रामकुमार श्रेष्ठ
शक्तिको भर र बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुको सीमित स्वार्थका कारण बुद्ध जन्मस्थलबारे सिर्जना गरिएको असान्दर्भिक, निर्लज्जतापूर्ण र अनाबस्यक दिग्भ्रमका कारण बुद्ध जन्मस्थल मुद्धा अनपेक्षित तवरले विस्वब्यापी समस्या बन्न पुगेको छ भलै अझै पनि धेरै नेपालीहरु समेत युनेस्कोले नेपालको लुम्बिनीलाई विस्व संपदा सूचिमा राखेका कारण बुद्ध नेपालमा जन्मेको कुरा सारा संसारलाई थाहा भएकोले यो अनाबस्यक बिबादको औचित्य नभएको तर्क अगाडि सार्ने गर्छन् । बुद्ध सबैको साझा भएकोले पनि यस किसिमको बिवाद निरर्थक भएको तर्क अगाडि सार्ने गरेको पनि पाइन्छ । बुद्ध बिस्वकै साझा संपत्ति भएको कारण आस्थाका आधारमा कसैले पनि मेरो अथवा हाम्रो भन्छन भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न, तर उनको महानता र प्रसिद्धीका कारण नाजायज एबं गलत ढंगले आफ्नो भनी प्रमाणित गर्ने दुस्प्रयास मार्फत बिस्व जनमतलाई दिग्भ्रमित तुल्याउन गरिने कार्यमा भने मौन बस्न सकिन्न र मिल्दैन पनि । किनकि प्रश्न यहाँ बुद्धको नभएर बुद्ध जन्मिनु भएको ठाउँको हो, सवाल यहाँ बुद्धप्रति नतमस्तक भएर उन्को जन्मस्थलको दर्शनार्थ जान चाहनेहरुलाई सीमित स्वार्थका कारण झुक्याइएर गलत ठाउँमा पुर्याइएर उनीहरुको आस्थामा कुठाराघात गरिंदै मानब अधिकारबाट बन्चित गरिएकाहरुको अधिकार सुनिस्चित गर्ने कि नगर्ने भन्नेको हो, मुद्धा यहाँ बुद्धको मात्रै नभएर विस्वब्यापी महत्व भएका कारण उनको जन्मस्थलमा आँखा लगाउने निकृस्ट प्रबृत्तिलाई परास्त गर्ने कि स्वीकार्ने भन्नेको हो, प्रसंग यहाँ सत्यका पर्यायबाची बुद्धमाथि असत्यको खेती गरेर उन्कै नाममा झूटको ब्यापार गरिएको नाजायज कामलाई टुलुटुलु हेरेर बसिराख्ने हो कि सत्यलाई सत्यको रुपमा उजागार गर्ने भन्ने पनि हो ।
छिमेकी भारतले सन् २०१२ भित्र नेपालको कपिलवस्तुसंग सीमा जोडिएको उत्तरप्रदेशस्थित अलिगढवामा देवदह र लुम्विनीसहित नक्कली कपिलवस्तु बनाउन अन्तिम रुप दिइरहेको, दबाबका कारण केही समय अघिमात्रै जानकारी सच्याए पनि सर्च इन्जिन गुगलले पनि यसअघि ‘गौतम वुद्ध भारतमा जन्मिएको’ जानकारी राखेको, लाखौं बुद्धिस्टहरुमा समेत बुद्ध नेपालमा जन्मिएको भन्ने जानकारी नहुने मात्रै नभएर बौद्धमार्गीहरुका बीच अत्यन्तै सम्मानित मानिने रिङपोछे (जोग्छेन पोनलोप रिङपोछे) ले समेत दैनिक लाखौं पाठकको आकर्षणको केन्द्र मानिने विस्वमा नै सबैभन्दा बढी पाठक भएको पत्रिकामध्येको अनलाइन पत्रिका हफिङ्टन पोस्टमा बुद्धलाई भारतीय परिचय दिंदै लेखहरु