ईन्द्र एलजी थापामगर, रत्नेचौर, म्याग्दी
भूमिका :
“मेरो परिवारको सदस्यहरुले चुरोट पिउने हुदाँ मैले पनि १२ वर्षको उमेर देखि चुरोट पिउन थाले र १४ वर्षको उमेर देखि खोकिको औषधिको सेवन शुरुका दिनहरुमा १ बोतल र पछि २/३ बोतल पिउन थाले। यसले पनि काम गर्न छाडे पछि औषधिको तृष्णा मेटाउन केटामाईन र हिरोइनको सेवन गर्न थाले। ….मेरो अनुभवमा लागू औषधि सेवन गरेपछि शुरुको २ वर्ष यसलाई नकार्न धेरै नै गाह्रो हुन्छ तर जब जीवन बर्बाद भएको महशुस हुन्छ तब मात्र यसबाट उम्कन सकिन्छ“ यो भनाइ न्यू ऐरा नामक संस्थासँग समबद्व एक पूर्व अनुभवी नेपाली युवाको हो।
सामान्यत चिकित्सकको आज्ञा वा सल्लाह नमानी निर्धारित वा सिफारिस गरेको भन्दा फरक हिसावले वा जथाभाविरुपमा खतरनाक औषधिहरु उद्देश्यबिना सेवन वा प्रयोग गर्नेलाई लागू औषधिको दूरुपयोग भन्निछ। युवा अवस्थमा सामान्यत अभिभावक भन्दा बढी समय आफ्ना समकक्ष साथीहरुसँग रहन्छन्। त्यस वेलामा उनीहरुले आफ्नो भूमिका र पहिचान मात्र होइन आफ्नो जिम्मेवारहरु प्रति पनि अन्यौल र अनिश्चत हुन्छन। त्यस समयमा यदि अभिभाकहरुले सहि मार्गनिर्देशन र उपयुक्त वातावरण बनाइदिएन भने, साथी भाइहरुका कुराहरु ठिक बेठिक भन्दा पनि उनीहरुसँग मिल्नको लागि भनेका कुराहरु मान्य गर्दछन् र दुर्व्यसनी साथीहरु परे भने कुलतमा फस्न सक्छन्। यो एउटा प्रमुख कारण पनि हो। हामीलाई थाहा छ, लागू पदार्थको सेवन पछि यसबाट छुट्टाउन ग्राह्रो मात्र होईन जीवन समेत बर्बाद हुन्छ। जसले गर्दा घर परिवार, ईष्टमित्र, छरछिमेकी आदिसँग समेत सम्बन्ध बिग्रन्छ। त्यसकारण यदि कसैले यो चक्की सेवन गरेमा अध्ययन गर्दा एकाग्रता हुन्छ वा अन्य तपशीलका फाइदाहरु हुन्छ भनेर अनुरोध गरेमा ‘म कहिल्यै पनि सेवन गर्दिन वा लागू औषधि मेरो लागि होईन’ भन्न सक्नु पर्छ र तिनीहरुको संगत देखि टाढा रहनु पर्दछ।हङकङका विधार्थीहरुको अवस्था :
अन्य देशको तुलनामा हङकङमा लागू पदर्थ दूर्व्यसनको समस्य त्यति गम्भीर छैन। त्यैपनि ब्यरोजगारी, पढ्न नसक्ने, झेल्न परेका समस्यहरु वा नैराश्यताहरु देखि भाग्न आदिको लागि सेवन गर्ने गर्दछन्। दुर्व्यसनीहरुले मनोरञ्जन गर्ने स्थानहरुमा मात्र होईन स्कूल, कलेज देखि घरभित्र समेत सेवन गर्न थालेका छन्। यो साह्रनै सोचनीय विषय हो।सर्वेक्षण अनुसार हङकङमा विधार्थीहरुले लागू पदार्थ प्रयोग गर्नेको संख्या सन १९९० देखि उल्लेखेनियरुपमा बढेको पाईएको छ। सन १९९२ मा हिरोइन प्रयोग गर्ने विधार्थी ०.३% बाट बढेर सन १९९६ मा २.