Home विशेष लेख खुल्दैछन् माओवादी नेता "फुयाल" हत्याका थप रहस्य

खुल्दैछन् माओवादी नेता "फुयाल" हत्याका थप रहस्य

E-mail Print PDF

मनोज घर्तीमगर
काठमाडौं ३ असार

एकीकृत नेकपा माओवादीका काठमाडौं जिल्ला सदस्य राजेन्द्रप्रसाद फुयाल "शरद" हत्याको घटना थप रहस्यमय बन्दै गएको छ। 
फुयालको मृत्युको भनी प्रहरीले तयार पारेको मुचुल्का र हस्ताक्षरकर्ताबीचमै भिन्नता आएको छ। प्रहरीले उठाएको मुचुल्कामा हस्ताक्षर गर्ने प्रत्यक्षदर्शीले छटपटाइरहेको अवस्थामा आपुूहरुले देखेको मान्छे राजेन्द्र नभएको बताएका छन्। प्रहरीले डेढसयभन्दा बढी मान्छेले पनि नचिनेपछि विषसेवन गरेर छटपटाइरहेको अवस्थामा गौशाला प्रहरी प्रभागबाट खटिएको टोलीले उपचारमा लाँदैगर्दा वीर अस्तापलमा पुर् याएको र त्यहाँ भर्ना गर्न अस्वीकार भएपछि शिक्षण अवस्थामा पुर् याएको केही समयमै मृत्यु भएको रिपोर्ट पेस गरेको छ। तर मुचुल्कामा हस्ताक्षर गर्ने साक्षीहरुले आफूहरुले राजेन्द्रको नभई अन्य अपरिचित व्यक्तिको मुचुल्कामा हस्ताक्षर गरेको बताएपछि प्रहरी प्रशासनको भूमिकामा गम्भीर आशङ्का उत्पन्न भएको छ।

त्यसभन्दा झन् रहस्यमय तथ्य जनदिशाले प्राप्त गरेको छ। प्रहरीले बिहान ११ बजे बेहोश अवस्थामा धर्मस्थली-७ भङ्गेरेटारस्थित प्लटिङ गरेको जग्गाबाट उठाएको मुचुल्का तयार पारेको तर फुयालका परिवारले बिहान १२ बजे फुयालसँग फोन सम्पर्क भएको बताएका छन्। मङ्गलबार बिहान फुयाल परिवारलाई भेट्न उहाँको घर काभ्रेस्थली १ लामिछाने गाउँ पुग्नुभएका माओवादी नेतृत्वसँग फुयालकी जीवनसङ्गिनी शान्ताले २८ गते दिउँसो १२ बजे फोन सम्पर्क भएको बताउनुभयो। तर प्रहरीले २८ गते बिहान ११ बजे नै फुयाललाई छटपटाइरहेको अवस्थामा अस्पतालतिर लगिएको बताउँदै आएको छ। 

 


माओवादी जिल्ला सदस्य फुयालको रहस्यमय ढङ्गले हत्या भएपछि माओवादी पोलिटव्यूरो सदस्य तथा सभासद् हिसिला यमी केन्द्रीय सदस्य तथा सभासद् झक्कुप्रसाद सुवेदी ओनसरी घर्तीलगायत मङ्गलबार अपरान्ह उहाँको परिवारलाई भेटघाट गर्न लामिछाने गाउँ पुग्नुभएको थियो। "२७ गते साँझ छोरालाई फोन गरेर खाना पकाउनु भन्नुभएको थियो। खाना पकाएर राख्यौं तर आउनु भएन।" शान्ताले जनदिशासँगको कुराकानीमा भन्नुभयो "२८ गते दिउँसो मैले उहाँलाई फोन गरेँ। हेलो भन्नुभयो। कहाँ हुनुहुन्छ। हिजो किन आउनुभएन भनेर भनेँ। त्यसपछि उहाँको आवाज सुनिएन।" परिवारका अनुसार २८ गते दिउँसो १२ बजे फोनमा सुनिएको आवाज फुयालको नै हो। 

