Home विशेष लेख हङकङमा ‘नेपाली सप्ताह’, र ‘नेपालीको’ सप्ताह !?

हङकङमा ‘नेपाली सप्ताह’, र ‘नेपालीको’ सप्ताह !?

E-mail Print PDF
प्रकाश के.सी.

हङकङ। सँधैझैं यो वर्ष पनि हङकङमा नेपाली सप्ताहको आयोजना भयो। नेपालीहरुको ज्यादा घनत्व भएको युनलोङलाई केन्द्र पारेर यो वर्ष पनि बितेका वर्षहरुमा जस्तै उत्साहका साथ सप्ताह ‘मनाइएको’ छ। हङकङ नेपाली कला मन्दिरको आयोजना र हङकङ नेपाली फाउण्डेसनको संयोजनमा सञ्चालित सो सप्ताह एउटै संस्थाबाट सञ्चालित भए तापनि ‘हङकङ नेपाली’ संस्थाको नाममा जोडिएको भएकोले यसलाई तदनुरुप हङकङमा मनाइएको छ भन्नु पर्ने हुन्छ। खासगरी वर्तमान अवस्थामा नेपालमा जात तथा जातीयताका वहसहरुमा एक किसिमले देश विविध रुपमा विभाजित हुँदै जाने क्रम भए तापनि हङकङ नेपाली फाउण्डेसनले विदेशी भूमिमा आफ्नो शाश्वत सँस्कृतिसहित नेपालीहरु एक भएर रहनु पर्ने गम्भीर तथा भावानात्मक रुपको प्रदर्शनी गर्दै सोको सन्देश हङकङेली नेपाली समाजमा दिँदै आएको छ, जो कुनै पनि सन्दर्भमा अत्यन्तै सराहनीय प्रयास हो।

खासगरी यो वर्ष, विस्तारै नेपाली समाजहरु एक किसिमले शहरबाहिर कार्यक्रम गरी आफ्नो जातीय तथा पारम्परिक सँस्कृतिको जगेर्ना गर्दै त्यसको विस्तार अन्य जाति तथा समुदायमा गरेको भानबाट मुक्त भई शहरको बीचोबीच प्रदर्शनी गर्न थालेका छन्। त्यसमा राई, गुरुङ अगाडि आएका छन् र अन्य जातिहरु पनि बिस्तारै शहरकेन्द्रित हुने अवस्थामा छन्। सो प्रयास साँच्चै नै सँस्कृतिको विस्तार रुपको केही हदसम्म माथिल्लो कडी हो। हिन्स, फियोना, मीतेरी सेवा समिति पोखरालगायतका गैरजातीय सँस्थाहरुले नेपाली सँस्कृतिका विविध जातिहरुका पक्षहरुलाई स्थानीय अन्य समुदायहरुका बीच विविध शीर्षकमा कार्यक्रमहरुको आयोजना गरी प्रदर्शनी गर्दै आएको पनि यही सन्दर्भमा विशेष प्रयास हो तर जसरी हङकङ नेपाली फाउण्डेसनले हङकङको एक मुख्य शहरको परिक्रमा विभिन्न नेपाली जातीय भेषभुषा, ध्वनिमय बाजाहरुका साथ गर्दछ, त्यो धेरै माथिल्लो कार्य हो। त्यसले एक विशेष स्थानमा उपस्थित हुनेहरुलाई मात्र नभई यत्रतत्रका विविध समुदाय तथा जातिका दर्शकहरुलाई नेपाली जातजातिका विविध साँस्कृतिकताको सफल रुपमा परिचय दिन्छ र सोही हिसावले हङकङ नेपाली फाउण्डेसन अग्रस्थानमा रहेको स्वीकार्नै पर्दछ।

