
डीबू मगर
फेरि दौड शुरु भएको छ
फेरि चाड शुरु भएको छ
फेरि मेला शुरु भएको छ
लिगलिग कोटको परम्परा
फेरि एक पटक दोहोरिएको छ
एकादेशको राजधानी काठमाण्डौमा
कुर्सी दौड शुरु भएको छ
यस पटक
त्यो बेला जस्तो राजा हुन
हस्याङ् फस्याङ् गर्दै बुर्कुसी मार्नु छैन
चिटचिट पसिना काड्दै उकालो नाप्नुपनि छैन
किनकि
स्पर्धा 'क्याट म्यान डू' महानगरीमा हुँदै छ
अनि खेल 'म्यान'को नभएर 'क्याट' वीचको हुँदैछ
क्याट माने बिरालो
हो यस पटक खेल बिरालो बिरालो वीच हुँदैछ
चाटुकार बिरालोहरुको वीच
ढाडे बिरालोहरुको वीच
बिरालोहरु तयारीमा लागिसकेका छन्
नाक बजाउन थलिसकेका छन्
ङुर्ङुराउन थालिसकेका छन्
कोही जुँगामा ताउ लाउँदै छन्
कोही जिब्रोले हात चाट्दै छन्
सकेसम्म पुग्न पाउँ भन्दै
अरुहरुका खुट्टामा लुट्पुटिंदै छन्
जसरी हुन्छ, जे गरेर हुन्छ
त्यो जादूमय कुर्सी हत्त्याउन कस्सिएका छन्
हामीलाई थाहा छ
यी दुध खान पल्केका बिरालाहरु हुन्
यिनले मुसा मार्ने छैनन्
र मुसा मार्न जान लागेकापनि होइनन्
त्यो चटके कुर्सीमा पुगेपछि
पुग्नेले चटक देखाउन थाल्ने छ
एकपटक पुच्छर ठाडो,टाउको तल पार्दै
हामीलाई अभिवादन गर्ने छ
सहयोगको लागि धन्यवाद् दिने छ
त्यसपछि
जुँगामा ताउ लाउनु,खानु,पिउनु
ऐस आराम गर्नु, हाइ काड्नु, निंदाउनु
मात्र उद्घाटनमा भाग लिनु
अनि विदेश सयर गर्नु
उसको दैनिकी हुने छ
अरु केही माखो मार्ने छैन
आफूले काम गर्न त चाहेकै हो
तर अरुहरुले गर्न नदिएको ढोङ पिट्ने छ
म्याउँ म्याउँ गर्ने छ, पुछर ठाडो पार्ने छ
फेरि हामीलाई अभिवादन् गर्ने छ
यो उसको अभिनय हो
यो उसको चटक हो
हामी
त्यही चटकेको फन्दामा परेका तमासेहरु हौं
उसको चटकमा मोहित हुन्छौ, मक्ख पर्छौं
अझपनि
उसैलाई ताली लाइरहेका हुने छौं
उसैलाइ बोकिरहेका हुने छौं

















