HongKongNepali.com, The Next Media

Wednesday
Feb 08th
Home साहित्य थुक्क! (कथा)

थुक्क! (कथा)

E-mail Print PDF
AddThis Social Bookmark Button
दीप (Deep)
 
पानी आउनु अघि हावा दरो गडगडाएर आउँथ्यो अनि मिटर फिरीरी घुमाउँथ्यो (ए! बन्द गर बन्द गर-- पैसा भुसुक्कै चढ्ने भो अब भनेर मान्छे कराउँथे), हावा जस्तै पानी पनि दरो आउँथ्यो र त घरको धारामा आएको पानी आफ्नै सुरमा चार तला माथिको ट्याङ्कीमा पुग्थ्यो। थोत्रो ट्रान्समिटर पडकिएर गयो भने गयो नभए बिजुली हतपत जाँदैनथ्यो। ख्याक, भुत, मसान, किचकन्नी, बाईपंखे घोडा जस्ता थरी थरीका कहानीमा पोख्त हाँडीगाउले बिद्वानहरुले समेत १६ घण्टे लोडसेडिङ कल्पना गर्न सकेका थिएनन। राती हिन्दा चोर, डाँका, बिच्किएका कामरेड आदि ईत्यादीका भन्दा  भुत प्रेत पिशाचको डर उग्र हुन्थ्यो।  हाँडीगाँउबाट चाबेल, धुम्बाराही, सिफल तिर हेर्दा घर भन्दा धेरै फाँट देखिन्थे। धोबीखोलामा पनि पानी बग्थ्यो। बजार बन्द त हुन्थ्यो तर रात भरी, बिहान खुल्थ्यो। त्यस्तै त्यस्तै बिचित्रका कुराहरु हुने त्यो बेला पत्याईनसक्नुको थ्यो।

कैलेको कुरो गर्या रे? मेरा काकाले एस् एल् सी देको बेलाको कुरा गर्या नी।

जाँच दिए देखि काका एस् एल् सीको कुरा गर्न रुचाउँदैन थिए। झर्किन्थे, फन्किन्थे, तर्किन्थे एस् एल सी भन्यो की। अलि उपल्लो दर्जाका नातेदार कसैले "कस्तो भो जाँच?" भनेर सोधे भने राम्रो भो भन्थे। त्यो भन्दा धेरै भन्न खोज्दैन थिए।

कैले गहनाखोज्ने पोखरी तिर, कैले सत्तेनारन थान तिर, साँझ साँझ तिर मालीगाउँ नभए धुम्बाराही तिर भेटीन्थे काका। गल्ली भित्रको एक दुईटा घरबाट निस्किदा धेरै चोटी धेरै तिर पल्याक पुलुक हेरेर मात्रै निस्किन्थे। कैले बेस्सरी ल्वाङ्ग चपाउँदै घर छिर्थे, कैले चिया पत्ती चपाउँदै आउँथे। उनी र उन्का साथीहरुका अगाडी सुन्दरीहरु कि त आत्तिदै हिनेका देखिन्थे, कि सराप्दै। नाकका पोराबाट मुस्लो धुवाँ छोड्दै ईँटाभट्टाले हरीसिद्धी बिगार्यो भन्थे। उनको एउटा टोली थियो, त्यो टोलीको उनी उपसभापती थिए क्यारे। सभापती उनी भन्दा उग्र थिए। छोटकरीमा मेरा काका झन्नै झन्नै मेरा आदर्श थिए भन्दा हुन्छ।
 
एस् एल सीको रिजल्ट हुने बेला त भाको थिएन, चर्चा भने बेला बेला सुरु हुन थालेको थियो। हजुरबालाई छोराले फर्स्ट डिभिजन ल्याउनेमा कुनै शंका थिएन। उनले सबैलाई त्यही भन्थे। उनले छोरालाई रातब्यान भेटदा कहाँ थिईस भनेर सोध्ने गर्थे, काकाको सधै एउटै जस्तो उत्तर हुन्थ्यो, "पढेर आको--घराँ बाताबरण मिल्दैन"। अब त्यस्तो बाताबरण मिलाएर पढ्ने छोरोले कता कता बोर्डै ल्याउला नभएनी फर्स्ट डिभिजन त चुत्थोमा भन्ने बिश्वास हजुरबामा हुने नै भो।
 
के कस्तो जोग मिलेर हो हजुरबा र काकाको ग्रह असाध्यै मिल्तीमा थिए। काकाको बिरुद्ध सुनीएका हरेक घरेलु उजुरीहरु हजुरबा "घरमै दुश्मन् छन अनि बाहीरका लाई के भन्नु भन्थे"। बाहीरका कसैले "छोरो बदमास छ" भन्यो भने त्यो भन्नेको लहरो तानेर त्यता को कोले के के बदमासी गरेका थिए त्यो सुनाउँथे। "अर्काले राम्रो गरेको त देखिनसहने ए!" भन्दै कुरो सकाउँथे हजुरबा। कैले कैले हाम्रा बाले काकाको चालचलनमा टीप्पणी गरे भने "जवानीमा मान्छे अलि अलि त बहकिईहाल्छ नी -- तैले आफुलाई बिर्सीईस्?" भनेर सम्झाउँथे। त्यसपछी बा ले के सम्झिन्थे कुन्नी, धेरै बोल्दैनथिए।