नेपाली भाषाका साथ नेपाली साँस्कृतिकतालाई आफूसँगै यहाँ अर्थात् हङकङको मूलधारमा लाने प्रयत्नमा थालिएको यो नेपाली सप्ताहको महत्व सोही विषयमा मात्र अधिक नभएर नयाँ पुस्ताहरुका मनमा नेपाली भाषा, साहित्य, सँस्कृतिलगायत नेपाली इतिहासहरुको बारेमा गहिरो अभिरुचि जगाउने हेतु सप्ताहभर प्रदर्शन गरिने, मञ्चन गरिने विविध पक्षहरु अत्यन्तै सटिक रहेको मान्न सकिन्छ। विश्व भ्रातृत्व, विश्व शान्ति अनि जातीय सौहार्दता आदिका बारेमा प्रभाव पार्ने किसिममा विविध धर्महरुको, शैलीहरुको पक्षलाई एक साथ समायोजना गरी प्रस्तुत गरिएको पक्ष फाउण्डेसनको समयसापेक्ष तथा सकारात्मक अनि प्रभावपूर्ण अवधारणा हो। त्यसको प्रशँसा नगरी हुँदैन।

सयवटाभन्दा वढी संघसंस्थाहरु जन्मिसकेको हङकङमा दर्जनौं दर्जन जातीय सँस्थाहरु रहेका छन्, तिनले आफ्नो जातीय तथा पारम्परिक साँस्कृतिकतालाई सम्वर्द्धन गर्न अनेकौं कार्यक्रमहरु गर्ने गरेका छन्। गाउँ तथा जिल्लाका सँघसंस्थाहरु छन्, तिनीहरु एक आपसमा एक्वेवद्धतालाई एथावत राख्नका लागि प्रसँग विशेष कार्यक्रमहरु, भेलाहरु गर्ने गर्दछन्। यस्ता कार्यक्रमहरुको निचोड वास्तवमा भन्ने भए, एक किसिमले नियमितता मात्रै भएको छ। पोहोर, परार तथा त्योभन्दा अघि जे र जस्तो गरिन्थ्यो, त्यही मात्रै भएको बुझ्न सकिने तिनका प्राप्ति भएको छ। अझ, तिनले गरेका कार्यक्रमहरुको फोटो पत्रपत्रिकामा राख्नका लागि कुनै पनि वर्षका कुनै तस्वीरलाई छान्न सकिन्छ, एउटै स्थान, एउटै शैली अनि उही व्यक्तित्वहरु देखिने सो कार्यक्रमहरुले कालान्तरमा जनरुचि हराउँदै जानसक्दछ। हङकङमा रहन थालेको दशकौं बित्दा पनि चीनियाँ मूलधारबाट अलग रहनु परेको हङकङेली नेपाली समाजको वास्तविकता हो भने केही व्यक्तिहरु यस्तै अवस्थामा पनि समूल रुपमा नेपाली राजनीति, नेपाली जातीय विभाजनहरु यहाँको नेपाली समाजमा घुसाउँदै छन् र त्यसको प्रत्यक्ष रुपमा यहाँ प्रभाव पनि पर्दै गएको छ। यहाँ त्यत्तिका लामो समयदेखि बसोबास गर्दै आएका नेपालीहरु कसरी यहाँको मूल समाजभित्र ‘इन्टेग्रेटेड’ हुने भन्नेबारे चिन्तन गर्दै प्रयासरत रहनु पर्नेमा झन् झन् साँघुरो दायराभित्र पस्दै गएका छन्। कुनै जाति विशेषले आफ्नो चाड मनाउनका लागि आफ्नै जातिहरु खोज्दछन् भने तिनका ती साँस्कृतिकताले विस्तार रुप कसरी देख्दछ त ? यस्ता जातिहरुका सो प्रवृतिका भेलाहरुमा अन्य जातिहरु अत्यन्तै कम वा नगन्य देखिन्छन् भने स्थानीय अन्य समुदायहरु त देखिँदै देखिँदैनन्। हङकङमा बसोबास गरेको दर्जनौं वर्षहरुमा पनि के नेपालीका चाइनिज, भारतीय, पाकिस्तानी, वा अँग्रेज परिवारहरुसँग पारिवारिक मित्रता छैन त ? किन त ती समुदायहरु नेपाली भेलाहरुमा देखिँदैनन्। किनभने नेपाली जातीय अवधारणाभित्र नेपाली समाजमा साँघुरो परिवेशको सिर्जना भएको छ। एक जातिका भेलामा अर्को जातिलाई अटाउन मुश्किल पर्ने गर्दछ भने अन्य समुदायहरुलाई त झनै अप्ठेरो होला। नेपालीहरु यहाँ पहिला नेपाली हुन्, अन्य प्रकारान्तरमा मात्र भन्ने नेपालीहरुका ठूलो जमातले यहाँ बिर्सँदै गएको छ तर ती जमातलाई हामीले गलत गर्दैछौं भन्ने सन्देश दिन वास्तवमै भन्ने भए हङकङ नेपाली फाउण्डेसन लागेको छ। फाउण्डेसनका कार्यहरुले समस्त नेपालीलाई सम्वोधन गर्ने गर्दछन्। यति हुँदा हुँदै पनि किन फाउण्डेसन, लगभग डेढ दर्जन हजार हङकङेली नेपाली समाजमा अगुवा भई प्यारो तथा विश्वासिलो हुन सकेको छैन त ? फाउण्डेसनले गर्ने नेपाली सप्ताहमा किन त हङकङेली नेपाली समाजको चर्चालायक सहभागिता रहने गरेको छैन ?

