HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home विशेष लेख सीमा अतिक्रमणको प्रतिवेदनमा के छ ?

सीमा अतिक्रमणको प्रतिवेदनमा के छ ?

E-mail Print PDF
AddThis Social Bookmark Button
सीमा क्षेत्रबाट मानिस विस्थापित भई लमहीस्थित सामुदायिक वनमा बसोबास गरेपछि सीमाको अवस्थाबारे अनुगमन गर्न गठित दाङ जिल्लास्तरीय सर्वदलीय टोलीले बिहीबार आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन सार्वजनिक गर्दै नेकपा (एमाले), दाङका उपसचिव घनश्याम बुढाथोकीले सीमावासीका समस्या समाधानका लागि सरकारले तत्काल ध्यान पुर्‍याउनुपर्ने र सीमावासीले पनि वन क्षेत्रको अतिक्रमण रोक्नुपर्ने बताए।

के छ त प्रतिवेदनमा ?
• नेपालीहरुको बालीनाली र जंगलमा मनपरी भारतीयपक्षले गाई, बाख्रा छोडिदिने र उक्त क्रियाकलापको विरोध गर्दा “निचेतो आएगा” भनी धम्क्याउने गरेको पाइयो।
• २०६६ जेष्ठ १४ गते भैसाहीमा भारतीय गुण्डा आई गंगा श्रेष्ठलाई जवर्जस्ती गर्न खोज्दा उनका श्रीमान चन्द्रबहादुर श्रेष्ठले प्रतिकार गर्न खोजे, हाल उनी बेपत्ता छन्।
• आजभन्दा दुई वर्ष पहिला भैसाहीमा मोटरसाइकलमा आएका भारतीयले देबी खड्कालाई जवर्जस्ती अपहरण गरी बेपत्ता पारेका छन्।
• राजपुर गा.वि.स.वडा नं. ९ भैसाहीकी गायत्री वि.कलाई २०६२ सालमा भारतीय गुण्डाहरुले अपहरण गरी ५/६ महिना राखी चरम यौन शोषण गरेको र बलात्कारको पीडा सहन नसकी आत्महत्या गरेको।
• २०६२ सालमा बरुवानाकाबाट अमृत वि.क.की बहिनी रामकुमारी वि.क. वर्ष १७ लाई गाई ग्वाला गएको बखत बेपत्ता पारिएको।
• पटौलीनाकामा २०६४ सालमा बहादुर घर्तीका छोरी गीता घर्तीलाई १६ हजार रकमसहित लुटपाट र बलात्कार गरेको।
• लोकबहादुर वि.क.की बहिनी सुशीला वि.क. वर्ष १६ लाई २०६३ सालमा बरुवानाकाबाट बेपत्ता गराइएको।
• २०४८ सालमा वर्ष १८ की नौसरा वि.क.लाई बरुवानाकाबाट अपहरण गरी बेपत्ता पारिएको।
• बरुवानाकाका केशमान वि.क.की छोरी भानु वि.क. २०६२ सालदेखि बेपत्ता पारिएको।
• बरुवानाकामा एकै घरका गणपति वि.क.की दुई छोरी १९ वर्षीया लुटी वि.क. लाई २०६१ साल र अर्की छोरी १६ वर्षीय स्यानी विकलाई २०६३ सालदेखि बेपत्ता बनाइएको।

पूरा प्रतिवेदन -
 
पृष्ठभूमि :
वि.सं. १८१६ देखि १८७५ सम्म नेपाल-भारतबीच भएका सीमा सम्झौता र सीमांकनको विवाद भारतको एकतर्फी मिचाहा प्रवृत्तिका कारण आजसम्म सुल्झिन सकेको छैन। सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई भारतीय पक्षले गर्ने ज्यादती सीमाबासीका लागि नियति जस्तै बनेको छ। आफ्नो देश र जनताको स्वाभिमान रक्षाका खातिर नेपाल सरकारले कुनै प्रभावकारी कदम चाल्न सकिरहेको छैन। विवादित सीमा क्षेत्रका समस्या र सीमा विवादलाई वैज्ञानिक ढंगले सुल्झाउन भारत सरकारसंग कुटनैतिक पहल गर्ने, आफ्नो सीमा रक्षा गर्न नेपाल सरकारले कुनै कदम चाल्न नसक्दा सीमा क्षेत्रमा समस्याहरु अद्यावधि कायमै छन्। जसको पछिल्लो तथ्य दाङ जिल्ला अन्तर्गत पर्ने नेपाल-भारत सीमा क्षेत्रमा भारतीय पक्षबाट भएको ज्यादती हो।

भारतीय पक्षको ज्यादती सहन नसकी उक्त क्षेत्रबाट जनता विस्थापित भई सतबरिया गाउँ विकास समिति वडा नं. १ को कर्री साामुदायिक वनमा आई बस्न थालेपछि सिंगो राष्ट्रको ध्यान आकृष्ट हुन पुगेको छ र उक्त घटनाको सत्यतथ्य अध्ययन गरी समस्याको वास्तविक समाधान निकाल्न स्थलगत अनुगमनको आवश्यकता परेकोले सभापति पदमलाल विश्वकर्माको नेतृत्वमा रहेको व्यवस्थापिका संसद/अन्तर्राष्ट्रिय सम्वन्ध तथा मानव अधिकार समितिको संसदीय टोली कोइलावासदेखि खँग्रानाकासम्मको अध्ययनमा र सभासद अमिक शेरचनको नेतृत्वमा केन्द्रस्तरको सर्वदलीय टोली र जिल्लास्तरीय/सर्वदलीय सर्वपक्षीय टोली भौकानाकादेखि खँग्रानाकासम्मको अध्ययनमा २०६६ जेठ २६ गतेदेखि जेठ २९ गतेसम्म कार्यक्षेत्रमा गई आफ्नो कार्यमा खटी अध्ययन गरेको थियो।

