HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home विशेष लेख दक्षिण अमेरिकाको तनाव तथा प्रचण्डको युरोप यात्रा

दक्षिण अमेरिकाको तनाव तथा प्रचण्डको युरोप यात्रा

E-mail Print PDF
AddThis Social Bookmark Button
तनावको पृष्ठभुमि

लामो सैनिक शासनको इतिहास बोकेको मध्य अमेरिकी गणतान्त्रिक देश होन्डुरसले आइतवार सन् २८ जुन २००९ का दिन पुनः दोस्रो पटक जननिर्वाचित राष्ट्रपति सैनिकद्धारा अपदस्थ भएको समाचारद्धारा विश्व समुदायलाई आश्चर्यचकित बनायो। बिहान सुर्यको किरण नदेखीदै करीव ३०० जवान सेनाले उनको निवास घेरी उनकै भनाईमा- आत्मसमर्पण गर अन्यथा गोली हान्छौं भनि तर त्यसो नगरी सेनाले उनीलाई बेलुकी लगाएको पाइजामा सहित अपहरणको शैलीमा समातेर मोटरमा राखेर विमानस्थल पुर्याइ हवाइजहाजमा राखेर अर्को देश कोस्टारीकामा लगेर निर्वासनका लागि छोडिदीयो। यसै प्रसङ्गबाट आज विश्व राजनीतिक परिदृश्यमा फेरि नयाँ तरङ्ग पैदा भएको छ। 

होन्डुरसमा पटक पटक सेनाबाट शासन हातमा लिएको इतिहास छ। विगतमा देशमा भइरहेको लामो सैनिक शासनको अन्त्यको लागि एकजना कुशल मेडिकल डाक्टर रामेन भिलेदा मोरालेसले प्रजातन्त्र बहालीको लागि महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए। त्यसपछि सन् १९५७ देखि १९६३ सम्म उनले प्रजातान्त्रिक अभ्यासबाट जननिर्वाचित भै राष्ट्रपतिको रुपमा देश र जनताको सेवा गरे। अन्ततः राष्ट्रपति डा. मोरालेस पनि सन् १९६३ मा सेनाबाट अपदस्थ भएका थिए। त्यसपछि सन् १९६३ देखि १९८१ सम्म सेनाले अविछिन्न सैनिक शासन लादेको थियो। जव सन १९८१ मा सुवाजो कोर्दोभा  (LPH) निर्वाचित राष्ट्रपति बनेका थिए र देश सैनिक शासनबाट मुक्त भएको थियो। 

सन् २७ नोभेम्वर २००५ मा सम्पन्न भएको आम निर्वाचन तथा राष्ट्रपतिय निर्वाचनमा लिवरल पार्टीको तर्फबाट उम्मेदवार हुनुभएका जोसे मानुएल जेलाया होन्डुरसको जननिर्वाचित राष्ट्रपति बन्नुभएको थियो। तर थोरै मतले विजयी भएका कारण वहाँको प्रतिद्धन्दी नेशनल पार्टीले निर्वाचन परिणामको विरोध गरेका कारण सन् ०७ डिसेम्वर २००५ पछि मात्र वहाँलाई आधिकारिक राष्ट्रपति घोषणा गरिएको थियो। होन्डुरसमा भएका पाँच राजनीतिक पार्टीहरुमा जेलायाको लिवरल पार्टी मध्य दक्षिणपन्थी धारको प्रतिनिधित्व गर्दछ। राष्ट्रपति जेलाया एउटा धनि ब्यवसायी घरानाको पृष्ठभुमी भएको तथा विभिन्न ब्यवसायमा संलग्न उच्चस्तरीय ब्यापारीका रुपमा होन्डुरसमा परिचित नाम हो। सीभिल इन्जिनियरीङ्ग सम्मको अध्ययन गरेका राष्ट्रपति जेलायाले राष्ट्रपतिमा निर्वाचित भएपछि भेनेजुयलाका राष्ट्रपति हुगो चाभेजसंग निकट सम्बन्ध कायम गर्दै ALBA (Bolivarian Alliance for the Americas) को सदस्यतामा सम्झौता गरेपछि वहाँ वामपन्थीधारमा रुपान्तरण भएको स्पष्ट संकेत मिल्दछ। जव भेनेजुयलाका राष्ट्रपति हुगो चाभेजको दक्षिण अमेरिकी देशहरुमा बढ्दै गइरहेको प्रगतिशील तथा समाजवादी राजनीतिक प्रभावबाट अभिप्रेरित हुदै राष्ट्रपति जेलायाले आफुलाई राष्ट्रपति चाभेजको सहयात्रीको रुपमा विकशीत गर्दै प्रगतिशील तथा वामपन्थी धार अगाल्न पुगे तवदेखि उनको पार्टीका सदस्यहरुबाट पनि समर्थन गुमाउने क्रम विकशित हुदै गयो। अन्ततः सेनाबाट अपदस्थ भएकै दिन वहाँकै पार्टीको अर्का सदस्य रोवेर्तो मिखीलेतीलाई संसदबाट वहाँको कार्यकाल अवधिसम्मको लागि अन्तरिम राष्ट्रपतिमा चयन गरियो। 

