HongKongNepali.com, The Next Media

Wednesday
Oct 22nd
Home विचार / दृष्टिकोण प्रथम सहिदका हकदार लखन थापा मगर

प्रथम सहिदका हकदार लखन थापा मगर

E-mail Print PDF
AddThis Social Bookmark Button

उमेशबहादुर रानामगर

२०११ डिसेम्बर ३०, नेपालका प्रथम सहिद लखन थापाबारे हालसम्म सवैभन्दा बढी लेख, रचना र कृतिहरू प्रकाशित भएका छन्। तापनि उनको बारेमा प्रशस्तै टिकाटिप्पणी, छलफल र बहसहरू चलाइएका छन् जुन अन्य सहिदहरूको तुलनामा अधिकाधिक रहेको देखिन्छ। उनलाई कसैले सिद्ध व्यक्ति त कसैले राणाकालीन सहिदको रूपमा मानेको र कसैकसैले मिश्रितरूपमा बुझेको पाइन्छ। नेपाली इतिहासको अध्ययन गर्दा लखन थापा नाम गरेका दुई अलगअलग व्यक्तिहरू भिन्दाभिन्दै समयमा देखा परेका र अलगअलग पहिचान बोकेका महान पुरुषहरू हुन्। यसमा कसैले भ्रमित हुनुपर्ने अवस्था छैन।

एकै जिल्लाका, एकै नामका तर भिन्नभिन्न कालखण्डमा देखा परेका यी दुई हस्तीहरूबारे कतिपय लेखक र विद्वानहरूले सर्वसाधारणलाई समेत भ्रमित पारेका छन्। राजा राम शाहको पालामा प्रमुख भारदारका रूपमा रहेका सिद्ध लखन थापा एक चमत्कारी व्यक्ति र गोरखा मनकामनाका संस्थापक पुजारी थिए भने अर्का व्यक्ति सहिद लखन थापा हुन्, जो जङ्गबहादुर राणाको अत्याचारी शासन विरुद्ध गोरखामा ठूलो जनविद्रोह मच्चाउने एक वीर नेपाली सैनिक थिए, जसलाई निर्ममतापूर्वक फाँसी दिएर मारियो। यहाँ स्मरणीय कुरा के पनि छ भने सिद्ध लखन थापाबारे हाम्रा गाउँघरहरूमा प्रचलित कतिपय किंवदन्ती र घटनाहरूले सहिद लखन थापाको महान योगदानमा थुप्रै अन्योल थपिदिएको पाइन्छ। सहिद लखन थापा एक असाधारण व्यक्ति भएकाले उनी नेपालका प्रथम सहिद पनि हुन् भन्ने कुरामा यहाँ केही तथ्यहरू राख्न चाहन्छु।

सहिद लखन थापा एक दक्ष र कुशल सैनिक थिए, तर पनि उनले आफ्नो जागिरको माया मारेर देशको बिगँ्रदो राजनैतिक, सामाजिक यथार्थलाई विश्लेषण गर्दै एक सच्चा देशभक्त भएर तिनलाई व्यवस्थित पार्ने ठूलो जिम्मेवारी उठाए। आफ्नो जीवनको पर्वाह नगरी जङ्गबहादुर जस्ता क्रुर, हुकुमी, शक्तिशाली र जल्दोबल्दो शासकलाई समाप्त पारेर देशमा सुनौलो विहानी भित्राउने अभियानमा हिम्मतका साथ जुटे। उनी सवै नेपालीले स्वतन्त्रतापूर्वक बाँच्न पाउने सत्ययुगको जस्तो उदार र भेदभावरहित शासन व्यवस्था अर्थात प्रजातन्त्र ल्याउन चाहान्थे। लखन थापाले आफ्नो जीवनकालमा गरेका अनेकौं प्रयत्नहरूलाई निम्नानुसारका बुँदाहरूमा यसरी प्रस्तुत गर्न सकिन्छ –

(क) उनले राणा शासन विरुद्ध जनस्तरबाट लड्न ठूलो संख्यामा स्थानीय युवा र पूर्व सैनिकहरूलाई संगठित गरेर विद्रोहीहरूको फौज बनाएको, स्थानीय जनताको सहयोग लिएर विद्रोही किल्ला निर्माण गरेको र आफ्ना मिलिसियाहरूलाई आवश्यक रसदपानी, हातहतियार र तालिमहरूको व्यवस्थापन गरेको देखिन्छ भने अर्कातिर जङ्गबहादुरको निरङ्कुश शासनसत्तालाई ठाडो चुनौती दिन विद्रोहीहरूलाई सामेल गर्दै समानान्तर सरकारसमेत गठन गरेको पाइन्छ। आफ्ना अनुयायीहरूको आग्रहमा उनी मुख्तियार बनेको र अन्य विद्रोहीहरू मध्ये कसैलाई सरकारको त कसैलाई सेनाको प्रमुख जिम्मेवारीहरू दिइएको देखिन्छ।

