देश सुब्बा
हेमिङ्वेको "बूढो मान्छे र समुद्र" उपन्यासमा एकजना बूढो पात्र छन्। माछा पकडिने सिलसिलामा ऊ किनाराबाट धेरै टाढा पुगेको हुन्छ। उसले तीनदिन लगाएर ठूलो माछा जालीमा पार्छ। माछाको धुनमा उसलाई भोक तिर्खा पनि लाग्दैन। माछा लिएर किनारतिर फर्किन्दै गरेको हुन्छ जालीमा रहेको माछालाई अरु माछाले लुछ्दै खान्छन्। जब किनारामा आइपुग्छ माछाको मासुजति सकिन्छ। माछाको नाममा केवल अस्थिपिञ्जर बाँकी रहन्छ। मान्छेको जीवन यस्तै हुन्छ, धेरै धेरै कमाउने सपनाले देशविदेश लाग्छन्। तर अन्तिममा त्यस्तै अस्थिपिञ्जर बाँकी रहन्छ। अहिले हङकङका संघसंस्थाहरूका कार्यक्रमहरू पनि यस्तै छन्। यो यथार्थ आज अलिकति छ भोलि फैलिएर जानेछ। किनभने मानवीय क्रियाकलाप भित्रको एउटा पलायनताको संकेत। यस्तै बेमौसममा पनि चर्चाको सगरमाथा छन् "स्रील मिस्ट" का डायास्पोरिक लेखक रामकृष्ण वान्तावा चर्चाको ओलिम्पिक र्टच बोकेर यतिखेर।
फैलिने क्रममा मान्छे थाहा नपाइ खुम्चिदो रहेछ। विज्ञान भन्छ, "कुनै पनि वस्तु तातिएपछि फैलिन्छ।" मैले भयचक्रको व्याख्यामा भनेको छु,-भौतिक पलायन र मानसिक पलायन। आदिमताको चीसोबाट फैलिन्दै आए मान्छे-जाति, समाज, देश र फर्किन्दै गए, देश, समाज, जाति अनि खुम्चिएर आए मभित्र। देश र काल यही भन्छ। देश र काल चलाएर हेर्दा चल्दोरहेछ मास्लोको आवश्यकता क्रम, चल्दोरहेछ, भय क्रम र चल्दोरहेछ, जीवन क्रम। त्यसैले भन्थे कान्ट- "संवेदन शक्तिले सबै संवेदनहरूलाई देश र कालको माध्यमबाट ग्रहण गर्दछ।" हाम्रा संवेदनहरूले पनि बिस्तारै यस्तै देश र काल समाउँदै जाँदा स्वभिमान, राष्ट्रियता, जातियता जस्ता "म" जोडिएर आएका "म" त्वहरू स्खलित हुँदै, पग्लिन्दै, पलायन हुँदै, फैलिन्दै जाँदैछन्। पहाडको खोलाको फैलावट कम हुन्छ र नै तीव्र र वेगवान हुन्छ। मैदानमा पुगेपछि उसका तागत, वेग सबै चौडाइतिर फैलिन्दै फैलिन्दै बढ्छ र वेग कम हुन्छ। हामी पनि त्यसरी नै फैलिन्दै गएका छौँ, डायास्पोरा भनौ, अर्ध डायास्पोरा भनौँ, पलायन भनौँ-कुनै देशको कुना कुनामा, संसारको कुना कुनामा।
संभावना सबैतिर हुन्छ-लुकेका, छिपेका। ती संभावना कुनै दिन निस्किने छन्-तर अहिले कवितामा बढी संभावना बिमल राई र डि.बी. पालुङ्वातर्फ चलायमान भएको छ। जो अतितमा थिए, त्यहाँ चमक छैन, चल्नको लागि धेरैथोरै चलेको छ, तर विमर्शको प्रगतिबिना। कुनै कुनैमा त काइ लाग्न थालेको छ, लेउ पलाउन थालेको छ-अलिकति अहंमले, अलिकति आलस्यले। गेस्टाल्ट मनोविज्ञान भन्छ-मानवीय स्वभाव कतै अलिकति मात्र चल्दा पनि धेरैतिर चल्दोरहेछ। त्यस्तै कतै कतै चलेको यो अहंमले, आलस्यले, क्रोधले सृजनाको स्तरियतामा भने पहाड नै खडा गरिदिदोरहेछ। यस्तै भएको छ अहिले धेरैतिर। त्यसैले होला, पुराणमा शिवजीले तेस्रो नेत्र खोल्दा धेरै कुरा भष्म भएको। कुनै अज्ञात ठाउँमा धेरै मोतीहरू चम्किरहेको होलान्, मान्छेलाई ज्ञान नभइन्जेल त्यसको अस्तित्वको नै के अर्थ !