उद्देश्यः
• भारतीय सीमा क्षेत्रको पश्चिम राजपुर गाउँ विकास समिति वडा नं. ९ देखि गोबरडिहा गाउँ विकास समिति वडा नं. ६ भौरीसालनाकाभित्र पर्ने विभिन्न नाकाबस्तीमा रहेका आधारभूत जनजीविकाका समस्याहरुको अध्ययन गरी सो को समाधान कसरी गर्न सकिन्छ ? त्यसको अध्ययन गर्न।

• भारतीय पक्षबाट नाका क्षेत्रमा भइरहेका ज्यादतीको अध्ययन गरी नाकाबासीको सुरक्षा के कसरी हुन सक्छ सो को अध्ययन गरी योजना तयार गर्न।

• भारतीय पक्षबाट सीमा क्षेत्रमा भइरहेका गतिविधि र सीमा स्तम्भको अध्ययन गरी नेपालको वास्तविक सीमा पहिचानको आधार तयार गर्न पुराना तथ्यको अध्ययन गर्न।

अध्ययनको कार्ययोजनाः
• पदमलाल विश्वकर्माको नेतृत्वमा रहेको संसदीय टोलीले आफ्नो अध्ययन कोइलावासनाकादेखि प्रारम्भ गरी खँग्रानाकामा आई समापन गर्ने।

• अमिक शेरचनको नेतृत्वमा रहेको सर्वदलीय, सर्वपक्षीय टोलीले पश्चिम भौकानाकादेखि अध्ययन प्रारम्भ गरी पूर्व खँग्रानाकामा गई समापन गर्ने।

• दुवै टोली खँग्रानाका आई एक अर्काका अनुभव आदान-प्रदान गरी सामूहिक धारणा निर्माण गर्ने र प्रारम्भिक धारणा सार्वजनिक गर्ने।

• कार्यक्षेत्रमा रहेका नाकाबासीसँग प्रत्यक्ष छलफल गरी समस्याको पहिचान गर्ने।

• सीमा स्तम्भ र भारतीय पक्षले सीमा क्षेत्रमा गरिरहेको वास्तविक गतिविधिको प्रत्यक्ष अवलोकन गर्ने र स्थानीय जानकार व्यक्तिसंग यस सम्वन्धमा सोधखोज गर्ने।

• नाकाबासीसँग छलफल र स्थानीय विकास निर्माण र जनसरोकारका विषयको प्रत्यक्ष अवलोकन गरी केन्द्रस्तरका/जिल्लास्तरका र तत्कालीन राहत कार्यक्रमको प्याकेज कार्यक्रम तयार गर्ने।

• नाका क्षेत्रमा नेपाल राज्यको उपस्थिति, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, खाद्यान्न र कृषि क्षेत्र विकासको पहुँच र सुविधाको विषयमा स्थलगत अध्ययन गर्ने र सम्भावनाको खोजी गर्ने।

• भारतीय पक्षको ज्यादती, नेपाली चेलीबेटीमाथिको अपमान, अत्याचार, चेलीबेटी बेचविखन, लुटपाट, बलात्कार, हत्या, हिंसाको स्थलगत अध्ययन र जनतासंग यस विषयमा सामूहिक छलफल गरी समस्या समाधानका निम्ति आ-आफ्नो क्षेत्रबाट पहल गर्ने र सबैको ध्यान आकर्षित गर्ने।

नाकाबासी र सीमा समस्याहरुः

सीमा समस्याहरुः
• सीमा क्षेत्रमा एउटा पनि जङ्गे पिलर नभएको।

• भएका Square पिलर चुरे पहाडमा रहेको उक्त पिलर २०-२५ वर्षपहिला बनाइएको पाइयो, पिलरमा हुनुपर्ने सामान्य विषय समेत नभएको।

• Square पिलरमा भारत र नेपाल दुवैतर्फखोपा बनाई उक्त खोपामा खोपेर नेपाल भारतको संकेत पिलर निर्माण मिति नलेखिएको, हालसालै Paint ले लेखिएकोले उक्त पिलर वास्तविक सीमा पिलर नभई नेपालतर्फको साक्षी पिलर हुन सक्ने देखियो। भारत पक्षबाट पिलरहरु एकतर्फी रुपमा मर्मत तथा लिपपोत गरेको पाइयो।

• भारतपक्षले चुरेदेखि तलको समथर भाग भारतको हो भनी स्थानीय जनतालाई गाली गलौज र धम्क्याउने गरेको पाइयो।

• नेपाली बस्तीभित्र आई काठको नयाँ सीमा स्तम्भ गाडेको, घरकै नजिकमा आई, एकतर्फी सीमा रेखांकन गरेको, भारतकै भाषामा दशगजा भनिने क्षेत्रमा ट्रेञ्चको नाममा खाल्डा खनेको, नेपाल भूमितर्फ भारतले एकतर्फी गोठ बनाउने गरेको पाइयो।

• नेपाली जनतालाई नेपाली सीमाभित्र भारतीय गाइगोठ बनाउन लगाउने गरेको।
• भारतीय सीमा सुरक्षा वलले नेपाली सीमाभित्र हतियारसहित प्रवेश गरी नेपाली जनतालाई धम्क्याउने, त्रसित बनाउने गरेको पाइयो।