१% पुगेको तथ्याङ्कले देखाउछ । सन २००४ मा विधार्थीहरुसँग गरेको एक सर्वेक्षणले लागू पदार्थ औषधि उत्सकताको कारणले सबै भन्दा बढी ३४.९% र त्यस पछि १५.४% समकक्ष समूहको दबाबमा प्रयोग गरेको देखाउछ। प्राइमेरी र सेकेण्डरी गरी झण्डै ९ लाख विधार्थीहरुमा लागू पदार्थ प्रयोग गर्ने मध्ये ५०% यस समूहबाट भएको तथ्याङ्कले देखाउछ। साथै हङकङमा ९९% दूर्व्यसनीहरु २१ वर्षका भन्दा कम उमेरका छन्। यो उमेर भनेको विधालय वा कलेज पढ्ने भएकोले पनि ज्यादै गम्भिर र सोचनीय अवस्था छ। यसले विधालय नै दुर्व्यसन शुरुवाट गर्ने पहिलो माध्यम भएकोले सम्बन्धित निकायहरु ज्यादै संवेदनशील हुनुपर्ने देखिन्छ।
हङकङमा लागू पदार्थ दुर्व्यसन सम्बन्धित सर्वेक्षण :
(१) हङकङमा हिरोइन सेवन गर्ने नेपालीहरुको तथ्याङ्क :
| वर्ष | दुर्व्यसनीको संख्या | प्रतिशत |
| २००५ | १६१ | १.७ |
| २००६ | १४७ | १.८ |
| २००७ | १६५ | २.२ |
| (पहिलो-तेस्रो चौमासिक) २००७ | १३२ | २.१ |
| (पहिलो-तेस्रो चौमासिक) २००८ | १३७ | २.३ |
(२) हङकङका मुख्य जातिहरुमा दुर्व्यसनीहरुको तथ्याङ्क :
| जातिहरु | दुर्व्यसनीको संख्या | प्रतिशत |
| चाईनीज | १०,८३६ | ९४.८ |
| भियाटनामिज | २५७ | २.२ |
| नेपाली | १५८ | १.४ |
| भारती पाकिस्तानी बङगलादेशी र श्रीलंकन | ५५ | ०.५ |
| फिलिपिनो | १४ | ०.१ |
| ब्रिटिस | १० | ०.१ |
| अन्य | १०३ | ०.९ |
पहिलो तथ्याङ्कले हङकङमा बस्ने नेपाली दुर्व्यसनीहरु यो ४ वर्षमा १.७% बाट बढेर २.३% पुगेको छ जबकि त्यही अवधिमा चाईनीज दुर्व्यसनीहरु ९४.२% बाट घटेर ९२.१% मा झरेको छ भने भारती, पाकिस्तानी, बङ्गलादभशी र श्रीलंकन दुर्व्यसनी ०.४% बाट ०.५% नगन्य मात्र बढेको छ। यसै गरी दोस्रो तथ्याङ्कले हङकङमा नेपाली दुर्व्यसनीहरु तेस्रो स्थानमा रहेको छ जबकि हङकङको जनसंख्यामा चाईनीज ९५.०% (पहिलो), फिलिपिनो १.६% (दोस्रो), इन्डोनेसियन १.३% (तेस्रो), सेता जातिहरु ०.५% (चौथो), भारती ०.३% (पाँचौ) र नेपाली ०.२% (छैठो स्थान) छ। नेपाली समुदायहरुको लागि यो एउटा वास्तवमा गम्भिर चुनौती हो।
हङकङमा बस्ने अल्पसंख्यक जातीय युवाहरुले सेवन गर्ने लागू पदार्थहरु यस प्रकारका छन :
(१) चुरोट (२) रक्सी (३) खोकिको औषधि (पी, डाएल) (४) हिराईन (५) केटामिन (के, किट क्याट, पेशल के आदि) (६) कोकेन (सी, कोक, स्नो, स्टारडस्ट आदि) (७) मेथाइल्याम्फेटामाइन (आइस) (८) एम डी एम (एडम, एक्स टि सि) (९) त्रियाजोलम (ब्लु, जेभलिन, लाम चिङ्ग ले) र (१०) सोल्भेन्ट (ग्लु)।
लागू पदार्थका दुरुपयोगका कारणहरु के के हुन त?
