
चुरा थापा
२८ जनवरी २००९
सन् १९९६ को फेब्रुअरी महिनामा हंगकंग अाउनासाथ यो पर्व परेको थियो। मलाइ यो पर्व बारे केही पनि ज्ञान थिएन। म भर्खर हंगकंग अाएपछि यामु भन्ने एकजना बाग्लुंगतिरैका साथीको डेरामा केही दिन गुजारा गरेको थिएं। मेरो साथी त्यसबेला पिकको कुनै एउटा भवनमा सूरक्षा गार्डको काम गर्थ्यो। त्यसैले उसले भन्थ्यो चिनियां नयां वर्षको बेलामा चिनियांहरूलाइ कुंग हेइ फात चोइ भन्यो भने पैसा दिन्छन्। कुंग हेइ फात चोइको अर्थ तपाईंको सुख र समृद्धिको कामना गर्दछु भन्ने हुंदो रहेछ। यो चिनियांहरूको परम्परागत रूपमा बसिआएको चलन रहेछ। त्यसैले यो समयमा कुंग हेइ फात चोइ भन्यो भने विवाहित मानिसहरुले अविवाहित मानिसहरुलाई लाइसी नाम गरेको रातो प्याकेटमा पैसा राखेर दिने गर्दारहेछन्। यसको अर्थ आफुसंग भएको सौभाग्यलाई नयां पुस्तामा हस्तान्तरण गर्नु भन्ने लाग्दो रहेछ। आजकल ठुला ठुला व्यापारीहरुले आफ्ना कामदारहरु र सहकर्मीहरुलाई पनि सो लाइसी दिने गर्दछन्। त्यहि भएर त्यो साथीले कामबाट सांझ फर्केपछि राता राता खामहरूमा पैसा गन्न थाल्थ्यो। म पनि निकै रमाइलो मानेर उसको पैसा गनाइ हेर्थें।
चिनियां पात्रो अनुसार यो वर्षको नयां वर्ष सांढे नयां पर्व हो। चिनियां पात्रो १२ वटा जनावरहरुको चिन्हमा आधारित छ। चिनियां पौराणिक कथा अनुसार जब भगवान बुद्धले पृथ्वीबाट विदा लिने बेला भयो त्यसपछि उनले पृथ्वीमा भएका सबै प्रकारका जनावरहरुलाई विदाइको लागि बोलाए। तर जम्मा १२ वटा जनावरहरु मात्र उनको विदाइ गर्न आइपुगे। त्यसपछि भगवान बुद्धले पनि जनावरहरुलाई पुरस्कार स्वरुप हरेक एउटा एउटा वर्ष पालैसंग तिनै १२ वटा जनावरहरुको नाममा उनीहरुको आएको समयवर्णानुक्रम अनुसार राखिदिए। उनलाई विदा गर्न सबैभन्दा पहिले मुसा आयो त्यसपछि सांढे आयो अनि क्रमैसंग बाघ, खरायो, ड्रयागन, सर्प, घोडा, भेंडा, बांदर, भाले, कुकुर र सुंगुर आइपुगे। तसर्थ चिनियां नयां वर्ष क्रमैसंग यिनै जनावरहरुको नाममा मनाइन थालियो भन्ने भनाइ रहेको पाइन्छ।
शायद मानिसहरूलाइ लाग्न सक्छ, यसरी विभिन्न जनावरहरुको नाममा १२ वर्षहरु घुमिफिरी आउने भएपनि बिरालोको नाममा भने कुनै वर्ष छैन। चिनियां पौराणिक कथा अनुसार भगवान बुद्धले यसरी जनावरहरुलाई बोलाउनु अघिसम्म बिरालो र मुसा दुवै घनिष्ठ मित्र थिए। उनीहरु संगै बस्ने गर्दथे। भगवान बुद्धले बैठकका लागि बोलाएको अघिल्लो दिन पनि उनीहरु संगै थिए। तर सो दिनको बिहान भने मुसा आफैं भगवानसंग भेट्न जानको लागि अति नै उत्तेजित भएकाले बिरालोलाई उसले उठाउन भुल्यो र ऊ मात्र सबभन्दा पहिले पुग्यो। यो घट्नालाई बिरालोले भने मुसाले आफु भगवानको नजरमा प्रथम देखिनको लागि उसलाई नउठाएको भनी अपव्याख्या गर्यो। त्यसदिन बिरालो सुतिरह्यो। बैठकमै गएन। सोही कारणले उनीहरु जन्मजात दुश्मनमा परिणत भए।