प्रकाशित गरिएको, वर्षेनी विश्वभरका करिव ६० लाख पर्यटकले अवलोकन गर्ने सेन्ट्रल लन्डनस्थित ब्रिटिश संग्रहालयमा शान्तिका अग्रदूत गौतम वुद्ध भारतमा जन्मिएको भ्रामक र गलत सन्देश राखिएको, मासिक संसारभरिका ११५ मिलियनभन्दा बढी जनताका बीच आफ्ना सामग्री लिएर पुग्ने ३५० भन्दा बढी टिभी स्टेशनहरुको सन्जाल पिबिएसले "द बुद्ध" फिल्ममा बुद्धलाई भारती परिचय दिएको, अधिकांश देशको पाठ्य सामग्रीहरुमा बुद्ध नेपालमा नभएर भारतमा जन्मिएको उल्लेख गरिएको, न्यूजवीकका संपादक एबं सिएनएनका कार्यक्रम प्रस्तोता जाकारीया जस्ता प्रभाबशाली ब्यक्तिले आफ्नो पुस्तकमा बुद्धलाई भारती परिचय दिएको पाईन्छ । यति हुँदा पनि नेपालको तर्फबाट भने झन्डै झन्डै मौनता प्रदर्शन गरिनु र भारती पक्ष भने बुद्धलाई भारती परिचय दिन अरबौं खर्चेर नेपालको देबदह र लुम्बिनीसहितको हुबहु नक्कली कपिलबस्तु बनाउँदै आफ्ना संचार माध्यम र बुद्धिजीबिलाई सकृय बनाउनुले समस्याको गांभीर्यतालाई पुस्टि गर्दैन र?
बिस्वमा करीब ५० करोड बुद्धिस्ट छन भने बिस्वभरि बुद्धिज्मलाई धर्मभन्दा बिज्ञानको रुपमा लिने पनि लाखौं छन । पर्यटकहरुको लागि उपयुक्त बातावरण सिर्जना गरेर उक्त संख्याको ०.१ प्रतिशत पर्यटक मात्रै भित्र्याउन सकियो भने पनि बर्षेनी पाँच लाखभन्दा बढी पर्यटक भित्र्याउन सकिने देखिन्छ जसबाट बर्षेनी करोडौं डलर आम्दानी गर्न सकिन्छ । बुद्ध जन्मस्थलको यही महत्वबाट लालायित भएर र नेपालको कमजोरीको फायदा उठाउँदै बुद्धको नाममा फाईदा लिन भारत बुद्ध जन्मस्थललाई दिग्भ्रमित तुल्याउन तल्लिन छ । एकातिर बुद्ध जन्मभूमिमा पर्यटकका लागि आबस्यक पूर्वधारहरु र पर्याप्त प्रचार प्रसारको अभाब छ भने अर्कोतिर बुद्ध जन्मभूमिकै नजिकै आबस्यक पूर्वधार सहितको नक्कली लुम्बिनी र कपिलबस्तु निर्माण कार्यले पूर्णता पाउन लागिसकेको छ । अत: बर्षेनी दिग्भ्रमित बिस्व पर्यटक हजारौंको संख्यामा बुद्धको जन्मस्थल भन्दै नक्कली लुम्बिनी पुर्याइएका छन । यो बुद्ध र बुद्धिज्ममा आस्थाबान विस्व पर्यटह्कहरुको मानबाधिकारको हनन र उनीहरुको आस्थामा कुठाराघात हो भने सत्यका पर्यायबाची बुद्धमाथि गरिएको घोर अन्याय पनि । यसरी सबै किसिमका जाती, धर्म र समुदायमा सर्ब स्वीकार्य महामानव गौतम बुद्धको बिस्वब्यापी महत्वबाट लालायितहरुका कारण सिर्जित स्वार्थपूर्ण समस्याले बिस्वब्यापी रुप लिन पुगेको देखिन्छ । बुद्ध जन्मदाको समयमा नेपाल तथा भारत भन्ने देशहरु नभए तापनि बुद्ध जन्मेको स्थान भने अहिलेको नेपालको लुम्बिनीमा पर्दछ भन्ने कुरा प्रमाणित भैसकेको