किन्दर राईहाम्रो कमजोरीः अज्ञानता र लापरवाही
गतसाल २००८ को हंगकंगबाट नेपालको यात्रा र नेपालबाट हंगकंग फर्कंदाको यात्रा मेरो लागि दुवै चोटी हतारो र चटारो मात्र होइन झन्जटपुर्ण पनि रहृयो। खासगरी हवाईजहाजको यात्रामा यात्रुहरुले साथमा के लानु हुन्छ र के लानु हुँदैंन भन्ने कुराको ज्ञानको अभाव र यसप्रतिको लापरवाहीले नेपाल तर्फ जाँदा र नेपालबाट हंगकंग र्फकदा दुवै पटक हैरानी बनायो। एघार वर्षछि आफ्नो जन्मथलो पहाड खोटांग पनि जाने मनसायका साथ नेपालको यात्राको तयारीमा रहेको थिएँ। करिब करिब सबै भारीहरु मिलाइसकिएको थियो। युकेमा रहनु भएका एकजना साथीले हुण्डीमार्फत काठमाण्डु पठाइदिनु भनेको अनुहारमा घस्ने मल्हम (सायद सनब्लक हुनुर्पर्छ) लाई तपाईंले नै लिएर गइदिनुहोस् भन्नु भएकोले त्यसलाई चाहिँ अन्तिम क्षणमा आएर भारीमा मिलाउनु पर्ने भयो। एक दर्जन ती मलमको बट्टाहरु मध्ये केही लगेजमा पस्यो र दूइवटालाई हृयाण्डक्यारीमा मिलाएर राख्ने परियो।
चेक्लाप्कोक् अन्तर्राष्ट्रिय विमानस्थलमा सामानहरुको नापतौल पछि करिब दश केजीको हृयाण्डक्यारी बोकेर म एयरपोर्टको इमिग्रेशनको औपचारिकताको लागि अगाडि बढेँ । आफ्नो साथमा लिएर जान लागेको हृयाण्डक्यारीको सामानहरुको कम्प्युटर स्क्यानिङ्ग चेकपछि खोलेर प्रत्यक्ष चेक गर्ने पालो आयो। बडो सावधानीसाथ हेर्ने यहाँका चाइनिज कर्मचारीहरुले नियम भन्दा अलिकति पनि दायाँवायाँ गर्न जान्दैनन्। मेरो ब्यागबाट साथमा लान वर्जित गरिएको भनिएको सामानहरुमा त्यही साथिले लिएर गइदिनु भनेको त्यही अनुहारमा दल्ने मल्हम परेछ। १५० मिलीलीटर भन्दा बढि भएकोले साथमा रहेको मेरो दन्तमन्जन र पर्फ्युम पनि परेछ। एकजना महिला कर्मचारीले कडाइकासाथ उर्दी गरिन, "यिनीहरुलाई कि त यही छोड्नु पर्यो कि लगेजमा पठाउनु पर्यो"। अर्काको पार्सल भएकोले यी जति नै सस्तो भए पनि मैले छाड्ने कुरै थिएन। मेरो पर्फ्युम र मन्जन त म सजिलै माया मार्न सक्थेँ तर साथीको त्यो पार्सलको लागि भए पनि ती सामानहरुलाई लगेजमा पठाउने मनासाय बताएँ। एउटा घुमौरो बाटोबाट म मेरो हृयाण्डक्यारीको सामान बुझाउन अधि नापतौल गरेको बाहिरको काउण्टरमा निस्केँ। काउण्टरमा पुग्दा नेपाल एयरलायन्सको काउण्टर बन्द हुनै लागेको थियो। त्यसैले त्यहाँको चाइनिज कर्मचारीले