कौसीमा एकदिन हजुरामाले कुरो झिकिन, "बाबु एस एल सीको रिजल्ट आउने बेला भो --कस्तो गर्या छस जाँच----" भात खाने ठिक्क बेला भैनसक्या भए त्यस्को जबाफ दिनु सट्टा उनी एकातिर लागिसकेका हुन्थे तर भात छोडेर जान सकेनन र भने "१०० जनामा १२/१५ जना पास हुन्छन एस एल सीमा। ख्याल ख्याल हो?"

हजुरमाले भनीन "ख्याल ख्याल त कस्ले भन्या छ र? तैले कस्तो गर्या छस भन्या नी --अरुहरु त पास हुन कि फेल -- त्यै १२/१५ जनामा पर्छस कि पर्दैनस तँ? त्यो भन्न"

"मैले पर्छु पर्दिन भनेर हुन्छ? कापी कहाँ पुगी रछ, कुन डाँडाको कुन खैराँतेले जाँच्ने हो --मैले मात्रै राम्रो लेखेर हुन्छ?"

यत्तिकैमा भात पस्कीसकेको खबर आयो। भान्छा तिर लागे।

भात खाँदै थिए, हाम्री आमाले नी त्यै राग छेडीन "अनि बाबु, रिजल्ट त हुने बेला भो क्यारे --"

काकाले बिचैमा भने "मैले आमालाई भनीसकें, एउटै कुरो कति चोटी भन्नु"।

धमाधम भात खान थाले -- किन भ्याइ नभ्याई गर्या भनेर आमाले सोध्या "हतार छ" भने। अनि टाकटुक पनि नसकी छडकिए।

एक दुई दिन पछी चिया पिउँदै गर्दा हाम्रा बाले सोधे काकालाई, "कलेज कहाँ ज्वाईन गर्ने बिचार गर्या छस, अब रिजल्ट पनि हुने बेला भो--कति जति पर्सेन्टेज ल्याउने होस --"

घोरीएर जम्मै बाफ स्वाट्टै पार्न ला हुन की झै गरी उनले भने "परसेन्टेज त राम्रो आउनु पर्ने हो --तर कापी पो कुन चै ट्वाँटीस्ट गँजडी कहाँ पुग्या छ --" 

ट्वाँटीस्ट मात्रै भन्दा गुण नपुग्ला भनेर होला उनले त्यो गँजडी पनि जोडेका।

बाले भने "एस् एल सीका कापी जाँच्ने सबै जँड्याहा--महामूर्ख हुन्छन?"

"अब त्यो बागबजारको अमृत्या बाउ एस् एल सीको कापी जाँच्ने -- ब्यानै देखि खुट्टा त भन्या ठाममा टेक्न सक्दैनन् --" काकाले उदाहरण झिके।

हाम्राबाले आफ्नो कुरा भन्न मुख बाएका मात्रै के थिए, चोकबाट काकाको साथीले बोलायो उनलाई। उम्कीहाले।

मैले बुझिसक्या थिएँ, सायद हाम्रा बाले पनि बुझेका थिए, काकाले घुमाउरो पाराले के भन्दैछन भनेर। हजुरबा भने दिन दिनै भगबतीबहाल गएर लड्डु ल्याउँथे।

"कुलङ्गार!---" हजुरबा कुर्लाईले बिहान बिहानै निन्द्रा खुल्यो।

एस् एल सीको रिजल्ट भएछ। हातमा गोरखापत्र कच्याक कुचुक पारेर हजुरबा तल र माथि, वल्लो कोठा र पल्लो कोठा काका बोलाउँदै हिन्दै थिए। काकाको नामोनिशान रैन छ घरमा।

एक कप चिया तन्काएर म पनि सडकाँ निस्किएँ। टोल छिमेकमा आगो लाग्या जस्तो भा थ्यो। सबैको त्यही धुन। एस एल सीको रिजल्ट।

सडकमा पुगेको मात्रै थिए, छ्याक र बाङ्गे भेट भो। "के भो तेरो काका?" उनीहरुले सोधे।

"नमो नारायण"---"अरु के हुन्छ?" मैले भने। उनीहरु पनि हाँसे म पनि।

अब मलाई पछी म एस् एल सी फेल हुँदा कराए भने झन ठुलो स्वर गरेर मैले पनि भन्न पाएँ "म मात्रै हो र? काका नी काका?"