दशौँ वर्षेखि नेपाली साहित्य प्रतिष्ठानले प्रत्येक वर्ष जुलाइ १ तारिख कविता गोष्ठी मनाउँदै आइरहेको साहित्य अनुरागीहरूलाई अवगत छ। यसपटक हामीले सम्झना गर्यौ सधैँको हाम्रो भेला हुने हङकङको प्रसिद्ध चुनवानको म्याकडोनाल्डमा। हामीसित केही किताब, केही कविता र केही फूलहरू थिए। हाम्रो लागि यो उर्जाको मिथक युरोपको कुनै कफि हाउस थियो, जहाँ दर्शन, साहित्य र कलाको विमर्श हुन्थ्यो। वाणी प्रकाशन विराटनगरमा एकल कविता वाचन, केही एफ. एम.हरूमा अन्तरवार्ता, केही पत्रपत्रिकामा साहित्य बोलेर भरखरै नेपालबाट आएका डि.बी. पालुङ्वा, लामो समय गीत लेखेर कवितामा फड्को मारिरहेका बिमल राई र म हाम्रो नियमित भेलाको निम्तो बाँड्दै आयौँ। हामीले धेरैलाई निम्तो बाँड्यौ। तर खोलाजस्तै बग्दै, फैलिन्दै गएका मनहरूलाई फर्काउन सकेनौँ। बगेर गएको खोला फर्काउन नसकिने रहेछ। यसपटक भाग्यवाद, भयवाद, लीलावाद, बोल्दै पलायनवादमा लेखिएका बिमल र डि.बी.का कवितामा छलफल गर्यौ।
बिमलका कवितामा आग्रह थियो,
फर्केर आउ
आफ्नै आकारमा रम्नु
आफ्नै ओजस्विता चम्काउनलाई
जहाँ तिमी प्राकृत बनेर बाँच्ने आकाश छ
अनि,
धर्ति र आमाका कैयौ भविश्यहरु छन।
त्यस्तै डि.बी. पालुङ्वाको कवितामा पलायन भएका आफन्तको मृत्युको शोक थियो। डि.बी. भन्छन् कवितामा
तथापि कमिलाको बथानले खोला तर्ने सपना बुन्नु
कति सम्म तर्क संगत होला -
यी मेरा खोक्रा आंखाहरूको अगाडि
मेरा चियाउँदो हृदयको अगाडि
त्यही सुन्दर कचौराको गुलियो चाट्दै
अब कमिलाको अस्तित्व मर्छन् मेरा आफन्तहरू
यी कविताका हरफले भूपेन्द्रको भाषामा आत्मआन्दोलन गरिरहेका थिए। आदिवासी उपन्यासको स्व पहिचानको कुरा सझिरहेका थिए। किन उठ्छ आत्म आन्दोलनको आँधीवेरि र किन बेरिएर आउँछ, नोस्टलजिया। कफि गफहरूमा यही छलफल हुँदोरहेछ। एउटा देशबाट अर्को देशमा जाने साथीहरू आ-आफ्नै कुरा गर्छन्।
भारतबाट अमेरिका पुगेकी उमाले पनि भनिन् यसरी नै धेरैलाई
म त्यहाँ पुगेको छु मित्र
त्यो भूमि हरियो छ परन्तु हृदय बाँझो थियो
मानिसहरू हार्दिक छन् तर मेरो हृदय एक्लो थियो
नदीहरूमा पैसा बग्छ तर मेरो हृदय शुष्क थियो
चाहानारहित, तनावरहित
पीडा र दुःखरहित
मित्रतारहित
मित्र, मेरो हृदयले आफ्नो आवाज गुमायो
त्यो भूमि त्रि्रो लागि होइन, मेरो लागि होइन।
संसारको विभिन्न मुलुकमा छरिएर रहेका आप्रवासीको मनमा स्वदेश, स्वदेशको माटो, पानी, हावा समाउन, सुम्सुमाउन र चुम्न कोष, कोषिकाहरू लालायित हुन्छ। प्रत्येक ऐकान्तिक पलमा भावना, कल्पना, सपना, विपनामा त्यही नोस्टलजिया छछल्किन्छ र पोखिन्छ कविता, गीत र साहित्यका विविध विधामा। तर हामी चाहानामै सीमित हुन्छौ। दबिन्छ, हाम्रो इच्छा र आकाङछा नोस्टलजियाको सुपर इडमा। त्यो दमित इड हामी साहित्यमा बोलिरहेका हुँदारहेछौ। हामीले प्रतिष्ठानको कविता गोष्ठीको नाममा त्यस्तै कविता वाचन गर्यौ, विमर्श गर्यौ र ती कविताका फूलहरू चढाएर बिदा भयौँ। मनमा शीत झरिरहेको थियो, "म मातृभूमिसित जीवनमा फेरि जोडिनु सक्छु कि सक्दिनँ। अब यतिकै टुक्रिन्दै जाने हो हाम्रो यात्रा !"


