यो वर्ष सांढेको वर्ष भएको हुनाले यो भन्दा हरेक १२ वर्ष पहिले र हरेक १२ वर्ष पछि पनि सांढे वर्ष नै पर्दछन्। चिनियांहरुले यहि वर्णानुक्रमानुसार मानिसहरुको पनि वर्ग छुट्याएका पाइन्छन्। उदाहरणको लागि यो वर्षभरि जन्मने मानिसहरु सबै नै सांढे वर्गका हुनेछन्। चिनियांहरु सांढे वर्गका मानिसहरु स्थिर र शहनशील हुन्छन् भन्ने विश्वास गर्दछन्। ति मध्ये पनि पक्का सांढे वर्गकाहरु अति नै शहनशील र जब्बर स्वभावका हुन्छन्। कुनै पनि काम फत्ते गर्ने सम्बन्धमा सांढे वर्गका मानिसहरु जस्तो लगनशील र निडर अरु वर्गका मानिसहरु हुंदैनन् भन्ने भनाइ छ। किनकि उहिलेको जमानामा सांढेले दिनहुं जमीन जोत्थे। त्यसैगरी यो वर्गको मानिसहरु पनि घरमा होस् वा कार्यक्षेत्रमा दिनहुं जसो बिना गुनासो काम गरिरहन मन पराउंछन्। सांढे वर्गका मानिसहरुलाई कडा परिश्रम र लगनशीलताले सफलता हात पार्न सकिन्छ भन्ने विश्वास हुन्छ त्यसैले उनीहरु छिटो धनी हुने अनेकथरी खराब तरीकाहरुमा विश्वास लाग्दैन ।
अहिले पनि चिनियांहरूले उनीहरूको नयां वर्षा अर्थात लुनार न्यू इयर धुमधामसंग मनाइरहेका छन्। सोही पर्वको अवसरमा नेपालीहरूलाइ पनि कम्ती सत्र परेको छैन। वर्षभरि कामैकामले थाकेर लखतरान परेका नेपालीहरू तीन चार दिनसम्म हुने यो पर्वको छुट्टीमा आफ्नै तरीकाले मनाउन व्यस्त छन्। यूनलोंगको एउटा नेपाली पसलमा मैले हिंजो मात्र एक हुल नेपालीहरू तासमा नारिएको देखेको थिएं। उनीहरू भन्दै थिए, कुंग हेइ फात चोइ कमाउने हो तास खेलेर। कमाउनेले कमाउलान् नकमाउनेले चाहिं दिन्छन् लाइसी भनेर ठट्टा गर्दै थिए उनीहरू। नेपालीहरूमा हंगकंगको सांस्कृतिक प्रभाव कत्तिको परेको छ त भनेर थहा पाउन टाढा जानुपर्दैन। आफ्नै बालबालिकाहरूलाइ हेरे पुग्छ। अनि आफ्नै वरिपरिका साथीसंगीलाइ हेरे पुग्छ। आजकल नेपाली युवापुस्ताले आफ्ना बाबुआमा, आफन्तहरू तथा शिक्षकहरूसंग पनि लाइसी माग्ने गरेका पाइन्छन्। आज मात्र छुट्टीमा बसेका मेरा एकजना विद्यार्थीले कुंग हेइ फात चोइ भन्दै थिए। अनि लाइसी लिन कहिले आउं भनेर ठट्टा गर्दै थिए। उनको लागि शायद त्यो ठट्टा थिएन होला। तर मैले ठट्टाकै रूपमा लिएर हांसेपछि फोन राखे। तर नढांटी भन्ने हो भने युवा पुस्ता मात्र होइन कन्स्ट्रक्सनदेखि सेक्यूरिटी क्षेत्र र होटल व्यवशायसम्म काम गर्ने नेपालीहरू आजकल यो पर्वको अवसरमा सकेसम्म धेरै लाइसी कमाउने अपेक्षा गर्दछन् ।


















