HongKongNepali.com, The Next Media

Friday
Jul 25th
Home ग्यालेरी विदेशबाट फर्किएका एक डाक्टर

विदेशबाट फर्किएका एक डाक्टर

E-mail Print PDF
AddThis Social Bookmark Button
साभारः कान्तिपुर 
 
बालकृष्ण बस्नेत
                
काठमाडौ, कार्तिक २७ - सानामा सँगै भेडी चराउने, मर्स्याङ्दी तीरमा पौडिने, गुच्चा खेल्ने साथीहरुमध्ये उनलाई सम्झने कमै छन् । कति पलायन भए । कतिको मृत्यु भयो । तीस वर्ष पहिले गाउँ छाडेका थोंचे मनाङ्गका देवी गुरुङ्ग कता छन् भन्ने धेरैलाई थाहा पनि थिएन । थोरैले चिनेका, धेरैले सुनेका मात्र । कौतहलका पात्र बनेका हिमालपारी मनाङ्गका पहिलो पिएचडी डाक्टर देवी यसपटक भने गाउँ फर्किए, स्कुल र अस्पताल बनाउने योजनासहित ।

थोरै जनसंख्या भएको मनाङ्गमा विदेशीनेहरुको भने लर्को छ । बेलायत, अमेरिका, क्यानडा, चीन, अष्ट्रेलिया जस्ता मुलुकमा अरुतिरका जस्तै मनाङ्गे पनि छरिएका छन् । स्वदेशभित्रै राजधानी र अन्य शहर पसेका पनि गाउँ कमै फर्किन्छन् । विदेश पलायनले अन्यत्र जस्तै मनाङ्गलाई पनि पिरोलेको छ । विदेश जानेको तुलनामा र्फकनेको अनुपात ज्यादै कम छ । देशव्यापी समस्याले करिब १० हजार मात्र जनसंख्या भएको मनाङ्गलाई पनि गाँजेको छ । पर्याप्त सम्भावना हुदाहुदै पनि अभाव र असुविधाको समस्या टरेको छैन । 'हिमालपारिको जिल्ला'को उपाधिसँगै अभाव र असुविधाले कहिले छोड्न सकेको छैन । जहाँ सदरमुकामसम्म मोटरबाटो पुग्न बाँकी नै छ । सामान्य खालको विरामी हुदा पनि कि त दुई दिन हिडेर लमजुङ्गको वेसिशहर वा हेलिकप्टरबाट पोखरा, काठमाडौं ल्याउनुपर्छ । प्रति व्यक्ति आय सबैभन्दा उच्च रहेको मनाङ्गमा यस्ता समस्याले भने कहिले छाडेको छैन ।

४९ वर्षिय डा.देवी गुरुङ्ग तिनै विदेशीने मध्ये एक हुन् जो ३० वर्षपछि पहिलोपल्ट जन्मभूमि फर्किए । उनी फर्किदाको खुशी जति छ, त्यो भन्दा बढी कथा-व्यथा छन् । संघर्ष र भोगाई छन् ।
 
बाल्यकालको टुहुरो जो थोंचेमा टिक्न नसकेर काठमाडौंमा माग्दै हिंडेको थियो । काठमाडौंका सहर-गल्लीमा भेटिने सडक बालकहरुको सूचीमा उ पनि थियो । राजधानीमा आफ्नो कोही नहुदा उसले कैयौं छाक भोकै बस्नुपर्‍र्यो । कैयौं रात चिसो गल्लीमै बितायो । गाउका कतिपयलाई उनी यो संसारमा भए, नभएकै पत्तो थिएन । कतिले हरायो भन्ठानेका थिए । कतिले गाउँलाई विर्सियो भनेका थिए । थोरैलाई मात्र उनको संघर्षको कथा थाहा थियो । उनी जिल्लाकै पहिलो 'पीएचडी होल्डर' हुन् । अमेरिकाको नोभा साउथ इस्टर्न विश्वविद्यालयबाट स्वास्थ्य विज्ञानमा उनले २००८ मा विद्यावारिधी गरेका हुन् । अन्य दुई विषयमा स्नातकोत्तर पनि गरे । भेरी गोठका ती साथी संगी जसले उ बेलाको देवीलाई एक गोठालाका रुपमा मात्र चिन्थे । एक टुहुरो संगीका रुपमा चिन्थे । समय उथलपुथल भएको छ । तिनै देवी अहिले डाक्टर देवी बनेर गाउँ फर्किएको छ , त्यो पनि अब गाउकै शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्ने लक्ष्यका साथ ।

