साभारः कान्तिपुर
बालकृष्ण बस्नेत
काठमाडौ, कार्तिक २७ - सानामा सँगै भेडी चराउने, मर्स्याङ्दी तीरमा पौडिने, गुच्चा खेल्ने साथीहरुमध्ये उनलाई सम्झने कमै छन् । कति पलायन भए । कतिको मृत्यु भयो । तीस वर्ष पहिले गाउँ छाडेका थोंचे मनाङ्गका देवी गुरुङ्ग कता छन् भन्ने धेरैलाई थाहा पनि थिएन । थोरैले चिनेका, धेरैले सुनेका मात्र । कौतहलका पात्र बनेका हिमालपारी मनाङ्गका पहिलो पिएचडी डाक्टर देवी यसपटक भने गाउँ फर्किए, स्कुल र अस्पताल बनाउने योजनासहित ।
थोरै जनसंख्या भएको मनाङ्गमा विदेशीनेहरुको भने लर्को छ । बेलायत, अमेरिका, क्यानडा, चीन, अष्ट्रेलिया जस्ता मुलुकमा अरुतिरका जस्तै मनाङ्गे पनि छरिएका छन् । स्वदेशभित्रै राजधानी र अन्य शहर पसेका पनि गाउँ कमै फर्किन्छन् । विदेश पलायनले अन्यत्र जस्तै मनाङ्गलाई पनि पिरोलेको छ । विदेश जानेको तुलनामा र्फकनेको अनुपात ज्यादै कम छ । देशव्यापी समस्याले करिब १० हजार मात्र जनसंख्या भएको मनाङ्गलाई पनि गाँजेको छ । पर्याप्त सम्भावना हुदाहुदै पनि अभाव र असुविधाको समस्या टरेको छैन । 'हिमालपारिको जिल्ला'को उपाधिसँगै अभाव र असुविधाले कहिले छोड्न सकेको छैन । जहाँ सदरमुकामसम्म मोटरबाटो पुग्न बाँकी नै छ । सामान्य खालको विरामी हुदा पनि कि त दुई दिन हिडेर लमजुङ्गको वेसिशहर वा हेलिकप्टरबाट पोखरा, काठमाडौं ल्याउनुपर्छ । प्रति व्यक्ति आय सबैभन्दा उच्च रहेको मनाङ्गमा यस्ता समस्याले भने कहिले छाडेको छैन ।
४९ वर्षिय डा.देवी गुरुङ्ग तिनै विदेशीने मध्ये एक हुन् जो ३० वर्षपछि पहिलोपल्ट जन्मभूमि फर्किए । उनी फर्किदाको खुशी जति छ, त्यो भन्दा बढी कथा-व्यथा छन् । संघर्ष र भोगाई छन् ।
बाल्यकालको टुहुरो जो थोंचेमा टिक्न नसकेर काठमाडौंमा माग्दै हिंडेको थियो । काठमाडौंका सहर-गल्लीमा भेटिने सडक बालकहरुको सूचीमा उ पनि थियो । राजधानीमा आफ्नो कोही नहुदा उसले कैयौं छाक भोकै बस्नुपर्र्यो । कैयौं रात चिसो गल्लीमै बितायो । गाउका कतिपयलाई उनी यो संसारमा भए, नभएकै पत्तो थिएन । कतिले हरायो भन्ठानेका थिए । कतिले गाउँलाई विर्सियो भनेका थिए । थोरैलाई मात्र उनको संघर्षको कथा थाहा थियो । उनी जिल्लाकै पहिलो 'पीएचडी होल्डर' हुन् । अमेरिकाको नोभा साउथ इस्टर्न विश्वविद्यालयबाट स्वास्थ्य विज्ञानमा उनले २००८ मा विद्यावारिधी गरेका हुन् । अन्य दुई विषयमा स्नातकोत्तर पनि गरे । भेरी गोठका ती साथी संगी जसले उ बेलाको देवीलाई एक गोठालाका रुपमा मात्र चिन्थे । एक टुहुरो संगीका रुपमा चिन्थे । समय उथलपुथल भएको छ । तिनै देवी अहिले डाक्टर देवी बनेर गाउँ फर्किएको छ , त्यो पनि अब गाउकै शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्ने लक्ष्यका साथ ।