(१) साथी भाइहरु वा समकक्ष समूहको दबाव
(२) सामाजिक समर्थन खोज्न
(३) उत्सुकता वा अनुभव गर्न
(४) रमाईलोको लागि र आनन्द वा सन्तोष लिन
(५) बोझ वा जटिल परिस्थितिबाट भाग्न
(६) अभिभावकहरुले सही मार्गनिर्देशन नगराउनु
(७) कहिले काही मात्र सेवनले लत वा बानी बसाल्न नसक्ने भ्रम
(८)पढाई या कामको दबावमा परेर ।
दुर्व्यसनका लक्षणहरु के के हुन त ?
(१) कोठमा एक्ले बस्ने
(२) एकोहरो टोलाई रहने र काम दोह्राई रहने
(३) खानाको रुचि नगर्ने र दिसामा कब्जियत हुनु
(४) बढेको वा सुकेको आँखाको नानी लुकाउन कालो चस्मा लगाउने
(५) मुड परिवर्तन भईरहने तथा असामान्य रुपमा झोकिने
(६) विधालयमा नियमितरुपमा उपस्थित नहुने र पढाईमा राम्रो गर्न नसक्ने
(७) सानातिना सामानहरुको चोरी गर्ने र अबेर सम्म घर बाहिर रहने
(८) सधै पाकेट खर्च मागिरहने
(९) शंकाजनक तरिकाले काम गर्ने
(१०) सामान्य व्यवहारुमा फरकपना देखिनु ।
लागू पदार्थका दुर्व्यसनीहरुले तल उल्लेखित उपायहरु अबलम्बन गरेमा स्वास्थ रहन र हानी कम हुन मद्दत गर्दछ :
(१) राती समय मै राम्रोसँग सत्ने
(२) सधै कण्डम प्रयोग गर्ने
(३) औषधिहरुको मिसावट कम गर्ने
(४) नियमितरुपमा सन्तुलित खाना खाने
(५) चिन्ता, उत्सुककत, आवेगलाई जतिसकिन्छ कम गर्ने
(६) सधै सुरक्षित तरिकाले सेवन वा प्रयोग गर्ने
(७) औषधि प्रयोग गरेको समयमा कहिल्यै गाडी नहाक्ने
(८) कम्तिमा एक हप्ता वा केही हप्ताको अन्तरालमा लिएमा कम मात्रमा औषधि चाँहिन्छ ।
अभिभावकहरुले ध्यान दिनुपर्ने कुराहरु :
(१) सबै भन्दा महत्वपूर्ण भनेको आफ्ना बच्चाहरु बीच सधै राम्रो सम्बन्धन राख्ने
(२) सामान्यता बच्चाहरु बढ्दै जादाँ बाबा आमा भन्दा साथी भाईहरुसँग बढी हेलमेल गर्ने हुदाँ समय मिलाएरसँगै बस्ने, कुराकानी गर्ने, गल्तीहरुलाई सुधार्नको लागि प्रोत्साहन गर्ने जस्ता वातावरण बनाउने
(३) बच्चाहरुको मनोभावनाहरु बुझेर उपयुक्त अपेक्षा राख्ने
(४) बच्चाहरुलाई समय समयमा लागू पदार्थ औषधि तथा अन्य दूर्व्यसनीबारे संचेत गराउने
(५) बच्चाहरुको दैनिक क्रियाकलापको साथै उनीहरुको साथी भाईहरुको बारेमा दिनमा केहि समय खर्च गर्ने
(६) बच्चाहरुलाई स्वतन्त्ररुपमा निर्णय गर्न प्रोत्साहन गर्ने जस्ले गर्दा उनीहरुमा आत्मा विश्वास बढ्छ र जीवनमा सधै सकारात्मक धारणा राख्दछन्
(७) बच्चाहरुले लागू पदार्थ सेवन गरेको थाहा भएमा आवेगमा नआई शान्त रहेर उनीहरुको समस्यहरु बुझ्ने र सहानुभतिपूर्वक समाधान तर्फ बढ्ने र उनीहरुलाई अभिभावकत्व र मायाँ गर्नबाट बञ्चित नगराउने साथै आवश्यक परेमा सम्वन्धित व्यक्तिहरु वा निकायहरुबाट सहयोग र सुझाबहरु लिएर काम गर्ने।
नेपाली संघ संस्थाहरुले के गर्नु पर्दछु ?
