HongKongNepali.com, The Next Media

Sunday
Feb 05th
Home विशेष लेख धरान अब धरान जस्तो रहेन

धरान अब धरान जस्तो रहेन

E-mail Print PDF
AddThis Social Bookmark Button

निलिफा सुब्बा / धरान

बेलायती उच्च अदालतले भूपू ब्रिटिस गोर्खा सैनिकहरुलाई परिवारसहित बेलायतमा बस्न मिल्ने फैसला सुनाएपछि उनीहरु धमाधम आफ्नो थातथलोको माया मारेर बेलायत छिर्दैछन्। धरान जस्तो लाहुरे बस्तीमा यसको नकारात्मक असर देखिन थालिसकेको छ। त्यहाँ नूनदेखि सुनसम्मको व्यापार खस्कने क्रममा छ। धरान बजारमा लाहुरे–लाहुरेनीको भीड अचेल देखिन्न। भेटिएकामध्ये पनि धेरैलाई बेलायत पुग्न हतार छ। करिब १० हजार भूपू गोर्खामध्ये आधाजति बेलायत गइसकेका र अरू पनि जानेक्रममा छन्। उनीहरूको बेलायत बसाइले नेपाल भित्रिरहेको मासिक ६५ करोडबराबरको रेमिट्यान्स उतै रहन सक्ने सम्भावना छ। जनजाति आन्दोलनको ठूलो भार लाहुरेहरूले नै धानेका छन्। लाहुरे समुदायको बहिर्गमनले जनजाति आन्दोलन पनि प्रभावित हुनेछ।

शशी थापा सुब्बा प्रख्यात समाजसेवी हुन्। धरानमा धेरै सामाजिक काम गरेकी शशी भर्खरै बसाइँ सरेर बेलायत गएकी छिन्। शायद अब उनी धरानमा समाजसेवामा देखिने छैनन्। लाहुरे परिवारकी शशी भन्छिन्, ‘छोरीहरूको पढाइ राम्रो हुने अनि अधिकारको लडाइँ जितेर पाएको सेवा–सुविधाको उपयोग गर्न किन नजाने भनेर जान लागेका।’

रामकुमारी लिम्बूका लोग्ने बेलायतमै बस्छन्। अब परिवारले नै आवासीय भिसा पाउने भएपछि उनी छोराछोरी लिएर केही दिनमै बेलायत उड्दै छिन्। रामकुमारी भन्छिन्, ‘छोराछोरीको पढाइ र भविष्यका लागि पनि जानैपर्ने भयो।’ भूपू ब्रिटिस गोर्खाकै श्रीमती मनमाया भने बेलायतमा बसेर काम गर्ने र धेरै पैसा कमाउने आशमा छिन्। बेलायतमा जिन्दगी बिताउने योजना बुन्दै उनले धरानको घर र जग्गा पनि आफन्तलाई दिइसकिन्।

लाहुरेको सहरका रूपमा पनि चिनिन्छ, धरान। ब्रिटिस गोर्खा सैनिकमा सेवा गरेर सेवानिवृत्त धेरै लाहुरेको बसोबास भएकैले धरान बजारमा लाहुरे–लाहुरेनीको भीड देखिन्थ्यो। तर, अचेल त्यो अवस्था छैन। भेटिएकामध्ये पनि धेरैलाई बेलायत पुग्न हतार छ। यसरी बेलायती उच्च अदालतको फैसलापछि धरानको लाहुरेबस्ती रित्तिन थालेको छ।

०६५ असोज १४ गते बेलायती उच्च अदालतले भूतपूर्व ब्रिटिस गोर्खा सैनिक र तिनका आश्रित परिवारलाई आवासीय भिसा दिने निर्णय गरेको थियो। बेलायती सैनिकसरह पेन्सन सुविधाको माग गर्दै वर्षौंदेखि कानुनी लडाइँ लड्दै आएका भूपू गोर्खाहरूका लागि अदालतको त्यो फैसला ठूलै जित हो। यसले नेपालका करिब ४४ हजार भूपू गोर्खा र तिनका परिवारलाई बेलायत गएर बस्ने अवसर मिल्ने भयो। धैरै नेपालीको सपना हुनेगर्छ युरोप पुग्नु। लाहुरे परिवारले त त्यहाँ नागरिक नै हुन पाउने भए। उनीहरूका लागि यो ठूलै अवसर र खुसीको विषय भएको छ। तर, यसले नेपालको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा धेरथोर हलचल ल्याएको छ।

