HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home विशेष लेख घुम्दै फिर्यौं माछापुच्छ्रे नमुना पदयात्रा

घुम्दै फिर्यौं माछापुच्छ्रे नमुना पदयात्रा

E-mail Print PDF
AddThis Social Bookmark Button
मीना थापा मगर, पोखरा
 
 
 
मौसमको अनुकूल वातावरणले ती हिम शृङ्खला छाँगा छहरा र लहरै मिलेका बस्तीलाई हेर्ने हाम्रा नजरलाई भरपुर साथ मिलिरहेको थियो। लालीगुँरास सुनाखरी बुकीफुल र हिमलहरे फूलहरुको सुवासमिश्रित स्वच्छन्द हावाले हामीमा थप उर्जा प्रदान गरिरहेको थियो। बीचबीचमा विभिन्न जाति अझ विषेश गरी गुरुङ समुदायका संस्कारगत खानाका परिकार र स्थानीय स्तरमा उत्पादित ताजा भोजनले हामीलाई अमृत दिलाएको थियो। त्यहाँका स्थानीय समुदायले गरेको सत्कार र स्वागतले हामीमा प्रेरणा र उत्साह थपेकै थियो।

त्यसैले त हेर्दा आकाश जोडिने कैयौं डाँडा पखेरा र पहरासँग मितेरी लगाउँदै अनि हरियाली र विभिन्न जातका बोटविरुवाले भरिपूर्ण बन जंगलसँग प्राकृतिक साइनो लगाउँदै ३ दिनको पदयात्रा पछि पुग्यौं हामी खुमइ डाँडा। यो समुन्द्र सतहबाट ३२४५ मिटर उचाइमा पर्दछ। जहाँबाट धौलागिरी मनासुलु माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खलाका कुनाकाप्चा अवलोकन गर्न सकिन्छ। मानौ कि यी हिमशृङ्खलाका बलेसी खुमई हो भन्दा फरक नपर्ला। क्रियाशील पत्रकार महिला संघ कास्कीको आयोजनामा १७ जना पत्रकारहरुको टोलीले गत कात्तिक १७ गते शुरु गरेको माछापुच्छ्र नमुना पदयात्राको अन्तिम यात्रास्थल हो यो खुमइ डाँडा।

उक्त पदयात्राको पहिलो दिनको यात्रा पर्यटकीय स्थल हेम्जाकोट धम्पुस हुँदै खोरामुखबाट ल्वाङघलेल सम्मको थियों। पोखरा विशेष गरी गुरुङ जातिको बाहुल्यता भए तापनि वास्तविक गुरुङ जातिको संस्कारगत स्थलको पहिचान बल्ल त्यहाँ पुगेपछि पाए जस्तो लाग्यो मलाई। बिद्युत आपूर्ति हुँदाको अधेँरी रातमा पनि ति लहरै मिलेका घरका ढुङ्गाका छानाको प्रकाशले झन् दीव्य किरण छाइरहेको थियो। दिनभरिको हिँडाइले थकित भएतापनि गुरुङसेनी आमाको हातले बुनेको गुन्द्रीमाथि टुसुक्क बसी पिएको महकिलो मही र आकाशका तारा जस्ता सेतै लावा बनेका मकैको एकै गाँसले सबै थकाई र प्यास मेटाइदियो। सबै साथीहरु आ-आफ्नै सुरमा त्यहाँको सुन्दर रमणीय वातावरणसँग रमाउँदै थिए। यो पदयात्रा मेरो लागि पहिलो थियो सायद त्यसैले होला मलाई यो सुनौलो अवसरमा सुन्दर बस्तीसँग जिस्किन मन लाग्यो। छिनभरमै धेरै फोटो आफ्नो क्यामेरामा कैद गरें। बस्ती पिच्छेका समुदायको सत्कार र स्वागत अनि उनीहरुको शिष्टाचार व्यवहार अति नै बिर्सीनसक्नु थियो।
 