हङकङमा झण्डै ६/७ दर्जन जति नेपाली संघ संस्थाहरु छन होला। ती मध्ये लागू पदार्थ दुर्व्यसन विरुद्व काम गर्ने सस्थाहरु सायद होलान। किन नेपाली संघ संस्थाहरु यस प्रति संवेदनशील नभएका हुन्। हाम्रा बच्चाहर युवाहरु यसरी दिन प्रति दिन दुर्व्यसनमा फसीरहेको देखिरहेका छौ। जुन कुराको प्रमाण सर्वेक्षणले दखाएको छ। जोर्डनका सडकहरु, पार्कहरु, सेभन एलावन र साइबर क्याफेहरु वा शहरका अध्यारा गल्लीहरुमा देखिने हाम्रा यी भावी पुस्ताहरुबाट हामीले कस्तो समाजको परिकल्पना गरीरहेका छौ। समाज बनाउछौ भनेर खोलीएका यी बर्गेल्ती संस्थाहरुले यसको लागि आ आफ्नो ठाउँबाट गम्भिर भएर लागी पर्ने वेला भैसकेको छ। हङकङको नेपाली समाज एउटा सानो नेपाल हो। यहाँ पूर्व- पश्चम, उत्तर- दक्षिण सबै क्षेत्रहरुका, सबै जातिहरु, सबै धर्म मान्नेहरु, सबै भाषाहरु बोल्ने विभितामय यो समाजमा कुनै एक/दुई व्यक्ति वा संस्थाहरु गर्न खोज्नु सम्भव छैन। त्यसैले हरेक संस्थाहरुले अनिवार्यरुपमा यस सम्बन्धि एउटा समिति गठन गर्ने र सम्बन्धित समुदायहरुका बच्चाहरु तथा युवाहरुलाई यस बारेमा सूचित गर्ने र लागू पदार्थ दुर्व्यसन भएको शंका वा थाहा लागेमा जिम्मेबारीका साथ आफ्नो तर्फबाट र सम्बन्धित संस्थाहरुबाट सहयोग तथा सुझाव लीने। केहि संस्थाहरु वा निकायहरु यसै लेखमा उलेख गरिएको छ। लागू पदार्थ विरुद्वका कार्यक्रमहरु संघ/संस्थाहरुले ब्यापकरुपमा आफ्नो नियमित वार्षिक कार्यक्रम मै समावेश गरेर कार्यन्वयन गर्नु पर्दछ। मैले मगर संघ, हङकङ र मोना, हङकङका मुख पत्रमा प्रकाशित मेरो लेखहरुमा यस बारे उल्लेख गरेको थिएँ। हामीले यसबारे प्रचार प्रसार नेपाली समुदायमा संस्थागतरुपमा गरेको खण्डमा निश्चयनै सफल प्राप्त गर्न सक्नेछौ। नेपाली पसलहरु र साइबर क्याफेहरुमा पम्पेलटहरु तासेर, कार्यक्रममा प्रयोग गर्ने ब्यानहरुमा लेखेर र आफ्ना बच्चाहरुलाई काममा ब्यस्तहुदाँ मोबाइल फोन मार्फत बेलबेलामा सूचित गराउने जस्ता कार्यहरु पनि निरन्तर गर्दैजानु पर्दछ। यसो गर्न सकेमा केहि वर्ष पछि नेपाली युवाहरु दुर्व्यसन देखि टाढा मात्र होइन उनीहरुले हङकङेली नेपाली समाजलाई आफ्नो क्षेत्रबाट ठूलो योगदान दिने छन् भन्ने कुरामा सायद विमति नहोला कि ?
हङकङ सरकारले यस सम्बन्धमा के गरिरहेको छ ?