• भारतीय क्षेत्रतर्फको ५ देखि १० किलोमिटरसम्मका प्रत्येक नाकासंग सम्वन्धित बाटो नेपाली जनतालाई जवर्जस्ती उर्दी जारी गरी खन्न लगाइएको पाइयो।

• एसएसबीले नेपालीहरुले वर्षौदेखि हकभोग गर्दै आइरहेको जमीनको बारहरु भारतको हो भनी पटक पटक माथितिर सार्न लगाएको पाइयो।

•हालको कोइलावास नाकामा भएको पिलरको साढे दुई किलोमिटर दक्षिणतिर पुरानो ढुंगाको नेपाल बार्डर १ किलोमिटर बाँकी भनी लेखिएको सडक पिलर देखिएको र उक्त पिलरको ३०० मीटर उत्तरतिर पुनः कोइलावास २ किलोमिटर लेखिएको नयाँ सिमेन्ट-कंक्रिट पिलर रहेको। नेपाल बार्डर १ किलोमिटर लेखिएको सडक पिलरदेखि करिव १ किलोमिटर उत्तरतिर दशगजा जस्तो देखिने पूर्व-पश्चिम खुला क्षेत्र रहेको पाइएकोले उक्त दशगजा नै नेपाल-भारत सीमा भएको अनुमान गर्न सकिन्छ।

• भौवानाकादेखि ८-१० किलोमिटर दक्षिण चिलरियामोड भन्ने ठाउँमा पुरानो पिलर जस्तो देखिने स्तम्भ रहेको र त्यही स्तम्भ वरपर रनियापुर भन्ने ठाउँमा पुस्तौदेखि दाङ, बिजौरी गाउँ विकास समितिबाट गएका थारुहरुको बस्ती रहेको र ती थारुहरुसंग नेपालको नागरिकता र प्रमाणपत्र रहेको साथै दक्षिणतिरका भारतीय नागरिकले समेत उक्त गाउँ नै नेपालको सीमा भएको भन्ने धारणा पाइएकोले उक्त गाउँसम्म नै नेपाल सीमाना हो भनी अनुमान गर्न सकिन्छ।

• खवरीनाकाको पूर्व-उत्तरतिरको ४८ नम्वरको पिलर हराएको पाइयो।

• एसएसबीका नयाँ जवानहरुले नेपालतर्फका पिलर देखाउन जवर्जस्ती नेपालीहरुलाई लग्ने गरेको पाइयो।

भारतीयपक्षको ज्यादतीः
• भारतीय बजारबाट अत्यावश्यक औषधी, खाद्यान्न, तेलहन पदार्थ लगायत अन्य उपभोग्य सामग्रीहरु ल्याउँदा नेपालीहरुलाई अपमान गर्ने, अवरोध गर्ने, कुटपिट, लुटपाट गर्ने र सामान ल्याए वापत शारिरीक तथा मानसिक र आर्थिक दोहन गर्ने गरेको पाइयो।

• भारततर्फबाट नेपाल आउँदा-जाँदा बीच बाटोमा र नेपालभित्रै आई एसएसबी र भारतीय गुण्डाले नेपाली चेलीबेटीलाई बलात्कार गर्ने, धन पैसा, गाइ, गोरु, बाख्रा, गरगहना लुटपाट गर्ने, र कैयौं नेपालीको ज्यान समेत लिएको, नागरिक अपहरण गरी बेपत्ता पार्ने गरेको पाइयो।

• ज्यादतीको विषयमा भारतीय प्रशासनमा जाहेरी दिदा उल्टै गालीगलौज, बेवास्ता गर्ने र उजुरी लिदा नेपालीहरुसँग धेरै घुस (रकम) माग्ने गरेको पाइयो।

• नेपालीहरुको बालीनाली र जंगलमा मनपरी भारतीयपक्षले गाई, बाख्रा छोडिदिने र उक्त क्रियाकलापको विरोध गर्दा “निचेतो आएगा” भनी धम्क्याउने गरेको पाइयो।

• नाका क्षेत्रमा बसेका नेपाली प्रहरीलाई समेत विगतमा कुटपिट गर्ने र हतियार लुट्ने गरेको पाइयो।

• भारतीयले औषधी उपचार, सेवा सुरक्षाको नाममा नेपाली जनतालाई धम्क्याउने, ठगी गर्ने गरेको पाइयो।

• अनुगमन समिति नाकाक्षेत्रमा गएको समयमा समेत भारतमा नेपालीहरु रासन ल्याउन जाँदा, “तेरा नेतालाई उतैबाट रासन लिई खुवा”। यता किन आउने भनी गाली गर्ने, अपमान गर्ने, लत्याउने काम गरेको पाइयो। यस्ता कार्य विगत समयमा धैरै हुने गरेको पाइयो।

• अनुगमन टोली भैसाहीनाका पुगेको समयमा भारतीय क्।क्।द्य। को टोली उक्त क्षेत्रमा आई नेपालीहरुलाई “गलत कुरा नगर” भनेको र टोलीसंग बिना अनुमती प्रवेश गरी भेट्ने काम गरेको देखियो।

• भारतीय जंगलमा नेपाली गाईबस्तु चराए वापत भारतीयपक्षले वाषिर्क र मासिकरुपमा भारु. ५०।- रुपैयासम्म र ५ किलो तोरी, ८ किलो मकै अनाधिकृत रुपमा लिने गरेको पाइयो।