हामी सबै भएर काका खोज्न हिंडेम। सधैं साँढे जस्तो भएर हिन्थे, हामीलाई उपदेश दिन्थे, आज बाढीमा पर्या मुसो जस्तो हुँदा कस्तो देखिया होलान भन्ने जिज्ञासा नी मनमा।

सरसोती मन्दिर मुनी, सत्तेनारन थान माथि भेटीए उनी। गोर्खापत्र कच्याक कुचुक पारेर बसेका रे छन् चुरोट सुईँ सुईँ तान्दै। सरसोती दर्शन गर्न आका हुँदा हुन -- पढ्ने बेला साढे बाईस --अहिले सरसोती मन्दिर आएर के हुन्थ्यो।

"के भो रिजल्ट?" मैले त्यही पनि सोधें।

"तँलाई के मतलब? अहिले लात्तले हानेर उछीट्टयाई दिन्छु अनि --"

"उता हजुरबाले पनि यस्तै गोरखापत्र कच्याककुचुक पारेर खोजीरहनु भा छ --" मैले पनि हाँस्दै भने।

उनी आँखा तर्दै मन्दिर तिर उक्लिए।

मन्दिर अगाडी पुगेका मात्रै के थिए बीरेन्द्र दाई यामाहा वाई बी लिएर आईपुगे।

"जय शम्भो तँ पनि?" बीरेन्द्रदाईले सोधे।

केही नभनी पिच्च थुकेर टाउकोलाइ मात्रै छडके झड्का दिएर काका बसे मोटरसाईकलमा।

यमाहा बत्तियो मालीगाउँ तिर।

एकैछिनमा सबैले भन्न थाले, "बीरेन्द्रदाई पनि चिप्लीएछ नी थाह पाईस?"

आधाराताँ काका आईपुगे।

लुसुक्क कोठा तिर छिरेर सुत्न ला थे --हजुरबाले बत्ति बाल्दै सोधे "काँ गा थिस?"

"साथीहरुले ख्वा कि ख्वा भन्न थाले अनि अलमल भो ---" काकाले भने।

हाम्रा बा पनि आए गोरखापत्र बोकेर। आमा नी आईन, हजुरमा नी।

काका र बीरेन्द्रदाई बत्तेर काँ जाने काँ भन्दै नौबिसे पुगेछन। -- बीरेन्द्रदाईले मोटरसाईकलको क्यारीअरमा गोरखापत्र च्यापेर राख्यारेछन --त्यहाँ नौबिसेमा "दाई रिजल्ट हेरम् न एक चोटी" भनेर एउटी सुन्दरी आईछ -- अरुले भन्या भे त दनक भेटन बेर थे न सुन्दरीले भन्या भेर काकाले मन नलागि नलागी भए पनि पत्रीका झिकेछन र सुन्दरीको सिम्बल नम्बर हेर्न थालेछन।

सुन्दरी झन उनीसँगै टास्सीएर पत्रीका छेक्ने कपाल मिलाउँदै रिजल्ट हेर्न थालीछ। अरु नी आएछन, भिडले सुन्दरीलाई काका सँगै टाँस्देछ, काकाले आफ्नो रिजल्ट बिर्सेछन र सुन्दरीको रिजल्ट तिर लागेछन। यो ठीटी पनि फेल भै भने संगै भाग्छे की भन्ने झिनो आशा रे काकाको।

सुन्दरी त ह्वात्तै सेकेन्ड डिभिजनमा पास भै छ। तुषारापात भै गो काकालाई। त्यै रिजल्ट भाको पातोमा एकोहोरो घोरिएका रेछन उनी ड्याङ्गै आफ्नो सिम्बल नम्बर देखेछन। जम्मै रौं ठाडा रे एकै चोटी। फेरी हेरेको नभन्दै।

बीरेन्द्रदाई त नमोनारायनको नमोनारायनै जती चोटी हेरे नी --

हजुरबाले फर्स्टडिभिजनमा हेरेछन -- नदेखे पछी एक्कासी "कुलङ्गार" भनेर कुर्लिईहाले --काकाले चै आफ्नो हैसियत बढाएर थर्ड डिभिजनमा हेरेछन -- छैन त्यहा आफ्नो नम्बर। अन्त हेर्ने कारण नै रैन्छ। अनि त हजुरबा र काकाले हातखुट्टा छोड्या रे छन।

नौबिसे बाट बीरेन्द्रदाई चै कति सम्झाउँदा नी नमानेर नारनघाट तिर लागेछन। काका एक्लै --बल्ल बल्ल फर्क्यारेछन --त्यसपछी अलि अलि रमाईलो नी गर्नै पर्यो। ढिलो त हुने नै भो।

हजुरबाले चियापत्ती जोड जोड् सँग चपाउँदै गरेका काकालाई लड्डु दिए। मलाई त लड्डु खान नी मन लागेन। पछी काकाको उदाहरण दिम्ला भन्ने कत्रो आशा थ्यो आफ्नो, सबै भाँडे।

थुक्क!
 
(यो कथा धेरै राम्रो र रमाईलो लागेकोले साझा बाट साभार गरिएको हो।)
 
Comments (1)
nice
1 Monday, 08 November 2010 15:30
Devendra Kumar
Katah ramro ra haso uthdo 6, yastai katah haru upload garnu hola

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)