विशेषतः दक्षिण अमेरिका तथा क्यारिवियन देशहरुको बिचमा राजनैतिक सामाजिक तथा आर्थिक अन्तरसम्बन्धको समायोजन तथा विकाश गर्ने अभिप्रायले भेनेजुयलाका राष्ट्रपति हुगो चाभेजबाट प्रतिपादित सिद्धान्तका आधारमा ALBA गठन गरिएको थियो। यो वामपन्थी राष्ट्रहरुको एउटा सँजाल हो। यस संगठनमा सन् १४ डिसेम्वर २००४ का दिन भेनेजुयला तथा क्युवाले सम्झौता गरेर आरम्भ गरेका थिए। त्यसपछि क्रमशः सन् २९ अपि्रल २००६ मा बोलिभिया २३ फेब्रुअरी २००७ मा निकारागुआ २० जनवरी २००८ मा कमनवेल्थ अफ डोमीनीक ९ अक्टोवर २००८ मा होन्डुरस २४ जुन २००९ मा इक्वेडर सेन्ट भिन्सेन्ट तथा ग्रेनाडिन एन्टीगुआ तथा बारबुदा औपचारिकरुपमा समुहगतरुपमा आवद्ध भएका छन्। जसअनुसार हालसम्म ALBA मा नौ सदस्य राष्ट्रहरु रहेका छन्। 

मुख्यतः अन्तरराष्ट्रिय न्युज एजेन्सी रिउटरका अनुसार विश्व राजनीतिक परिघटनालाई विश्लेषण गर्ने विश्लेषकहरुले साथै भेनेजुयलाका राष्ट्रपति हुगो चाभेज बोलिभियाका राष्ट्रपति इभो मोरालेसले होन्डुरसका जननिर्वाचित राष्ट्रपति जेलाया सैनिकद्धारा अपदस्थ भएको घटनालाई होन्डुरसमा अमेरिकाको आन्तरिक चलखेलको परिणामको उपजको रुपमा लिएका छन्। र क्युबाका नेता फिडेल क्याष्ट्रोको प्रकाशित लेखमा उनले भनेका छन होन्डुरसको लागि राजधानी तेगुसीगाल्पामा रहेका अमेरिकी राजदुत हुगो लोरेन्सले असंवैधानिक कू प्रति जनाएको अनभिज्ञता बिल्कुल निराधार हो। 