सेवा, सुविधा र सरकारी पहुँचः
• भौवाको पश्चिम मृगीयानाकादेखि भौरीसालसम्मको ८२ किलोमिटर क्षेत्रमा, कोइलावासमा मात्र १ वटा उपस्वास्थ्य चौकी भएको र उक्त उपस्वास्थ्य चौकीमा कुनै पनि सेवा सुविधा नभएको पाइयो।

• उक्त क्षेत्रमा बाटोघाटो, सञ्चार, खानेपानी, विद्युत, सिचाई लगायत कुनै पनि सुविधा नभएको पाइयो।

• स्थानीय जनताले खोला र पोखरीमा रहेको दूषित पानी समेत ३/४ घण्टाको बाटो हिडी ल्याएर खानुपर्ने अवस्था रहेको।

• दैनिक जीवन गुजार्न सम्पूर्ण रुपमा भारतमा निर्भर रहनु पर्ने अवस्था विद्यमान रहेको देखियो।

• नाकामा ५० औं वर्षेखि जोतभोग गर्दै आएको जग्गा आजसम्म नाप जाँच नभएको, कुनै पनि जनतासंग आधिकारिक जमीन, जग्गाधनी प्रमाण पूर्जा समेत नभएको पाइयो।

• नाकाबाट सरकारी अड्डा अदालत र गा.वि.स. कार्यालय समेत निकै टाढा रहेको, र उक्त कार्यालयहरुमा नाकाबासीको कुनै पहुँच नभएको र विकासे र सेवामूलक दुवै क्षेत्रका कार्यालयले त्यस क्षेत्रमा हालसम्म आफ्नो ध्यान नपुर्‍याएको पाइयो।

• नाका क्षेत्र केही ठाउँमा विद्यालय, भए पनि विद्यालय भवन जीर्ण अवस्थामा रहेको, दरवन्दी नभएको, निजी क्षेत्रबाट विद्यालय सञ्चालन भएकोले शिक्षा आर्जनको पहुँच जनतासंग नभएको पाइयो।

• केही जनताहरुको बाहेक बहुसंख्यक जनताहरु नागरिकताबाट समेत बञ्चित रहेको पाइयो।

•भर्खरै केही नाकाहरुमा जनपथ प्रहरीको ५ वटा चौकी स्थापना गरिएको, उक्त चौकीमा आवश्यक श्रोत साधनको कमी रहेको, नाका क्षेत्रमा लामो दुरीमा बस्ती रहेकाले प्रयाप्त मात्रामा सुरक्षा कायम हुन नसकेको पाइयो।

• सशस्त्र प्रहरीको सीमा सुरक्षा बल अन्य जिल्लाको सीमानामा रहँदा समेत दाङ जिल्ला अर्न्तर्गतका नाकाहरुमा नभएकोले सशस्त्र प्रहरीको सीमा सुरक्षा वलको बलियो उपस्थिति रहनु पर्ने टड्कारो आवश्यकता भएको देखियो।

• अत्यन्तै निम्नस्तरको आर्थिक अवस्था भएका सीमाका जनताहरु, बेरोजगार, अशिक्षाका साथै निम्न आयश्रोतको मारमा पर्दै आएको र उनीहरुको आफ्नै उत्पादनले २ महिनादेखि ६ महिनासम्म मात्र खान पुग्ने देखियो।

• हालसम्म सीमाबासीहरुले श्रोत र साधनको अभाव रहँदारहँदै समेत सीमा सुरक्षाको काम समेत गरेको र उनीहरुको उपस्थिति नरहेको भए त्यहाँको भौतिक साधनश्रोत र नेपाली भूमि समेत सुरक्षित हुन नसक्ने अवस्था रहेको पाइयो।

• हालसम्म स्थानीयरुपमा उत्पादित कुनै पनि बस्तुभाउको खरिद विक्रीको निम्ती बजारभाउ नरहँदा आफ्ना उत्पादित बस्तुहरुलाई दलाल मार्फ कौडीको भाउमा विक्री वितरण गरेको पाइयो।

• विकेन्द्रीत रुपमा २/४ घर भएका साना बस्तीहरुमा सुरक्षा र सुविधाको अभाव रहेको पाइयो।

केही मुख्य घटना तथा तथ्यहरुः
• भौवानाकाका ५३ वर्षीय जितबहादुर बुढाले भने अनुसार भौवादेखिको दक्षिण ८-१० किलोमिटर चिलरिया मोडको दक्षिणतिर एक पिलर थियो भारतले त्यहाँ रामपुर बाँध बनायो त्यहाँ बस्ने नेपालीलाई रनियापुरमा सार्‍यो। यो गाउँ नेपालमा पर्छ भनेर भारतीय र त्यहाँका नेपालीहरु भन्छनु, उनीहरु दाङ विजौरीबाट गएका हुन्, उनीहरुसंग नेपाली भएको प्रमाण छ।

• २०६६ जेठ १४ गते भैसाहीमा भारतीय गुण्डा आई गंगा श्रेष्ठलाई जबर्जस्ती गर्न खोज्दा उनका श्रीमान चन्द्रबहादुर श्रेष्ठले प्रतिकार गर्न खोजे, हाल उनी बेपत्ता छन्।

• आजभन्दा २ वर्ष पहिला भैसाहीमा मोटर साइकलमा आएका भारतीयले देबी खड्कालाई जवर्जस्ती अपहरण गरी बेपत्ता पारेका छन्।

