किन्दर राई raikindar@gmail.comचिनीया तान्त्रिक धारणा अनुसार अंक नौलाई खतराको संख्याको रुपमा लिइन्छ। तसर्थ चिनीया पात्रोको नवौ महिनाको नवौ दिनलाई बढी नै खतराको तिथि मानिन्छ। यस तिथिमा अंक नौ दोहोरिएकोछ। खतराको अंकलाई चिनीया परम्पराको तान्त्रिक धारणा अनुसार "याङ्(yang)" भनिन्छ। तसर्थ यहाँ यो नवौ महिनाको नवौ दिनको पर्वलाई "छोङ्याङ्चिए (Chóng yáng jié)" भनिन्छ। "छोङ्"को शाब्दिक अर्थ "गह्रौं" र "दोहोरिनु" हुन्छ। यहाँ भने दोहोरिनु भन्ने अर्थ लाग्दछ। "चिए" भनेको पर्व हो। तसर्थ यो दोहोरिएको "याङ्" पर्व हो। बढि नै खतरा वा अनिष्ट हुन सक्ने मानिएको पर्व हो। हङकङमा बोलिने क्याण्टोनिजमा यसलाई "चुङ्युङ्चित् (Chung Yeung jit) भनिन्छ। अझ विदेशीहरुको लागि चुङ्गयुङ्ग फेष्टिवल (Chung Yeung Festival) भनिन्छ।
यस चाडको जम्मा दुईवटा धार्मिक महत्व रहेको छ। पहिलो, यस दिन अनिष्ट हुन सक्ने दिनको रुपमा लिइने भएकोले यस अनिष्ट टार्नकोलागि भनेर पहाड चढ्ने (Hiking) र गोदावरी फुलको रक्सी पिउने र च्युयुको माला लगाउने गरिन्छ। चुयु(茱zhū 萸yú) एक प्रकारको मझौला आकारको फुल फुल्ने र फल लाग्ने झाडी प्रकारको वनस्पति हो। यसलाई अंग्रेजीमा dogwood र cornel भनिन्छ। हिन्दूसंस्कारमा तुलसीलाई पवित्र मानिए जस्तै चिनीया संस्कारमा गोदावरी र यस चुयुलाई पवित्र वनस्पति मानिन्छ। यी वनस्पतिहरुमा पनि तान्त्रिक सुद्धि र रोग निको पार्ने क्षमता भएको विश्वास गरिन्छ।
यस चाडसँग जोडिएको केहि किंबदन्तीहरु पनि पाइन्छन्। एउटा पुरानो कथा अनुसार चीनको रुह(Ruhe) भन्ने नदी किनारमा एक पटक प्लेगको महामारी देखापर्यो। एक जना बूढो ताओ गुरुले एउटा केटालाई यो महामारी फेरि नवौं महिनाको नवौं दिनमा आउने छ यसबाट बच्नको लागि तिमीहरुले गाउँ छोडेर पहाडतिर लाग्नुपर्छ भनेर सल्लाह दियो। ताओ गुरुको सल्लाह अनुसार त्यस केटाले सबै गाउँलेहरुलाई पहाडतिर पठायो र आफुलेचाहिँ गोदावरीको रक्सी प्रयोग गरेर त्यस प्लेगलाई खत्तम गरि दियो। त्यसकारण यस दिन पहाड चढ्ने र गोदावरी फुलको रक्सी पिउने प्रथा रहेको हो भन्ने धारणा रहेको छ।
