
बज्र कुमार राई
भित्र पत्र चोरी भएको खाम भयो मेरो माया
गोप्य कुरा हल्ला चल्यो बदनाम भयो मेरो माया
उनीलाई भेट्ने चौतारीमा कुरीरहन्थें सधैं
अर्कै बाटो हिड्न थालेछिन् बेकाम भयो मेरो माया
दुई मुटुको अन्तर-सम्बन्ध अनमोल छ भन्थें
किन्नेहरुको बिगबिगीमा लिलाम भयो मेरो माया
मनको देवी खोज्नलाई टाढा मन्दिर नजाउँ भन्दा
घरै छेउको अपहेलित धाम भयो मेरो माया
मन खुशीको उज्यालोमा दुइ जिन्दगी बिताउँ भन्दा
भोगाइमा क्षितिजपारीको घाम भयो मेरो माया


