छ र युनेस्कोले लुम्बिनीलाई बिस्व संपदा सूचिमा समाबेश पनि गरेको छ । अत: सत्यको रक्षा गर्दै विस्व जनमतलाई दिग्भ्रमित अवस्थाबाट मुक्त पार्न यथासक्य प्रयास गर्नु सबै विस्व समुदायको साझा कर्तब्य हो तापनि बिशेषत: बुद्धको जन्मभूमिका नागरिकका हैसियतले बिशेषत: हाम्रो कर्तब्य हो भने यस्को लागि कार्यतत्परता दर्शाउनु शान्ति र सत्यका प्रतिमूर्ति बुद्धप्रति गरिने सच्चा आदर र कदर पनि हो ।
पछिल्लो समयमा देखा परेका बुद्ध सर्क्युट बनाउने परियोजनामा चीन सरकार सकारात्मक हुनु; हजारौँ वर्ष पुराना पुरातात्विक महत्वका संरचना पत्ता लगाउन सक्ने अत्याधुनिक प्रबिधि प्रयोग गरी बेलायती डरहाम विश्वविद्यालयका प्राध्यापक रविन कनिङ्घामको नेतृत्वमा बिशेषज्ञहरुले हवाईजहाजबाट गरेको अनुसन्धानले तिलौराकोटको भूगर्भमा दरबार, ४ लेनको सडक, दुईतिर घर, सहर र उद्यानसमेत आधा किमि लम्बाइको व्यवस्थित बस्ती रहेको पुष्टि हुनु; चिनिया नीजि क्षेत्रले लुम्बिनीमा अन्तरराष्ट्रिय बौद्ध केन्द्र निर्माणको लागि आठ बिलियन रुपयाँ लगानी गर्न नेपालको लागि चिनिया पूर्व राजदूत लि डेबिआओले नेत्रित्व गर्नु भएको दि बेइजिङ झोङटाइ झिङटु लगानी कम्पनीलाई नेपाल सरकारले परियोजनाको लागि स्वीकृति समेत प्रदान गर्नु; संयुक्त राष्ट्र संघका महासचिब बान्की मूनद्धारा लुम्बिनीको संरक्षण र संबर्धननेपालको लागि मात्र नभएर संपूर्ण देश र बिस्व नागरिकको लागि नै महत्वपूर्ण भएको बताउँदै लुम्बिनीको बिकासको लागि मिलेर काम गर्न इच्छुक भएको बताउनु नेपालका लागि सुखद हुन र पनि सात बर्षमा संपन्न गरिनु पर्ने लुम्बिनी बिकासको गुरु योजना झन्डै तीन दशक ब्यतित भैसक्ता पनि संपन्न गर्नतिर चासो दिएको नदेखिनुले उपर्युक्त सुखद कुराहरु संपन्न नहुँदासम्म ढुक्क हुने स्थिति देखिंदैन र कार्यन्वयनको लागि दबाब दिंदै गर्नु हाम्रो पनि दायित्व हुन आउँछ ।
पछिल्लो समयमा आएर नेपाल सरकारसँग मिलेर लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध केन्द्रका रुपमा विकास गर्ने रणनीति अनुसार एसिया प्यासेफिक एक्स्चेन्ज एण्ड कोअपरेसन फाउण्डेसनले लुम्बिनी क्षेत्रको विकासमा करिब ३ बिलियन डलरको लगानी गर्न उक्त रकम जुटाउन लागेको समाचार बिभिन्न अन्तरराष्ट्रिय माध्यमहरु मार्फत समेत प्रचारित भए लग्गत्तै यो कार्य र समाचारबारे पनि भ्रम सिर्जना गर्ने काम समेत भएको पाईन्छ । सक्कली लुम्बिनीकै २४ किलोमीटरको दूरीमा अरबौं खर्चेर नक्कली लुम्बिनी निर्माण कार्य संपन्न हुने बेलासम्म र बुद्धको बिषयमा माथि उल्लिखित कहालीलाग्दा यथार्थताहरु