यसैसँग सम्बन्धित माथिको कहावतसँग मिल्ने एउटा अर्को किंवदन्ति पनि रहेको छ। यस अनुसार हान राजबंशको पालामा(इशा पूर्व २०२ -सन् २२०) एउटा भविष्यबेत्ताले वुन्किंग९ध्ययल प्ष्लन० भन्ने एक व्यक्तिलाई अब यो गाउँमा नवौं महिनाको नवौं दिनमा केही अनिष्ट हुनेवाला छ तिमीले यस दिन गाउँ छोडेर अग्लो पहाडमा गएर बस्नु यसबाट तिमीहरु बच्ने छौ भन्ने सल्लाह दियो। यस सल्लाहअनुसार त्यो केटा त्यस दिन पहाडमा गएर बस्यो। फर्केर आफ्नो गाउँमा आउँदा उसले आफ्नो गाउँको सारा प्राणीहरुको कत्लेआम (Slaughtered) भएको पायो। यसै भएर यस दिन चाइनिजहरु पहाड चढेर हाइकिङ जाने गरेका हुन भन्ने भनाइ रहेको छ।
यस चाडको दोश्रो विशेषता पुर्खाहरुलाई सम्झना गर्नु पनि हो। जसरी स्प्रिङ् (Spring Season) को छिङ्गमिङ्ग फेस्टिवलमा पुर्खाहरुलाई सम्झना र पूजा गरिन्छ त्यसरी नै यस चाडमा पनि पुर्खाहरुको चिहानमा गएर चिहान सफा गरिदिने, खानेकुराहरु चढाउने गरिन्छ। तसर्थ यो चाहि एककिसिमले अटम (Autumn Season)को पुर्खा दिवस हो। ताईवानमा भने सन् १९६६ देखि यस दिनलाई बृद्ध नागरिक दिवस (Senier Citizen day) को रुपमा मान्न थालिएको छ।
चाइनिजमा उचाइ(hight) लाई "कओ" भनिन्छ। अक्षर र टोन फरक भए पनि उनीहरुले केक् (Cake) लाई पनि "कओ" नै भन्दछन्। त्यसकारण उनीहरुले उचाइ "कओ" उच्चारणसँग मिल्ने नाम भएको खानेकुरा "केक्" खाने गर्दछन्। यस केक्मा पनि चुयुको प्रतिनिधत्व गर्ने साना साना रंगिन झण्डाहरु राखिएका हुन्छन।
यस चाडमा प्रायः सबैले गोदावरी पूmलको चिया पिउने गर्दछन् भने परम्परागत सोचाइ भएका पुर्खाहरुले घरमा तयार गरिएको गोदावरी पूmलको रक्सी पिउँने गर्दछन्। विद्यालयहरुमा गोदावरी फुलको बारेमा कविताहरु लेख्न प्रोत्साहन गरिन्छ।
आजको समयमा पहाड चढ्ने सोखलाई खेलको रुपमा पनी विकसित गरिएको छ। जित्नेलाई चुयुको माला लगाई दिईन्छ। यसै दिन यस पवित्र वनस्पति चुयु रोप्ने काम पनि गरिन्छ।
यसरी यस पर्वका विभिन्न निम्न विषेशताहरु रहेका छन्।
१ पुर्खालाई सम्झना गर्ने : चिहान सफा गर्ने र खाना चढाउने।
२ हाइकिङ जाने, पहाडमा वनभोज खाने।
३ चुयुको माला लगाउने, चुयुको बिरुवा रोप्ने।
४ गोदावरीको चिया र रक्सी पिउने र केक् खाने।
यहाँ एउटा ताङ्ग राजवंश (Tang Dynasty)को पालामा सातौं सताब्दीको मध्यतिर"वाङ्गवेइ (Wang Wei)" नाम गरेका कवीले यस चाडको बारेमा लेखेको एउटा निकै लोकप्रिय कविता प्रस्तुत गरिएको छ।
शीर्षकः "चुङ्गयुङ्ग पर्वमा मेरा दाजुभाइहरुको सम्झना"
तु चाइ यि शियाङ् वेइ यी ख,
獨 在 異 鄉 為 異 客,
मेइ फङ् चिया चिए पेइ सि छिन्।
每 逢 佳 節 倍 思 親。
याओ ची शियोङ् ती तङ् कओ छु,
遙 知 兄 弟 登 高 處,
पिआन् छा चु यु शाओ यी रन्।
遍 插 茱 萸 少 一 人
भाव अनुवादः