• २०५९ चैत १२ गते खँग्राकी भुमा भण्डारीको भारतीयद्वारा हत्या गरिएको केश कसैले हेरेन र ढिसमिस गरियो।

• राजपुर गा.वि.स.वडा नं. ९ भैसाहीकी गायत्री वि.कलाई २०६२ सालमा भारतीय गुण्डाहरुले अपहरण गरी ५/६ महिना राखी चरम यौन शोषण गरेको र बलात्कारको पीडा सहन नसकी आत्महत्या गरेको।

• २०६६ बैशाख २ गते राजपुर गा.वि.स. वडा नं. ७ गौरिया नाकामा गोरखबहादुर पुनको घरैबाट भारतीय लुटेराहरुले २ वटा खसी लुटी लगेको।

• २०६२ सालमा बरुवानाकाबाट अमृत वि.क.की बहिनी रामकुमारी वि.क. वर्ष १७ लाई गाई ग्वाला गएको बखत बेपत्ता पारिएको।

• पटौलीनाकामा २०४८ साल साउन १५ गते विर्खमान पुनलाई भारतीय गुण्डाद्वारा अपहरण गरी भारतीय जंगलमा खुकुरी र गोलीद्वारा हत्या गरी घरमा आई उनका १५ बोका र खसी लुटी लगेको।

• पटौलीनाकामा २०६४ सालमा बहादुर र्घर्तीका छोरी गिता र्घर्तीलाई १६ हजार रकमसहित लुटपाट र बलात्कार गरेको।

• लोकबहादुर वि.क.की बहिनी सुशीला वि.क. वर्ष १६ लाई २०६३ सालमा बरुवानाकाबाट वेपत्ता गराइएको।

• २०४८ सालमा वर्ष १८ की नौसरा वि.क.लाई बरुवानाकाबाट अपहरण गरी बेपत्ता पारिएको।

• बरुवानाकाका केशमान वि.क.की छोरी भानु वि.क. २०६२ सालदेखि बेपत्ता पारिएको।

• बरुवानाकामा एकै घरका गणपति वि.क.की दुई छोरी १९ वर्षकी लुटी वि.क. लाई २०६१ साल र अर्की छोरी १६ वर्षकी स्यानी विकलाई २०६३ सालदेखि बेपत्ता बनाइएको।

• खवरीनाकाका ७८ वर्षीय टेकबहादुर खत्रीलाई २०६५ बैशाख १७ गते भारतीय गुण्डाले लुटपाट गरी एकतोला सुन, ५ हजार भारु., कुखुरा, दुई क्यामेरा लगेको।

• खबरीनाका मनपुरा बुढालाई २०६५ सालमा बालापुर बगियाका गुण्डाले समाती रकम, सुन, घडी, लगायतका सामानहरु लुट्नुका साथै बलात्कारको कोशीष गरेको र एच.आइ.भी. एड्स छ भनी बच्न सफल भएको।

• खबरीनाकाका दुजलाल वि.क.की श्रीमती २५ वर्षी गोठी वि.क.लाई २०५९ सालमा भारतीय गुण्डाहरु घरमै आई धम्क्याइ अपहरण गरी भारत लगी जमुनाहपुर दुर्गा कुर्मीको घरमा ३ महिना राखिएको र जनताले भेट्टाएपछि खोसेर ल्याएको।

• २०६० सालमा खबरीनाकाका मोतीराम पुनको घरमा गुण्डाहरु आई सामान लुटी, मरनासन्न हुने गरी कुटपिट गरी फालेको पछि उपचारद्वारा ठीक भई त्यस स्थानबाट विस्थापित भएको।

समाधान तथा सुझावहरुः
सीमा सम्वन्धीः
• नेपाल-भारतबीच भएको सीमा सम्झौता अनुसार वैज्ञानिक सीमांकन गर्नुपर्ने।

• नेपाल-भारत सीमा नियमित गर्नु पर्ने।

• पिलरहरु भत्काइएका ठाउँमा पुनः स्थापित गर्ने। पिलर नभएका ठाउँमा नयाँ पिलर बनाउने। दुई सीमा पिलरका बीचमा अन्य सहायक स्तम्भहरु बनाउनु पर्ने।

• दशगजा क्षेत्रको पहिचान गरी व्यवस्थित गर्नु पर्ने।

• सीमा नाकामा शसस्त्र सीमा सुरक्षा बलको स्थापना र जनपद प्रहरी चौकीको आवश्यक व्यवस्था गर्ने।

• भारतीय पक्षले नेपाल सीमाभित्र र सीमा क्षेत्रमा एकलौटीरुपमा बनाएका संरचना तत्काल हटाउनु पर्ने, एकल गतिविधि बन्द गर्नुपर्ने र कुटनैतिक पहलद्वारा दुई देश बीच नियमित साझा समझदारी निर्माण गर्नु पर्ने।

• कोइलावास भन्सारलाई व्यवस्थित र नियमित गर्नु पर्ने, खँग्रानाका र भौवामा थप भन्सार स्थापना गर्नु पर्ने

• नेपाल-भारत व्यापार तथा परिवहन सन्धी अनुसार आधिकारिक भन्सारहरुमा व्यापार तथा पारवहन सुविधा तत्काल उपलव्ध गराउनु पर्ने।

• स्थानीयस्तरमा दुई देशका सीमाका जिल्ला प्रशासकहरुबीच नियमित बैठक बसी उत्पन्न विवाद र असमझदारीलाई सुल्झाउनु पर्ने।

