
प्रकाश पुनमगर बागलुङ जिल्लाको पाण्डवखानी-७ लेंगुरेमा पिता शशिराम पुनमगर र माता भीमा पुनमगरको कोखमा जन्मेका हुन्। २०६६ सालदेखि चलचित्र क्षेत्रमा होमिएका प्रकाशले त्रिभुवन विश्वविद्यालयबाट २०६५ सालमा व्यवस्थापनमा स्नातकोत्तर एम।बि।एस। गरिसकेका छन्। मगर जातिको भाषा धर्म कला र संस्कृतिको संरक्षणमा आफूलाई समर्पित गर्दै आएका पुनमगरले वर्तमान समयमा मगर जातिको एकता अपरिहार्य रहेको धारणा राख्छन्। मगर कला र संस्कृतिमा आधारित उनको पहिलो चलचित्र मायाको गाउँ यतिखेर नेपालका विभिन्न भागमा प्रदर्शन भइरहेका छन्। प्रभात फिल्म प्रा.लि. को पहिलो प्रस्तुती उक्त चलचित्र हालसम्म काठमाडौं पोखरा बागलुङ गलकोट लगायतका ठाउँहरुमा प्रदर्शन भइसकेका छन् भने अन्यत्र पनि प्रदर्शनको तयारीमा छ। चलचित्र र समसामयिक विषयमा गरिएको कुराकानीः
चलचित्र क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
म आफैं एउटा सिर्जनालाई मन पराउने मान्छे र चलचित्रमार्फत् आफ्ना सिर्जनालाई दर्शकमाझ प्रस्तुत गर्न सकिन्छ भन्ने मान्यताका साथ यस क्षेत्रमा प्रवेश गरें।
यस चलचित्रमा जातीय कथावस्तुलाई जोड्नुको कारण ?
चलचित्र आफैंमा एउटा कला र संस्कृतिलाई प्रस्तुत गर्ने राम्रो माध्यम हो। त्यसमा पनि म आफू नेपालको एक प्रमुख आदिवासी जनजाति समुदाय मगरको सन्तान भएका नाताले यसमा मगर जातिको कला र संस्कृतिलाई पस्कनु उचित ठानें। चलचित्र भनेको सबैले बुझ्ने एउटा सजिलो माध्यम पनि भएकाले मैले मगर जातिको कथावस्तुलाई यसमा प्रस्तुत गर्ने प्रयास गरेको छु। जुनसुकै चलचित्रमा कुनै न कुनै पक्षलाई विषयवस्तुका रुपमा लिइएको त हुन्छ नै।