'सपना हो कि विपना झैं भएको छ', बाल्यकालका सखी शंकर गुरुङ्ग हुन् जो देवीको कथा र सफलता देखेर गौरव गर्छन् । उनको स्वागतका लागि चामेदेखि एक दिन हिंडेर उनी थोंचे गाउँमा पुगेका थिए । डा.देवीले सुरुमा थोंचेमै १० शैयाको सामुदायिक अस्पताल निर्माण गर्ने काम सुरु गरिसकेका छन् । आसपासका सरकारी विद्यालयका शैक्षिक गुणस्तर बढाउनका लागि कोष बनाउने, अमेरिकाबाट स्वयंसेवी शिक्षक झिकाउने प्रवन्ध गरेको पनि उनले गाउँलेलाई सुनाए । अघिल्लो दिन मनाङ्गको प्रवेशद्वार ताल गाउँमा स्थानीय आमा समूह स्वागतका लागि पुगेका थिए । गाउमा उनी जन्मेको घर अझै छ । पुरानो, गुफाजस्तै । जहाँ उनका एक दाजु वीरध्वज र उनका परिवार बस्छन् । अर्को दाजुको भने निधन भइसकेको छ ।
डा.देवीसँग अमेरिकाबाटै डा.मेलिसा मार्सल, इन्जिनियर रान्डल सिर्फटसहितको टोली पनि थियो । पहिलो दिन धारापानी गाउँमा बास बसेपछि भोलिपल्ट उनी पढेकै प्रकाशज्योति विद्यालयमा उनलाई स्वागत कार्यक्रम राखिएको थियो । जहाँ शिक्षक, विद्यार्थी, गाउँवासीको ठूलो सहभागिता थियो ।
त्यहाँ विद्यार्थीहरुले 'स्वागत गछौं गाउँ फर्की आउनेलाई' भनी देवीकै नाममा गीत रची सुनाएका थिए ।
'मैले मेरा बाबु आमाको सेवा गर्न पाइन । तपाइहरु नै बाबु आमा हो । तपाईहरुकै सेवामा आएको छु', डा.देवीले रुँदै यस्ता अभिव्यक्ति दिएपछि स्वागत समारोह नै भावविहल बनेको शंकर सुनाउँछन् ।
.............................
उनको कामदेखि प्रभावित चारैतिरका मान्छे जम्मा हुदा थोंचेमा स्वागतर्थ भीड अचम्मैले बढेको थियो । अघिल्लो दिन नै मनाङ्ग र लमजुङ्गको सीमाना ताल गाउँमा आमा समूहको नेतृत्वमा भव्य स्वागत भएको थियो । थोंचेमात्र नभै आसपासका धारापानी, बगरछाप, दानाक्यू हुदै चामे सम्म पनि उनी र्फकने खबरले खुशियाली ल्याएको थियो । अन्नपूर्ण पदयात्रा सेरोफेरोमा पर्ने माथिल्लो मनाङ्गसम्मका मान्छेमा कौतहल भयो । विपन्नताको पराकाष्ठले गाउँ छोड्न बाध्य बनाई एक किसिमले पराई भइसकेको गाउँले घर र्फकदा सबै जुर्मुराएका थिए । 'हामी गाउँलेले देवीबाट सिक्नुपर्ने धेरै छ ', आफ्नो पुरानो विद्यार्थीको स्वागत गर्दै प्रकासज्योति उच्च माविका प्राचार्य देवीलाल श्रेष्ठले सुनाए ।
....................................