'सपना हो कि विपना झैं भएको छ', बाल्यकालका सखी शंकर गुरुङ्ग हुन् जो देवीको कथा र सफलता देखेर गौरव गर्छन् । उनको स्वागतका लागि चामेदेखि एक दिन हिंडेर उनी थोंचे गाउँमा पुगेका थिए । डा.देवीले सुरुमा थोंचेमै १० शैयाको सामुदायिक अस्पताल निर्माण गर्ने काम सुरु गरिसकेका छन् । आसपासका सरकारी विद्यालयका शैक्षिक गुणस्तर बढाउनका लागि कोष बनाउने, अमेरिकाबाट स्वयंसेवी शिक्षक झिकाउने प्रवन्ध गरेको पनि उनले गाउँलेलाई सुनाए । अघिल्लो दिन मनाङ्गको प्रवेशद्वार ताल गाउँमा स्थानीय आमा समूह स्वागतका लागि पुगेका थिए । गाउमा उनी जन्मेको घर अझै छ । पुरानो, गुफाजस्तै । जहाँ उनका एक दाजु वीरध्वज र उनका परिवार बस्छन् । अर्को दाजुको भने निधन भइसकेको छ ।

डा.देवीसँग अमेरिकाबाटै डा.मेलिसा मार्सल, इन्जिनियर रान्डल सिर्फटसहितको टोली पनि थियो । पहिलो दिन धारापानी गाउँमा बास बसेपछि भोलिपल्ट उनी पढेकै प्रकाशज्योति विद्यालयमा उनलाई स्वागत कार्यक्रम राखिएको थियो । जहाँ शिक्षक, विद्यार्थी, गाउँवासीको ठूलो सहभागिता थियो ।

त्यहाँ विद्यार्थीहरुले 'स्वागत गछौं गाउँ फर्की आउनेलाई' भनी देवीकै नाममा गीत रची सुनाएका थिए ।                       

'मैले मेरा बाबु आमाको सेवा गर्न पाइन । तपाइहरु नै बाबु आमा हो । तपाईहरुकै सेवामा आएको छु', डा.देवीले रुँदै यस्ता अभिव्यक्ति दिएपछि स्वागत समारोह नै भावविहल बनेको शंकर सुनाउँछन् ।    

.............................

उनको कामदेखि प्रभावित चारैतिरका मान्छे जम्मा हुदा थोंचेमा स्वागतर्थ भीड अचम्मैले बढेको थियो । अघिल्लो दिन नै मनाङ्ग र लमजुङ्गको सीमाना ताल गाउँमा आमा समूहको नेतृत्वमा भव्य स्वागत भएको थियो । थोंचेमात्र नभै आसपासका धारापानी, बगरछाप, दानाक्यू हुदै चामे सम्म पनि उनी र्फकने खबरले खुशियाली ल्याएको थियो । अन्नपूर्ण पदयात्रा सेरोफेरोमा पर्ने माथिल्लो मनाङ्गसम्मका मान्छेमा कौतहल भयो । विपन्नताको पराकाष्ठले गाउँ छोड्न बाध्य बनाई एक किसिमले पराई भइसकेको गाउँले घर र्फकदा सबै जुर्मुराएका थिए । 'हामी गाउँलेले देवीबाट सिक्नुपर्ने धेरै छ ', आफ्नो पुरानो विद्यार्थीको स्वागत गर्दै प्रकासज्योति उच्च माविका प्राचार्य देवीलाल श्रेष्ठले सुनाए ।

....................................