दक्षिण अमेरिका तथा क्यारिवियन देशहरुमा वामपन्थीहरुको आकार फराकिलो हुदै गएको परिप्रेक्ष्यमा विश्वमा आफ्नो प्रभुत्व ओझेलमा पर्दै गइरहेको परिस्थितिको कठोर सामना गर्ने अवस्था अमेरिकाको लागि नजिकिदै गएको सन्दर्भमा होन्डुरस घटनाले दक्षिण अमेरिकालाई नै तनावको चक्रब्युहमा धकेलिदीएको छ। होन्डुरसका राष्ट्रपति जेलायाले वर्तमान संविधानमा राष्ट्रपति पदमा दोस्रो कार्यकालको लागि पुनः निर्वाचन गर्ने प्रावधानको ब्यवस्था परिवर्तन गर्ने उद्देश्यले संविधानमा परिवर्तन गर्न जनमत संग्रहको आव्हान गरेका थिए। तर संसद न्यायालय तथा सेनाले त्यसको विरोध गरेका थिए। परिणाम स्वरुप नाटकिय ढंगबाट सेनाबाट गराइएको असंवैधानिक कू बाट अपदस्थ हुन पुगे। अप्रत्याशित सैनिक कू को सर्वप्रथम भेनेजुयलाका राष्ट्रपति हुगो चाभेजबाट घोर निन्दा भयो साथै आफ्नो होन्डुरससंगको कुटनीतिक सम्वन्ध विच्छेद गरि देशको सेनालाई उच्च सतर्कतामा रहन निर्देशित गरे। त्यसपछि वासीङ्गटन डिसीमा मुख्य कार्यालय भयको ३५ देशहरु सदस्य रहेको अमेरिकन राष्ट्रहरुको संगठन  (Organization of American States)  ले घटनाको घोर भत्सर्ना गर्दै निशर्त पदमा फर्काउन माग गर्यो। लगत्तै संयुक्त राष्ट्र संघ तथा युरोपियन युनियनले पनि घटनाको भत्सर्ना गर्दै पुनस्रथापनाको माग गर्यो। अपितु युरोपियन युनियन लगायतका अन्य देशहरुले होन्डुरस संगको आफ्नो कुटनीतिक नियोग नै बन्द गरि राजदुतहरु फिर्ता बोलाउने कार्य गरे। 

होन्डुरसमा नाटकिय ढंगको सेनाबाट गराइएको असंवैधानिक कू लाई पछाडि पार्दै 

दक्षिण अमेरिकी नेताहरुले घटनामा अमेरिकाको संलग्नताको आरोप लगाए पछि घटनाको भोलीपल्ट अमेरिकी राष्ट्रपति बाराक ओबामाले घटनालाई असंवैधानिक कू को सज्ञा दिदै भने- "राष्ट्रपति जेलाया अझै पनि होन्डुरसको जननिर्वाचित नेता हो"। तर हालसम्म पनि अमेरिकाले राष्ट्रपति जेलायालाई पदमा पुनस्रथापनाको माग नगर्नु साथै होन्डुरसको अवैधानिक सरकारलाई सहयोगहरु बन्द नगर्नु तथा कुटनीतिक सम्वन्ध बन्द गर्ने घोषणा नगर्नुले ओबामा सरकारप्रति विश्व समुदायको दिलचस्पी मेटिदै गएको छ। 

विश्व समुदायले असंवैधानिक कू प्रति जनाएको घोर भत्सर्ना तथा राष्ट्रपति जेलायालाई सत्तामा पुनस्रथापनाको लागि गरेको जोडदार मागलाई सम्वोधन गर्ने उद्देश्यले नोवेल शान्ति पुरस्कार बाट सम्मानित कोस्टारीकाका राष्ट्रपति ओस्कार अरिअसको प्रमुख मध्यस्थतामा कोस्टारीकाको राजधानी सान जोसेमा राष्ट्रपति जेलाया तथा अन्तरिम राष्ट्रपति मिखीलेती पक्षका प्रतिनिधीको बिचमा तिन पटक सम्म भएको वार्तामा अन्तरिम राष्ट्रपति मिखीलेती पक्षले राष्ट्रपति जेलायालाई सत्तामा पुनस्रथापनाको लागि राखेको प्रस्तावलाई अस्विकार गरेका कारण संकटको समाधान सम्भव भएन। लगत्तै अमेरिकन राष्ट्रहरुको संगठनले होन्डुरसलाई संगठनको सदस्यताबाट निलम्वन गर्यो। यद्यपि प्रमुख मध्यस्थकर्ता राष्ट्रपति अरिअसले वार्ता प्रकि्रयालाई सात पटकसम्म प्रयास गर्ने अभिब्यक्ति संगै होन्डुरसलाई दिदै आएको आर्थिक सहयोग बन्द गर्न समेत विश्व समुदायलाई सुझाव दिनुभयो। 