हतारहतारमा साथमा लान नमिल्ने सामानहरुलाई पनि मेरो हृयाण्डक्यारीमा नै हालेर त्यहाँ भएको एउटा एलसिडि मोनिटर निकालेर दियो। साथमा लान नमिल्ने ती सामानहरु लानको लागि छुट्टै ब्याग नभएकोले यस हृयाण्डक्यारीको ब्याग नै कन्भेयर बेल्टमा हालेर पर्ठाई दियो। यसरी पछि पठाइएको सामानको भने तौल गरिँदो रहेनछ। अब मेरो हातमा हृयाण्डक्यारी भनेर साथमा लानु पर्ने सामानमा त्यही एलसिडि मोनिटर मात्र रहृयो।
काठमाण्डौको एयरपोर्टमा ओर्लिएपछि एउटा छुट्टै मातृत्वको आभास त हुन्छ नै यसको साथसाथै अनावश्यक झन्जटको त्रास पनि उतिक्कै भइरहेको हुन्छ। आफूले कुनै सामान भन्सार नतिरी लाने चाहना राख्ने यात्रुहरुको कारण र भन्सार सम्बन्धी राम्रो ज्ञान नभएकोले यात्रुहरुबाट खान पल्केका कर्मचारी र यात्री-कर्मचारी दुवैको मिलोमतोमा भन्सार छलेर सामान कटाउने कुप्रथाले व्यप्त भन्सारमा सँधै के कस्तो झमेलामा फसिने हो भन्ने तनाव भइरहेको हुन्छ। वास्तवमा हाम्रो भन्सार व्यवस्था र हामी यात्रीहरुकोबीच एउटा अविश्वासको पर्खाल कायम रहेको छ। आफ्नो कुनै इरादा नभए पनि कुनै न कुनै अनपेक्षित झन्जटमा फसिने हो कि अज्ञात भय भइरहन्छ।
यसपटक पनि मेरो यस्तो भन्सार छलेर वा कम गरेर लान पाए हुन्थ्यो भन्ने प्रकारको सामान केही थिएन। सुटकेश र ब्याग लिन कन्भेयर बेल्टको घुमाउने ठाँउमा पुगियो। आफ्नो चिनेको सामान सरासरी ट्रलीमा हालियो। कन्भेयरले अरु कसैको एउटा सामान दुइ पटक जति घुमाइसकेपछि अब आफ्नो सुटकेश सकियो भनेर हिडियो।
गणतन्त्र घोषणा भएपछि यो नेपालको पहिलो भ्रमण थियो। त्यसैले अलिकति मनमा बेग्लै अनुभुति भई रहेको थियो। यो दिन सन २००८ अक्टोबर महिनाको २८ तारिक थियो। पाटनको चाकुपाटको कोठामा पुगेपछि बेलुका लुगा बदलेर सुत्ने बेलामा थाहा भयो एउटा सुटकेश छुटेछ। जहाजभित्र पसेपछि उड्ने बेलामा श्रीमतीले तपाईंको सामान जम्मा ५ वटा भयो है भनेको कुरा यादै गरिएन छ। यहाँ सबै ब्यागहरु गन्ती गर्दा जम्मा चारवटा मात्र पाइयो। कन्भेयर बेल्टमा त सबै सामान घुमिसक्दा पनि आफ्नो सामान बाँकी रहेको थिएन। यसको मतलब मेरो अब त्यहाँ कुनै पनि सामान छैन भन्ने निश्चित भएपछि म त्यहाँबाट हिडेका हुँ। हृयाण्डक्यारी भनेर ल्याएको तर हङ्गकङ्गको एयरपोर्टमा साथमा लिएर यात्रा गर्न नपाईने सामान परेकोले