 
हेम्जाकोट धम्पुस र ल्वाङघलेल पोखरा नगरीबाट एक दिनमा घुमेर फर्कन सकिने स्थल हुन्। दुरीको हिसावले ती गाउँ पोखरा शहरबाट नजिक रहेता पनि त्यहाँको विभिन्न जातजातिका संस्कारगत पहिचान त्यसमा पनि विशेष गरी गुरुङ समुदायका रहन सहन संस्कार संस्कृति र परम्परागत जीवनशैली बिलकुल परक थियो। राष्ट्रियताको पक्षमा भाषण ओकल्ने हाम्रा महान नेताहरु सायद त्यो ठाउँमा पुग्ने हो भने बल्ल बुझ्न सक्नेछन् नेपालको राष्ट्रियता यथार्थता र गौरव के हो भनेर। उक्त गाउँमा विगत ४ वर्षदेखि होम स्टेको व्यवस्था गरिएता पनि अहिलेसम्म जम्मा ५ ओटा घरमा होम स्टेको व्यवस्था गरिएको र केही फाट्टफुट्ट पर्यटकहरु क्याम्पिङमा आउने गरेको स्थानीयबासीको भनाइ थियो। यसैगरी धिताल हेम्जाकोटमा भने १५ वटा घरमा होम स्टेको व्यवस्था रहेछ। ल्वाङ्घलेल नगदेवाली चिया खेतीले पनि प्रख्यात मानिन्छ। यहाँ ६० लाख बराबरको चियाँ आम्दानी हुने र उत्पादित चिया डाइरेक्ट जर्मनीमा निर्यात गरिएकोमा हाल भने बजार व्यवस्थापन राम्रो नभएकोले नेपालभित्रै विक्री बितरण गर्ने भएको छ।

भोलिपल्ट हामी चिया बगान र त्यहाँबाट देख्ने गाउँबस्ती र शिरैमा उभिएको हिमशृङ्खलाको अवलोकन गरी खोरामुख झर्यौं। त्यहाँबाट रिभानको उकालो बाटो लाग्यौं। रिभान गाविसको वडा नं. १ अन्तर्गत देउरालीमा खाना खाई मैचेडाँडा हलहले हुँदै घाचोक गाविसमा पर्ने ललका डाडाँमा हाम्रो क्याम्पिङ थियो हाम्रो। रिभान गाविस मगर गुरुङ बस्तीले भरिएको ठाउँ जहाँ घलेक, बख्खु, भाङ्ग्रा, चकटी जस्ता सामाग्री आफैले तयार पार्दा रहेछन्। प्याराग्लाइडिङको लागि सम्भावना बोकेको मैचे डाँडाले थप पर्यटकको पर्खाइमा आफ्नो रुप समतल्ल रुपमा विछ्याइरहेको थियो। अर्गानिक मलको प्रयोगद्धारा उत्पादित खाना र मर्दी खोलाको माछाको स्वाद सम्झ्यो भने अहिले पनि भोक आफै टर्लाजस्तो महसुस गराउँछ मलाई। हाम्रो यात्रा जति अगाडि बढ्यो उति नै नयाँ र सुनौला रुख विरुवाहरु हाम्रो स्वागतका लागि अगाडि प्रस्तुत हुन्थे। घोरल, मलसाँप्रो, मुसा, खरायो, ढुकुर जस्ता बन्य जन्तु र चराचुरुङ्गीका सलवलावट घना जंगलको सुन्यतामा बीच सुन्न पाउँदा अनौठो खालकॊ अनुभूति हुन्थ्यो।

हामीमध्ये ६ जना भरियाहरु प्राय अघिअघि नै हुन्थे। हामी ५-६ जनाको ग्रुप प्राय बीचमा पर्थ्यौ‌। घना जङ्गलबीच अगाडिको ग्रुप र पछाडिको ग्रुपलाई देख्न सकिँदैनथ्यो। कहिले काँही हामीले बाटो त विराएनौ भन्ने भान हुन्थ्यो। एकचोटी त हामी बीचमा यता न उता भइरहेका थियौं। झमक्क रात परिसकेको थियो। जंगलबीच झ्याउँकीरी र मलसाप्रोको आवाज बाहेक केही सुनिदैनथ्यो। जंगलको बाटो सबै छरिएका थिए। कता जाउँ कता जाउँ भइरहेको अवस्थामा थियौं। पछि आउने ग्रुप पनि त्यही बाटो आए अथवा अर्को बाटो गए खै कुन्नी भन्दै त्यही जंगलमा अडिएर बसिरह्यौं। हाम्रो क्याम्पिङ स्थल ललका पुग्न कति समय लाग्छ अनुमान गर्न पनि सकेनौं किनकि हाम्रो गाइड अगाडि नै गइसक्नुभएको थियो। ठिक त्यही समयमा अन्धकार छाएको उन्यूको झाडी भित्रबाट आवाज आयो। मन झसङ्ग भयो। उ हामी भएतिर अगाडि बढ्यो एकातिर उत्रो घना जंगलबीच निस्केको मान्छे को होला भन्ने डर त्रास उब्ज्यो भने अर्कोतिर हामीलाई दिशा निर्देश गर्ला कि भन्ने आशा पनि पलायो। उसले केही भन्ने भन्दा पहिले हामीले प्रश्न गर् यौं 'दाई ललका डाँडा पुग्न अब कति लाग्छ?'