यसो हुनुमा खास कारण छन्। पहिलो, नेपालको सम्पन्न, समृद्ध समुदाय बेलायत भासिने भयो, सँगसँगै दक्ष जनशक्ति पनि। दोस्रो लाहुरे परिवार धमाधम बेलायतको नागरिक बन्न थालेपछि यो समुदायसँग निर्भर आर्थिक, सामाजिक, व्यावसायिक, शैक्षिक क्षेत्रसमेत प्रभावित हुने अवस्था देखिन थालेको छ। उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्ष अशोक ताम्राकार भन्छन्, ‘लाहुरेहरू बेलायत पस्न थालेपछि धरानको नुनदेखि सुनसम्मको व्यापारमा गिरावट आएको छ।’

लाहुरे परिवार बहिर्गमनको असर धरानमा देखिन थालिसक्यो। सुनचाँदी व्यापार गर्दै आएका मोहनकाजी श्रेष्ठ भन्छन्, ‘धरानका लाहुरेहरूको बेलायत बसाइले खाद्य, लताकपडा, जग्गाजमिन, भौतिक निर्माणजस्ता क्षेत्रको व्यापारमा नकारात्मक असर पर्न थालिसक्यो।’ श्रेष्ठका भनाइमा, यहाँको सकसपूर्ण वातावरणले पनि लाहुरेको बहिर्गमनलाई सघाएको हुनसक्छ।

लाहुरे भन्नासाथ नेपालमा हुनेखाने वर्ग मानिन्छ। त्यसैले पनि व्यापारीहरूका लागि उनीहरूको उपस्थितिको महत्व बुझ्न सकिन्छ। राम्रो कमाइ गर्ने मात्रै होइन, राम्रै खर्च पनि गर्ने भएकाले लाहुरेले धरान छाडेपछि त्यहाँको व्यापार–व्यवसाय प्रभावित हुनु अस्वाभाविक होइन। श्रेष्ठ भन्छन्, ‘धरानमा पैसा खर्च गर्न सक्ने उपभोक्ता भनेका लाहुरेहरू नै हुन्, उनीहरू नै नरहेपछि धरान के को धरान हुनु नि?’

धरानमा लाहुरे समुदायलाई नै लक्षित गरेर खोलिएका थुप्रै व्यावसायिक केन्द्रहरू छन्। निर्माण सामग्री बेच्ने हार्डवेयर पसल, डिपार्टमेन्टल स्टोर, सुनचाँदी र गरगहना पसल, पोसाक बिक्री केन्द्र, होटल, रेस्टुरेन्ट, निजी बैंक, प्लस टु, आवासीय बोर्डिङ स्कुल, बुटिक, ब्युटिपार्लर, फेसन डिजाइन कलेज यसमा पर्छन्। लाहुरे समुदायले गर्ने खर्चकै कारण यी व्यवसाय फस्टाएका थिए। अब यी व्यवसायमा पर्ने नकारात्मक असरबारे अहिल्यै अनुमान गर्न सकिन्न।

भूपू गोर्खा सैनिकहरू देशभरि छरिएका छन्। धरानमा सबैभन्दा लाहुरेको बसोबास छ। भूपू गोर्खा सैनिक सङ्घ (गेसो) का सुनसरी अध्यक्ष गजेन्द्र इस्वो राज्यले गर्ने धेरै काम धरानका भूपू गोर्खाहरूले गर्दै आइरहेको दाबी गर्छन्। इस्वो भन्छन्, ‘बाटो, पार्क, ढल निर्माण मात्रै होइन, वनजङ्गल संरक्षणसम्मका काम लाहुरेहरूले गर्दै आएका छन्।’ उनीहरूको बहिर्गमनबाट यहाँको औद्योगिक, सामाजिक र अन्य क्षेत्रको विकासमा ठूलै असर पर्ने ठम्याइ उनको छ। भन्छन्, ‘तर, छोराछोरीको शिक्षा र रोजगारपछि उनीहरू फेरि आफ्नै देश फर्कून् भनेर राज्यले पनि केही पहल गर्नैपर्छ।’

