चिसो चुल्होतिर निरीह
एक नजर लाउदै
अभावको एक मुठ्ठी
सिरेटो घुटुक्क निलेर
नाम्लो काखी च्यापी
कामको खोजिमा
संघार नाँघेर फुत्त बाहिर
निक्लिन्छ उ
बिहानीको कलिलो घाम
वस्त्रको आँखी झ्यालबाट
सुटुक्कभित्र पसेर
काउकुती लगाउदा
उ आफू सात दिनको
भोको छु भन्ने कुरा भूलेर
खितित खितित खित्का छाड्छ
सडक पेटीमा हिँड्ने र
बलेरो पजेरोमा सवार गर्ने
भद्रभलाद्मीहरू उसको
त्यो अनौठो चाला देखेर
उमाथि पागलको उपमा चढाउँदै
अगाडि बढ्छन्
उ न तिनीहरूसँग आँखामा आँखा मिसाएर
आफू अपमानित भएको
हिसावकिताप गर्नसक्छ
न नाराजुलुस लगाउँन सक्छ
उसको दर्शनले त यै भन्छ
जति सक्यो सहनुनै राम्रो हुन्छ
त्यसैले अन्यायलाई छातीभित्र दवाएर
कामको खोजिमा उ
यता उता भौंतारिरहन्छ
दिन रातको केन्द्र विन्दुमा
पुगेर विस्राम नलिउञ्जेलसम्म

