पछिबाट फर्काएर लगेजमा पठाइएको सुटकेश चाहिँ छुटेछ। रात धेरै परिसकेकोले भोलि बिहान कुर्नुको कुनै विकल्प थिएन। सबै सामानको ट्याग सहित एकपटक विमानस्थलबाट बाहिरिएपछि नियम अनुसार सामानको दावा गर्ने अवस्था हुँदैन। त्यसैले यो सामान नियम अनुसार खोज्न नमिल्ने भइसकेको थियो। तर सत्यको धन र कर्मचारीहरुको इमान धर्म सम्झेर राखिदिएको छ भने पाइने छ नत्र माया मार्नु पर्ने अवस्था थियो।
कर्मचारीको इमान धर्ममा भर परेर बिहान एयरपोर्ट गइयो। सामान दावी गर्ने साखामा गएर बुझ्दा अधिल्लो दिनको हङ्गकङ्गको उडानबाट सामानहरु छुटेर रहेको थाहा भयो। कर्मचारीले अभिलेख नै नहेरी सोझै बताइहाल्यो, "ल ल सामानहरु स्टोरमा छ त्यहाँ गएर सामान चिनेर लानोस्" भनेपछि म पनि ढुक्क परेर स्टोरको कर्मचारीलाई भेट्न गएँ। सबै स्टोरहरु हेरियो तर मेरो सामान थिएन। हिजो छुटेको सामानको अभिलेखहरु हेरियो, मेरो सामानको अभिलेख पनि थिएन। हङ्कङ्बाट आउनेहरु दुई तीन जनाको चारपाँच वटा सुटकेस थियो। त्यसपछि मेरो चित्त बुझाउन अन्य गोदामहरु पनि देखाइदियो। छुटेको हजारौं सुटकेस र झोलाहरुको त्यो उरुङ्गमा मेरो सुटकेश थिएन।
फेरि त्यही सामान दावी गर्ने अफिसमा फर्किएर हङ्गकङ्गबाट आएको फ्लाइटको सबै छुटेको सामान भएको तर मेरो सामान नभएको कुरा बताएर मेरो छुटेको सामानको ट्याग देखाएँ। यसपटक भने कर्मचारीले त्यस ट्यागको नम्बरलाई कम्प्युटरमा चेक गर्यो। नभन्दै मेरो सुट्केश त्यही दिन बेलुकाको ड्रागन एयरको फ्लाइटमा आउनेवाला भनेर स्ट्याटसमा जनाइएको रहेछ। यति भएपछि कर्मचारी पनि ढुक्क भयो म पनि ढुक्क भएँ। हाम्रो यहाँ कम्तीमा एयरपोर्टमा मात्र भए पनि कम्प्युटर नेर्टवर्क भएकोमा खुशी लाग्यो। त्यही मेरो सामानको स्ट्याटसलाई प्रिन्ट आउट गरि मागेर त्यसैको आधारमा ड्रागन एयर अवतरण गरेको आधा घण्टा भित्र एयरपोर्ट पसेर सोझै सामान घुमाउने कन्भेयरमा गएँ। हिजो सबै सामान घुमेको हुनाले आफ्नो सामान सकियो भनेर हिडेको ठाउँमा मेरो हरियो रंगको सुटकेश घुमिरहेको थियो "म त आज पो आइ पुगें नि" भन्दै। आफ्नो सामान पाँच वटा छ भन्ने हिजो नै मनमा लिएको भए यसको स्ट्याटस चेक गरिन्थ्यो कुन सामान छुटेछ भन्ने कुरा पनि हिजै थाहा लाग्ने थियो। यो तनाव सृजना नै हुने थिएन। आफ्नो भुलक्कड बानीले दुःख पाइयो। ब्याग खोजाईको दौरानमा त्यहाँका कर्मचारी र कामदारहरुको ब्यावहार भने सौहार्दतापुर्ण लाग्यो।
