चुरा थापा
१ अक्टोबर
हंगकंग
गत सेप्टेम्बर १४ मा एकिकृत नेकपा माओवादीका अध्यक्ष हंगकंग आएर स्देश फर्किसकेका छन्। पार्टी कार्यकर्ताहरूको लागि अचानक नभए पनि अरूहरूको लागि भने अचानक जस्तै भएको उक्त भ्रमणले हंगकंगमा र नेपालमा पनि अनेकन खाले तरंगहरू उत्पन्न गर्यो। र यस क्रममा सबैभन्दा बढी तरंगित हुनेहरू देशी विदेशी प्रतिक्रियावादीहरू नै परे।
प्रचण्ड हंगकंग आउनु भन्दा करीब ६ महिना पहिलेदेखि एमाले अध्यक्ष झलनाथ खनालको तीब्र प्रचार प्रसार भयो। झ्याली पिटाइ पनि भयो। तर उनी आउंदा र जांदाका बखत यहांका सिमित उनका आसेपासेहरूभन्दा अन्यलार्इ झलनाथ खनालको हंगकंग भ्रमणमा कुनै चासो भएन। तैपनि यतातिरका नेपाली मिडियाले मालिकले भने झै गरी खुबै बदख्याइं गर्न भ्याए।
मलार्इ अहिले पनि याद छ, एकजना यस्तै पत्रकार मित्रले भनेको कुरा। केही पहिले एकिकृत नेकपा माओवादीका केन्द्रीय नेता अनन्त हंगकंग आउंदा नेपालका मालिकले उनलार्इ आदेश दिएछन्, "अनन्तले कहां कहां जान्छन्, के खान्छन् र कसकसलार्इ भेट्छन्, सबै कुराको जानकारी दिनु।" तर हंगकंगका अधिकांश नेपालीले जस्तै अन्तैतिर जागिर गर्नुपर्ने उनले अनन्तको छेउ टुप्पो भेट्ने कुरै भएन। रीसको झोंकमा उनले कपोकल्पित कथाहरू बनाइ नेपालतिर मालिकलार्इ चढाए। अहिले ठीक त्यस्तै भयो। अध्यक्ष प्रचण्ड हंगकंग आएपछि एक दिन आराम गर्न के पुगेका थिए, उनीहरूका मालिकहरूलार्इ नेपालतिर खपि नसक्नु भएछ र यतातिरका खेतालाहरूलार्इ हुर्मत लिन थालेछन्। अनि त विचराहरू फेरि कपोकल्पित कथाहरू बनाइ पत्रपत्रिकामा छपाए।नेपालमा नेपाली जनताको लागि अब केही गर्छ कि भन्ने आसा र भरोसाको बिन्दु अब एकिकृत नेकपा माओवादी पार्टी मात्र रहेको छ। र यसका अध्यक्ष प्रचण्ड अब नेपाली जनताका एक्काइसैां शताब्दिका एक मात्र सबल राजनेताको रूपमा उदयमान भएका छन्। यो कुरा कुनै एकजना माओवादी कार्यकर्ताले भन्ने कुरो नभइ अहिले स्वतन्त्र नेपाली बुद्दिजिवीहरू र विदेशीहरूले पनि स्वीकार गरेको तथ्य हो। एकिकृत नेकपा माओवादीले आफ्नो ९ महिले शासनकालमा नेपाली जनतामा एक प्रकारको आसाको किरण संप्रषण गरेको छ। इतिहासमा पहिलोपल्ट एकिकृत नेकपा माओवादीको नेतृत्वकालमा राज्यले सबैभन्दा बढी राजस्व उठाउन सफल भयो। देश विकास गर्न र निमुखा जनतालार्इ राहत प्रदान गर्न राजस्व असुलीको ठूलो महत्व रहेको हुन्छ, भलै सहकर्मी एमालेको असहयोगका कारण जनताले आसातित राहत पाउन सकेनन्। गर्भैदेखि विदेशिने मानसिकता बोक्न बाध्य नेपाली युवा जगतलार्इ युवा स्वरोजगार जस्ता कार्यक्रम ल्याएर देशमै बसी केही गर्न सकिन्छ भन्ने आत्मविश्वासको भावना सृजना गर्न पनि एकिकृत नेकपा माओवादीले नै सक्यो।