तीस वर्ष अघि एक छिमेकीको साथ लागेर उनी राजधानी छिरेका थिए । काठमाडौं पहिलोपल्ट पसेपछि उनी हराउन थाले । छिमेकीको साथ पनि टुट्यो । काम खोजे, केही पाएनन् । केही सिप नलागेपछि झोंछेको गल्लीमा हात थाप्दै माग्न सुरु गरे । कहिले त पेटभरी खान पुग्थ्यो । कहिले भोकै । 'मागेरै गुजारा चलाउथे । बास पाटीमा हुन्थ्यो', उनी ती दिन सम्झन्छन् । उनी जस्तै मागिखाने श्याम केसी नामको एक साथी थियो । जोसँग उनी मिल्थे । श्याम बाहेक उनको साथी पनि कोही भएन । एक दिन उ विरामीले नराम्ररी थलियो । के भयो भन्ने थाहा भएन । 'थाहा कसरी हुनु ? खानै पुग्दैनथ्यो । उपचार गर्नलाई पैसा थिएन', त्यतिबेलाको दुखद कथा सुनाउदै देवी भन्छन्-'उपचारै नपाएर मेरो साथी मर्र्यो । म हेरेको हेर्यै भएँ ।'
अपत्यारिलो कथा उनको वास्तविकता हो जुन सुनाउदा उनी घरीघरी आफै कोकिन्छन् । उनका आँखा रसाउछन् । बोली रोकिन्छ । तैपनी उनी आफ्नो व्यथा लुकाउदैनन् । 'मैले कैयौपल्ट चिया पसलमा पसेर अर्काको टेबुलको तात्तातो चिया घुट्क्याएर भागेको छु, खाजा खाएको छु । भोकभोकै बस्न नसकेपछि के गर्ने ?', उनी सम्झन्छन् ।
एक दिन साह्रै भोक लागेका बेला उनी बागबजारको सडक चहार्दै थिए । पद्मकन्या क्याम्पस अघिको एक घरमा पुगे । त्यहाँको साहुजीसामू हात थापे । निकै दिनदेखि आफू भोकभोकै रहेकाले काम खोजिदिन र केही खान दिन आग्रह गरे । साहुजीले घर छेवै लगेर दुई वटा ठूला काठका मुडा देखाएर चिर्नका लागि एक बञ्चरो पनि दिए । उनी खुशीले पुलकित भए । अब खान पाइएला भनेर दङ्ग परेका उनलाई अर्को दशा आइलाग्यो । 'मुडा फोर्न बञ्चरो मात्र के उचालेको थिए, बञ्चरो फुत्केर भित्तामा बजारियो । साहुले मलाई उल्टै कम्मरको पेटी नै पेटीले कुटेर खेद्यो', उनी भक्कानिन्छन् । भोको पेटमा कुटाईको पीडाले रुदै उनी ठमेलतिर फर्किए । केही दिनपछि उनले केसिज् रेष्टुरेन्टमा भाडा मोल्ने काम पाए । 'मेरो काम र इमान्दारी देखि पछि तिनै साहुले जुनियर वेटर बनाए', उनी भन्छन् ।
सडक बालक देवीको कथा त्यो दिनबाट मोडियो जुन दिन केसिज रेष्टुरेन्टमा एक अमेरिकी पाहुना भित्रिए । डा.जेम्स स्टेट्स सगरमाथा आरोहण गरी फर्किएका थिए । देवीले उनलाई खान पुर्याए । जेम्सले 'यति सानो उमेरमा यस्तो काम किन गरेको ?' भनी जिज्ञासा राखे । उनको आँखा रसाए । बरर्रर आँसु बगाई सबै सुनाए । 'मैले पढ्ने र आफ्नो गाउ र बालबालिकाको सेवामा लाग्ने इच्छा पनि राखें', आफूले त्यसो भनेपछि जेम्स प्रभावित भएको उनले सुनाए । त्यसपछि डा.जेम्सले उनलाई आफ्नो छोरो बनाई अमेरिका लगेका थिए । त्यहाँ गएपछि उनको दिन फिर्र्यो । त्यहींको वातावरणमा हुर्के । अहिले उनी डा.देवी गुरुङ्ग स्टेट्सका नाममा चिनिन्छन् ।