यसको करिब २० दिनपछि अर्थात नोबेम्बर महिनाको १८ तारिकको दिन पुनः नेपालबाट हङ्गकङ्ग फिर्ने सुरसार कसें। आफ्नो लगेजमा प्रायः खानेकुरा, कपडा र पुस्तकहरु थिए। खानेकुराहरुमा पनि प्रायः सुकुटी, दाल र गुन्द्रुकहरु थिए। सामानहरुमा आफन्तको पठाउने एक प्याक सुकुटी पनि परेको थियो। सामानहरु करिब करिब मिलाइसकेको अवस्थामा त्यो पठाउने सुकुटी पाइएको हुनाले र हृयाण्डक्यारीमा राख्दा मिल्ने भएकोले त्यसलाई पनि हृयाण्डक्यारीमा नै राखेको थिएँ।
हङ्गकङ्ग एयरपोर्टको नियत भोग्नु नपरोस् भनेर निकै सावधानी अपनाएर ज्वलनशील लाग्ने तरल पदार्थहरु (१५० मिलिलीटरभन्दा बढि) केही पनि हृयाण्डक्यारी भित्र राखेको थिइनँ। साना-साना काट्ने चिजहरुमा नङकाटने नैनी पनि राखेको थिइनँ। एककिसिम म ढुक्कै थिएँ बिना झन्जट एयरपोर्टमा जहाज भित्र प्रवेश गरिन्छ भन्ने।
एयरपोर्ट प्रवेशद्वारको सेक्युरिटि चेक नापतौलसम्मका सबै काम सकिएपछि शारीरिक चेक भयो। माथिल्लो तलामा इमिग्रेशनको औपचारिकता पनि सकियो। साथमा लिएर जाने सामानको शुरक्षा जाँच बाँकि नै थियो। कपडा र पुस्तकहरु सँधै नै लाने गरेकै हो, स्याम्पु तेल केही छैन, यो सुकुटी छ, यो न त ज्वलनशील तरल हो, न बिस्फोटक चिज, न त काट्ने हतियार नै। यसलाई लिएर जान नपाइने कारण नै के पो होला र ?
शुरक्षा जाँचमा दुइ जनामात्र प्रहरी खटिएका थिए। त्यसमध्ये एकजना इन्स्पेक्टर थियो कालोकालो वर्णको। तर्राईबासी हो जस्तो लाग्यो। एकजना च्याङ्से च्याङ्से पुलिस पनि अलि कालोकालो वर्णको नै थियो। तर उनीहरुको छालाको वर्ण भन्दा पहिले नै मलाई चाहिँ उनीहरुको आत्माको कालो बढि गाढा लाग्छ। देशमा गणतन्त्र आइसकेको भए पनि नोकरशाहीतन्त्रको हाली मुहाली छँदैछ। पुलिस कर्मचारी भित्रको कालोपना अलिकति पनि सफा हुन सकेको छैन न त मन्त्री नेतागणको नै।
झोला उघारेर हेर्नुभन्दा अगाडि नै त्यही च्याङ्से पुलिसले सोध्यो के छ हजुर ब्यागमा भनेर, इन्स्पेक्टरले पनि कान यतातिर लगाएको थियो। खोल्नुस् त भनेर पुलिसले भने पछि मैले खोलेर देखाएँ। एउटा पोका सुकुटी बाहेक सबै पुस्तकै पुस्तक थियो। टुक्रा-टुक्रा पारेको सुकुटीको पोका देखाउदै उसले सोध्यो। "यो के हो ?"
