । अहिले प्रायः सबै चिनियांहरुले अंग्रेजी भाषा बुझने तथा बोल्ने भएपनि मूख्य कामकाज र शिक्षाको भाषामा क्यान्टोनिज नै स्थापित हुन पुग्यो । जसका कारणले यहांका साना जनसंख्यामा रहेका अन्य जातिहरुले अनिवार्य रुपमा क्यान्टोनिज सिक्नुपर्ने बाध्यता रहेको छ ।
हुन त एकगरी नेपालीहरु आफ्नो नानीको अंग्रेजी स्तर राम्रो हुंदैन भनेर बालबच्चाहरुलाई चाइनिज माध्यम विद्यालयहरुमा भर्ना गर्न हिच्किचाउछन् । तर उनीहरुले के कुरा बुझेका छैनन् भने हंगकंगका सबैजसो विद्यालयहरुमा अंग्रेजी भाषालाई उच्च प्राथमिकताका साथ पढाइन्छ । सरकारले एउटा सरकारी विद्यालयका विद्यार्थीहरुको अंग्रेजी भाषा विकासको लागि भनेर मात्र प्रतिवर्ष करीब तीस लाख डलर बराबरको बजेट छुट्याएको हुन्छ । त्यसमाथि विद्यार्थीहरुको अंग्रेजी स्तर राम्रो बनाउनको लागि हरेक सरकारी विद्यालयमा एउटा वा सो भन्दा बढी नेट ९लबतष्खभ भ्लनष्किज तभबअजभच० को पनि व्यवस्था गरेको हुन्छ । जसका कारण चाइनिज माध्यम विद्यालयहरुमा पनि विद्यार्थीहरुको अंग्रेजी स्तर नेपालीहरुले सोंचे जस्तो नराम्रो हुंदैन ।
नेपालीहरुले अहिले आएर चाइनिज माध्यम विद्यालयहरुमा आफ्ना नानीहरुलाई पढाउनुपर्ने अर्को पनि कारण रहेको छ । अहिले सरकारले १२ वर्षसम्मको माध्यमिक शिक्षा निशुल्क बनाएको छ । र साथमा माध्यमिक शिक्षामा हरेक विद्यार्थीले एउटा चाइनिज भाषा विषय पास गर्नैपर्ने बनाएको छ । गैर चिनियां बासिन्दाहरुको लागि न्ऋक्भ् नामको परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ जुन अंग्रेजी विषयको टोफल परीक्षा जस्तै मानिएको छ । तर जसले स्थानीय परिवेशमा चाइनिज भाषा पढेको छैन उसले न्ऋक्भ् परीक्षा पास गर्न सक्ने सम्भावना पनि कमै रहेको छ । र यो परीक्षा पास नगरेसम्म हंगकंगमा कुनै पनि विद्यार्थीले विश्वविद्यालय प्रवेश पाउन सक्दैन ।
नेपालको राजनीतिक अस्थिरता शैक्षिक गुणस्तरहिनता तथा शिक्षा हासिल गरिसकेपछिको अनिश्चितता आदि कारणले पनि हंगकंगका नेपालीहरु चाइनिज भाषातर्फ बढी आकर्षित हुन थालेका छन् । नेपालमा केही नपढेका मानिसहरुले समेत साना तिना काम पाउने ठाउं हंगकंगमा यिहंकै शिक्षा भयो भने त राम्रै जागिर पाउन सक्छन् भन्नेमा ढुक्क जस्तै छन् ।
हंगकंगमा नेपाली भाषाको भविष्य
अहिले नेपालीहरुको चासोको विषय भविष्यमा नेपाली भाषा स्थिति के रहला भन्ने छ । हंगकंगमा पन्सेटिया प्राथमिक विद्यालयले विगत करीब सात आठ वर्षदेखि नेपाली नानीहरुलाई एउटा नेपाली विषय पढाउंदै आएको छ । अहिले आएर हंगकंग नेपाली पाठ्क्रम विकास परिषद नामक कम्पनीले सरकारबाट बजेट लिएर अन्य माध्यमिक विद्यालयहरुमा पनि नेपाली भाषालाई एउटा ऐच्छिक विषयको रुपमा पढाउन थालेको छ । तर अधिकांश नेपाली विद्यार्थीहरु हंगकंगमा नेपाली भाषा पढ्न त्यति आकर्षित देिखंदैनन् । यस वर्ष पाक काउ कलेजमा नेपाली अतिरिक्त कि्रयाकलापको समयमा चिनियां भाषा अध्ययन गर्ने कि नेपाली भनेर गरिएको एउटा सर्भेमा ९५ प्रतिशत भन्दा बढी नेपाली विद्यार्थीहरुले चिनियां भाषा सिक्ने भनेर जवाफ दिएका छन् । त्यसो त उनीहरु नेपाली भाषा अध्ययनको शिलशिलामा पनि त्यति रुचि राखेर अध्ययन गरेका पाइंदैनन् ।