तीस वर्ष अघि एक छिमेकीको साथ लागेर उनी राजधानी छिरेका थिए । काठमाडौं पहिलोपल्ट पसेपछि उनी हराउन थाले । छिमेकीको साथ पनि टुट्यो । काम खोजे, केही पाएनन् । केही सिप नलागेपछि झोंछेको गल्लीमा हात थाप्दै माग्न सुरु गरे । कहिले त पेटभरी खान पुग्थ्यो । कहिले भोकै । 'मागेरै गुजारा चलाउथे । बास पाटीमा हुन्थ्यो', उनी ती दिन सम्झन्छन् । उनी जस्तै मागिखाने श्याम केसी नामको एक साथी थियो । जोसँग उनी मिल्थे । श्याम बाहेक उनको साथी पनि कोही भएन । एक दिन उ विरामीले नराम्ररी थलियो । के भयो भन्ने थाहा भएन । 'थाहा कसरी हुनु ? खानै पुग्दैनथ्यो । उपचार गर्नलाई पैसा थिएन', त्यतिबेलाको दुखद कथा सुनाउदै देवी भन्छन्-'उपचारै नपाएर मेरो साथी मर्‍र्यो । म हेरेको हेर्‍यै भएँ ।'

अपत्यारिलो कथा उनको वास्तविकता हो जुन सुनाउदा उनी घरीघरी आफै कोकिन्छन् । उनका आँखा रसाउछन् । बोली रोकिन्छ । तैपनी उनी आफ्नो व्यथा लुकाउदैनन् । 'मैले कैयौपल्ट चिया पसलमा पसेर अर्काको टेबुलको तात्तातो चिया घुट्क्याएर भागेको छु, खाजा खाएको छु । भोकभोकै बस्न नसकेपछि के गर्ने ?', उनी सम्झन्छन् ।

एक दिन साह्रै भोक लागेका बेला उनी बागबजारको सडक चहार्दै थिए । पद्मकन्या क्याम्पस अघिको एक घरमा पुगे । त्यहाँको साहुजीसामू हात थापे । निकै दिनदेखि आफू भोकभोकै रहेकाले काम खोजिदिन र केही खान दिन आग्रह गरे । साहुजीले घर छेवै लगेर दुई वटा ठूला काठका मुडा देखाएर चिर्नका लागि एक बञ्चरो पनि दिए । उनी खुशीले पुलकित भए । अब खान पाइएला भनेर दङ्ग परेका उनलाई अर्को दशा आइलाग्यो । 'मुडा फोर्न बञ्चरो मात्र के उचालेको थिए, बञ्चरो फुत्केर भित्तामा बजारियो । साहुले मलाई उल्टै कम्मरको पेटी नै पेटीले कुटेर खेद्यो', उनी भक्कानिन्छन् । भोको पेटमा कुटाईको पीडाले रुदै उनी ठमेलतिर फर्किए । केही दिनपछि उनले केसिज् रेष्टुरेन्टमा भाडा मोल्ने काम पाए । 'मेरो काम र इमान्दारी देखि पछि तिनै साहुले जुनियर वेटर बनाए', उनी भन्छन् । 

सडक बालक देवीको कथा त्यो दिनबाट मोडियो जुन दिन केसिज रेष्टुरेन्टमा एक अमेरिकी पाहुना भित्रिए । डा.जेम्स स्टेट्स सगरमाथा आरोहण गरी फर्किएका थिए । देवीले उनलाई खान पुर्‍याए ।  जेम्सले 'यति सानो उमेरमा यस्तो काम किन गरेको ?' भनी जिज्ञासा राखे । उनको आँखा रसाए । बरर्रर आँसु बगाई सबै सुनाए । 'मैले पढ्ने र आफ्नो गाउ र बालबालिकाको सेवामा लाग्ने इच्छा पनि राखें', आफूले त्यसो भनेपछि जेम्स प्रभावित भएको उनले सुनाए । त्यसपछि डा.जेम्सले उनलाई आफ्नो छोरो बनाई अमेरिका लगेका थिए । त्यहाँ गएपछि उनको दिन फिर्‍र्यो । त्यहींको वातावरणमा हुर्के । अहिले उनी डा.देवी गुरुङ्ग स्टेट्सका नाममा चिनिन्छन् । 

