अनाम धरान
चिनिया चोक,धरान ३
फोनः ०२५ ५२२२१७, ९८१४३९९८९९ (अध्यक्ष)
प्रेस विज्ञप्तीनेपाली संस्कृतिको विरासतको रुपमा रहेको मिथिला संस्कृतिका अगुवा संस्था मिथिला नाट्यकला परिषद समेतको सहभागितामा जनकपुरको रामानन्द चोकमा भएको धर्ना कार्यक्रममा हिजो भएको बम विस्फोटनको घटनाको हामी अत्यन्तै क्षोभ सहित घोर भत्सर्ना गर्दछौं । हिंसा कहिले पनि समाधान होईन भन्ने बारम्बार प्रमाणित भएको कुरा हो । अझ त्यसमाथि संस्कृतिकर्मीहरु त झन आप्mना हरेक विमतिहरुलाई पनि कलात्मक ढंगले प्रस्तुत गर्दै आईरहेको समुह हो । कलाले हिंसालाई कहिल्यै स्थान दिएन । त्यही पृष्ठभुमिमा विगत लामो समय देखि शान्तिपूर्ण र कलात्मक शैलीमा मिथिला संस्कृतिलाई राष्टिय मुलधारमा ल्याउन आन्दोलनरत मिथिला नाट्यकला परिषदका कलाकारहरुको समेत हिजोको घटनामा परी दुःखद निधन भएकोमा हामी मर्माहत भएका छौं ।
यस दुःखको संगीन घडीमा सहकर्मी रंगकर्मी रञ्जू झा प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छौं । त्यसैगरी घटनामा परी निधन भएका विमल शरण ,सुरेश उपाध्याय, झगरु दास प्रति पनि श्रद्धान्जली व्यक्त गर्दछौं । साथै उक्त घटनामा परी घाईते हुनुभएका सम्पूर्ण रंगकर्मी तथा मिथिला संस्कृतिका अभियन्ताहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । साथै शोकसन्तप्त परिवारजन, मिथिला नाट्कला परिषद, सहभागी संघसंस्था, सम्पूर्ण प्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छौं । राजा जनकको बौद्धिक विरासत र सीताको अनुकरणीय धैर्य र त्यागको पृष्ठभुमि भएको समग्र मिथिलाका आम जनमानसमा दुःखको यो समयमा धैर्य धारण गर्ने असीम साहस प्राप्त होस भन्ने कामना पनि गर्दछौं ।
त्यसैगरी निधन हुनुभएका सबैलाई सांस्कृतिक शहिद घोषणा गरी उचित क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारसंग जोडदार माग गर्नुका साथै दोषी जो कोही भए पनि कार्वाहीको दायरामा ल्याउन समेत आग्रह गर्दछौं । हिंसा जुनसुकै आवरण ओढेर आए पनि त्यो हिंसा नै हो । त्यो आवरण भित्र जो सुकै भएतापनि यस्तो कायरतापूर्ण घटनालाई हामी अत्यन्तै निकृष्ट कामको संज्ञा दिन चाहन्छौं । अतः यो कायरतापूर्ण, बर्बर, अमानवीय, पाशविक घटनाको घोर निन्दा गर्दै भत्सर्ना गर्दछौं ।
राजेन्द्र रिमाल विशाल भण्डारी
कार्यकारी निर्देशक अध्यक्ष
एवं अनाम धरान परिवार



