छताछुल्ल हुँदा राष्ट्रियता र सार्बभौमिकतामा आँच आएको नदेखी सुतेर बस्नेहरु ठोस रुप लिइ नसकेर प्रारंभिक अवस्थामा नै भएको अन्तरराष्ट्रिय संचार जगतमा समेत यथेस्ठ स्थान ओगटन सफल एपेकको ३ अर्ब डलरको बृहत लुम्बिनी परियोजनाको अवधारणा अगाडि बढदा भने देश नै गुम्न लागेको जस्तै गरेर चिन्ता लिनेहरु पनि देखिए । शुरुमा यो सबै निराधार नै हो कि जस्तो बनाउने प्रयास पनि भए । यत्ति ठूलो महत्वाकाँक्षी परियोजनाको लागि कार्यतपरता दर्शाउनु नै चुनौतिपूर्ण कार्य हो भने यस्को लागि आबस्यक रकम जुटाउनु अर्को ठूलो चुनौति हो । र यस्का लागि गरिएका प्रयासहरु प्रारंभिक अवस्थामा नै भएको देखिन्छ । सो बृहत लुम्बिनी परियोजनाको लागि प्रयासहरु भएका, तर केही प्राबिधिक समस्याहरु देखा परेको स्पस्ट देखिन्छ र कुलचन्द्र गौतम र युनिडो हेर्डक्वाटर भियनाका डेपुटी डाइरेक्टर जनरल योशितेरु उरामोतो बीच भएको पत्राचारले कुराहरु अगाडि बढेको देखिन्छ (सो पत्रांश हेर्न यहाँ क्लिक गर्नुहोस)। यही ३ बिलियन डलरको लुम्बिनी प्रोजेक्टको प्रसंगपस्चात भारत अब नक्कली लुम्बिनीको रणनीति असफल हुने देखी बुद्धिज्मको रणनीतिमा लागेको देखिन्छ । सिद्धार्थ गौतमले बुद्धत्व भारतमा प्राप्त गरेका कारण भारतको यो रणनीतिमा कसैले पनि प्रश्न उठाउने संभावना नै रहँदैन ।
लुम्बिनी र यस्का वरिपरिका क्षेत्रहरुको एकीकृत रुपमा बिकास गरिनु भनेको नेपालको आर्थिक बिकास र राष्ट्रियताको संरक्षणको मात्रै बिषय नभएर स्वार्थपूर्ण तवरबाट बुद्ध जन्मस्थलबारे सिर्जित दिग्भ्रमका कारण बुद्ध र बुद्धिज्ममा आस्थाबान विस्व पर्यटकहरुको मानबाधिकारको हनन र उनीहरुको आस्थामा भैरहेको कुठाराघातबाट उनीहरुलाई जोगाउँदै बिस्व शान्तिलाई नै उत्प्रेरित गरिनु पनि हो । साथै यो कार्यले सत्यका पर्यायबाची बुद्धमाथि उन्कै नामलाई दुरुपयोग गर्दै गरिएको घोर अन्यायको पनि अन्त्य गर्न सक्छ । यसैले यस्तो महान कार्यमा सुशील कोइराला होस वा झलनाथ खनाल अथवा पुष्पकमल दाहाल (प्रचण्ड) होस वा पशुपति शमशेर अथवा पूर्व राजा ज्ञानेन्द्र, कसैले पनि केही गर्न आँट र प्रयास गर्छ भने त्यस्मा कन्जुस्याइं नगरी सबैले आफ्नो ठाउँबाट यथासक्य सहयोग गर्नु नै नागरिकीय कर्तब्य गरेको ठहरिनेछ । नेपालको परिबेशमा लुम्बिनीको बृहत बिकासको योजनाकार बन्न आँट गर्नु अत्यन्तै जोखिम कार्य हो भन्ने नबुझ्ने नेपाली शायदै होला । यति बुझ्दा बुझ्दै पनि सो आँट जो कोहीले गर्न सक्तैन भन्ने नै नबुझेको नाटक गर्ने नेपाली पनि शायदै भेटिएला । गर्न खोज्नेको बिरोध गर्ने र पूर्बाग्राही भएर भए