विभिन्न जाति जनजातिहरू, भाषा भाषीहरू तथा धर्मावलम्वीहरूदेखि वर्गहरू मिलेर बनेको नेपाल राज्यको विकास र समृद्दि ती सबै जात जातिहरू, जनजातिहरूदेखि भाषा भाषीहरू र धर्मावलम्वीहरूको सहभागिता बिना सम्भव छैन। विकासमा उनीहरूको सहभागिता सुनिश्चित गर्नको लागि देशको नीति निर्माण प्रक्रियामा उनीहरूको सहभागिता अनिवार्य शर्त हो। नेपालमा विभिन्न उत्पिडित जातिहरू, धर्महरू र उत्पिडित वर्गको मुक्तिको विगुल फुक्ने काम मात्र होइन व्यवहारिक रूपमा तिनीहरूलार्इ निर्णय प्रक्रियामा सामेल गराउने काम सबैभन्दा पहिले एकिकृत नेकपा माओवादीले नै गरेको हो। देशका अन्य ठूला पार्टीहरू नेपाली कांग्रेस र एमालेको पार्टी संरचना मात्र होइन, उनीहरूको निर्णय प्रक्रिया अहिले पनि एकात्मक र बाहुनवादी रहेको छ। एकिकृत नेकपा माओवादीमा बाहुन जातिका मानिसहरू नेतृत्वपंक्तिमा भए पनि उनीहरू विचारले खारिएर मुक्तिकामी बनेका छन्। उनीहरू नेपालमा सबै प्रकारका उत्पिडनहरूको अन्त्य हुनुपर्छ भन्ने कुरामा दृढ छन् र व्यवहारिक रूपमा रूपान्तरित भैसकेका छन्। नेपालमा भएका अन्य सबै पार्टीहरूको तुलनामा हेर्ने हो भने सबैभन्दा समावेशी र बहुल निर्णयको प्रणाली स्थापित भएको पार्टी एकिकृत नेकपा माओवादी नै हो।
राष्ट्रियताको सवालमा इतिहासमा पहिलोपल्ट नेपाली भूमिमा अवस्थित पशुपतिनाथ मन्दिरमा भारतीय पूजारी हटाएर नेपाली पुजारी नियुक्ति गर्ने हिम्मत एकिकृत नेकपा माओवादीले नै गर्यो जुन आंट अहिलेसम्म कुनै पनि पार्टी वा सरकारले गरेको थिएन। माओवादी पार्टीले चालेको यो कदम राष्ट्रघाती नेपाली कांग्रेस र एमालेले साथ नदिंदा सफल हुन नसके पनि तमाम स्वाभिमानी र देशभक्त नेपालीहरू भने यसबाट गैारवान्वित महसुस गरेका छन्। त्यसपछि माओवादी सरकारलार्इ छिर्के हानेर सत्तासिन हुन पुगेको एमाले सरकारका प्रधानमन्त्रीले आफैं भारत गएर भारतीय पुजारी खोजी गरी नेपाली भूमिमा रहेको पशुपति मन्दिरको पुजारी नियुक्ति गरे जुन अत्यन्त लज्जास्पद र घृणित थियो। यस घट्नाले पनि सावित गरिसकेको छ अब नेपालको सार्वभैमसत्ता र राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने एउटै मात्र शक्ति अब एकिकृत नेकपा माओवादी रहेको छ।
एकिकृत नेकपा माओवादीको यी सबै गुणहरूका कारण यसको हातमा सत्ता गएमा केही दशकभित्रै कायापलट हुने निश्चित प्रायः छ। तमाम जनताले उन्मुक्तिको श्वास फेर्दै देशले पनि विकासको कांचुली फेर्ने पनि निश्चित जस्तै छ। किनकि त्यसको निम्ति सैद्दान्तिक र व्यवहारिक तयारी यो पार्टीले मात्र गरेको छ। त्यसैले यसलार्इ कमजोर बनाउन देशभित्रका प्रतिक्रियावादी शक्तिहरू र विदेशी प्रतिक्रियावादीहरू कम्मर कसेर लागि परेका छन्।
