
बज्र कुमार राई
बाँचुन्जेल मसँग'नि बोली दिए पुग्छ।।
मरिहाले चितामाथि पोली दिए पुग्छ।।
तिम्रो हरेक खुशी छिन्ने दोषी मै हुँ भने,
मैले पिउने नशामा बिष घोली दिए पुग्छ।।
मार्नु नै छ भने चोटैचोटले मार्छौ किन?
यो निधारमा सिर्फ एक गोली दिए पुग्छ।।
मनैभित्र कति थुन्छौ प्रतिशोधका बहाबहरु,
बम बनाई मैमाथि खोली दिए पुग्छ।।
तिमी नै राख सबै यथार्थका आजहरु,
मलाई त आश्वशनको भोली भए पुग्छ।।
कलहको बीउ रहेछ कुबेरको ढुकुटी,
भैगो मलाई नारदको झोली दिए पुग्छ।।
साक्षी-प्रमाण,जन्ती सबै जता\जसको जाउन,
मलाई त तिमी चढेको डोली भए पुग्छ।।


