उसले दाइने कोखामा च्यापेको स्याउले घाँसको मुठा म नेरै बिसाउँदै भन्यो - 'यही माथि हो अब जम्मा पाँच मिनेट जति लाग्छ।' यति भनेपछि हामीले एकछिन आनन्दको श्वास फेर्यौं।

मैले सोधे- 'तपाई कहाँ जान आउनुभएको यस्तो जंगलमा यतिबेला एक्लै'

'मेरो दुहुनो भैंसी हराएको २ दिन भयो गोठमा आएको छैन त्यसैले खोज्न गएको, फेला परेन' उसले लामो श्वास तान्दै भन्यो।

तपाईंको घर कहाँ हो र दाइ भनी सोध्न नपाउँदै उसले भन्यो 'मेरो गोठ यही माथि हो, मेरो गोठ नजिकै हो नि क्याम्प ललका क्याम्प।' अहिले भने उसको भैंसी हराएको दुःख बिर्सेर आज हामी आफ्नो गोठ नजिकै बस्न आएको देखेर खुसीको भाव व्यक्त्यायो। त्यस जङ्गलको एक्लो गोठालो भीमप्रसाद लम्सालसँग कुरा गर्दै हामी क्याम्पमा पुग्दा पाल टाँगिसकेका थिए। सधँभरि त्यो घना जंगलको बीच एक्लै बस्ने गोठालो आज हाम्रो आगमनले पनि केही फुरुङ्ग थिए। केहीसमय सम्म उसँग कुराकानी गरी त्यहाँको परिवेश, वातावरण र त्यस भेगको गोठ राख्ने प्रचलनको बारेमा बुझ्ने मौका पाइयो। आफू सात वर्षको उमेर हुँदा देखि नै लेकमा भेडीगोठ बस्न थालेका भीमप्रसादलाई ती घना जंगलको स्वच्छ वातावरण र त्यहा हुर्केका चराचुरुङ्गी पशुपंछीसँग रमाउन पाउँदा खुसी छन्। उसले अहिले २५ ओटा भैसी पालेको छ भने गोठमा जम्मा ३ ओटा साना पाडापाडी मात्र छन्। किनभने अरु सबै भैसी दिन रात जंगलमा नै छाडिने रहेछन्।
 
बिहान पख १० रुपियाँ गिलास दुध पिएर हामी त्यहाँबाट उकालो लाग्यौं। हामी जति लेकतिर लाग्यौं उति नै लट्टा परेका झाडी लहरे रुख, लालीगुँरास र सुनाखरीका झ्याङ छिचोल्नु पर्दथ्यो। आफ्नो अस्तित्व बिर्सन लागेजस्तो गरी कठ्याङगि्ररहेका केही बुट्यानहरुलाई पनि लालीगुँरास पैयूँ सुनाखरीजस्ता बडेमानका रुखहरुले ओत दिई जीवन रक्षा गरिरहेका थिए। हाम्रो तेस्रो दिनको क्याम्पिङ स्थल वा अन्तिम गन्तव्य स्थल थियो खुमई डाँडा। हिले खर्क देउराली हुँदै खुमई पुग्दा करिब ४ बजेको थियो।

हामी जति जति माथि चढ्यौं उति उती बनजंगलको झाडी पातलिँदो थियो। नाक टेकिने उकालो बाटो बाबियो र उन्यूको गाँज समाउँदै त कतै काठे भर्याङ चढ्दै ढुङ्गाको काप फोर्दै खुमईको टुप्पोमा पाइला टेक्दा मलाई शास्त्रमा उल्लेख गरिएको स्वर्ग नै हो की भन्ने भयो। त्यो उकालो चढ्दा खुमई डाँडाबाट देखिने यो रमणियताको कल्पना समेत गरेको थिइन। तीन दिनको हिँडाइको थकानले लखतरान परिरहेको थिएँ त्यसैले माथि पुगेपछि त एकछिन आराम गर्नुपर्ला भन्ने सोचेको थिएँ। तर त्यहाँ पुग्दा थकाइ त के अनौठो खालको शक्ति म मा प्रवाह भएजस्तो लाग्यो। बस्ती बिनाको त्यो सुन्दर स्थलमा खोरल, हिउँचितुवा रमाइरहेका थिए। त्यसको अगाडि बैंस फुलाएकी हिमशृङ्खलाले चिउँडो माथि हात राखी लालुपाते र सुनाखरीको फूल सिउरेर मख्ख परिरहेकी थिई। बालापनमा बाबाआमासँग गरिएको लाडप्यार आज माछापुच्छ्रे, अन्नपूर्ण, मनासुलु र धौलागिरीको काखमा लुटपुटिँदै पोखुँजस्तो लाग्यो। दूरसम्म फैलिएका डाँडाकाँडा गाउँपाखा हरियाली बनजंगल पोखरा शहर पर्यटकीय क्षेत्र लाहचोक घाचोक, ल्वाङघलेल, धम्पुस, घान्द्रुकका बस्तीबीच पर्ने खुमई डाँडामा साँच्चै नै सोच्नै नसक्ने हथाह सुन्दरता पाएँ। तीन दिनको हिँडाइ र थकाई भुसुक्कै बिर्सेर साथीहरु आ-आफ्नै तालमा र सुरमा रमाणिय स्थलको सुटिङमा व्यस्त रहे। हिमालयको काखबाट बहने चिसो स्वच्छ र सुमधूर हावा आफ्नो सुन्दर निश्चल बैंस पोख्नको लागि आतुरमा रहेकी हिमालय पर्वत र नयाँ पर्यटकको पर्खाईमा रहेको मौन वातावरणसँग एकैछिन वार्तालाप गर्न मन लाग्यो। यही हो सुन्दर स्थल कोर्चुङडाँडा हुँदै मोदी हिमाल जाने मार्ग जुन समुन्द्र सतहदेखि ५ हजार ५ सय ८७ मिटर उचाइमा पर्दछ। विगत दुई वर्षदेखि सुरु गरिएको माछापुच्छ्रे नमुना पदयात्रा अन्तर्गत पर्ने उक्त ठाउँमा अहिलेसम्म २ हजार जना पर्यटकहरु आउने गरेको माछापुच्छ्रे पर्यटन विकास समितिका सचिव कर्ण गुरुङले जानकारी दिए।