 

नेताहरुसँगको भेटमा परिवारका सदस्य र आफन्तहरुले फुयालको हत्या नै भएको बताउँदै छानबिन गरेर दोषीमाथि कारबाहीको प्रकि्रया अगाडि बढाउन माग गरेका छन्। मङ्गलबारका केही साचारमाध्यमहरुले विष सेवन गरी फुयालले आत्महत्या गरेको भनी प्रचारित समाचारप्रति निकै आक्रोशित भएका आफन्तजन र स्थानीयवासीले हत्याको घटनालाई तोडमोड गर्न त्यस्तो षड्यन्त्र भएको दाबी गरे। "राजेन्द्र गोलीसँग खेलेर आएको मान्छे हो" एक स्थानीय महिलाले भनिन् "विष खायो भनेर गरेको हल्लाले हामीलाई आक्रोशित बनाएको छ।"

फुयालको हत्या नै भएको हो भनेर एमालेकै कतिपय कार्यकर्ताहरुले बताएका छन्। माओवादी नेताहरु लामिछाने गाउँ पुग्दा त्यहीं पुग्नुभएका नेकपा एमालेका गाविस अध्यक्ष उद्धव तिमिल्सिनाले फुयालको सुनियोजित हत्या भएको बताउनुहुँदै फुयाललाई सहिद घोषणा गर्नुपर्ने सहिद परिवारले पाउनुपर्ने सुविधा पाउनुपर्ने दोषीमाथि कारबाही गर्नुपर्ने बताउनुभयो। "विष खाएर आत्महत्या गर् यो भनेर प्रचार थालिएको छ," उहाँले माओवादी नेतृत्वकै अगाडि भन्नुभयो "राजेन्द्र विष खाएर मर्ने मान्छे होइन। यो सुनियोजित हत्या नै हो।" एमाले गाविस अध्यक्ष तिमिल्सिना मृतक फुयालका मामा पर्नुहुन्छ। 

गाविस अध्यक्ष तिमिल्सिनाले माओवादी नेता फुयालको हत्या नै भएको एमालेकै कतिपय कार्यकर्ताहरुले बताइरहँदा युथफोस्रका नेता कार्यकर्ताले भने विष सेवन गरेर आत्महत्या गरेको अभिव्यक्ति दिइरहेका छन्। पोष्टमार्टमको अन्तिम रिपोर्ट नआउँदै युथफोस्रका नेता कार्यकर्ताले विष सेवन गरेर आत्महत्या गरेको प्रचार थाल्नु र यता गाविस अध्यक्ष तिमिल्सिनाले हत्या नै हो भनी दाबी गर्नुलाई पनि थप रहस्यका साथ हेरिएको छ।

हत्याको छानबिनका बारेमा मङ्गलबार माओवादी नेतृत्व र प्रहरी अधिकारीहरुबीच भएको भेटमा फुयालको शव भनी मुचुल्का उठाउने टिमको नेतृत्वकर्ता प्रहरी असई प्रेमराज गौलीले विष खाएर छटपटाइरहेको अवस्थामा फेला पारेर वीर अस्पताल पुर् याएको तर त्यहाँ भर्ना गर्न अस्वीकार गरेपछि शिक्षण अस्तपालमा पुर् याएको र केही समयपछि नै मृत्यु भएको रिपोर्ट दिनुभयो। उहाँले डेढसयजना जतिको सङ्ख्यामा रहेका स्थानीयवासी कसैले पनि फुयाललाई नचिनेको समेत बताउनुभयो।

