HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home विशेष लेख हङकङेली नेपाली कामदारका समस्याहरु - एक कार्यपत्र

हङकङेली नेपाली कामदारका समस्याहरु - एक कार्यपत्र

E-mail Print PDF
AddThis Social Bookmark Button

ईन्द्र थापामगर

पृष्ठभूमि : नेपाली निर्माण क्षेत्रका कामदारहरुको हकहित, अधिकार, एकता र कानूनी उपचारको लागि भनेर “नेपाली निर्माण कामदार युनियन” अगष्ट २४, सन् २००७ मा स्थापना भएको हो । यो युनियन रजिष्ट्रेसन अध्यादेशअन्तर्गत विधिवत रुपमा दर्ता भएको छ । युनियनले कामदारहरुलाई संगठित गर्दछ । संगठित हुनु भनेको शक्तिशाली हुनु हो । शक्तिशाली हुनु भनेको आवाजहरु शक्तिशाली हुनु हो । यसो हुनु भनेको अन्याय र विभेदहरुको विरुद्धमा सफलता प्राप्त गर्न सकिने हो । त्यसकारण युनियनले शुरुदेखि नै अनिवार्य रुपमा सम्झौता पत्र लागु गर्नु पर्ने र समान कामको लागि समान ज्याला हुनुपर्छ भनी मागहरु राख्दै आएको हो।

यसो त सन् २००० मा “हङकङ नेपाली कामदार युनियन” स्थापना भएका थियो । यसले शुरुमा नेपाली कामदारहरुको लागि व्यवसायिक तालिमहरुलगायत धेरै रचनात्मक कार्यहरु गर्दै आएको भए पनि केही समय यता गतिविधिहरु ज्यादै कमै देखिन्छ । वास्तवमा हङकङको समृद्धिको कारण, अन्यबाहेक, यहाँको मिश्रित समाज र विभिन्न जाति, समूह र पृष्ठभूमि बोकेका व्यक्तिहरुद्वारा यहाँ गरिने योगदान पनि हो भन्ने कुरा बिर्सनु हुँदैन ।

नेपाली कामदारहरुसँग गरेको सर्भेक्षणले के देखाउँछ ?

नेपालीहरु हङकङमा विशेषगरी निर्माण क्षेत्रमा सबै भन्दा बढी कार्यरत छन् । यसो हुनाले समस्याहरु पनि ज्यादा त्यस क्षेत्रसँग भएको समय समयमा विभिन्न संघ/संस्थाहरुले गरेको सर्भेक्षणले देखाउँछ ।

सर्भेक्षण १ :
यो सर्भेक्षण विशेषगरी दक्षिण एशियाका अल्पसंख्यक जातिहरु नेपालीसहित आठवटा जातिहरुमा गरेको थियो । जसअनुसार सबै अल्पसंख्यक जातिहरुले जातीय भेदभाव भएको व्यक्त गरेका थिए । विशेष गरेर प्रहरी, अध्यायगमन विभाग, हस्पिटल र सार्वजनिक सेवालगायतमा भेदभाव भएको तथ्याङ्कले देखाउँछ । (Society for Community Organization -२००१)

सर्भेक्षण २ :
नेपाली समुदायमा नेपाली कामदारहरुको लागि पहिलो पटक सर्भे फियानोले सन् २००२ मा गर्‍यो, जसअनुसार निर्माण क्षेत्रमा काम गर्नेहरु २०% बेरोजगार, साधारणतया सम्झौतापत्र बिना काम, कामसँग सम्बन्धित समस्याहरु कहाँ सोधपुछ गर्ने आदिबारे अनभिज्ञ, सुविधाहरु कम, तनाखा वा ज्यालामा भेदभाव आदिबारे जानकारी हुन सक्यो । - Far East Overseas Nepalese Association (FEONA-२००२ )

सर्भेक्षण ३ :
६६.७% भन्दा बढी नेपालीहरु बाँकी पाकिस्तानी र भारतीहरुसंग भएको सर्भेक्षणअनसार ४०% प्रतिशत दक्षिण एसियालीहरु बेरोजगारको साथ धेरैले अदक्ष वा साधारण काम, काममा जातीय भेदभाव भएको जनाएका थिए । ( Working Group of the Social Integration Project for Ethnic Minority People in Hong Kong २००३ )