(ख) वि.सं.१९१० को मुलुकी ऐन मार्फत् जङ्गबहादुरले नेपाली समाजमा धर्म, जातिपाती र छुवाछुत जस्ता अनेकौ विभेदहरू सृजना गरेको र यसबाट असन्तुष्ट बनेका लखन थापाले धर्मभीरु नेपाली समाजको रूपान्तरणका लागि जोसमनी सन्तपरम्परालाई अँगालेको देखिन्छ। उनले समाजको जातीय एकता र सद्भावलाई अक्षुण्ण राख्न सर्वसाधारणलाई जोसमनी मततिर आकर्षित गरेका हुन्। यो मतमा राजाप्रजा दुवैलाई हेर्ने समान दृष्टिकोण रहेकोले कसैलाई पनि उचनिचको भेदभाव गरिंदैन। यसरी परम्परागत धर्मको आड लिएर उनले सवैलाई गोलबन्द गराउँदै जागरुक बनाएको र भेलामा एकत्रित जनसमुदायलाई प्रचलित धर्मरक्षाको खातिर आव्हान गर्दै राणा शासनको विरोधमा उत्रनसमेत पे्ररित गरेको पाइन्छ।

(ग) लखन थापा र उनका समर्थक वा अनुयायीहरूले गोरखाको गाउँघर र बस्तीबस्ती डुलेर अङ्ग्रेजको दलाली गर्दै उनीहरूकै साम्राज्यवादी नीतिमा हिंडेका जङ्गबहादुर विरुद्ध सत्ययुगको जस्तो सुनौलो (प्रजातान्त्रिक) शासन व्यवस्था ल्याउन पर्याप्त राजनैतिक चेतना प्रवाह गरेको देखिन्छ। उनको काला कर्तुतहरूको भण्डाफोर गर्दै हिंडेपछि गोरखामा क्रमशः विद्रोहको जनलहर पैदा हुँदै गएको थियो। विद्रोहीहरूले क्रमशः भारी जनसमर्थन पनि जुटाउँदै गए। लखन थापाका सेनाहरूले घरघरमा खँुडा, तरवार, ढाल, भाला आदि घरेलु हातहतियारहरू बाँडेको अनि ठूलो मात्रामा युद्धखर्च र अन्नपातहरू संकलन गरेको पाइन्छ।

वि.सं.१९३३ को यो घटनाक्रम भन्दा पहिले कतिपय हत्या, षड्यन्त्र र संघर्षमा थुप्रै देशभक्तहरू मारिएका छन्। उनीहरूको वीरता र साहस पनि उल्लेखनीय रहेको छ। तथापि राष्ट्र, राष्ट्रियता र जनअधिकार वहालीका निम्ति ती घटनाहरू योजनावद्ध, संगठित र बृहतरूपले नभै हठातरूपले आएका छन्। विशेषतः राणा शासनकालमा सत्ता, पदाधिकार, धनसम्पत्ति, महत्वकाँक्षा र प्रतिशोध जस्ता अनेकौं व्यक्तिगत वा पारिवारिक स्वार्थका खातिर थुप्रै षड्यन्त्र र संघर्षहरू भएका छन्। तर तिनले राजनैतिक, सामाजिक महत्व राख्दैनन्।

जङ्गबहादुरको अन्याय, अत्याचार विरुद्ध कहिले साधारण व्यक्तिको रूपमा, कहिले साधुसन्तको भेषमा, कहिले सशस्त्र सैनिक अनि कहिले राजनेताको रूपमा बहुआयामिक भूमिका निर्वाह गर्दै लखन थापाले गोरखाका सर्वसाधारणलाई एकत्रित गरेको देखिन्छ। योजनावद्धरूपले आएका यी रणनीतिहरूमा उनी सफल देखिन्छन्। उनको सैन्य अभियानलाई त्यसबेलाका जनताहरूले उत्साहपूर्वक साथ दिएको पनि देखिन्छ तर योे तयारीको सुर्इंको जङ्गबहादुरले पाएकाले त्यसलाई दमन गर्न उनको आदेशमा देवीदत्त गण बुङ्कोट (गोरखा) पुगेको, गणसंग विद्रोही सेनाको चर्को भिडन्त भएको बताइन्छ। भनिन्छ, त्यो विद्रोह दवाउन सेनापति धीर शमशेरलाई पनि हम्मे–हम्मे नै परेको थियो। लखन थापालाई निरङ्कुश राणा शासन विरुद्ध ठूलो जनलहर पैदा गर्दै क्रान्तिको विगुल फुके बापत वि.सं.१९३३ सालको फागुण महिनामा रूखमा झुण्ड््याएर मृत्युदण्ड दिइयो। उनी संगसंगै अन्य विद्रोहीहरू पनि वलिमा चढ्न पुगे। यसरी जङ्गबहादुरको जहानियाँ शासनको विकल्पमा सुनौलो विहानी ल्याउन चाहने लखन थापाले तत्कालीन नेपाली जनतामा जगाएको राजनैतिक, सामाजिक एवं धार्मिक चेतनालाई नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रारम्भविन्दु मान्न सकिन्छ र यसलाई विशेष महत्वका साथ लिनु आवश्यक छ। नेपालको इतिहासमा जनस्तरबाट संगठितरूपले उठेको यो विद्रोह पहिलो भएकोले यसको आफ्नै उचाईं र महत्व छ। यस अघिका विद्रोहहरूले यस्तो बृहत् रूप वा आकार लिएको पाइदैन। त्यसैले लखन थापा यस विद्रोहका नायक, अग्रदुत वा सुत्रधारका रूपमा चिनिन्छन्। उनको निश्वार्थ त्याग, समर्पण र वलिदान नेपालकै इतिहासमा अद्वितीय सावित भएकोले उनी प्रथम सहिदका वास्तविक हकदार हुन्।