अमेरिकामा अध्ययनसँगै उनले रेष्टुरेन्ट व्यवसाय समेत थालेका थिए । सन् १९९४ मा उतै 'एभरेष्ट क्याफे एण्ड बार' मार्फत थालनी गरेपछि कतिपय मानिस आश्चर्यमा पनि परे । पढेको मानिसले रेष्टुरेण्टको काम थालेको भनेर सोधे । 'मैले कामलाई नै प्यारो ठानें । मैले सानैदेखि कामको महत्व बुझेको थिए । यो ठूलो सानो हुदैन भन्ने लागेरै मैले त्यसलाई निरन्तरता पनि दिए', डा.देवीले भने । उनको कामलाई श्रीमती र छोराले सघाउदै आएका छन् । उनको जीवन कथालाई लिएर हालै हिमालयन पिक्चर्सले वृत्तचित्र समेत बनाएको छ । त्यसको निर्देशन युवा पत्रकार प्रदीप पोखरेलले गरेका छन् । उनको बारे लघुचलचित्र पनि बन्दैछ ।
......................................
अब उनले पहिले जस्तो अभाव र दुःख झेल्नुपर्ने छैन । पहिले एक/दुई रुपैयाका लागि हात थाप्ने देवी आफ्नै व्यवसायबाट मनग्गे आम्दानी गर्छन् । अमेरिकामा व्यवसायबाट त्यहाँको सरकारलाई कर मात्र उनी मासिक १५ हजार डलरसम्म बुझाउँछन् । उनको अहिलेको अवस्था देखेर धेरैले उनलाई सोध्दा रहेछन्- काठमाडौंमा ठूलो घर किन्ने होला होइन ? देवीको उत्तर फरक हुने गर्छ-'होइन, पहिला मनाङ्गमा अस्पताल बनाउँछु । गाउमै जान्छु ।' आफ्नो अभियानलाई साथीभाईले पनि सघाएको र उत्साह थपेको उनी सुनाउँछन् । अब अमेरिकाको व्यवसाय श्रीमती र छोराले नै चलाउने भइसकेका छन् । त्यसले पनि यी तन्नेरी डाक्टरलाई नेपाल र्फकन सजिलो बनाएको छ ।
.......................................
घर छाडेदेखि उनी पहिलोपल्ट मनाङ्ग पुगेका हुन् । त्यसबीचमा उनले मनग्गे परिवर्तन पाए । बाटोघाटो, विजुली, धारा छन् । स्वास्थ्य र शिक्षामा भने त्यति सुविधा छैन । एउटा एक्सरे मेसिन समेत नभएको सुचना पाउदा उनी साह्रै खिन्न भए । त्यसले पनि उनलाई नेपालकै दूर्गम गाउँ-ठाउँमा काम गर्ने इच्छा जगायो । विदेश पसेपछि उतै भासिने देशव्यापी रोगले गाँजेका बेला गाउँमै रहेका मनाङ्गेलाई भने देवीको अभियानले खुशी तुल्याएको छ ।
'सबैभन्दा ठूलो कुरा उनी गाउँमै फर्किए । हामीलाई यस्तै सन्तान चाहिएको छ', धारापानीवासी जिविसका पूर्व सभापति शेरबहादुर गुरुङ्ग दङ्ग हुदै भन्छन्-'डा.देवीले सबैलाई सिकाए ।'
basnet.charikot@gmail.com
प्रकाशित मिति: २०६७ मंसिर ३ ०८:२९
साभारः कान्तिपुर