भोलिपल्ट बिहान सूर्योदयको किरणले हामीलाई उठ्न झक्झकाइरहेको थियो। पालको सानो प्वालबाट पूर्व चिहाइ हेरे। भर्खरै बिवाह बन्धनमा बाँधिदै गरेकी नव विवाहित युवतिले शीरमा सिन्दुर पोतेर हिमाललाई काखमा च्यापी मुस्कुराइरहेकी थिई। हामी पनि बाहिरियौं पालबाट अनि नेपालको प्राकृतिक सुन्दरता गौरव र शानप्रति गर्वित हुँदै सलाम दिएँ- 'आहा……। अथाह सुन्दर छ नेपाल।'
 
 
ट्रेकिङ्को चौंथो दिन तर भोलिल्ट तिहारको भाईटीका जसरी पनि फर्कनु पथ्र्यौ हामी। बिहानको मधुर दृश्यावलोकन पान गर्दै ८ बजेतिर तितो मन बनाएर रमणीय स्थल छोड्यौं हामी। कैंयौं नजर फर्काउँदै फेरि अर्कोचोटी भेट्ने बाचाका देउराली पिपरा करुवा मिसा्र तातोपानी खारपानी हुँदै बेलुकी ७ बजे पोखरा झर्यौं।

घर फर्केपछि झन् ती दृश्यहरु एक एक पालैपालो नजरमा आए। प्राकृतिक सुन्दरताले भरिपूर्ण भएर पनि त्यसलाई लोकप्रिय बनाउन र त्यसको उचाइ बढाउनको लागि आवश्यक पूर्वाधारको निर्माण नभएकोले मन खिन्न भएर आयो। साइनबोर्ड नरहेकाले हामी बीचबीचमा हराउने र अलमलमा पर्नुपर्यो। त्यसैले बीचबीचमा मार्ग निर्देशनको लागि साइनबोर्डको खाँचो तत्कालको अभाव देखिएको छ। बीचबीचमा पानी पँधेरा र चियानास्ताको अभाव पदयात्रीले झेल्नु परेको छ। बाटोभरि फुलेका हिमाली फूल र औषधिजन्य बुटीहरुले संरक्षण खोजिरहेका छन् त्यसको उचित संरक्षण सदुपयोग हुन सकिरहेको छैन। त्यसैले यसप्रति सरकार लगायत सम्बन्धित निकायको छिटोभन्दा छिटो ध्यानाकर्षण होस् जबकी भविष्यमा जाने पर्यटकहरुको मन अझ भरिन सकून् र निर्धारित समयमा उनीहरु गन्तव्यस्थानमा पुग्न सकून्।
 
Comments (2)
Hi/namaste
1 Sunday, 21 November 2010 20:39
R. M. 'Chandrabamshi'/Nepal
Nice lagyo. Go ahead.
goooooooooooooooood
2 Tuesday, 23 November 2010 22:13
Lab pun magar.
ramro yatra ra soch hunu nai"HAIKING" ko mahto ho, soyem nai yattra gare jasto aavash vayo.....gooooooooooooooood explain. best of luck, go ahead mina ji.....

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)