सहिद लखन थापाले आफूलाई ‘म सिद्ध लखन थापाको अवतार हूँ’ र ‘जङ्गबहादुरको शासन अन्त्य गर्न मनकामना देवीले वरदान दिएकी छिन्’ भन्ने प्रचारित भनाइहरू त्यसबेलाका अशिक्षित र धर्मभीरु नेपाली समाजलाई आफ्नो अभियानमा सरिक गराउने प्रभावकारी रणनीतिको रूपमा आएको देखिन्छ। शायद मगर जातिको कुलमा जन्मिएको कारणले हो कि लखन थापालाई अझै पनि पूर्वाग्रही नजरले हेर्ने गरिएको र उनको वलिदानी संघर्षबारे भ्रमपूर्ण कुराहरू प्रचारमा ल्याउने गरिएको छ। यस घटनाका ऐतिहासिक प्रमाणहरू तत्कालीन राज्यसत्ताबाट नष्ट गरिएको हुँदा ती दस्तावेजहरू अब अप्राप्य छन्। त्यसैले सहिद लखन थापाबारे कुनै सन्देह राख्नु भन्दा हामी सवैले खुल्ला बहसमा उत्रनु बुद्धिमानी ठहर्छ।

लखन थापाले सञ्चालन गरेको विद्रोहमा स्पष्ट राजनीतिक दृष्टिकोण, कुशल नेतृत्व, सशस्त्र तयारी, भारी जनसमर्थन र जनसहभागिता आदि सबै पक्षहरू सामेल रहेको देखिन्छ। यसरी वलियो जनआधार निर्माण गरेर आरम्भ गरिएको यो विद्रोह उच्चकोटीकोे रहेको देखिन्छ। जङ्गबहादुरको सत्तालाई खुल्लेआम चुनौती दिन सक्ने लखन थापा कुनै साधारण वीर होइनन्। त्यसैले उनी जस्ता होनहार र साहसी व्यक्ति सिपाहीबाट पदोन्नति हुँदै कप्तानको दर्जासम्म पुग्नुलाई त्यति अपत्यारिलो पनि देखिंदैन। इतिहासमा जहिले पनि सत्ताधारीहरूकै हालीमुहाली चल्ने हुनाले तत्कालीन राणा शासकहरू लज्जित र अपमानित हुनेगरी प्रस्तुत घटनाका वास्तविक पक्षलाई हालसम्म उजागर गरिएको छैन। प्रजातान्त्रिककालमा लेखिएका इतिहासमा पनि तथ्यहरूलाई बङ्ग्याइएको र भ्रमपूर्ण बनाइएको छ। तर इतिहास इतिहासै हो, इतिहास नलेखिंदैमा वा तथ्यहरू बङ्ग्याइंदैमा त्यसको वास्तविकता त्यसै हराउँदो रहेनछ। सत्य घटनाको कुनै दिन निष्पक्ष मूल्याङ्कन र लेखाजोखा अवश्य हुने रहेछ। पुराना जनश्रुतिहरू, स्थानीय बुढापाकाहरूका कथन, ऐतिहासिक घटनाक्रम र तिनका अध्ययन, विश्लेषणहरू पनि इतिहासका भरपर्दा श्रोतहरू हुन्। प्राप्त तथ्यहरूका आधारमा हेर्दा लखन थापा नेपाली सहिदहरूको सूचीमा सवैभन्दा अग्रज, अगुवा, उत्कृष्ट र अत्यन्त प्रेरणादायी साबित भएकाले उनलाई नेपालकै प्रथम सहिदको उपमा वा दर्जा दिनु अत्यन्त न्यायसंगत ठहरिन्छ।

(लेखक: प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठानको उपाध्यक्ष हुनुहुन्छ।)

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

Good News!

free counters

(Since April 2009)