HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home विशेष लेख परदेशी दाजुलाई तिहारको चिठी

परदेशी दाजुलाई तिहारको चिठी

E-mail Print PDF
AddThis Social Bookmark Button

मिना थापा मगर,पोखरा

दाजु सायद तपाईँलाई लागेको होला यो सालको तिहारमा पनि बहिनीको हातको टीका लगाउन पाइन, निधारमा सप्तरङ्गी टीका र बहिनीले उनेको मखमली फूलको माला गलामा पहिरिन पाइन । सम्झँदै हुनुहुन्छ होला तिहारको अँधेरी रातमा तपाइँको नेतृत्वमा चार भञ्ज्याङ् काटेर पुरानो गाउँमा देउसे खेल्दै हिँडेको अनि सम्झदै हुनुहुन्छ होला ‘यो तिहारमा म पनि भएको भए अझ कत्ति रमाइलो हुने थियो हँ ?’

बेलुकीपख झ्याउँकिरीको सुमधुर आवाजसँगै शुरु हुन्थ्यो हाम्रो देउसुरे । आँगनको दिलमा लहरै बसी देउसे फलाक्दै मादलुको तालमा, घँगरुको छमछमसँगै पालैपालो नाँच्थ्यौँ हामी बलिराजाको दुत भएर । आफ्नै कोकिल आवाजका भट्याई प्रत्येक गाउँका घरधुरीमा खन्किन्थे हाम्रा देउसुरे । सिंगो गाउँ नै ओर्लन्थे हाम्रो देउसे हेर्न । हामी झन् हौसिन्थ्यौं बलिराजाको नाम लिँदै देउसे भैलो फलाक्न । बेसारे गाउँको मास्टरकी आमाले भनेको भर्खरै जस्तो लाग्छ “नानी हो अर्को साल पनि यसरी नै तिमीहरुको देउसे लिएर आउ है” ।

आज म पनि सम्झन्छु त्यो हाम्रो रमाइलो तिहारको क्षण । हरेक वर्षको तिहार आउँदा म त्यसरी नै दोहोर्याइ दोहोर्याइ सम्झने गर्छु । साँच्चै कति रमाइलो थियो त्यो क्षण । तपाईंलाई पनि लागेको होला ‘यो तिहारमा पनि गाउँमा दाजुभाइ दिदीबहिनी त्यसरी नै देउसे फलाक्दै रमाउँदै होलान् अनि म पनि त्यहाँ भएको भए..... अझ कति रमाइलो गरिन्थ्यो होला हँ...... ?’ ऊ बेला साथीभाई एकआपसमा सुमधुर प्रेमभावमयी वातावरणमा देउसुरे खेल्दा हाम्रो त्यस क्षणको रौनकता नै आनन्दमय हुन्थ्यो । तर दाजु हाम्रो परम्पारगत संस्कार र सस्कृतिमा परिवर्तन आएको छ । हुनत समाज परिवर्तन भन्नाले दुइ थरी बुझाउँछ उन्नति र अवन्नति । तर आधुनिधकताको नाउँमा हाम्रो विशुद्ध संस्कार र संस्कृतिमा नसुहाउने तरिकाले विकृति भित्रिएको छ दाजु । साथीभाइ बीच एक आपसमा भाइचारको सम्बन्ध राखी पारस्परिक प्रेमको प्रतीकको रुपमा मान्ने चाडपर्वले आजभोलि अर्कै रुप लिएको छ । आजभोलिको देउसुरेहरु परम्परागत संस्कृतिमा रमाउने भन्दा जुवा,तास र मादक पर्दाथमा रम्ने भएका छन् अनि कलह, झैझगडा गरी आफ्नो आडम्बरी शक्ति प्रदर्शनको होड बढेको छ । देउसे भैलो खेल्ने नाममा ‘दउसुरे...’ शब्दलाई चटक्कै बिर्सेर साह्रै नसुहाउने तरिकाले कुनै डान्स बारमा झै हिन्दी, डिस्को, पप र र्यापमा रक्सी र वियरको तालमा हल्लिरहेका छन् आजका भैलिनीहरु । लेखिएका यी शब्दभन्दा देखिएका दृष्यहरु अनि हाम्रो मौलिक संस्कारमाथि गरिएका प्रहारहरुले अति नै मर्माहत पारहेको छ नेपालीको महान पर्व तिहारलाई ।

