शनिबारको कोसेली 'पशुको ईश्वर'
देश सुब्बा
ए ईश्वर
म तिम्रो परम भक्त हुँ
तिमी कहाँ छौ
तिमीलाई खोज्दै—खोज्दै हिँड्ने तीर्थयात्री हुँ
बाटामा
थाकका थाक अस्थिपञ्जर छन्
आलो रगत छन्
सुकेका रगत छन्
अलिपर
युद्धरत भक्तहरू छन्
ती सबै तिमीलाई खोज्दै हिँड्ने
म जस्तै
परम भक्त हुन्
तीर्थयात्री हुन्
ईश्वर
तिमी एउटा राम्रो आस्था हौ
विस्वास हौ र
खेलौना हौ
राम्रो वस्तु
सबैलाई राम्रो लाग्छ र
पाउन लोभिन्छन्
यी अस्थिपञ्जर
रगतका थोपा
तिमीलाई पाउन
हिँडदाहिँड्दै, लड्दालड्दै
विलाएका जीवन हुन्
तिमीमा के छ त्यस्तो आकर्षण
सोध्न मन लाग्छ
जीवनको कुनै पर्वाह नगरी
लोभिन्छन् मान्छे तिमीसित
तिमी पत्थर होइनौ
तिमी सुन होइनौ
तिमी महँगा महँगा जुहारात होइनौ
तर पनि तिमीमा
मान्छे झुमिन्छन्
लड्छन् र मर्छन्
भन्छन् मर्ने आत्माहरू
तिमीसित सुख छ
शान्ति छ
समृद्धि छ र
समुद्र मन्थनको अमृत छ
यही पाउन उनीहरू
भक्तिमा छन् र
तीर्थयात्रामा छन्
तर मसित,
तिमीलाई विस्वास नलाग्ने
यक्ष प्रश्न छ,
कृपया ईश्वर मलाई बताउ
“पशुहरू किन मरिहत्ते गर्दैनन्
तिमीलाई पाउन ?
तिमीबिना पनि जीवन चल्ने रहेछ।”


