माओवादीको तर्फबाट पोलिटव्यूरो सदस्य हितमान शाक्य हिसिला यमी केन्द्रीय सदस्य झक्कुप्रसाद सुवेदी काठमाडौं जिल्ला इन्चार्ज सेक्रेटरी र प्रहरीका तर्फबाट अपराध अनुसन्धान महाशाखा हनुमानढोकाका एसपी नवराज शिलवाल बालाजु प्रहरी प्रभागकी डीएसपी मीरा चौधरी महारागन्जका डीएस्पी र मुचुल्का उठाउने असई गौली छलफलमा सहभागी हुनुहुन्थ्यो। प्रहरीले माओवादीका भनाइमाथि कुनै पनि जवाफ नदिइकन उपल्लो तहबाट छानबिन समिति बनाउने प्रतिबद्धता व्यक्त गरेको माओवादीका काठमाडौं जिल्ला सेक्रेटरी शैलेन्द्रले जनदिशालाई जानकारी गराउनुभयो।

मुचुल्का तयार गर्नेको नेतृत्व गर्ने प्रहरी असई गौलीले त्यसरी बताइरहँदा मुचुल्कामा हस्ताक्षर गर्ने एकजना प्रत्यक्षदर्शीले आफूहरुले देखेको मान्छे र राजेन्द्र फरक भएको बताएका छन्। "म राजेन्द्र को हुन् के हुन् केही पनि चिन्दिनथेँ। देखेको थिइनँ। तर हामीले सर्जिमिन गरेको मान्छे र राजेन्द्रको भनी अहिले यहाँ ल्याइएको फोटो फरक छ," मङ्गलबार साँझ उनले  भनिन् "मैले कसरी हो भन्नु।"

"हामीले त नदेखेको भइगो तर मेरो देउरानीको भाइ हुन् देउरानीले त चिन्नुपर्ने नि!" प्रत्यक्षदर्शी उनले भनिन् "राजेन्द्र भए देउरानीले कसरी नचिन्दी हुन्।" पहिलेको मान्छे आफ्नो छोरो पर्ने एकजना युवाले पनि देखेको जानकारी गराउँदै उनले ती युवा राजेन्द्रसँग तीन वर्षदेखि सङ्गत गर्दै आएका पनि बताइन्। "तीन वर्षदेखि ऊ राजेन्द्रसँगै रहेछ। राजेन्द्र भए उसले त चिन्नुपर्ने नि!" उनले आफूहरुले सर्जिमिन गरेको युवाले हरियो कपडा लगाएको बताइन्।

प्रहरीले जहाँ राजेन्द्रलाई छटपटाइरहेको अवस्थामा उठाएको बताएको थियो त्यस क्षेत्रका ५ वर्षभन्दा माथिका सबैले उहाँलाई चिन्ने स्थानीयवासीहरुले बताएका छन्। "उहाँ त यहाँको देवता नै हो" एकजना महिलाले फुयालको घर अगाडि भनिन् "उहाँलाई यस वरिपरिका ५ वर्षभन्दा माथिका सबैले चिन्दछन्।"

अझ रहस्यमय त प्रहरी असई गौलीले फुयाललाई नजिकबाट चिन्नुहुन्छ भन्ने सबैको भनाइ छ। तर गौलीले आफूले नचिनेको मान्छेको शव उठाएको बताइरहेका छन्।

प्रहरीको कदमले राजनीतिक आवरणमा रहेका केहीलाई प्रहरीले साथ दिएको र हत्या तिनीहरुद्वारा नै राजेन्द्रको हत्या गरिएकॊ स्थानीयवासीले दाबी गरेका छन्। 

फुयाललाई स्ववियु निर्वाचनको क्रममा युथफोस्रका कार्यकर्ताले कुटेर मर् यो भनेर रानीवनमा फालेका थिए। तर होशमा आएर फोन गरेपछि माओवादी कार्यकर्ताहरुले भेटेर उपचार गराएर बचाएका थिए। 

जेठ २८ गतेदेखि बेपत्ता हुनुभएका फुयाल शवको पोष्टमार्टम गरिसकेको अवस्थामा जेठ ३१ गते शिक्षण अस्पताल महाराजगन्जको शव गृहमा फेला पर्नुभएको थियो। प्रहरीले बेवारिसे लास भएको बताएको थियो।

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Gallery

Music Archive : दुई थुँगा (सबीन राई)

सबीन राईको नयां एल्बम "रँगमञ्च" बाट

free counters

(Since April 2009)