हङकङ नेपाली फाउण्डेसनभित्र १२ वटा सँस्थाहरु रहेका छन्। १- हङकङ नेपाली कला मन्दिर, २- हङकङ नेपाली साहित्य परिषद, ३- हङकङ नेपाली पाठ्यक्रम विकास परिषद, ४- हङकङ नेपाली भाषा तथा परीक्षा बोर्ड, ५- हङकङ नेपाली विद्यार्थी सँघ, ६- हङकङ नेपाली शिक्षक सँघ, ७- हङकङ नेपाली महिला सँघ, ८- हङकङ नेपाली अभिभावक सँघ, ९- हङकङ नेपाली खेलकुद सँघ, १०- नेपाली-चीनी मैत्री सँघ, ११- गोर्खा सिमेट्रिज ट्रस्ट र १२- हङकङ माइनोरिटिज कम्युनिटी एस्सोसिएसन। हङकङमा नेपाली कलाकारको संघ छ, गीतकार समाज छ, नाच्ने समूहहरुको समाज छ, गाउनेहरुको समाज छ तर ती हङकङ नेपाल कला मन्दिरसँग सरोकार राख्ने खालका छैनन्। यसमा ती सँस्थाहरु अयोग्य छन् या हङकङ नेपाली कला मन्दिर सँकुचित छ भन्ने खोज्नतिर यो लेखमा नजाऔं। नौ, दशवटा साहित्य सँस्थाहरु छन्, जसले वर्षभरि केही न केही साहित्यिक कार्यक्रमहरु गर्ने गर्दछन्, हङकङेली नेपाली साहित्यलाई प्रकाशन गर्ने, तीउपर सिर्जनात्मक कार्यक्रमहरु राख्ने पनि गर्दछन् भने कोही साहित्यिक प्रतियोगिता तथा गोष्ठीहरु गर्ने गर्दछन्। यस्ता सँघसँस्थाका पदाधिकारीहरुका चर्चा नेपाली राष्ट्रिय पटमा पनि हुने गर्दछ तर ती सँस्थाहरु हङकङ नेपाली साहित्य परिषदसँग सम्वन्धित छैनन्। हङकङ नेपाली पाठ्यक्रम विकास परिषदले नेपाली बालबालिकाहरुका लागि हङकङमा पाठ्य पुस्तक प्रकाशन गर्ने क्रममा स्थानीय सरोकारवालाहरुलाई संलग्न गरी, विचारविमर्शको आधारमा सापेक्ष पुस्तकको प्रकाशन गरिनुपर्दछ तर सरोकारवालाहरु अर्थात् ठूलो सँख्याका नेपाली विज्ञहरु अनभिज्ञ छन् यो कार्यमा भने त्यस्तै हालात हङकङ नेपाली भाषा तथा परीक्षा बोर्डको छ। हङकङ नेपाली विद्यार्थी, शिक्षक, अभिभावक, महिला आदि सँघको औचित्यताहरुउपर शँका नै गर्ने प्रशस्त आधारहरु छन्। ‘हङकङ नेपाली’ भन्नासाथ हङकङेली नेपाली सम्पूर्ण विद्यार्थी, महिला, अभिभावक तथा शिक्षकहरुको समूह भन्ने बुझ्न सकिन्छ तर ती नामधारी सँस्थाहरुबाट सार्वजनिक रुपमा कार्यहरु भएको, एक्वेवद्धता दर्शाएको कुनै उदाहरणहरु भेटिएका छैनन्, जसले गर्दा ती खानापूर्ति गर्ने खालका मात्र लाग्दछन्। तेक्वान्दो, सितोरियो, फुटबल, भलिबल, बास्केटबल, क्रिकेटलगायतका खेलहरुको दर्जनौं संस्थाहरु छन्, ती सँस्थाहरु हङकङ नेपाली खेदकूद सँघसँग छैनन्। त्यस्तै अल्पसँख्यक समुदायहरु कति होलान् जो हङकङ माइनोरिटिज एस्सोसिएसनसँग आवद्धता राख्दछन्। वास्तविकतामा जेजस्तो देखिए पनि फाउण्डेसनले नामैको सहारा लिन थालेको एक किसिमले प्रपञ्च मात्र लाग्ने खालको लाग्दछ।

