२९ असोज, पोखरा । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले पोखरालाई पयटकीय गन्तव्यका रूपमा विकास सकिने भएकाले लगानी गर्न चीन सरकार सकारात्मक रहेको बताउँदै पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल निर्माण हुने बताउनुभएको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उपाध्यक्ष क्षेत्रीले पोखरामा क्षेत्रीय विमानस्थल निर्माण हुने बताउनु भएको हो । “पोखरा पर्यटकीय गन्तब्य भएकाले क्षेत्रिय विमानस्थल बन्छ ।” उहाँले चिनियाँ सरकारले त्रिशुली जलविद्युत परियोजना निर्माणका लागी दिएको दुई सय मिलियन डलरबाट बचत रहेको ७५ मिलियन डलर पोखरामा विमानस्थ निर्माणका लागि खर्च गर्ने सहमति भएकाले अब विमानस्थल निर्माण हुनेमा विश्वस्थ रहन उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।
उहाँले पोखरामा क्षेत्रीय विमानस्थल निर्माण गर्न सके वैकपल्पिक विमानस्थलको रूपमा प्रयोग गर्न सकिनेसमेत बताउनुभयो । ‘वैकल्पिक विमानस्थल नहुँदा अन्तर्राष्ट्रिय विमान अवतरण हुन नसक्ने अवस्था सिर्जना हुँदा अन्य देशमा लैजानुपर्ने बाध्यता रहेको छ’, उहाँले भन्नुभयो, ‘पोखरामा विमानस्थल निर्माण भएपछि सहज हुने छ ।’ काठमाडौँमा अवतरण नहुँदा अन्यत्र बस्ने अवस्थाले धेरै खर्च हुने हुदाँ वैकल्पिक विमानस्थल भए आर्थिक रूपमा पनि फाइदा हुने बताउनुभयो ।
उपाध्यक्ष क्षेत्रीले पोखराको पर्यटन विकासका लागि फेवातालदेखि कास्कीको पुम्दीभुम्दी गाविसस्थित अनदु डाँडामा रहेको शान्ति स्तूपमा जान केबुलकारको परिकल्पना गरिएको बताउनु भएको छ ।
श्रोत- अनलाईन खबर



















