मध्य वासिङ्टन डिसीको भिडभाड हुने क्षेत्र डुपन्ट सर्कलमा खुलेको रेस्टुरेन्ट 'दालचिनी'ले नेपाली कफीको महक अमेरिकामा छर्न थालेको छ। लस एन्जलस, सान्टियागो र टेक्ससमा केही महिनामै नेपाली कफी बेचिने रेस्टरेन्ट खोलिनेछन्।अमेरिकामा बेचिने प्रत्येक कफीको चुस्कीमा नेपाल स्मरण गराउने आफ्नो योजना पनि प्रष्ट पार्छन् प्रधान। 'यसका लागि हामीले कफीको कपमा सगरमाथाको चित्र प्रिन्ट गरेका छौं।'
आठ वर्षअघि नेपाली कफी अमेरिकी बजारमा निर्यात हुन थाले पनि रेस्टुरेन्ट नै खुलेको बल्ल हो। पाल्पा, अर्घाखाँची, तनहुँ, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, पर्वत, गोर्खामा कफीखेती विस्तार भएपछि नेपाली उत्पादन निर्यात हुन थालेको थियो। 'अमेरिकी बजारमा हिमाली भेगमा उत्पादन गरिएका कफीको माग बढ्न थालेको छ,' प्रधान भन्छन्, 'हिमालयन जाभाको फ्रेन्चाइज यसै आधारमा परिकल्पना गरिएको हो।'
अमेरिकामा स्टारबक्स, ग्रिन माउन्टेन, जिवालिया, फलगरर्स, क्युरिङजस्ता कफीका फ्रेन्चाइज छन्। अमेरिकाभरि फैलिएका यी चर्चित ब्रान्डको प्रतिष्पर्धामा नेपाली कफीलाई उभ्याउनु सजिलो भने हुने छैन। 'एसियामा उत्पादन गरिएको कफीलाई अमेरिकी बजारमा बढी मन पराइने भएकाले हामीले आशा बाँधेका छौं,' उनी भन्छन्, 'हामी यो चुनौतीलाई अवसरका रूपमा लिन चाहन्छौं।' प्रधानलाई अर्का व्यवसायी आनन्द गुरुङले सघाएका छन्।
पछिल्लो दसकमा अमेरिकामा रहेका नेपाली रेस्टुरेन्ट व्यवसायमा आकर्षित हुन थालेपछि हिमालयन जाभाले कफीबजारको सम्भावना देखेको थियो। 'नेपाली खानामात्र होइन, नेपालमा उत्पादित कफीको पनि बजार राम्रो छ, हामी हिमालयन जाभामार्फत यो स्थापित गर्न चाहन्छौं,' प्रधान भन्छन्।
फ्रेन्चाइजका लागि एक दर्जनभन्दा बढी लगानीकर्ता तयार रहेको जानकारी दिने प्रधान एसिया र नेपालमा उत्पादित उत्कृष्ट कफी अमेरिकी बजारमा स्थापित गराउने बताउँछन्। उचाइमा फलेको कफीको स्वाद अमेरिकीले मन पराउने भएकाले हिमालयन जाभा स्थापित गर्ने सपना साकार पार्न समय नलाग्ने बताउँछन् यी व्यवसायी।
नेपाली राजदूत शंकर शर्मा नेपाली कफी अमेरिकीले मन पराउने दृष्टान्त पस्कँदै भन्छन्, 'उपहार पाएको नेपाली कफी बिछट्ट मन पराएर हिलारी क्लिन्टनले 'यस्तो स्वाद अहिलेसम्म नखाएको' बताएकी थिइन्।'
अमेरिकामा सहरहरूमा हिमालयन जाभाको फ्रेन्चाइज खोलेपछि अन्य देशहरूतिर लम्कने जानकारी दिन्छन् प्रधान, 'क्यानडा अर्को गन्तव्य हो।' बाह्र वर्षअघि ठमेलमा खुलेको हिमालयन जाभाको सफलताले यहाँसम्म डोर्याएको उनी गर्व गर्छन् र भन्छन्, 'अबको एक दसकमा अमेरिकामा पनि नेपाली फ्रेन्चाइज स्थापित गर्नेछौ।'


