हङकङेली नेपाली समाजको निर्माण कार्यमा प्रेरकपुरुषहरुका रुपमा स्मरण गर्ने भनेर फाउण्डेसनले हङकङेली ससाना नेपाली विद्यार्थीहरुसमक्ष देहरादूनका ठाकुर चन्दन सिँग, दार्जीलिँगका धरणीधर कोइराला, भाक्सुका माधोसिँग राना, मेघालयका मणिसिँग गुरुङ, कालेबुङका पारसमणि प्रधानको योगदानको कदर गर्ने भनेको बुझिनसक्नुको छ। यसको आधारको बारेमा आम हङकङेली नेपाली अनभिज्ञ छन्। नेपाली विद्यार्थीहरुका धारणामा गलत सम्प्रेषणा हुन थाल्दै गएको बुझ्ने एक जमात आम नेपालीहरु देखिएका छन् यसै सन्दर्भमा।

तर आखिर, जे र जस्तै भए पनि, ‘नेपाली सप्ताह’ गर्ने, ‘पुर्खा दिवस’ मनाउने फाउण्डेसनको योगदान हङकङेली नेपाली समाजमा मेट्न तथा वेवास्ता गर्न नमिल्ने किसिमको छ। फाउण्डेसनबाट समूल रुपमा हङकङेली नेपालीहरुको अस्तित्व समाहित हुने कार्यक्रमहरु भएका छन्। ती कार्यक्रमहरुको सफलता विफलतामा हङकङेली नेपाली समाज प्रभावित पक्कै नै हुने गर्दछ। आम नेपालीको आम दिनमा त्यसले प्रत्यक्ष असर तथा प्रभाव नपारे तापनि कालान्तरमा त्यसको छाप नमेटिने किसिमले सकारात्मक तथा नकारात्मक दुबै प्रकारका हालातमा रहने पक्का छ। त्यसैले गर्दा, हङकङ नेपाली फाउण्डेसनले र हङकङेली नेपाली समाज (विविध सँघसँस्थाहरु)ले फाउण्डेसनबाट गरिएका वा गरिने कार्यहरुमाथि हल्का किसिमको धारणा बनाउने पनको अन्त्य गर्नु अत्यन्तै जरुरी भएको छ।