स्मरणीय छ राष्ट्रपति जेलायाले स्वेछिक स्वदेश फर्कने निर्णय गरि हवाइ मार्गबाट होन्डुरसको विमानस्थलमा अवतरण गर्ने अवस्थामा देशभरका जनताहरुले वहाँको समथर्नमा निकालेको प्रदर्शन उपर अन्तरिम मिखीलेती सरकारका तर्फबाट भएको दमनले गर्दा विमानस्थल क्षेत्रमा एकजना ब्यक्तिको सुरक्षा टोलीको गोली प्रहारबाट हत्या भएको थियो। सुरक्षा स्थिति खराव भएकाले राष्ट्रपति जेलाया अवतरण नभै फिर्ता हुनुभएको थियो। वहाँले अर्को पटक जिपबाट निकारागुआको सीमानातर्फ बाट होन्डुरसमा प्रवेश गर्दा पनि सुरक्षा स्थितिमा प्रतिकुल प्रभाव परेकोले निकारागुआ फिर्ता हुनुभयो। त्यसको प्रतिकि्रयामा अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले वार्ता प्रकि्रयामार्फत नै अगाडि बढ्नु उचित हुने अन्यथा देशमा जन धनको क्षति तथा शान्ति सुरक्षाको अवस्था बिग्रने तर्क गर्दै राष्ट्रपति जेलायाको कदम उपयुक्त नभएको टिप्पणी गर्नु भएको थियो। यद्यपि जनताको समर्थन तथा ध्यानाकर्षणलाई केन्द्रीत गरिरहनको लागि राष्ट्रपति जेलायाको कदम अर्थपूर्ण छ। 

पछिल्लो समयमा करिव पचास वर्षदेखी कोलम्वियामा विद्रोह गरिरहेको कोलम्वियन कम्युनिष्ट पार्टीको जनसेना FARC (Revolutionary Armed Forces of Colombia) संग भेनेजुयला तथा इक्वेडरको सम्वन्ध रहि कोलम्वियन विद्रोहीलाई हतियारहरुको सहयोग गरेको कोलम्विया ले आरोप लगाएको छ। दक्षिण अमेरिकी महादेशमा कोलम्विया अमेरिकासंग सबैभन्दा निकट सम्वन्ध राख्ने देशको रुपमा परिचित छ। तर कोलम्वियाको यस आरोपको भेनेजुयला तथा इक्वेडरले झुठको पराकाष्ठा भएको जनाएका छन् साथै हालै सन २८ जुलाइ २००९ का दिन भेनेजुयलाले कोलम्विया संगको आफ्नो ब्यापारीक तथा कुटनीतिक सम्वन्धलाई पि्रुज गरेको छ। तसर्थ दक्षिण अमेरिकी महादेशमा विकशित तनावले विश्व राजनीतिमा नै समाजवादलाई नयाँ शिराबाट चुनौति थपिदीएको छ। भेनेजुयलाका राष्ट्रपति हुगो चाभेजले यो अवस्थाको सिर्जना गरेको आरोप अमेरिकालाई लगाउदै वहाँले अमेरिकी राष्ट्रपति बाराक ओबामाको लागि यो संवेदनशील परिक्षाको घडी भएको बताउनु भएको छ।