अमेरिकामा अध्ययनसँगै उनले रेष्टुरेन्ट व्यवसाय समेत थालेका थिए । सन् १९९४ मा उतै 'एभरेष्ट क्याफे एण्ड बार' मार्फत थालनी गरेपछि कतिपय मानिस आश्चर्यमा पनि परे । पढेको मानिसले रेष्टुरेण्टको काम थालेको भनेर सोधे । 'मैले कामलाई नै प्यारो ठानें । मैले सानैदेखि कामको महत्व बुझेको थिए । यो ठूलो सानो हुदैन भन्ने लागेरै मैले त्यसलाई निरन्तरता पनि दिए', डा.देवीले भने । उनको कामलाई श्रीमती र छोराले सघाउदै आएका छन् । उनको जीवन कथालाई लिएर हालै हिमालयन पिक्चर्सले वृत्तचित्र समेत बनाएको छ । त्यसको निर्देशन युवा पत्रकार प्रदीप पोखरेलले गरेका छन् । उनको बारे लघुचलचित्र पनि बन्दैछ ।     

......................................

अब उनले पहिले जस्तो अभाव र दुःख झेल्नुपर्ने छैन । पहिले एक/दुई रुपैयाका लागि हात थाप्ने देवी आफ्नै व्यवसायबाट मनग्गे आम्दानी गर्छन् । अमेरिकामा व्यवसायबाट त्यहाँको सरकारलाई कर मात्र उनी मासिक १५ हजार डलरसम्म बुझाउँछन् । उनको अहिलेको अवस्था देखेर धेरैले उनलाई सोध्दा रहेछन्- काठमाडौंमा ठूलो घर किन्ने होला होइन ? देवीको उत्तर फरक हुने गर्छ-'होइन, पहिला मनाङ्गमा अस्पताल बनाउँछु । गाउमै जान्छु ।' आफ्नो अभियानलाई साथीभाईले पनि सघाएको र उत्साह थपेको उनी सुनाउँछन् । अब अमेरिकाको व्यवसाय श्रीमती र छोराले नै चलाउने भइसकेका छन् । त्यसले पनि यी तन्नेरी डाक्टरलाई नेपाल र्फकन सजिलो बनाएको छ ।      

.......................................

घर छाडेदेखि उनी पहिलोपल्ट मनाङ्ग पुगेका हुन् । त्यसबीचमा उनले मनग्गे परिवर्तन पाए । बाटोघाटो, विजुली, धारा छन् । स्वास्थ्य र शिक्षामा भने त्यति सुविधा छैन । एउटा एक्सरे मेसिन समेत नभएको सुचना पाउदा उनी साह्रै खिन्न भए । त्यसले पनि उनलाई नेपालकै दूर्गम गाउँ-ठाउँमा काम गर्ने इच्छा जगायो । विदेश पसेपछि उतै भासिने देशव्यापी रोगले गाँजेका बेला गाउँमै रहेका मनाङ्गेलाई भने देवीको अभियानले खुशी तुल्याएको छ ।

'सबैभन्दा ठूलो कुरा उनी गाउँमै फर्किए । हामीलाई यस्तै सन्तान चाहिएको छ', धारापानीवासी जिविसका पूर्व सभापति शेरबहादुर गुरुङ्ग दङ्ग हुदै भन्छन्-'डा.देवीले सबैलाई सिकाए ।'

basnet.charikot@gmail.com
प्रकाशित मिति: २०६७ मंसिर ३ ०८:२९
 
साभारः कान्तिपुर 
 
Comments (1)
Good Job
1 Thursday, 23 June 2011 09:27
Bogati, Shailendra Singh
Respected Dr. Devi, you have given us a very good lesson. Your biography has made me very emotional and inspired me to do something for others but not only for myself. Our Nepal will prosper in few years time if we have good patriot like you. I respect and salute your thinking and deeds. Thank you once again.

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

Good News!

free counters

(Since April 2009)