HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home साहित्य चुनवानमा दशैँको कविता र तिहारको फूल

चुनवानमा दशैँको कविता र तिहारको फूल

E-mail Print PDF
AddThis Social Bookmark Button
देश सुब्बा, हङकङ

यही अक्टोबर ४ तारिख आइतबार कोजाग्रत पूणिर्माको साँझ सधैँ चुनवानको म्याकडोनाल्डमा अशोक राई, डि.बी. पालुङ्वा, अरुण राई, दीपा एवाई राई र म देश सुब्बा ८ बजे भेला भयौँ र कविता बोल्यौँ, कविता सुन्यौ। त्यहाँ कविताको डबली जम्यो। ती कविताहरूमा देश थियो, प्रवास थियो, दशैँ थियो अनि जान लागेको शरद्को टुक्रा र आउन लागेको तिहारको फूल। कविता बोल्नेमा अशोक राई थिए, डि.बी. पालुङ्वा थिए, केन्द्रमा थिई धपक्क बलिरहेकी "अन्तराष्ट्रिय अदालतमा रामको अग्नि परीक्षा र नाङ्गी द्रौपती" की रचयिता कवियत्री दीपा एवाई राई। स्रोता भन्यौ या समिक्षक थियौ अरुण र म। पहिला डि.बी. पालुङ्वाको कविता "नागरिक सर्वोच्चतमा मेरो मत जाहेर" कवितामा निकै लामो बहस भयो। त्यो कविताले नागरिक सर्वोच्चतामा हाम्रो मत जाहेर गरेको थियो। अनि त्यस साँझ महफिलमा जमे दीपाका कविताहरू "युगान्ती सौता हुँ हजुर, एक अर्धवृत परिधिबाट तिमीलाई आव्हान छ।" उनका कविताहरूले युगको आव्हान गरिरहेका थिए, त्यहाँ सुन्यौ विगत र वर्तमानको शंखघोष। समयका समानान्तर कविता ओर्लिरहेका थिए जगतमा। 
 
म्याकडोनाल्डको जाडोले कान समाइरहेको थियो, विचरा आँखाहरू टुलुटुलु हेरिरहेका थिए पर पर साँझको क्षितिज ! बिमल राईको बारेमा अघिल्लो दिन मात्र विशेष रंगवादी कवि धर्मेन्द्रविक्रम नेम्बाङ्सँग सम्पर्क भएको थियो। उनले सुनाए, "हङकङको ठूलो खाममा गीत बोकेर बिमलजी डा.गोविन्दराज भट्टराईको घरमा जमेको साहित्यिक कार्यक्रममा पुगेका थिए। उनका गीतहरू निकै जमे।" यो समाचार डबलीमा सुनाएँ। सबैले त्यो समाचारलाई उसको उपस्थिति माने। यसै सिलसिलामा मैले नेपाल जाँदाको केही जानकारी सुनाए ब्रेकमा। डा. गोविन्दराज भट्टराईद्वारा लिखित उत्तर आधुनिक विमर्शको "हङकङेली नेपाली साहित्य" बि.ए.को नेपाली विषयको पाठयक्रममा यसै शैक्षिक सत्रदेखि पढाइ हुन थालेको। यो सुनेर सबैलाई उत्साह र हर्ष लाग्यो। डि.बी. भन्दैथिए, "हाम्रा दुःख नेपालले देख्दैरहेछ।" अनि सुनाएँ, हामीले प्रकाशित गरेको पुस्तकहरू सम्बन्धीत समालोचकको हातमा, पुस्तकालय र सामाजिक संस्थातिर नगएको कुरा। त्यसलाई हामीले आफ्नो कमजोरी मान्यौ। फेरि म गफिन थालेँ, "त्रिभुवन विश्व विद्यालयका सोधका विद्यार्थी दीपक सुबेदीले हङकङेली नेपाली कला र साहित्यको थेसिस बुझाउँदै छन्। " यसले पनि रमाइलो थप्यो। 

चन्द्र सम्बाहाम्फे जो हाम्रा सहयात्री थिए, यस कवितामय साँझमा भोलिको कामको चपेटाले उपस्थित हुन सकेनन्, हामीलाई अभाव खड्किरहृयो। किनभने उनी एउटा हङकङका पुराना राम्रा कवि र समालोचक थिए। 

अरुणले यी सबै सुनेर आफ्नो व्यक्तिको मत जाहेर गरे। उनको जाहेरी जहिले पनि न्युट्रल प्लस पोजेटिभ हुने गर्छ। 

त्यो डबली साहित्यकारहरूको थियो, आकाशजस्तै। हामी त्यस साँझमा पनि मन फारी फारी हेरिरहेका थियौ, जोर्डन, वानचाइ, युनलङ, हङकङका समुद्र, डाँडापाखा र बिबिक्युका भरिलो स्पटहरू कोही आउँदैछन् कि भनेर। त्यो हेराइ बिमल राई, अशोक राईका शब्द शब्दमा निकै अगाडिदेखि बोलिरहेका थिए। सिङ्गो हङकङेली साहित्य एउटा रेलगाडीमा जाँदैथियो, हामी साना साना डिब्बामा समेटिएर समानान्तर मनका धनीहरू हिँडिरहेका थियौ। 

त्यहाँ छुटिरहेका थिए, बर्तोल्त ब्रेख्त, शेली, धर्मवीर भारती, सुजन सोन्टयाग, देवकोटा, पारीजात र काइलाहरू। दशैंले छोडेर गएको सयपत्री, गोदावरी, लालुपाते र पहेँलो जमरा सम्झियौ हामीले। 

अशोकले पढेर सुनाए मेरो पुरानो कविता "हङकङमा कविताबाट" कता कता मन पुरानो कुराहरूले भरिएर आयो। नेपालबाट मैले समष्टि पत्रिका लिएर आएको थिएँ। त्यो पत्रिका कृषि विकास बैंकबाट निस्किन्थ्यो, यसका सम्पादक कृष्ण धराबासी थिए। यो पत्रिका चर्चा गर्नुको कारण यस कवितामा अशोक राईको "अलर्ट रातहरू" कविता छापिएको थियो। त्यसमा पनि एक कलम चर्चा गर्‍यौँ। 
 
म्याकडोनाल्टको जाडो हामीलाई निलिरहेको थियो। त्यस कवितामय साँझमा २०६६ सालको दशैँ हामीलाई छोडेर जाँदैथ्यो, आउँदैथ्यो तिहारका हँसिला फूलहरू। हङकङका चिनाहरूलाई मून केक फेस्टिबलले निलेर छोक्रा बनाएको थियो भरखरै। हामी नेपालीलाई भने साँगुरी डाँडा, माछापुछ्रे हिमालबाट आइरहेको देउसी, भैलोको मनप्रिय आवाजले छुन छुन खोजेको थियो। सयपत्री, मखमली, लालुपाते, गोदावरी फूलहरू तिहार बोलाइरहेका थिए। हामीले पनि यही म्याकडोनाल्टको टेबलकुर्सीभरि सयपत्री, मखमली, लालुपाते, देउसी, भैलो सबै कविता बोकेर फुलोस भनेर कामना गर्‍यौ। 

भोलिपल्ट दीपाले फोन गरेर "दाई हाम्रो कोषको पैसा उठाउन त भुलिएछ नि" भनिन्। मैले त्यतिखेर सिग्मैण्ड फ्रइडको गल्तीको मनोविज्ञानः ३ सम्झिन पुगेँ।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)