उल्लेखनीय छ अमेरिका विश्वमा नै आफ्नो पुँजीवादी तथा साम्राज्यवादी पकड विस्तार गर्दै अघि बढीरहेको जगजाहेर छ। अमेरिकाको इतिहासमा पहिलो पटक अश्वेत ब्यक्ति बाराक ओबामा राष्ट्रपति पदमा निर्वाचित भएपछि विश्वभरिका न्यायप्रेमी जनसमुदायले मात्र होइन रुसी राष्ट्रपति दमीत्री मेड्भेडेभ क्युवाका राष्ट्रपति राउल क्यास्ट्रो गणतान्त्रिक नेपालका जननिर्वाचित प्रथम प्रधानमन्त्री प्रचण्ड तथा भेनेजुयलाका राष्ट्रपति हुगो चाभेजले औपचारिकरुपमा नै अमेरिकाको विगतको राजनीतिक दृष्टिकोणमा प्रभावकारी परिवर्तनको अपेक्षा राखेका थिए। तर सोभियत रुसको राजधानी मास्कोमा ६ जुलाई २००९ मा भएको अमेरिकी राष्ट्रपति ओबामा तथा रुसी राष्ट्रपति मेड्भेडेभ संगको मैत्रीपूर्ण भेटमा भएको आणविक हतियार कटौति गर्ने विषयमा भएको झिनो सहमति बाहेक समयको गतिसंगै ओबामा सरकारका कार्यशैलीहरुका कारण ती अपेक्षाहरु न्यानोपनको अलावा चिसोपनबाट प्रभावित भइरहेका छन्। वास्तवमा निर्वाचन पुर्व आमुल परिवर्तनका नारा र भाषणहरुबाट जनतालाई तथा विश्वलाई नै सुखद सपना बाँड्ने तर कार्यान्वयनतर्फ उदासीन रहने कार्यशैलीले विश्व राजनीतिक रङ्गमाचको खेलाडी उपर जनतामा वितृष्णा पैदा भइरहेको टडकारो देखिएको छ। 

युरोप भ्रमणको महत्व

दक्षिण एसियाली महादीपमा नेपालको एनेकपा माओवादीले नेतृत्व गरेको समाजवादी आन्दोलनको विकाशले गति लिइरहेको सन्दर्भमा नेपाली सेनाको सेनापति रुक्माङ्गत कटवालले पटक पटक जननिर्वाचित सरकारका आदेशहरुको अवज्ञा गर्दै देशी विदेशीको इशारामा देशलाई गहिरो राजनीतिक संकटको खाडलमा हालिदीए। यो आज अन्योलको विषय रहेन। एनेकपा माओवादीले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई अवैध ढंगबाट नेपाली सेनाले कू गर्ने सम्मको सुनियोजित योजना तयार गरिसकेको वास्तविकता कान्तिपुर दैनिक लयायत नेपालका संचार माध्यमहरुले सार्वजनिक गरिसकेका छन्। यदि संयुक्त राष्ट्र संघको अनुगमनमा क्यान्टोन्मेन्टमा माओवादी जनसेनाहरु नभएको भए होन्डुरसमा भन्दा अगाडी नै नेपालमा नेपाली सेनाद्धारा असंवैधानिक कू को परिणाम ब्यहोर्नु पर्ने अवस्था आउने तथ्य टड्कारो देखिन्छ। 