सर्भेक्षण ४ :
यो सर्भेक्षणअनुसार सन् २००२-२००३ मा नेपालीहरु ४२.७% बेरोजगार थिए । जबकि हङकङका निर्माण कामदारहरुको त्यस समय जम्मा १९% मात्र बरोजगार थियो । त्यस बेला हङकङमा ७.३% मात्र बेरोजगार थिए । निर्माण क्षेत्रमा काम गर्नेहरु ८६% ले कामको समस्या परिरहेको दुखेसो व्यक्त गरे भने १३.४% ले यस्तो समस्या नभएको बताए । ४५% ले भविष्यमा बेरोजगार हुने चिन्ता गरेका थिए भने ३३.२% ले कुनै आम्दानी नभएको व्यक्त गरेका थिए । झण्डै एक वर्षभन्दा बढीसम्म बेरोजगार भएर रहेको २४.१% थियो । जसको कारणले गर्दा त्यसबेला नेपालीहरु ४७.८% गरीबीको रेखाभन्दा तल रहेको थियो । स्मरण रहोस्, त्यसबेला हरेक ब्यक्तिको आम्दानी हङकङ डलर २७५० भन्दा तल भएमा गरीबीको रेखामुनि पर्दथ्यो ।
उक्त सर्भेक्षणको प्रतिवेदनअनुसार नेपालीहरुको हङकङमा रोजगारको स्थिति निम्न रहेको थियो ।

तालिका नं. १
क्र. सं. कामको प्रकृति प्रतिशत
१ निर्माण ५९.२%
२ सुरक्षा गार्ड १३.१%
३ क्लिनर ६.९%
४ वेटर /वेट्रेस ३.५%
५ सेल्सपर्सन २.८%
६ सैलुन २.१%
७ अफिस सहायक १.७%
८ व्यावसायिक १.७%
९ कुक १.४%
१० स्वरोजगार १.४%
११ रुम एटेण्सडेण्ट ०.७%
१२ डिसवासर ०.७%
१३ डेलिभरी कामदार ०.३%
१४ व्हाकर ०.३%
१५ ड्राइभर ०.३%
१६ अन्य विविध ४.५%
(A Study of the Nepalese Community in Hong Kong, March 2004, Society for Community Organization )

सर्भेक्षण ५ :
Building and Wood Worker International को आर्थिक सहयोगमा नेपाली निर्माण कामदार युनियन र Hong Kong Confederation Trade Union ले जनवरी ०८, २००८ देखि अप्रिल ०८,२००८ सम्म सम्पन्न सर्भेक्षणको आधारमा २५% ले MPF नपाएका, ९०% ले साथीहरुमार्फत काम पाएका र ओैसत दैनिक ज्याला हङकङ डलर ४५० भएको व्यक्त गरेका थिए । उक्त सर्भेक्षणमा ३०८ जना नेपाली कामदारहरुसँग लिएको अन्तर्वातामा ६ प्रकारका ट्रेडहरु साधारणदेखि दक्षसम्मका थिए । ७०% ले समकक्ष चाइनिज कामदारभन्दा कम र दक्ष कामदारहरुलाई पनि साधारण कामदार सरह ज्याला दिएर भेदभाव गरेको व्यक्त गरेका थिए । चाइनिज कामदारभन्दा कम ज्यालामा काम गरिरहेका ७६%, बराबरमा १९% र थाहा नभएकोमा ५% देखियो । यसैगरी भेदभावको अनुभव गर्नेमा ७५%, नभएकोमा १९% र थाहा नभएकोमा ६% साथै सम्झौता पत्रमा हस्ताक्षर गरेर काम गर्ने ५६%, बिनासम्झौता पत्र ३४% र जवाफ नदिएका १०% प्रतिवेदनले देखाउँछ ।