हङकङमा नेपालीहरु आफ्नो सम्पूर्ण शाश्वत अस्तित्वसहित यहाँ छन् र भविष्यमा पनि सोही हालातमै रहनु पर्दछ। त्यसको लागि आफ्नो जातिविशेष, क्षेत्रविशेष, धर्मविशेष सँस्कृतिहरु, रहनसहनहरु तथा धारणाहरु सोही हालातमै सम्वर्द्धन गरिनुपर्छ। आफ्नो सँस्कृतिसँगै आफ्नो परिचय गाँसिएको हुन्छ। परिचयविहीन अवस्थामा अनागरिकसरह बाँचेजस्तै हुन्छ। हङकङको कानूनसम्मत नेपालीले विविध नेपाली साँस्कृतिकतालाई समूल रुपमा मुख्य धारमा प्रवेश गराई त्यसलाई स्थानीय विधानसम्मत बनाउनका लागि प्रयास गर्नुपर्दछ, त्यसका लागि हङकङेली नेपाली समाजमा जातीय समायोजन हुनु जरुरी छ, जातीय सौहार्दतामा पारस्परिकतामा समूहगत विकासको खाका कोर्न सकिन्छ। फाउण्डेसनबाट गर्ने गरिएको सप्ताहव्यापी नेपाली सप्ताहको समयलाई हङकङेली नेपाली समाजले आत्मसात गर्न जरुरी छ, किनकि मूलधारमा नेपाली सँस्कृतिलाई प्रवेश गराउन सकिने त्यो मुख्य र प्रभावकारी प्लेटफर्म हो। फाउण्डेसनले ससाना बालबालिकाहरुको सहभागितालाई मात्र मुख्य रुपमा उपयोग नगरी हङकङेली नेपाली समाजमा लचकदार रुपमा पस्नु पर्ने आवश्यकता तड्कारो रुपमा देखिएको छ। फाउण्डेसनसँग सम्वन्धित पदाधिकारीहरुलगायत नेतृत्वले आफू तथा आफ्नो कार्यगत सक्षमतालाई हङकङेली नेपालीमुखी बनाउनेतर्फ अग्रसर हुन जरुरी छ।

बालबालिकाहरुका माध्यमबाट हङकङमा जातीय विविधतासहितको नेपाली साँस्कृतिकतामा पृथक रही बेग्लै देखिँदा पनि आम रुपमा नेपालीहरु समान हुन् भन्ने धारणालाई विस्तार गर्ने फाउण्डेसनको प्रयास अनुकरणीय रहेको छ। सोही अनुकरणीय पक्षलाई नेतृत्वकर्ताहरुले हङकङेली नेपाली समाजमा आम बनाउनेतर्फ लाग्ने र बिनाकुनै पूर्वाग्रह, समस्त नेपाली हितका लागि सो पक्षलाई अनुशरण गर्न, हङकङलाई लामो समयबाट कर्मथलो बनाई जीवनको लगभग आधा समय बिताउन थाल्दैका नेपाली समाजका मुख्य धारका नेपाली परिवारहरु सँकुचित रहनबाट मुक्त हुनु पर्ने बेला आएको छ।

यो वर्ष, प्रस्तुतिको पक्षमा, नेपाली सप्ताह उत्तम रहेको छ।
 
Comments (1)
Good
1 Thursday, 31 December 2009 18:33
Netra paharai
P K Ji very nice bibechana we need to change our mind and other activity.otherwise we cant integrate with HK People.

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

 

नेपाली उखान टुक्का

खाई न पाई छालाको टोपी लाई

Gallery

Interaction with Journalists

Music Archive : Saalaijo

Music Archive :- Purano Hudaina Maya

Music Archive - Tapovan

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Lok Pop Geet :- झरनाको चिसो पानी

free counters

(Since April 2009)