• अनधिकृतरुपमा नेपाल-सीमाभित्र भारतीय सीमा सुरक्षा बल सशस्त्र हतियारसहित प्रवेश गर्ने र नेपाली भूमिमा हुने भारतीय ज्यादतीलाई तत्काल रोक्नुपर्ने।

• भारतीय आरक्षित वनको सहारा लिई नेपालभित्र र भारतीय जंगलभित्र गरिने विद्यमान आपराधिक क्रियाकलाप पूर्ण रुपमा तत्काल रोक्नुपर्ने।

• अवैधरुपमा भारतीय पक्षबाट प्राकृतिक स्रोत र साधनको दोहन गरी ओसार-पसार गर्ने कार्यलाई तत्काल रोक्नु पर्ने।

• नाका क्षेत्रबाट भारतीयपक्षले अपहरण गरी बेपत्ता पारिएका नागरिकको छानविन गरी स्थिति सार्वजनिक गर्नुपर्ने। मृत्यु भएका, घाइते, अपांग र बलात्कारमा परेकाहरुलाई क्षतिपूूर्ति दिनुपर्ने।

• भारतीय बजारबाट नाकाबासी नेपालीले घर चलनको लागि ल्याउने दैनिक उपभोग्य सामग्रीहरु निर्वाध रुपमा ल्याउन दिनुपर्ने।

• भारतीयपक्षले नेपालीसंग लिने अनधिकृत पैसा, तोरी, मकै र नेपालीहरुलाई जवर्जस्ती उर्दी गरी भारतीय बाटो खन्न लग्ने कार्य तत्काल रोक्नु पर्ने।

विकास निर्माण र जनजीविकासँग सम्वन्धित कार्यहरुः

• नाका क्षेत्रका जनताले वर्षौदेखि जोतभोग गर्दै आएको जमीन नापजाँच गरी तत्काल जग्गाधनी प्रमाणपूर्जा दिनु पर्ने।

• नाका क्षेत्रका नागरिकलाई विशेष व्यवस्था गरी नागरिकता प्रदान गर्नु पर्ने।

• सरकारी सेवा सुविधाबाट आजसम्म बञ्चित रहेका नाकाबासी र नाका क्षेत्रमा सरकारी सेवा सुविधाको पहुँच वृद्धि गर्नु पर्ने। विकास निर्माणमा अग्राधिकार सहित निम्न कार्यहरु गर्नु पर्नेः

सडकः
• राष्ट्रिय राजमार्ग कुसुमदेखि भौवा, खँग्रा हुँदै कोइलावाससम्म सीमा सडक निर्माण गर्नु पर्ने।
• लमही-कोइलावास बाटो स्तर उन्नत गरी नियमित सञ्चालन गर्नु पर्ने।
• कालाकाटे-बेला-राजपुर सडकको उपयुक्त स्थानबाट खँग्रानाकासम्म सडक निर्माण गर्नु पर्ने।
• कोइलावासदेखि पूर्व भौरीसालसम्म पूर्व-पश्चिम नयाँ बाटो निर्माण गर्नु पर्ने।
• गुरुङखोलादेखि पटौलीसम्म उत्तर दक्षिण मार्ग निर्माण गर्नु पर्ने।
• महदेवा चिमचिमे भौरीसाल मार्ग निर्माण गर्नु पर्ने।
• भौवाहुँदै बाँके जोड्ने सीमा मार्ग निर्माण गर्नु पर्ने।

सुरक्षाः
• तत्काल निम्न स्थानमा जनपद प्रहरी पोष्ट स्थापना गर्नुपर्नेः
-क) गौरीया -ख) भौवा -ग) गुरुङ -घ) डगमारा
-ङ) खाँग्रा -च) कोइलावास -छ) सुनपत्री -ज) कल्याणपुर -फोहरी)
-झ) भौरीसाल -ञ) भैसाही -ट) सिरिया

स्वास्थ्यः
• तत्काल कोइलावास, खँग्रा र भौवामा उपस्वास्थ्य चौकी स्थापना गरी अन्य नाकाहरुमा साप्ताहिक स्वास्थ्य क्लिनिक सञ्चालन गर्नुपर्ने र उपरोक्त स्थानमा स्वास्थ्य चौकी स्थापनाको लक्ष लिनु पर्ने।

• भौरीसाल, गुरुङ, सिरिया, कल्याणपुर, गौरिया, डममार, सुनपत्री, भैसाहीमा उपस्वास्थ्य चौकी निर्माण गर्नु पर्ने।

• तत्काल नाका क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने।

• कोइलावास, खँग्रा र भैसाहीमा पशु स्वास्थ्य सेवा केन्द्र स्थापना गर्नुपर्ने।

• स्वास्थ्य सम्वन्धी आधारभूत तालिम तथा गोष्ठीहरु नाका क्षेत्रमा सञ्चालन गर्नुपर्ने।

शिक्षाः
• भौवा, खँग्रा, कोइलावासमा मा.वि. स्थापना गर्नुपर्ने।
• सिरिया, सुनपत्री, भैसाहीमा नि.मा.वि. स्थापना गर्नुपर्ने।
• भौरीसाल, गुरुङखोला, पटौली, खबरी, कल्याणपुर (फोहरी) गौरिया, डगमारामा प्रा.वि. स्थापना गर्नुपर्ने।
• सबै बस्तीलाई केन्द्रमा राखी प्रौढ र बालशिक्षा सञ्चालन गर्नुपर्ने।