नभएको गल्ती खोज्दै भ्यागुते संस्कृतिलाई निरन्तरता दिनेको कमी नभएको हामीकहाँ त्यही काम गरेर कलम बिटुल्याउने कामले बिद्धताभन्दा बढी कसैको कार्यकर्ता भएको प्रमाणित गर्छ भन्ने कुरामा पनि सन्देह छैन । आज देश जे जस्तो दयनीय अबस्थाबाट गुज्रिरहेको छ यसबाट मुक्ति दिलाउन संकुचित घेरा तोडेर सबै पार्टीभन्दा माथि उठन नसक्नु भनेको देशलाई यथास्थितिमा नै राख्न प्रयास गर्नुभन्दा बढी केही हुन सक्तैन । राम्रा कुरा सबैको स्वीकार्न नसक्ने र नराम्रा कुरामा रचनात्मक सुझाब दिन नसक्ने हो भने त्यो बिद्धता हुन सक्तैन ।
दु:ख गर्नेहरुलाई अरु दु:ख दिएर रमाउन खोज्नेहरु कहाँ र कहिले पो थिएनन र ? दु:खका पारखीहरु अबिचलित तवरले अगाडि बढदै जाँदा ढिलो चाँडो समयले साथ दिने नै छ । बुद्धको बिस्वब्यापी महत्वका कारण यसबाट लालायितहरुको स्वार्थपूर्ण दुस्प्रयासका कारण सिर्जित दिग्भ्रमले जसरी बिस्वब्यापी समस्याको रुप धारणा गरेको छ यस्ले गर्दा सही कुरालाई सही भनी प्रमाणित गर्न समेत ठूलो शक्ति खर्चनु पर्ने जस्तो हास्यस्पद अवस्था सिर्जना हुनुको पछाडि लामो समयसम्म हाम्रो मौनता पनि उत्तिकै जिम्मेवार देखिन्छ । यसरी नराम्ररी धमिलिएको पानी संगुलो बनाउन प्रयासरतहरुको बिरुद्ध लागेर पानी धमिलो नै बनाइराख्न रमाउनेहरुको लागि आजको बिज्ञान र प्रबिधिको जमानामा त्यत्ति सहज हुने देखिन्न सीमित साधन र श्रोतका बाबजुद कपिलवस्तु दिवस अभियानले छोटै समयमा पनि इन्टरनेटको माध्यमबाट बुद्ध जन्मस्थलबारे सिर्जित दिग्भ्रम निस्तेज पार्ने कार्यमा प्राप्त गरेको उपलब्धीहरुलाई हेर्दा ।
सिद्धार्थ गौतमसंग सम्बन्धित यो सानो कथाबाटै यस पंक्तिलाई पनि बिट मार्नु उपयुक्त होला शायद । एकदिन सिद्धार्थ गौतम घुमिरहेको बेलामा बाँडले घाइते हाँस उन्को नजिकै आएर खस्छ । दयालु स्वभाबको सिद्धार्थलाई दया जाग्नु स्वाभाबिकै थियो । त्यसैले उन्ले घाइते हाँसलाई माया गरेर बाँड झिकी उपचार गर्न थाल्छन । केही समयपछि उक्त हाँसलाई बाँड हान्ने युवक हाँस खोज्दै आउँदा सिद्धार्थ भएको ठाउँमा आइपुग्छन र आफूले बाँड हानेको हाँस देखेर सिद्धार्थसंग हाँस आफूलाई दिन आग्रह गर्छन । सिद्धार्थले घाइते हाँसलाई जोगाएकोले हाँस आफ्नो हुनुपर्ने दावी गर्छन त हाँसलाई बाँड आफूले हानेकोले हाँस आफ्नो हुनु पर्ने दावी ती युवक गर्छन् । दुईजनाको बीचमा बिबाद चर्किएकोले दुबैजना बिवाद टुङ्याउन राजाकोमा जान्छन । दुबैजनाको कुरा सुनेपछि राजाले हाँसलाई मार्न खोज्नेभन्दा बचाउनेको अधिकार बढी हुने निर्णय दिएपछि बिवाद टुंगिन्छ ।


