मैले ढुक्कै सँग भनें, "यो सुकुटी हो"।
यताउता चेक गर्दै गरेको त्यो कालेकाले इन्स्पेक्टरलाई सुनाउदै त्यो च्याङ्से पुलिसले भन्यो "यहाँ सुकुटी रहेछ साप्।"
"यो लान पाउनु हुन्न तपाईले" त्यो इन्स्पेक्टरले भन्यो। मलाई यो सुकुटी लान नपाईने भन्ने कारण थाहा थिएन।
त्यसैले सम्झें यो अवैध त हो अन्य कुनै कारण त होला तर सुरक्षा सम्बन्धी त होइन होला।
"होइन यति सुकुटी लाँदा नै के फरक पर्छ र ?" मैले भने। "सुकुटी लाने, अनि पुस्तक भन्ने ?" इन्स्पेक्टर अलि कड्क्यो।
मैले सम्झें, अघि ढाँटेकोले अलि रिसाएको होला।
"होइन इन्स्पेक्टर साप्, अव यति ल्याइहालियो, के फरक पर्छ र, कि सुकुटीलाई पुस्तक भन्ने बितिक्कै लान नपाईने भन्ने हुन्छ र ?" मैले अनुरोधको भाकामा भनें।
"होइन, यो लान पाइन्दैन भनेपछि पाइन्दैन।" उसले अडान लियो।
एकजना भाइ पनि सुकुटी त लान नपाइने रहेछ भन्दै फर्किन्दै थियो र आफ्नो रुक्स्याक् बिसाउँदै थियो। अब भने मलाई पनि पक्का भयो सुकुटी त लान नपाइने नै रहेछ, यसपटक पनि गल्ती गरिएछ।
सजिलो र फाइदाको लागि बिकृतिः
यसपछि उसले काम पनि गर्दै गरेको हाम्रो कुराकानी सुन्न भ्याइरहेको त्यही च्याङ्से पुलिस तर्फ इंकित गर्दै भन्यो, "ऊ त्यो भाइलाई भन्नुस्।"
"के भन्नु पर्ने हो" त्यो उसले भनेन र मैले पनि सोधिनँ। जुङ्गा चल्यो कुरा बुझ्यो। ऊ भन्दा धेरै तल्लो तहको पुलिसलाई यसको निर्णय गर्ने जिम्मा कुनै पुलिस अफिसरले दिन्छ भने हाम्रो नेपाल जस्तो ठाउँमा "के कुरा" हुन्छ नबुझिने कुरै थिएन।
दाहिनेपट्ट अलिक अगाडि एउटा सानो तीनतिर छेकाबार भएको बुथ थियो। इन्स्पेक्टरको आँखाको सांकेतिक भाकापछि त्यो पुलिस पनि त्यतैतिर लाग्यो र म पनि त्यतैतिर लागें। केही नबोली उसको शिरदेखी खुट्टा सम्म हेरें। "ल म उपस्थित छु" भन्ने मेरो अमुक भाषाको भनाइपछि उसले भन्यो। "ल सरले के भन्नु भएको छ गर्नुस्।" यो "गर्नुस" भन्ने शब्दमा उसको बढि जोर थियो।
त्यो बुथ वा आंशिकरुपमा भए पनि एकान्त ठाउँमा गर्नु पर्ने कुरा मैले बुझिसकेको थिएँ। तर मैले बुझ पचाएर भनें "उहाँले त केही भन्नु भएन खाली ऊ त्यो भाइलाई भन्नु मात्र भन्नु भयो।" भन्दै उसलाई सोधें, "यो सामान यहाँबाट लान पाइन्दैन भने लगेजबाट त जान्छ होला नि, अरु उपाय त होला नि" भनेपछि उसले भन्यो "हो लगेजबाट पठाउनु पर्छ, त्यसको लागि तल फर्केर जानु पर्ने हुन्छ।" ऊ आफ्नो ठाँउमा नियममा आयो।