खानेपानीः
• स्थानीय श्रोत (मूल, खोलाबाट) पानी वितरण गर्ने व्यवस्था मिलाउने।
• पानी पोखरी, जलासयको व्यवस्था गर्ने।
• वर्षादको पानी संकलन गर्न घैटो कार्यक्रम सञ्चालन गर्ने।
• लिफ्टबाट खानेपानी योजना सञ्चालन गर्ने।
• स्यालो ट्यूववेलको व्यवस्था गर्ने।
• कुवा निर्माण गर्ने।
• खानेपानी तथा सरसफाई कार्यक्रमलाई यस क्षेत्रमा सञ्चालन गर्ने
• खवरी, खँग्रा, भौवा, भैसाही, सुनपत्री, गौरिया, भौरीसाल खोलामा खानेपानी टंकी निर्माण गरी नाका क्षेत्रमा खानेपानी वितरण गर्ने।

सिँचाईः
• खबरी, खाँग्रा, भौवा, भैसाही, सुनपत्री, गौरिया, भौरीसालमा स्थानीय खोलाबाट नहर कुलो बनाई तथा पाइप सिचाईको व्यवस्था गर्ने।
• अन्य गाउँहरुमा प्राविधिक अध्ययन गरी ताल र ट्यूववेलद्वारा सिचाईको व्यवस्था गर्ने।

विद्युतः
• कोइलावास बाहेकका अन्य नाकाहरुमा विद्युत लाइन विस्तार गर्ने।
• विशेष कार्यक्रम अर्न्तर्गत सौर्य उर्जा कार्यक्रम सञ्चालन गर्ने।
• गोबरग्याँस प्लान्ट कार्यक्रम सञ्चालन गर्ने।
• अन्य उर्जाको व्यवस्था गर्ने।

सञ्चारः
• नाकाका सबै बस्तीहरुमा १/१ लाइन टेलिफोनको व्यवस्था गर्नुपर्ने।
• आवश्यकता अनुसार मोवाइल, सी.डी.एम.ए. टावरको व्यवस्था गर्नुपर्ने।

आयआर्जन कार्यक्रमः
• जडीबुटी, पशुपालन (बाख्रापालन) व्यवस्थित कृषि प्रणालीको विकास, सैजन खेती कार्यक्रम सञ्चालन गर्ने।
• खँग्रा लगायतका स्थानमा कोइलाखानीको अध्ययन गरी सञ्चालन गर्ने।
• वनकस, अमरिसा सम्वन्धी खेती र संकलनलाई व्यावसायिकरुपमा सञ्चालनको व्यवस्था गर्ने।
• सीमा लाइन र खाली वनमा खयर रोप्ने।
• नाका क्षेत्रमा ३ वटा सस्तो सहकारी पसल स्थापना गर्ने।
• भौवा, भैसाही, डगमारा, गुरुङ, सिरिया, कल्याणपुर, कोइलावास, खाँग्रा, सुनपत्रीमा खाद्यान्न, औषधी लगायतका अति आवश्यक उपभोग्य सामग्री तत्काल आपर्ूर्ति गर्न उपरोक्त स्थानमा डिपो स्थापना गर्ने।

अन्यः
• साना साना नाका बस्तीहरुलाई एकै ठाउँमा केन्द्रीकृत गरी घनाबस्तीको विकास गर्ने।
• नाका क्षेत्रमा जि.वि.स. विकासे र सेवामूलक कार्यालय र सामाजिक संघ/संस्थाद्वारा सामाजिक विकास निर्माणको कार्य सञ्चालन गर्नु पर्ने।
• नाका क्षेत्रमा स्वास्य स्वयंसेविका पशु स्वास्थ्य कार्यकर्ता तालिम सञ्चालन गर्ने।
• नाका क्षेत्रलाई ३ भागमा विभाजन गरी कोइलावास, खाँग्रा र भैसाहीलाई केन्द्र बनाई ३ गाउँ विकास समिति निर्माण गर्न आवश्यक व्यवस्था तत्काल गर्नु पर्ने।
• खँग्रा नाकामा सेवा उपकेन्द्रको स्थापना गर्नु पर्ने।
• सरकारी कार्यालयबाट दिने सेवाहरुमा नाकाबासीको पहुँच वृद्धि गर्ने घुम्ती सेवा केन्द्र स्थापना गर्नु पर्ने
• सहकारीताको माध्यमद्वारा अन्य आयआर्जन र सेवामूलक कार्यक्रम सञ्चालन गर्ने।

निष्कर्षः
वर्षौदेखि बिना वर्दीका सीमा रक्षकको रुपमा रहँदै आएका सच्चा राष्ट्रवादी नेपालीहरुमाथि नेपाल सरकारको ध्यान पुग्न नसक्नु, भारतपक्षीय गुण्डा र भारतीय सुरक्षा बलले गर्दै आएको ज्यादतीको कारण सदियौदेखि जोतभोग गर्दै आएको आफ्नै जमीन छाडी सतबरिया गाउँ विकास समितिको कर्री साामुदायिक जंगलमा विस्थापित भई बस्नु पर्ने अवस्था सृजना हुन पुग्यो। बर्बर उत्पीडन, अन्याय, अत्याचार, विभेद र थिचोमिचो सहँदै भारतपक्षबाट लुटिएका अस्मिता, स्वाभिमान र राष्ट्रियताको रक्षार्थ लडिरहेका सीमाबासी नेपालीहरु, भारतीय बलात्कार र हिंसामा परेका जनताहरु, अपहरणमा परी वेपत्ता भएका नाकाबासी नेपालीप्रति सम्मान प्रकट गर्न चाहन्छौं। नाकाबासीले उठाएका जायज मागहरुप्रति हाम्रो पूर्ण समर्थन रहेको छ। अनुमगन टोलीले उठाएका सम्पूर्ण विषयहरुलाई तत्काल कार्यान्वयन गर्नु सबै सम्वन्धित निकायको अनिवार्य कर्तव्य
हुनेछ। सीमाबासीलाई दिने सुविधा, त्यहाँको बाटोघाटो र वैज्ञानिक सिमांकनको विषयमा नाकाबासीको सेवा सुविधाको विषय मात्र नभई राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको महत्वपूर्ण विषय भएको हाम्रो निष्कर्ष रहेको छ। भारतीय पक्षले नेपाल र नेपालीमाथि गरेको ज्यादती र दिन प्रतिदिन सीमा अतिक्रमण गरिरहेको र नेपाल सीमालाई खुम्च्याइरहेको हाम्रो प्रारम्भिक निष्कर्ष रहेकोछ।