विश्वको भुगोलमा सानो र गरिब राष्ट्रको रुपमा परिचित नेपालले २४० वर्षे सामन्ती निरकुश राजतन्त्रलाई अन्त्य गर्दै देशलाई संघिय लोकतान्त्रिक गणतन्त्र नेपालमा रुपान्तरण गरि विश्व राजनीतिमा नयाँ उदाहरण प्रस्तुत गर्न सफल भयो। तर संसदवादी राजनीतिक दलहरुले आफुलाई प्रगतिवादी चिन्तनतर्फ रुपान्तरण गर्न नसकेका कारण देश र जनताको सर्वोपरि हितको विपरित दलगत तथा ब्यक्तिगत स्वार्थबाट अलग हुन नसकेकोले गर्दा छोटो अवधिमा नै नेपालको छवि विश्व समुदाय अगाडी धुमिल हुन पुगेको आजको अर्को तितो यथार्थता हो। 

तत्कालिन नेकपा माओवादी का अधक्ष्य संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री भए लगत्तै नेपालमा विकशित भएको समाजवादी आन्दोलनलाई पनि देशी तथा विदेशी यथास्थितिवादी प्रतिकि्रयावादी साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुले

प्रतक्ष्य तथा अप्रतक्ष्य तवरले हस्तक्षेप गरेर जननिर्वाचित सरकारलाई सरकारबाट बाहिरिन बाध्य बनायको तथ्य सामान्य सोचबुझ भएका आम जनसमुदायमा जगजाहेर छ। अपितु लोकतान्त्रिक मुल्य मान्यतालाई कुल्चेर विदेशीको चलखेलमा सभासदहरुको किनबेचको प्रकि्रयाबाट पुनः गाइजात्रे प्रवृति प्रदर्शन गर्दै अधिकांश जनताबाट बहिष्कृत तथा निर्वाचनमा पराजय ब्यहोरेकाहरुको प्रतिनिधित्व भएको सरकार गठन भयो। यस कार्यले देशमा नागरिक सर्वाेच्चतालाई लत्याउदै विदेशीको इशारामा तथा सेनाको अधिनमा राज्य संचालन भएको स्पष्ट संकेत गरेको छ। यसर्थ नेपालको समाजवादी आन्दोलन तथा चालु शान्ति प्रकि्रया तथा संविधान लेखनको प्रकि्रयाको भविष्य जटिल मोडमा आइपुगेको छ। 

विशेषतः नेपालको समाजवादी आन्दोलनका लागि एनेकपा माओवादी का अधक्ष्य तथा पूर्व प्रधानमन्त्री प्रचण्डको हालको युरोप यात्रा निकै अर्थपूर्ण छ। वास्तवमा अहिले देशमा चलिरहेको वामपन्थी तथा दक्षिणपन्थी शक्ति संघर्षको अभ्यासमा वामपन्थी शक्तिको विजय सुनिश्चित गर्न देश भित्रबाट मात्र गरिने प्रयास र संघर्ष अपूर्ण रहने सम्भावना प्रवल छ। यदि निर्वाचनको अवस्था भएमा पछिल्लो विकशित राजनीतिक घटनाक्रमले देशको अधिकांश जनमत एनेकपा माओवादी को पक्षमा जाने सहजै आंकलन गर्न सकिन्छ। तर त्यो अवस्था नरहेको सन्दर्भमा जनसंघर्षलाई विजयमा पुर् याउन एनेकपा माओवादीलाई अन्तरराष्ट्रिय सहयोग तथा समर्थनको प्रचुर आवश्यकता छ। तर अधक्ष्य प्रचण्डको अनौपचारिक सामान्य भ्रमणको विषयलाई लिएर विभिन्न संचार माध्यमहरुले रहस्यमय भनेर अनावश्यकरुपमा उछाल्न खोजेको प्रतित हुन्छ। सोही आवश्यकतालाई दृष्टिगत गरि केन्द्रीय समितिको कार्यक्रम पछि एनेकपा माओवादी का अधक्ष्य प्रचण्ड बेलायत हुदै सोभियत संघको राजधानी मस्को सम्मको भेटघाट तथा भ्रमणमा हुनुहुन्छ। यस भ्रमणका क्रममा बेलायतमा वहाँ त्यहाँ स्थित दुइवटा र्काक्रमहरुमा सहभागी हुनुभयो। सन ०९ अगष्ट २००९ आइतवारका दिन संयुक्त बि्रटिश गोरखा भुतपूर्व सैनिक संघ तथा गेसो समिति यु के द्धारा आयोजित कार्यक्रममा देशमा भएका राजनितिक परिघटनाहरुका विषयमा प्रकाश पार्नुका साथै बेलायत सरकारका तर्फबाट भुतपूर्व सैनिकहरुप्रति भएको असमान नीतिहरुको विषयमा राखेका भनाईप्रति आफ्नो पार्टीको तर्फबाट उनिहरुको हितमा यथासक्य जोड दिने कुरा विश्वस्त पार्नुभयो। साथै कार्यक्रममा उठाइएका जिज्ञासाहरुलाई सम्वोधन गर्नुभयो। सन् १० अगष्ट २००९ सोमवार उलविच टाउनहलमा संयुक्त नेपाली मोचा्र लण्डन तथा नेपाली समाज बेलायतद्धारा आयोजित कार्यक्रममा सहभागी भै आफ्ना मन्तव्य राख्नुका साथै उठेका जिज्ञासाहारुमाथि प्रकाश पार्नुभएको थियो। उक्त कार्यक्रममा बेलायतमा रहेका कम्युनिष्ट तथा समाजवादी संघ संस्थाको समेत सहभागीता रहेको थियो। ती भाइचारा संगठनहरुको लागि आफ्ना मन्तव्य वहाँले अंग्रेजीमा रख्नुभएको थियो। 