के गरौं म दोधारमा परें। गोजीमा केही पैसा त थियो। एउटा सयको हङ्गकङ्ग डलर र अन्य मसिना हङ्गकङ्ग डलर पनि थिए। सय डलर दिएर यो झन्जटबाट उम्कौं कि जस्तो पनि लाग्यो। डलर सम्म हात पनि पुर्याएँ। झण्डै मुख खोलें "यी यो सय डलर लिनु, छोडिदिनु" भनेर तर सम्झें सामान सय डलरको पनि छैन। आफनो सामान भए रद्दीको टोकरीमा फालेर वा अन्य तल्लो स्तरको कर्मचारीलाई दिएर हिड्थे हुँला। तर यो भनेको कसैको नासो, कसैको विश्वास र नेपालबाट आएको सम्झनाको कोसेली हो। यसलाई पैसासँग तुलना गर्न मिल्दैन। त्यसैले यसलाई जसरी भए पनि लानै पर्छ भन्ने निश्चय गरें। तर यी घुस्याहा कर्मचारीलाई एक पैसा नदिइ सामान हङ्गकङ्ग पुर्याएर देखाइदिने निश्चय गरें।
इमिग्रेशन अफिसरलाई आफ्नो डिपार्चरको चप लागिसकेको पासपोर्ट र बोर्डिङ्पास जिम्मा लगाएर म पुनः तल झरें। लगेज नापजोख गर्ने काउण्टर तर्फ हेरें हङ्गकङ्गको काउण्टर बन्द भइ सकेको रहेछ। काउण्टर खुल्ला भए पनि यहाँ सामान्य किचलो त हुने नै थियो भने अहिले बन्द भइसकेको छ जिम्मेवार व्यक्ति नै पन्छिन सजिलो छ। अली वरै टोलाउदै गरेको एकजना कर्मचारी भाइले सोधिहाल्यो "के पर्यो तपाईंको ?" भनेर। मैले सोझै भने "साथमा लिएर जान नपाइने सामान लगेजबाट पठाउनु पर्ने भयो, हङ्गकङ्गको फ्लाइट हो।" उसले काउण्टर तर्फ हेर्यो र भन्यो "हङ्गकङ्गको काउण्टर त बन्द भइसक्यो"।
यतिकैमा एकजना अलि पाकी महिला कर्मचारी आई पुगिन्। उनले पनि सोधी हालिन्, "के भयो भाइ ?" भनेर।
यो बन्द भइसकेको नेपालको काउण्टरमा कुनै सोधी खोजी र प्रयत्न नगर्ने निधो गरेर त्यही दिदीको जिज्ञासा तर्फ ध्यान दिएँ। सहयोगी र विवेकशील लवजमा बोलेको जस्तो लागेकोले पनि त्यो दिदीलाई स्पष्टैसँग जवाफ दिएँ।
"यो सुकुटी हृयाण्डक्यारीमा लान पाइन्दैन भन्ने कुरा थाहा भएन, माथि सुरक्षा जाँचमा रोकिदियो, लगेजमा पठाउँ भनेको यता काउण्टर पनि बन्द भइ हालेछ।"
दिदीले सिधैं भनिन्, "अलिअलि खर्च गर्नु हुन्छ त भाइ ? म भनि दिउँला।"
खर्च गरेको भए त अगाडि नै छिरिसकिने थियो तर अब यताको बाटो पनि त्यति सजिलो नभएपछि अघिको गोजीबाट झण्डै निकालेर दुई पुलिसहरुलाई दिन लागेको सय डलर यी दिदीसमेत मिलेर खाए मेरो लागि अलिकति भए पनि सन्तुष्टि होला जस्तो लाग्यो। अवैध घुस भए पनि अपरिचित भए पनि अहिलेलाई यही दिदिलाई चेली सम्झेर सय डलर खर्च गर्न मानसिक रुपमा म तयार भएँ र भनि दिएँ, "हुन्छ म खर्च गर्न तयार छु।"
हुन त मसँग अझै एउटा विकल्प बाँकि नै थियो। त्यो हो काउण्टरमा गएर हङ्गकङ्गको काउण्टर बन्द भए पनि सामान्य काउण्टरमा गएर जुनसुकै दिन जुनसुकै उडानमा आए पनि आओस् भनेर सामान बुझाइदिनु। निश्चित नभए पनि यो प्रकृया हुनु पर्छ जस्तो लागेको थियो मलाई।