मेरै हातले उनेकी थिएँ दाजु तपाईँको लागि सयपत्री र मखमली फुलको माला, जुन हाम्रै आँगनको डिलमा तिहारको बेलामा तपाईँकै लागि फुलेका थिए । तर बिडम्बना नेपाली चेलीले आफ्नो दाजुभाइका लागि सयपत्री र मखमली फुलको माला नाटकीय रुपमा बिदेशबाट किन्नुपर्ने बाध्यता भएको आज । एकातिर आधुनिक परिकारको रुपमा बनेको भोजनमा विभिन्न सडेगलेका खाद्यसामाग्रीको मिसावटले मानिसको स्वास्थ्य स्थितिलाई झन् कस्तो अवस्थामा पुर्याउने हो सोचनीय विषय बनेको छ । व्यापारीहरुलाई परम्परागत संकृति जोगाउने भन्दा चाडपर्वको अवसरमा कालो बजारी गर्नमा नै हतार छ । अनि मानिसहरुको बढ्दो चहलपहलसँगै गिरोहलाई दोस्रो धन्दा ओसार पसार गर्नमै भ्याइनभ्याइ छ । देउसे र मादलुको सुमधुर आवाज घन्किने गाउँमा अहिले पटका र बुलेट जस्ता विष्फोटक आवाजले रुग्ण छ । त्यतिमात्र कहाँ हो र दाजु भोकमरी र महंगीले नेपालीहरु आक्रान्त बनेका छन् । आङमा एकसरो लाउन र विहान बेलुका छाक टार्न धौ–धौ परेका कैयौ गरिवीको रेखामुनि रहेका नेपालीहरुलाई दशैं तिहार दशाको रुपमा चित्त नबुझ्दो तरिकाले ठिङ्ग उपस्थित भएको छ ।
 
मुलुकमा राजनीतिक अस्थिरता दिनप्रतिदिन बढ्दै गएको छ, दाजु, सधैँ असहमतीको राजनीति । विरोधको लागि विरोध, पार्टीभित्र पार्टी, गुट उपगुटबीच कलह, जसले जनतालाई शान्तिको बदला सास्ती दिनुमा नै दलहरुको नियती बनेको छ । असहमतिको लागि सहमति,सहमतिको लागि असहमति,मेहो विनाको दाइँ,गोरुको रजाइँ भएको छ यहाँ । नयाँ नेपाल र नयाँ संविधान ढुकेर बसेका नेपाली जनतालाई त्यो चिज अहिले ‘आकासको फल आँखा तरी मर’ भएको छ । यो त नेपाली जनताले सधैं खेप्नुपरेको पीडा ।


अँ साच्ची........ कुरा तिहारको । लक्ष्मीको पूजाआरधना गर्ने,यमराज र यमुनाको जस्तो सम्बन्ध स्थापना गर्ने, बलिराजाको स्तुती गाउने, मानव तथा मानवेतर प्राणीको पूजा गरी धुमधामसँग मनाउने पर्व तिहार सांस्कृति,धार्मिक,दार्शनिक महत्व रहनुका साथै दाजुभाइ दिदीबहिनीबीच दुख सुख बाँडी स्नेहको गाठो दरिलो बनाउने मिलन दिवस हो तिहार । यस्तो पवित्र पर्वलाई विकृत,बोझिलो र दुखदमय बनाउने यस्ता कुसंस्कृति भित्रिँदै छ आज ।

खै यस्तो बेलामा गाउँमा तिहारको के रौनकता छ भनूँ दाजु ? तपाईँ नेपाल हुँदाको जस्ता तिहार अहिले कहाँ छ र ? त्यो बेलाको जस्तो परम्परागत सांस्कृतिक मौलिकपन,साथीभाइबीचको बन्धुत्व,उत्साहमय बातावरण सबै पलायन भए दाजु । त्यसैले नेपालीहरुको महान पर्व तिहार सम्झेर पछुताउनु पर्दैन आज । बस यति मात्र हो कि यो तिहारमा पनि तपाईं र मेरो दुरी टाढा हुने भयो । यो साल पनि बहिनीको हातबाट निधारमा सप्तरङ्गी टीका अनि गलामा मखमली र सयपत्री फूलको माला पहिरिन पाउनुभएन । भन्नुभएको थियो पोहोर साल‘यो वर्ष त छुट्टी पाइन बहिनी अर्को वर्ष सकेसम्म मिलाउँछु’ भनेर । थाहा छ दाजु हाम्रो लागि नुनपानीको जोहो गर्न विदेशीको इसारामा उनीहरुको चाकरी र धन्दामानै आफूलाई होम्न बाध्य हुनुभएको छ । मलाई त थाहा छ विदेशी भूमिमा तपाईंको बाध्यता तर पोहेर देखि नै बाबा आमा तपाईंको बाटो कुर्दै बस्नुभएको छ ।  त्यसैले म पनि भन्न विवश छु ठीकै छ यो सालको तिहार पनि यस्तै भयो अर्को सालको तिहारमा त अवश्य पनि घर आउने छुट्टी मिलाउनु होला । आशा लिएको छु देशको परिस्थितिले पनि नयाँ मोड लिनेछ । अनि पारी गाउँकी माष्टरकी आमाको निम्तो पनि पूरा हुनेछ ।

उही परदेशीकी बहिनी
मिना थापा मगर
पोखरा

 
Comments (1)
thnks
1 Thursday, 27 October 2011 00:46
niru
i like so much this artical,

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)