नौलो ठाँउमा एक्लो पर्देशिलाई,
हरेक पर्वको दिनमा घरको यादले झनै सताउँछ।
मलाई थाहाछ मेरा दाजुभाइहरुले पहाड चढे होलान्
म एकजनालाई सम्झँदै चुयुको बिरुवा रोपे होलान्।
(यस कविताको सांस्कृतिक अर्थः यस चुङ्गयङ्ग पर्वको बेला वाङ्गवेइ (Wang Wei) टाढा पर्देशमा रहेर आफ्नो दाजुभाइहरु लगायत परिवारको सदस्यहरुलाई सम्झि रहेका छन्। माथि नै भनि सकिएको छ की परम्परागत चाइनिज धारणा अनुसार चुयु (cornel, dogwood) दुष्ट आत्मा हरुलाई खत्तम गर्न सक्ने क्षमता राख्दछ। त्यसकारण यसबेला यस चुयुको बिरुवा रोप्ने, यसको चिया र रक्सी पिउने गरिन्छ। यसका साथै अनिष्टबाट बच्नकोलागि पहाड चढ्ने गरिन्छ। यसबेला वाङ्गवेइले पनि मेरा सबै दाजुभाईहरु पहाड तर्फलागे होला, मेरो मात्र त्यहाँ अनुपस्थित भएको कुरा महसुस गरि रहेको होला भन्ने सोची रहेकोछ। त्यसैले परिवारको सबैजना पहाड चढेर रमाइलो गरि रहेकोबेला ऊ एकजना मात्र परदेशमा रहनु परेकोमा वाङ्गवेइ निकै खिन्न छ। ऊ सोच्छ कि यसबेला सम्पुर्ण परिवारले वाङ्गवेइलाई सम्झि रहेका होलान् र वाङ्गवेइले पनि सम्पुर्ण परिवारलाई सम्झि रहेकोछ। सबैले सबैलाई सम्झि रहेकाछन् र एकआपसमा चाँडै भेट्ने कामना गर्दछन्।
( कविताको भावानुवाद र ब्याख्याः स्यी सिउ कमः बहुभाषाविद, डेलिया मेमेरियल स्कुल मेइफुमा फ्रेन्च भाषा शिक्षक (Translation and cultural meaning of poem by Sye Siu Kam; Multi linguist; Franch language teacher in Delia Mem. School Mei Fu HK.__
सधै विदेशमा मात्र आफ्नो भाग्य खोज्न भौतिरि रहनु पर्ने हामी नेपालीहरुको लागि यो र यस्तै गीत, कविताहरु सधै सान्दर्भिक भई रहेका छन्।
तेसैले यो चाही नेपाली परिवेशको नेपाली संस्करणः
हङ्गकङ्गको यो मानव सागरमा
सदा एक्लो लाग्छ,
घरको याद आउछ।
शरदको यो बेला गोदावरी देखेर
चेलीको यादले,
आँसुको भेल बग्छ।
आउनोस हामी पनि चीनिया भाषा(मेण्डरिन)मा गुनगुनाऔं, तु चाइ यि शियाङ्ग वेइ यी ख,
मेइ फङ्ग चिया चिए पेइ सि छिन्।
याओ ची शियोङ्ग ती तङ्ग कओ छु,
पिआन् छा चु यु शाओ यी रन्।
क्याण्टोजिमाः तुक् चोइ ह्यङ्ग वाई यी हाक्
मुई फुङ्ग काई चित् फुइ सि छान्
यिउ ची हिङ्ग ताई ताङ्ग को छ्यु
फिन् छाप् च्यु यु सिउ यात् यान्
चुङ्गयुङ्ग पर्व पर्ने अंग्रेजी तिथिहरुः २००९ अक्टोवर २६, २०१० अक्टोबर १६, २०११ अक्टोबर ५, २०१२ अक्टोबर २३
अक्टोबर १८, २००९
क्वारी-बे हङ्गकङ्ग

















