नरेश खपाङ्गीमगर
हुँदैन बिहान मिर्मिरे तार झरेर नगए
बन्दैन मुलुक दुई चार सपुत मरेर नगए
सालिन्दा जबजब शहीद दिवसको सन्दर्भ उठ्छ कवि भूपि शेरचनका यी दुई पंक्ति निक्कै सम्झिइन्छन्। यसवर्षको शहीद दिवस माघ १६ गते विहीबारमा पनि धेरैले यी पंक्तिहरु एकपटक स्मरण गरे। शहीद गेटमा राजा त्रिभुवनको नेतृत्वमा बसेका चार शहीदका शालिकमा श्रद्धाका फूल चढाइए। लैनचौरको शहीद स्तम्भ वर्षको एकपटक चिटिक्क पारियो। देशभर चार शहीदका ढलौटे शालिकहरुले गलामा माला भिर्न पाए। सप्ताह लामो यो उत्सवमा देशका प्रथम शहीद लखन थापामगरलाई भने कतै सम्झिइएन।
जहानियाँ राणाशासन विरुद्ध पहिलोचोटी जनस्तरबाट संगठित विद्रोह गर्ने व्यक्ति थिए लखन थापामगर। वि.सं. १८९१ मा गोरखाको बुङकोट काहुलेमा लखन थापामगर जन्मिएका थिए। बीस वर्षको उमेरमा लखन थापा पुरानो गोरख गण पल्टनमा भर्ती भए। पृथ्वीनारायण शाहले जातीय आधारमा खोलेका चार पल्टनमध्ये यो एक थियो। जसमा मगरहरुलाई मात्र भर्ती लिइन्थ्यो। लखन थापा भर्ती हुनु अगावै वि.सं. १९०३ मा जंगबहादुर राणाले शासन हत्याइसकेका थिए। भर्ती भएपछि थापाले शासन प्रणाली बुझ्दै गए। सन् १८५७ मा भारतीय सैनिकहरुले बेलायत अधीनस्त इष्ट इण्डिया कम्पनीविरुद्ध गरेको सैनिक विप्लव दबाउन जंगबहादुरले पठाएको सैनिक टोलीमा लखन थापा पनि सामेल थिए। डा। हर्षबहादुर बुडाका अनुसार त्यहीँबाट लखन थापामा राणा विरोधी र जनपक्षीय विचार निर्माण भएको थियो।
कप्तान पदसम्म फगेका लखन थापाले वि.सं. १९२७ मा जंगबहादुर विरुद्ध विद्रोह छेड्ने निस्कर्ष निकाल्दै सेनाबाट विदा लिए। सहकर्मी जयिसंह चुमीमगरको सहयोगमा उनले गोरखाको बुङकोट काउलेमा संगठन निर्माण गरे। हुकुमको जवाफ छैन कालको औषधी छैन भनिने जंगबहादुरको कठोर शासनकालमा लखन थापाले करिब दुईहजार युवा संगठित गरी धेरथोर हतियार पनि जम्मा गरेको इतिकासकार प्रमोदशमसेर राणाले गोरखा विद्रोहमा लेखेका छन्। शिवलाल थापामगरले ओझेलमा परेका मगरहरु पुस्तकमा लखन थापाले काउलेमा जनश्रमदानबाट दरबार बनाएको र गोरखामा समानान्तर शासनको अभ्यास समेत गरेको उल्लेख गरेका छन्। यस्तैमा एकदिन उनले जंगबहादुरका विरुद्ध योजना बनाएका कागजातहरु उनको दरबारबाट चोरी भयो र जंगबहादुरसम्म फग्यो।