देशी प्रतिक्रियावादीहरूको लागि एकिकृत नेकपा माओवादी पार्टीको हातमा सत्ता गएमा तमाम उत्पिडित जनता र वर्गहरूमा राज्यको अधिकार प्रत्यायोजित भइ अहिलेसम्म उनीहरूले एकलैाटी रूपमा उपभोग गर्दै आएको विशेष सुविधा गुमेर अरू सर्वसाधारण जनता सरह होइने डर छ। त्यसैले उनीहरू एकिकृत नेकपा माओवादी पार्टीलार्इ कुनै पनि हालतमा सत्तामा जानबाट रोक्ने उपाय गर्दैछन्। पशुपतिमा पुजारी नियुक्ति काण्डदेखि सेनापति काण्डसम्म जे जसरी कांग्रेस एमालेबाट एकिकृत नेकपा माओवादीको विरूद्दमा मोर्चाबन्दी गर्ने कार्य भयो त्यो त्यसै योजनाको उपज हो। अस्ति भर्खर मात्र नेपाली कांग्रेसका नेता रामचन्द्र पैाडेलले माओवादीको नेतृत्वमा सरकार सोच्न पनि नसकिने कुरा गरेका छन्। यसले पनि कांग्रेस र एमालेको स्वार्थ कहांनिर मिलेको छ भन्ने कुराको पुष्टि गर्दछ। यी दुवै पार्टीहरू देश विकास गर्न र तमाम शोषित पिडित जनतालार्इ मुक्ति दिलाउन होइन कि, विदेशी प्रतिक्रियावादीहरूको घोंडा बन्ने र सत्तामा बसी भरपूर मात्रामा व्यक्तिगत स्वार्थ पूर्ति गर्ने काममा तल्लीन छन्।
विदेशी प्रतिक्रयावादीहरूको लागि, र विशेष गरी भारतीय विस्तारवादीहरूका लागि नेपाल सबल, समृद्द र सम्पन्न हुंदा उनीहरूले अहिले उपभोग गर्दै आएको हस्तक्षेपकारी भूमिका र गरीब, विपन्न र कमजोर नेपाललार्इ धम्क्याएर लिइरहेको फाइदा अन्त्य हुने निश्चित प्रायः छ। अमेरीकाको लागि पनि गरीब, विपन्न र कमजोर नेपाललार्इ धम्क्याएर तथा अलिकति कैाडी फ्यांकिदिएर शक्तिसम्पन्न हुंदै गएको चीनलार्इ घेराबन्दी गर्ने योजना जति सफल हुन सक्छ, सबल, सक्षम र समृद्द नेपालबाट त्यो सम्भव छैन। त्यसैले यी दुवै शक्तिराष्ट्रहरू नेपालमा एकिकृत नेकपा माओवादीलार्इ सत्तामा जानबाट रोक्न अनेक प्रपञ्च रचिरहेका छन्, र विशेष गरी नेपाली मिडिया जगतमा ठूलो परिमाणमा घुसपैठ गरी एकिकृत नेकपा माओवादीको छवि बिगार्ने र उसलार्इ बदनाम गराएर जनताबाट एक्ल्याउने काममा तल्लीन छन्। र यस काममा सहायक खेतालाको भूमिका निर्वाह गरेका छन् हंगकंगका केही मिडियाकर्मीहरूले। नेपाली भूमिको मुटुमा रहेको पशुपतिनाथमा भारतीय भट्ट नियुक्ति गर्ने एमाले सरकारको विरोधमा एक शब्द खर्चिन कन्जुस्याइं गर्ने तर हंगकंगका माओवादी कार्यकर्ताहरूको एउटा सानो मनोरञ्जनात्मक कार्यक्रममा हिन्दी गीत बज्दा उसको राष्ट्रियताको प्रतिबद्दतामाथि शंका गर्ने यतातिरका कुथुर्के पत्रकारहरूको नियत र चरित्र प्रष्ट भैसकेको छ। भारत भ्रमणका समय दक्षिणी भारतमा राप राप्ति पशुपतिनाथ मन्दिरको भट्ट चाहार्ने एमाले प्रधानमन्त्री माधव कुमारको नियतमा खोट नदेख्ने तर एकिकृत नेकपा माओवादीका अध्यक्ष हंगकंग भ्रमणमा आउंदा राष्ट्रको पीर गर्ने खेताला पत्रकारहरू केही नभएर समग्रमा देशी विदेशी प्रतिक्रियावादीहरूको इसारामा चाहेर वा नचाहेर नाचिरहेको प्रष्ट हुन्छ। यो कसैबाट लुकेको छैन।