उल्लेखनीय छ लण्डनमा रहदाको समयमा वहाँले बि बि सी विश्वसेवालाई दिनुभएको अन्तरवार्तामा "दक्षिण एसियाली देशहरुमा अमेरिकाको शक्ति तथा प्रभुत्वलाई निरुत्साहित बनाउनको लागि त्यसका विरुद्ध दक्षिण एसियाली देशहरु चिन भारत तथा नेपालले एकतावद्ध भै सुरक्षा रणनीतिको विकाश गर्नु आजको आवश्यकता हो" भन्ने विषय स्पष्ट गर्नुभएको छ। मस्को तर्फको यात्राको क्रममा वहाँले बेलारुसको राजधानी मिन्स्कमा त्यहाँका संसदका सभामुखसंग समेत भेट गर्नुभयो। भेटमा सभामुखले दुइ देश बिचको आपसी मित्रतालाई विकशित गर्ने तथा नेपालको कृषि तथा शिक्षा क्षेत्रमा सहयोग गर्ने जानकारी दिनुभयो। अधक्ष्य प्रचण्डले बेलारुसका सभामुखलाई नेपालमा स्वागत गर्न पाउने अपेक्षाको प्रत्युत्तरमा चाही तपाई नै नेपालको प्रमुख भएको अवस्थामा आउने जानकारी दिनुभयो। बेलारुस हुदै सन् १६ अगष्ट २००९ का दिन वहाँ सोभियत संघको राजधानी मस्को पुग्नुभयो। वहाँले त्यहाँ स्थित गैर आवासिय नेपालीहरुको बिचमा छलफल कार्यक्रममा भाग लिने कार्यक्रम रहेको छ। 

अन्तमा प्रवासमा रहेका नेपालीहरु तथा अन्तरराष्ट्रिय समुदायको बिचमा देशमा विकशित राजनीतिक घटनाक्रम तथा आफ्नो पार्टीको अग्रगामी निर्णयहरु तथा कार्यविधिहरुको विषयलाई जानकारी दिने वहाँको यस प्रयासले देश तथा जनताको पक्षमा सकारात्मक परिणाम आउन सक्ने अपेक्षा गर्न सकिन्छ।

१६ अगष्ट २००९
लुभेन बेल्जिऌयम 
मंगलवार ०२ भाद्र २०६६ को जनादेश साप्ताहिकमा प्रकाशित
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)