अक्टोबर, २००७ मा कार्यकारी प्रमुख डोनाल्ड चाङले प्रस्तुत सरकारको निति तथा कार्यक्रममा लागू पदार्थ दुरुपयोग विरुद्व FCC ( Fight Crime Committee ) का उपसभापतिको नेतृत्वमा एक उच्च स्तरीय कार्यदलको गठन गर्नाले पनि यो विषयमा सरकार अहिले कति गम्भिर छ भन्ने पुस्ट्याउछ । त्यसै कारण सरकारले विभिन्न निकायहरु जस्तै FCC (Fight Crime Committee), ACAN(Action Committee Against Narcotics), DFCC(District Fight Crime Committee), RAG (Research Advisory Group), DLC(Drug Liaison Committee) र यससँग सम्बन्धित NGOs (Non-Governmental Organizations’) सँग कोअर्दिनेसन गरेर यस विरुद्व गम्भिर भएर लागी परेको छ। साथै यसको विरुद्व सन्देश प्रचार प्रसार, विभिन्न कार्यहरु आदी गर्दै आईरहेको छ तथापि यसलाई अझ विशेष गरेर नागरिक समाज, अभिभावकहरु, शिक्षक तथा शिक्षिकाहरु, विधार्थीहरु, संघ/संस्था तथा समाज सेवीहरु, रोजगार दाताहरु आदीको ज्यादै ठूलो भूमिका हुन्छ भन्ने कुरा चाहिँ बिर्सनुहुदैन।
हङकङको कानुनमा लागू पदार्थ सम्बन्धमा कस्तो सजाय छ ?
हङकङमा लागू पदार्थको कारोवार गर्न कानुनले प्रतिवन्ध गरेको छ । यसो भएको हुदाँ लुकी छुपी गर्दा निश्चय नै सहजरुपमा नपाइने र महगो हुन्छ जसले गर्दा दुर्व्यसनीहरुलाई केहिहद सम्म निरुत्साही पारेको छ तथापि हङकङको कानुनले देहायबमोजिम सजाय र जरीमानाको ब्यवस्था गरेको छ।
(१) हङकङको कानुनले यदि कुनै व्यक्तिले लागू पदार्थलाई गैरकानुनी तरीकाले राखेको छ वा धुवाँ तानेको छ सासबाट लिएको वा खाएको या सूई प्रयोग गरेको पाईएमा त्यस ब्यक्तिलाई दोषी ठहरिएमा खतरनाक लागू पदार्थ अध्यादेश परिच्छेद १३४ (८) अनुसार हङकङ डलर १० लाख जरिमाना र उक्त अध्यादेशको परिच्छे १३४ (८)(५४)(a) अनुसार ७ वर्षको कैदको सजाय पाउँछ।
(२) सोही अध्यादेशको परिच्छेद १३४ अनुसार लागू पदार्थको अवैध व्यापार या उत्पादन गर्ने जस्ता ठूला अपराधीहरुलाई हङकङ डलर ५० लाख जरिमाना र बढीमा जन्म कैदको सजाय पाउँनुको साथै अवैध व्यापारबाट कमाएको सम्पूर्ण कमाई पनि जफत हुन्छ।
(३) लागू पदार्थ सेवन स्थल खोलेमा वा संचालन गरेमा रासायनिक रोकथाम अध्यादेशको परिच्छेद १४५ अनुसार हङकङ डलर १० लाख जरिमाना र १५ वर्षको कैदको सजाय पाउँछ।
स्वयंसेवी आवासीय उपचार तथा पूनर्वास लगायत विविध सेवाहरुको लागि केहि उपयोगी लिंकहरु तल उल्लेख गरीएको छ :
(१) www.nd.gov.hk
(२) www.newbeing.org.hk (पुरुषको लागि मात्र )
(३) www.barnabas.com.hk ( महिलाको लागि मात्र )
(४) www.sarda.org.hk
(६) www.sracp.org.hk
(८) www.wuoi.org.hk
(९) www.kely.org
(१०) www.lingoi.org
(११) www.opdawn.org.hk (
(१३) www.hknewlife.com
(१४) www.remar.org
सन्दर्भ स्रोत :
(१) लागू पदार्थ दुर्व्यसनको समस्या बारे सुझबुझ / लागू-पदार्थ विभाग, सुरक्षा निकाय र लागू- पदार्थ विरुद्व कार्यसमिति।
(२) अल्पसंख्यक जातिहरु सँगै हिडौ, लागू पदार्थको विरोध गरौ / क्रीश्चयन एक्सन, हङकङ।
(३) Central Registry of Drug Abuse/Updated 18/12/2008
(४) Census and Statics Department/2006 Population by Census Office/Last Review Date Feb22, 2007


















