सुसन मास्के
सधैं एकाबिहानै उनी रुखमुनि बारेको आफ्नो कटेरो वरिपरिको आँगन बढार्न व्यस्त देखिन्छिन् र सबैलाई भन्ने गर्छिन्- आज उनलाई भेट्न उनको गाउँबाट मान्छेहरू आउँदै छन्। यो सफाइपछि उनी गलेश्वर आश्रमतिर लाग्छिन् जहाँ उनलाई चिया र बिहानको एक छाक भोजनको व्यवस्था छ।
कल्पवास गरिरहेका कुनै दयालु दाताले उबे्रको भात दिए उनको बेलुकाको छाक पनि टरिहाल्छ । बाँकी समय उनी कहिल्यै नआउने आफ्ना आफन्तको बाटो हेर्दै बिताउने गर्छिन्। उनी को हुन् ? कहाँबाट यहाँ आइपुगेकी हुन् ? कसैलाई यकिनका साथ थाहा छैन। तर वर्षदिनदेखि यता-उता भौतारिएर हिँड्ने यी बूढी आमालाई देवघाटमा सबैले मगर्नी बूढी भन्छन्। लगभग असी/पचासी वर्षकी लाग्ने मगर्नी आमाको शरीर कुपि्रसकेको छ, कपाल सेतै फुलिसकेको छ। सबै दाँत झरिसकेका छन्।
लमजुङ ठूलो बेंसीतिर घर बताउने यी वृद्धा उनका कोही आफन्त भएको बताउँछिन्। उनको जिम्मेवारी लिन नचाहने तिनै आफन्तले एउटा अँध्यारो रातमा उनलाई देवघाटमा असहाय छाडेर कुलेलम ठोकेका थिए। उनी टुटेफुटेको शब्दमा आफ्नो बारे यस्तो जानकारी दिन्छिन्, 'बूढा सर्प खाने देशतिर हिँडे। छोरी बहुलाई। आफन्त छन्। तिमीलाई यहीँ राम्रो हुन्छ भने र रातमा मलाई हात समातेर यहाँ ल्याएर छोडिदिए।' देवघाटमा किराना पसल थापेर बस्ने एक साहुनी थप कुरा बताउँछिन्, 'यहाँ यिनको हुनसम्मको दुर्दशा भयो। यता-उता रुँदै हिँड्थिन्, यस्ती बूढी मान्छेलाई पनि हरे !' बदमासहरूले कुटपिट गरेर उनीसित अलिअलि भएको पैसा र कानमा लगाएको सुनको ढुंग्री लुटेर लगिदिए।'
प्रकृतिले लोभलाग्दो बनाएको देवघाट आत्मसाधना, शान्ति र अवकाश जीवन बिताउनेहरूका लागि आकषिर्त थलोमात्र नभएर वृद्ध-वृद्धाका जिम्मेवारीबाट छुटकारा पाउने मौका खोज्ने कृतघ्न छोराछोरी र आफन्तका लागि छनौटमा पर्ने स्थल बन्न थालेको छ। परिवारबाट त्यागिएका, हेला गरिएका बूढाबूढीहरू देवघाटमा यत्रतत्र भेटिन्छन्। असहाय एवं परित्यक्त यस्ता बूढाबूढीका लाग्ाि भनेर देवघाटमा सरकारी र गैरसरकारी स्तरमा वृद्धाश्रम खोलिएका छन्। आश्रममा खाली बेड र कोठा छन्। तर यहाँ सितिमिती हरकोहीलाई त्यसै भर्ना गरिँदैन। यहाँ भर्ना हुन सिफारिस, पैसा र भनसुनहरू चाहिन्छ। 'मलाई राखिदिनुस् भनेर वृद्धाश्रम धाएको कति वर्ष भइसक्यो, खै कसैले सुनिदिएको होइन। हामीजस्ता असहायहरूको कुरा कसले सुन्छ र ?' गहिरो लाचारी र पीडामा यस्ता गुनासो गर्ने बूढाबूढीहरूको संख्या देवघाटमा बढिरहेको छ। यस्तो गुनासोको जवाफमा देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रमका महिला खरदार यस्तो विवशता पोख्छिन्, 'के गर्ने, बजेट छैन। यहाँ भएकाहरूलाई पाल्न धौधौ भइसक्यो। नयाँ आउनेहरूलाई के गरेर पाल्नु ?' उनले दिएको जानकारीअनुसार यो वर्ष बजेट काटियो र कर्मचारीले तलब नपाएको महिनौं भइसक्यो रे।
परिवारमा उनीहरूका लागि सम्मानित ठाउँ छैन, देश र समाजले उनीहरूको पर्याप्त व्यवस्था गरिदिएको छैन। नयाँ नेपालमा पुराना भएर फालिएका बिर्सिएका र अपहेलित धेरै बुढेसकालहरू देवघाटहरूमा दयनीय जीवन बिताइरहेका छन्। देवघाटको रात र सन्नाटाहरू अरू गहिरिँदै छन्। मगर्नी बूढी आमाजस्तै परिवारबाट फेरि कुनै असहाय परित्यक्त वृद्धवद्धा सदाको लागि पाहुना लाग्न देवघाटमा आइपुग्ने हुन् कि ?श्रोतः कान्तिपूर

