पुराना तथ्यहरुको अध्ययन गर्दै जादा नेपाल सीमाना हाल नेपालीहरुले भोगचलन गर्दै आएको सीमाना भन्दा झण्डै ८-१० किलोमिटर दक्षिण हुन सक्ने अनुमान हाम्रो अध्ययनले निकालेको छ। सीमा क्षेत्रमा बसेका नेपालीहरुलाई आजसम्म जनजिविकाका आधारभूत आवश्यकता पुर्‍याउन सकिएको छैन। शिक्षा, स्वास्थ्य, विद्युत, सञ्चार, सडक, खानेपानीको समस्या कहालीलाग्दो छ। सरकार र सरकारी कार्यालय समेत कहाँ र कस्ता छन् तिनले के के गर्दछन् नाकाबासीलाई यसबारे केही थाहा छैन। सरकारी कार्यालय समेत आफ्नो जिम्मेवारी र दायित्वलाई शहर बजार र सीमित उच्चवर्गमा केन्द्रीत गरिरहेको छ। यस हिसावले मुलुक परिवर्तनको वर्तमान अवस्थामा हामी लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौं।

लोकतान्त्रिक गणतन्त्र भनेको गरिव निमुखा जनताको लागि हो। अतः यी समस्या समाधान गर्न सम्पूर्ण नेपाली जनताहरु, राजनीतिक दलहरु, पत्रकार, नागरिक समाज, यूवा, विद्यार्थी एकीकृत रुपमा उठ्नु र जाग्नु आवश्यक छ। यी स्थानीय तहमा दाङ जिल्लाभित्र उठेको समस्या भएको कारण सम्पूण सजग दंगाली नागरिक समाज, राजनैतिक दल, पत्रकार, बुद्धिजीवी, युवा, विद्यार्थी, विकासे कार्यालय, सेवामूलक र सामाजिक संघ संस्थाको एकीकृत पहलमा तात्कालीन र दीघकालीन योजना बनाई समस्याको समाधानमा लाग्नु आवश्यक छ।

हाम्रो राष्ट्र र राष्ट्रिय स्वाभिमान हामी नेपालीलाई सबैभन्दा प्यारो छ। देशै नभए हामी कहाँ रहौंला र ? अनि हाम्रा अग्रगमन र परिवर्तनका यथार्थ परिकल्पना कहाँ हुन सक्लान् ? त्यसकारण देश निर्माण र स्वाभिमानका खातिर सबैले एकीकृत पहल लिन आवश्यक भएको हाम्रो निष्कर्ष रहेको छ। हामी प्रतिवेदन कार्यान्वयनमा सहयोग गर्न सम्वन्धित सबैमा विनम्र आग्रह गर्दछौं। र हामी प्रतिवेदन कार्यान्वयन गर्न पूर्ण प्रतिवद्ध रहने छौं।

प्रतिवेदन तयार गर्नेहरुः
१. सागर, अनुगमन टोली सदस्य तथा सह-इञ्चार्ज, एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी), दाङ
२. नारदमणि पोख्रेल, अनुगमन टोली सदस्य तथा जिल्ला सदस्य, एकीकृत ने. क. पा. (माओवादी), दाङ
३. विरकेशरी गौतम, सभापति, नेपाली कांग्रेस, दाङ
४. घनश्याम बुढाथोकी, अनुगमन टोली सदस्य तथा उप-सचिव, नेपाल कम्युनिष्ट पार्टी (एमाले), दाङ
५. गणेश के.के., अनुगमन टोली सदस्य तथा सचिव, नेपाल कम्युनिष्ट पार्टी (एमाले), दाङ
६. भरत भण्डारी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा, दाङ
७. मेघराज भण्डारी, अनुगमन टोली सदस्य तथा सचिव, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत), दाङ
८. पूर्णबहादुर वली, प्रतिनिधि, राष्ट्रिय जनशक्ति पार्टी दाङ
९. दीपक थापा मगर, अनुगमन टोली सदस्य तथा प्रतिनिधि, राष्ट्रिय जनमुक्ति पार्टी दाङ
१०. ओमप्रकाश गुप्ता, अध्यक्ष नेपाल सदभावना पार्टी जिल्ला समिति दाङ

अध्ययन मितिः २०६६ जेठ २६-२९
 
साभार : मेरोसँसार 
 
Comments (1)
hi
1 Sunday, 12 July 2009 16:41
shubhot magar
aba nepali pakisthan bannu parchha, tamil bannu parchha, sarkar ta jun sarkar aye pani bharat mukhi nai chha kyare bhanu naparne ho kinaki bachabacha kopani tha chha .

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)