स्मरण रहोस्, नेपाली निर्माण कामदार युनियनले जून २२,२००८ को दिन हङकङ कन्सट्रक्सन वर्कस् जनरल युनियनको कार्यालय मोङकोकमा पत्रकार सम्मेलन गरेर नेपाली निर्माण क्षेत्रमा कार्यरत कामदारहरुको यथास्थिति सार्वजनिक गरेको थियो ।
सर्भेक्षणको प्रतिवेदनमा उल्लेख भएका केही तथ्याङ्कहरु तल प्रस्तुत गरिएको छ ।

तालिका नं. २
क्र.सं. सहभागी उमेर/वर्ष प्रतिशत
१ २५ १.५%
२ २५-३० १४%
३ ३१-३५ २४%
४ ३६-४० २८%
५ ४१-४५ १९%
६ ४५ ८.५%
७ अन्य ४%

तालिका नं. ३
क्र.सं. रोजगार पाउने माध्यम प्रतिशत
१ साथीमार्फत ९०%
२ सीधै सम्पर्क ५
३ एजेण्ट ४%
४ श्रम विभाग ०.३%
५ अन्य १%
६ जवाफ नदिएको ०.६%

यी सर्भेक्षणका तथ्याङ्कहरुले के देखाउछ ?
हङकङ जस्तो विकसित शहरमा पनि अल्पसंख्यक जातिहरुप्रति विशेषगरी यहाँको सरकार र रोजगारदाताबाट भेदभाव प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भएको सबै सर्भेक्षणले प्रमाणित गरेको छ । ७६% ले समकक्ष चाइनिज कामदारभन्दा करीब हङकङ डलर १०० कम पाइरहेको भेदभावको एउटा नमूना हो । सन् २००२ मा २०% र सन् २००४मा ४२.७% नेपालीहरु बेरोजगार थिए र यो क्रम एक दुई वर्ष अघिसम्म बढेको निश्चत रुपले केही आधारहरुले प्रष्टाउँछ । तर वर्तमान अवस्थामा यो बेरोजगार हुने क्रम घट्दो छ । यसो हुनुको कारण नेपालीहरु क्रमश हङकङदेखि बेलायततिर बसाइँ-सराइँको क्रममा हुनु र मकाउमा पनि रोजगार प्राप्त हुनु मुख्य कारण हुन् । अर्को पक्ष भनेको ५६% ले सम्झौता पत्रमा हस्ताक्षर गरेर काम गरको भने पनि वास्तपमा ती सम्झौता पत्रमा कामदार र रोजगारदाता बीच के के कुराहरुमा मन्जुरी भएका हन्छन् ? थाहा हुँदैन । कतिपय सम्झौता पत्र चाइनिज भाषामा पनि हुन्छन् । सायद कतिले रोजगारदाताले व्यक्तिगत विवरण भरेर लिएका फारामलाई पनि सम्झौता पत्र भनेका पनि छन् कि ? यस हिसाबले सम्झौता पत्र अर्को मुख्य समस्या हो । यसैगरी हङकङ सरकारले अनिवार्यरुपमा MPF योजना लागू गरे पनि २५% ले यो सुविधाबाट वन्चित हुनु र बोनस वा कम्पनीले दिने सुबिधा उक्त MPF रकमबाट व्यवस्था गर्ने सायद यो पनि अर्को समस्या हो । सर्वेक्षणमा साथीहरुमार्फत काम खोजेकोमा ७९.३% काम पाएको बताए । यसैले उपयुक्त जागीर पाउने माध्यम साथीहरु र पारिवारिक सम्बन्ध नै भएको तथ्याङ्कले देखाउँछ ।

हङकङ सरकारले तत्कालै के गर्नु पर्छ ?