तर के गर्नु बल्लबल्ल आफ्नो गन्तव्यमा पुग्यो बाँकी एउटा सुटकेशचाहिँ ३, ४ दिनमा कुरेर लिनु पर्ने। त्यो पनि हङ्गकङ्गको कजवे-बे बाट एयरपोर्ट पुग्न एकतर्फी मात्र एक घण्टा समय लाग्छ। तीन चार घण्टाको समय र कम्तिमा पचास साठी डलर खर्च गर्नु पर्ने हुन्छ। कर्मचारी भ्रष्ट र कामदार लुच्चा नभए पनि हङ्गकङ्गमा पनि त्यति सजिलै र तुरुन्तै सामान पाइहालिएला भन्ने ग्यारेण्टी पनि केही छैन। सबै कुराको लेखाजोखा लगाएर आज यो सय डलर बुझाएर सामान उम्काउन नै फाइदा ठानें, यिनै अपरिचत दिदीको हात मार्फत। म हारेको जुवाडेजस्तो भएर पुनः अघिको कालो वर्णको कालो मनको कालो इन्स्पेक्टरको कार्य क्षेत्रमा त्यस दिदीको पछि लाग्दै पुगें। त्यो दिदीले त्यो इन्स्पेक्टरलाई चोचोमा मोचो मिलाउँदै के के भनिन्। त्यो इन्स्पेक्टरले एक नजर मतिर हेर्यो, "आखेरि मेरै शरणमा आउनु परेछ त ?" उसको कालो अनुहारको हरियो रेखाहरुमा मैले यही पढें।
यसपछि मेरो सुटकेश पुनः चेक गरिएन। त्यही अघिको च्याङ्गसे पुलिसले शुरक्षा पासको बिल्ला लगाइदियो। सानो बुथको अलि तल्लोपट्टी अलिअलि छलिएर सय डलरको नोट त्यो दिदीको हातमा लगाइदिएँ। मैले भनेँ, "यो सय डलर हो, एकहजार रुपैया हुन्छ"। दिदीले भनिन् "तीन जनाले बाँड्नु पर्ने, यति त कम हुन्छ नि भाई।"
"हेर्नुहोस् न दिदी, यो सुकुटी पनि त त्यस्तै पाँच सात सयको त होला नि, फेरि मसँग भएको पैसा नै यति हो।" त्यसपछि दिदीले चित्त बुझाइन्, "ठिकै छ त" भनेर।
सुकुटीमा त्यस्तो के खतराको गुण हुन्छ र त्यसलाई साथमा लान पाइन्दैन त्यो त मलाई अझसम्म थाहा छैन, तर एक जनाले मेरो जिज्ञासालाई मेट्दै त्यही भन्यो यसभित्र बिस्फोटक पदार्थ बोकेर जाने सम्भावना रहन्छ रे। यसरी कसैको नासोलाई छुटाउन सकेकोमा मेरो पाइला फुर्तिलोसँग अगाडि बढ्यो मन हलुका भयो। तर आफ्नो पनि कमजोरिकासाथ एउटा कुसंस्कारको जगलाई बलियो बनाउन विवश भएकोमा मेरो मन भने जहिल्यै गह्रौं भइरहेछ। क्षणिक रुपमा केही सजिलो र अलिकति फाइदाको लागि एउटा कुसंस्कारको भारी बोकेर हामी सँधैसँधै एउटा बोझिलो, अमिलो, अप्ठ्यारो, त्रसित, भयभित मन लिएर बाँचिरहेका छौं, खोइ कहिले सम्मलाई हो।
उपसंहारः
देशका भ्रष्ट कर्मचारीहरुले अनावस्यक दुख दिनसक्छ वा नाजायज फाइदा लिन्छ भन्नु भन्दा पहिले हामी यात्रीहरुले पनि यात्रा गर्दा कुन सामान साथमा लिएर जानु हुन्छ र कुन सामान साथमा लिएर यात्रा गर्नु हुँदैन राम्ररी ख्याल गर्नु पर्दछ। र कुन सामान कति मात्रामा लिएर जाँदा कति भन्सार लाग्छ या लाग्दैन सर्वसाधरणलाई सम्पुर्ण जानकारी दिलाउने सुलभ ब्यवस्था सरकारले गर्नु पर्दछ, साथै हामीले पनि यसको जानकारी लिने प्रयत्न गर्नु पर्दछ।
अक्टोबर २४, २००९
हङ्कङ्, कजवेबे
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it