जंगबहादुरले आफ्नो विरुद्ध गतिविधि गरेको थाहा पाउनासाथ कान्छा भाइ धीर शमसेरको नेतृत्वमा देवीदत्त गणको सैन्यटोली गोरखा पठाए। लखन थापा र उनका सहयोगीहरु पक्राउ परे। उनीहरुलाई थापाथली ल्याइयो। जंगबहादुरले लखन थापा र उनका सहयोगीहरुलाई मनकामना मन्दिर अगाडि झुण्ड्याएर मार्न आदेश दिए। आदेश तामेल गर्दै वि.सं. १९३३ फागुन २ गते उनलाई रुखमा झुण्ड्याएर मारियो। अध्येता उमेश रानाका अनुसार उनीसहित अन्य जयिसंह चुमीलाई पनि रुखमा झुण्ड्याइयो भने चार जनालाई गोली हानेर मारियो। दुई ब्राम्हणलाई भने मृत्युदण्ड दिइएन।
वि.सं. २००७ मा प्रजातन्त्र स्थापनापछि राणा शासनको उत्तराद्र्धमा मारिएका शुक्रराज शास्त्री धर्मभक्त माथेमा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मात्र शहीद घोषणा गरियो। लखन थापा जसले जहानियाँ शासनको जग बसाल्ने जंगबहादुरकै विरुद्ध विद्रोह गरे र मारिए उनलाई भने शहीद घोषणा गरिएन। निरन्तरको जनदबाबपछि बल्लबल्ल २०५६ मा मन्त्रिपरिषद्ले लखन थापालाई शहीद त घोषणा गर्यो तर प्रथम शहीद भन्न सकेन।
जब लखन थापामगरलाई प्रथम शहीद घोषणा गर्न दबाब बढ्छ लखन थापामगर थिए थिएनन् उनले विद्रोह गरेका हुन् होइनन् शहादत प्राप्त गरेका हुन होइनन् प्रश्नहरुको पर्रा उठाइन्छन्। लखन थापाका बारेमा िकंवदन्ती होइन ऐतिहासिक प्रमाणहरु प्रशस्त छन्। इतिहासकारहरुले उनका बारेमा काफी कलम चलाएका छन्। उनको दरबारको भग्नावशेष अझै छ। उनका सन्तति अझै जीवित छन्। त्यसकारण लखन थापा थिए थिएनन् भन्ने प्रश्न निरर्थक हो। खोज्ने हो भने आधार अझै बाक्लै छन्। करिब डेढसय वर्ष पुरानो कुरा न हो। आखिर पौराणिक आधारमा त हामीले जनकलाई राष्टिय विभूति र सीतालाई राष्ट्रिय गौरव स्वीकार्दै आएका छौँ भने लखन थापालाई त प्रथम शहीद मान्ने थुप्रो प्रमाण छन्।
सरकारले कि प्रथम शहीद अर्कै छन् भन्ने प्रमाण पेश गर्न सक्नुपर्यो होइन भने अहिलेसम्मको प्रमाणको आधारमा लखन थापामगरलाई प्रथम शहीद घोषणा गर्नुपर्यो। यदि सरकारलाई शंका लाग्छ भने इतिहासकारहरु सम्मिलित अध्ययन टोली बनाएर थप खोजी गरोस् तर राणा शासनदेखि गणतन्त्रान्त्रिक शासनसम्ममा पनि शहीदलाई सम्मान दिन नसक्ने प्रवृत्तिको तुरुन्त अन्त्य गरियोस्। घरको कौसीमा जुम्रा हेर्दाहेर्दै बितेका आपराधिक कि्रयाकलापमा संलग्न भएकाहरुले यहाँ शहीदको सम्मान पाएका छन्। राज्यले उनीहरुको परिवारलाई दश दश लाख सहयोग गरेको छ तर प्रथम शहीदले न सम्मान पाएका छन् न त सहयोग नै। के अब लखन थापालाई प्रथम शहीद घोषणा गराउन पनि अर्को आन्दोलन गरेर अरु पनि शहीद बन्नुपर्ने हो गणतान्त्रिक सरकारले जवाफ देओस्।



















ruben pun magar
baglung , now malaysia