१ विशेष व्यवस्थाहरु : जति सकिन्छ कामका अवसरहरु, सेवा र सुविधाहरु र योजनाहरु अल्पसंख्या जातीहरुको लागि ल्याउनु पर्दछ ।
२ विशेष प्रशिक्षणको प्रावधान : अल्पसंख्या जातीहरुको शीप क्षमता वृद्दि गर्ने तालीमहरु सकेसम्म उनीहरुकै भाषामा, नभए कम्तिमा अंग्रेजी भाषामार्फत दिनुपर्ने, क्यान्टोनिज भाषाका कक्षाहरु सर्वसुलभ तरिकाले निःशल्क व्यवस्था गर्नपर्ने आदि ।
३ तत्काल जागीर, अध्यायगमन, जनकल्याण, शिक्षा, आवास र स्वास्थ्यसँग सम्बन्धित अल्पसंख्यक जातिहरुको लागि भेदभावपूर्ण सरकारी नीतिहरु खारेज गर्नु पर्दछ ।
४ चाइनिज समुदायसँग समावेशी गर्न सक्ने आधारभूत नीति-नियिमहरु बनाई कार्यान्वयन गर्नु पर्दछ ।
५ जति छिटो जातीय भेदभावको विरुदका ऐन, कानून लागू गर्नु पर्दछ ।
६ अल्पसंख्या जातिहरुको शीप, क्षमता र शिक्षालाई कसरी यहाँको शैक्षिक योग्यतासँग एक्रिडिटेसन गर्ने सकिन्छ, त्यसतर्फ तत्काल शुरु गर्नु पर्दछ ।

सारांश :
नेपाली निर्माण कामदार युनियनले निर्माण क्षेत्रका कामदारहरुको हकहित, अधिकार,एकता र कानूनी उपचारको लागि आफ्ना ठाउँबाट संगठित हुँदै अगाडि बढिरहेको छ । सर्भेक्षणले ५९.२ % नेपालीहरु निर्माण क्षेत्रसँग आफ्नो रोजगारका माध्यम बनाइरहका छन् । तथापि यस समय केही प्रतिशत कम हुनसक्छ । त्यसैले निश्चय नै यस क्षेत्रसँग नेपालीहरुको समस्याहरु बढी नै छन् । त्यसो भएको हुनाले हङकङ सरकारले तत्कालै जति सकिन्छ कामका अवसरहरु, सेवा र सुविधाहरु र योजनाहरु अल्पसंख्यक जातिहरुको लागि ल्याउनु पर्दछ । साथै जागीर, अध्यायगमन, जनकल्याण, शिक्षा, आवास र स्वास्थ्यसँग सम्बन्धित अल्पसंख्यक जातिहरुको लागि भेदभावपूर्ण सरकारी नीतिहरु खारेज गर्नु पर्दछ ।

त्यसबाहेक जातीय भेदभावको विरुदका ऐन, कानून तुरुन्तै लागू गर्नु पर्छ । अनि शीप क्षमता वृद्दि गर्ने तालीमहरु अल्पसंख्या जातीहरुका भाषामा नभए कम्तिमा अंग्रेजी भाषामार्फत दिनुपर्ने, क्यान्टोनिज भाषाका कक्षाहरु सर्वसुलभ तरिकाले निःशुल्क व्यवस्था गर्नुपर्ने, अनिवार्य रुपमा सम्झौता पत्र लागू गरिनु पर्ने र समान कामको लागि समान ज्यालाको व्यवस्था आदि यस्ता सवालहरुमा सरकारले विशेष ध्यान दिई समाधान गर्नुपर्छ । अर्कोतर्फ नेपाली निर्माण कामदारहरु फुटेर होइन, जुटेर युनियनमार्फत आवाज बुलन्द गर्नुपर्छ । यसो गर्न सकियो भने मात्र हङकङेली नेपाली निर्माण कामदारहरुको आर्थिक अवस्था मात्र होइन, सामाजिकलगायत अन्य विविध पक्षहरुमा सुधार र विकास हनेछ ।

(नोटः यो कार्यपत्र Building and Wood Worker International को एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन, हङकङ, अक्टोबर १६-१९,२००८ मा Nepalese Construction Worker Union को तर्फबाट प्रस्तुत गर्नको लागि तयार गरिएका हो )

सन्दर्भ सामंग्री :
१ Working Condition of Nepalese Workers Survey by Nepalese Construction Worker Union and Hong Kong Confederation Trade Union, 2008
२ A Study of Nepalese community in Hong Kong, March 2004 by Society for Community Organization
३ जातीय भेदभाव विधेयक एक परिचय, मार्च २००६, गृह मामिला विभाग

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)