यो बहिर्गमनले सबैभन्दा ठूलो असर नेपाली अर्थतन्त्रको मेरुदण्ड भनिने रेमिट्यान्समा पर्नसक्छ। किनभने, रेमिट्यान्सको एउटा प्रमुख हिस्सा तिनै लाहुरेको कमाइ हो। राजधानीपछि रेमिट्यान्सको गतिविधि बढी हुने सहर धरान हो। द्वन्द्वकालमा पनि धरानको कारोबारमा ठूलो गिरावट नआउनु रेमिट्यान्सकै भूमिका थियो। तर, पछिल्ला दिनमा धरान भित्रिने रेमिट्यान्समा ५० प्रतिशतले कमी आएको अनुमान गरिएको छ। करिब १० हजार भूपू गोर्खामध्ये आधाजति बेलायत गइसकेका र अरू पनि जानेक्रममा छन्। उनीहरूको बेलायत बसाइले नेपाल भित्रिरहेको मासिक ६५ करोडबराबरको रेमिट्यान्स उतै रहन सक्ने सम्भावना छ। गेसोका इस्वो भन्छन्, ‘भूपू गोर्खाका लागि सरकारले दोहोरो नागरिकताको व्यवस्था गरेर भए पनि रेमिट्यान्स रोकिने अवस्था आउनचाहिँ दिनुहुँदैन।’

पछिल्लो पुस्ताका लागि पढाइ अघि बढाउने, आत्मनिर्भर बन्ने र रोजगारीको बाटो पनि खुल्ने भएकाले उनीहरूका लागि यो अवसर पनि हो। तर, बेलायत बसाइले नकारात्मक प्रभाव पनि पार्नसक्छ। ‘युरोपेली वातावरणमा हुर्कने स–साना बालबालिकाले आफ्नो देशको रीतिरिवाज, संस्कृति, धार्मिक र जातीय परम्परा भुल्ने र उनीहरूमा पश्चिमा संस्कृति मात्रै हावी हुने अवस्था आउँछ। यसलाई कुनै मानेमा राम्रो मान्न सकिन्न,’ इस्वो भन्छन्, ‘बेलायत जानुअघि धेरैले यो विषयमा सोच्न जरुरी छ।’

अहिले देशमा जातीय आधारमा अधिकार खोज्ने क्रम पनि तीव्र बनेको छ। जनजाति आन्दोलनको ठूलो भार लाहुरेहरूले नै धानेका छन्। लाहुरे समुदायको बहिर्गमनले जनजाति आन्दोलन पनि प्रभावित हुनेछ। प्राध्यापक राजेन्द्र शर्मा थप्छन्, ‘कारण जेसुकै भए पनि लाहुरेको बहिर्गमनले यहाँको आर्थिक वातावरणमा ठूलै असर पार्नेछ।’

स्रोतः सञ्चारिका समूह

 
Comments (7)
Ghar bechera Jaanu Galaat ho.
1 Wednesday, 14 January 2009 10:31
Limbu
Uk ma jagga kinera mare pachhi afno santatiharule purkhako sampatti paunchha ki paudaina sabdhan.
UK ma phully basain naramro ho
2 Wednesday, 14 January 2009 10:35
ckt
Uk janu sabai chij nalanu future is dark. If you work in foreign and work in motherland you have more income.
gesole baru abasiya visako sathai pensanko lagi
3 Saturday, 01 August 2009 11:53
hema
lekhako lagi dhanyabad nilefa ji, mero bicharma ek parkar gesole ramrai garna khojeko ho tara hami lahureko sathai hami nepali pani ho tesaile sab bhanda pahile hamro nepalk dhesko barema bichar puraunu bhaneko hamro kartabya ho, Ho bikasit dehsma basna pauda kaslai jan man lagdaina ra tarapayo bhandaima sabai bechera jana thik haina hamro dheslai dhachya sakthiko awasek cha. Sabai lai bichar purayera gesele pensan birdiko lagi awaj uthai mudhha jeko bhaye khusi hunthe holasamasta lahure pariwar. Visako matlab lahureharule bujheko chaina jasto lagcha.Uk jana naskneharuko lagi ta unfair bhayena ra ???????? Yo uttarko partichyama chu ek lahureko chori, Hema.
GESELE
4 Saturday, 01 August 2009 12:04
HEMA
Hello nilifa ji, Samagrahma bhanu parda gesole ladeko ladaima jit pani cha ra har pani, Yedi uharu nepali ho bhane bujhi halnu hunecha bhanne asa cha.
Bikriti vayar
5 Thursday, 22 April 2010 17:13
Gokul
dharan alile pahilako jasto chhain kinaki ahile tiya dherai bikriti chha
let's work 4 it...
6 Monday, 07 November 2011 20:02
Eliza subba
Dharan pahile ko jasto narhae pani hami pheri naya Dharan ta banausak6au ni, haina ta???????????
naya suruwat
7 Saturday, 14 January 2012 03:30
hari subba
jo gaye pani , jati jana gaye pani , samaya gatisil chha, dharan le aafule aafulai banaune chha , aatma nirbhar Dharan,

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)