हुन त नेपाली पाठ्यक्रम विकास परिषदका मानिसहरुले विद्यार्थीहरुलाई नेपाली विषय अध्ययन गरेमा भविष्यमा रोजगारी पाउन सजिलो हुन्छ भन्ने जस्ता लोभ पनि देखाउंने गरेका छन् । तर विद्यार्थीहरुले भने सो कुरा पत्याउदैनन् । नेपाली विषय पढेर राम्रो जागिर पाइने भए किन सबै नेपालीहरुले राम्रो जागिर पाइएको छैन त” एक जना विद्यार्थी प्रश्न गर्छन् । उनीहरुलाई राम्रैसंग ज्ञान छ हंगकंगमा नेपाली भाषा जानेर रोजगारी वा यस्तै अन्य उपयोगी काम गर्न सिकंदैन । उनीहरु नेपाली भाषा आफ्नो राष्ट्रिय भाषा भएकाले अलिअलि बोल्न लेख्न सिक्नु बाहेक बढी रुचि नै छैन । त्यसमाथि चाइनिज भाषा र अंग्रेजी भाषा आफ्नो भविष्यको लागि भएपनि सिक्नैपर्ने बाध्यता भएको अवस्थामा नेपाली भाषाको परीक्षा पनि दिनुपर्दा विद्यार्थीहरुलाई प्रशस्त भाषिक बोझ हुने देखिन्छ । गणित विज्ञान कम्प्यूटर विज्ञान कला इतिहास सामाजिक शिक्षा तथा संस्कृति जस्ता विषय त हरेक मानिसले जान्नै पर्ने विषयहरु हुन् । त्यसैले नेपालीहरुले यी सबै विषयसंगै नेपाली भाषा विषय पनि पढ्नुपर्दा अध्ययनमा प्रशस्त बोझ महसुस गर्नु स्वभाविक नै हो । यस्तो अवस्थामा हंगकंगमा नेपाली भाषाको भविष्य के होला भनेर चिन्ता गर्न थालेका छन् पुरानो पुस्ताका मानिसहरु । हुन त समाजभाषा विज्ञानको सिद्धान्त अनुसार निरन्तर मूख्यभूमि र त्यहांको भाषा संस्कृतिसंग सम्पर्कमा रहने मानिसहरुको भाषा हतपत लोप हुंदैन । हंगकंगका नेपालीहरु पनि निरन्तर रुपमा नेपाल जानेआउने गर्ने तथा नेपाली र हिन्दी गीत तथा फिल्महरु हेर्ने गर्नाले उनीहरुको नेपाली भाषा छिटै लोप होला जस्तो छैन । त्यसमाथि छिटफुट रुपमै भएपनि अध्यापन गराउनाले नेपाली भाषाको आयु लम्बिने देखिन्छ । तर निश्चित रुपमा यसले भारतको दार्जििलंग भुटान लगायतका मुलुकमा जस्तो प्रगति गर्न सक्ला भनेर सोच्नु भने अलि अतिराजना नै हुनेछ ।
खासमा आफ्नो रोजगारी तथा व्यवशायलाई सुनिश्चित गर्नको लागि हंगकंगमा अंग्रेजी भाषा र चाइनिज भाषाको अति जरुरी छ । यी दुई भाषाको प्रयाप्त ज्ञान भएमा नेपालीहरुलाई भविष्यमा आफ्नो अधिकारको लागि सरकारसंग माग राख्न पनि सजिलो पर्ने छ । अहिले अवसरहरु मिलेन भनेर गुनासो गर्दा पनि सबैजसो सरकारी अधिकारीहरु र यहांका राजनीतिक नेताहरुको एउटै जवाफ छः नेपालीहरुलाई चाइनिज भाषा आउंदैन । भाषा नजानेपछि कहीं पनि रोजगारी पाउन सिकंदैन । त्यसो हुनाले पनि नेपालीहरुले अबका दिनमा आफ्ना नानीहरुले चाइनिज भाषा र अंग्रेजी भाषामा राम्रो दखल गरुन् भनेर ध्यान दिनुपर्ने भएको छ । नभए त अहिले नेपालीहरुको हंगकंगमा जुन हालत छ त्यहि हालत अर्को पचास वर्षसम्म रहने छ ।














