HongKongNepali.com, The Next Media

Saturday
May 19th
Home विचार / दृष्टिकोण मान्छे हुन् ता यस्ता ('जीव-सीम' Dead yet Alive वृत्तचित्रको समिक्षा)

मान्छे हुन् ता यस्ता ('जीव-सीम' Dead yet Alive वृत्तचित्रको समिक्षा)

E-mail Print PDF
AddThis Social Bookmark Button
"डकुमेण्ट्रीमा सम्माहित जीवित पात्रलाई नक्कली भन्नु भनेको घर बसेर नेपाल देख्ने भने जस्तै हो। उनीहरुले कि त सिँजालीलाई भेटेका छैनन् कि त उनी प्रति पूर्वाग्रह पालेका छन्। उनीसँगको साक्षात्कारवाटै थाहा लाग्छ उनी कति क्षमतावान छन् भन्ने कुरो। ती प्रकाशित कविता उनी वाटै सृजित हुन भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ। ढुंगालाई देउता मान्ने अनि मरेपछि प्रसँशा गर्ने हामी नेपालीको बानीले पनि त्यसो भनेका हुन सक्छन्।"

"डेढ लाखसम्म पर्ने विलासी खाटमा लेटिने हाम्रा सर्वहारा नेताहरुको अगाडि पाटे चप्पल लगाउँदै वुढेसकालमा सकि नसकि वारी जोतेको देख्दा हाम्रा आदिकवि अलि वढी आदर्श भएका हुन कि जस्तो लाग्छ।"

डीवू मगर
 
गत आईतवार, दुई एप्रलको साँझ,हाम्रा जांगरिला युवा समाजसेवी सन्जोग लाफा मगरद्वारा परिकल्पित र निर्देशित तथा जित बहादुर सिँजाली मगर साहित्य प्रतिष्ठानद्वारा निर्मित वृत्तचित्र 'जीव-सीम' (Dead yet Alive) हेर्ने अवसर मिल्यो। मगर साहित्यका आदिकवि जीत बहादुर सिँजाली मगरको जीवनी आधारित वृत्तचित्र (सजिलो लेखाइको लागि डकुमेण्ट्री)हो 'जीव-सीम' (Dead yet Alive)। स्रस्टाको बारेमा डकुमेण्ट्री बन्नु आफैमा महत्वपूर्ण कुरा त छंदैछ त्यसमाथि मगरको वारेमा निर्माण हुनुले विशेष अर्थ राख्ने नै भयो। मगर साहित्यको छोटो र साँगुरो बाटोमा यत्रो बडेमानको भारी लिएर हिंड्न खोज्नु कम चानचुने कुरो होइन। दाँजोमा ईतिहास लेखनी सजिलो हुन्छ किनकि यसमा सम्पूर्ण जिम्मेवारी लेखक स्वयमको हुन्छ। तर डकुमेण्ट्रीमा लेखक विभिन्न प्रविधिहरु ,प्राविधिकहरु ,पात्रहरु तथा स्थान परिवेश संगपनि उत्तिकै अनुबन्धित भएको हुन्छ। यी दुवै ऐतिहासिक दस्तावेज हुँदा हुँदैपनि घट्नालाई लिखित दस्तावेजमा उतार्नुभन्दा श्रव्य द्रिश्यमा संग्रहित गर्नु बढी जोखिमपूर्ण हुन्छ। यस्तै अप्ठ्याराहरु झेल्दै आइपुगेको हो 'जीव सीम' हाम्रो अगाडि।

यस डकुमेण्ट्रीमा आदिकविको जीवनको विशेषगरि उत्तरार्ध पक्ष सँगेटिएको छ उनीसँगको पुनर्मिलन पछिका कुराहरु र त्यसैगरि दस्तित छन् उनको वारेमा अरुहरुवाट भनेका सुनेका जानेका कुरा। भनेका सुनेका कुराले उनी नहुँदाको बखतको अवस्थालाई इंगित गरेको छ भने अन्य पक्षले उनको आफ्नै भोगाइ र उतार चढावलाई पर्गेल्ने प्रयास गरेको छ। देखिन्छ अनि थाहा लाग्छ हामीवाट ओझेलमा रहेको बेला उनले खेप्नु परेको सास्ति कम पीडादायक थिएनन्। कुचो बेच्दै हिंड्नु,पाटे चप्पलमा खुट्टा अड्काउनु,टिवी रोगले थलिनु आदि कम दु:ख्ने घट्ना होइनन्। विरामी भएको बेला कन्त बिजोग छैन उनको। न कोही स्याहार्ने मान्छे छ न कोही औषधी दिने नै। झुप्रोमा एक्लै ख्वाइ रहेका छन् आफुलाई। शायद व्वाँसोले सिनो लुछे जस्तै उफ्री उफ्री लुछी रहेका थिए होलान् उनलाई टिवीका किटाणुहरुले। यो पल कम बिझ्ने खालको छैन।

यो डकुमेण्ट्रीमा थुप्रै कुरा पाउन सकिन्छ। जस्तै त्यो बेलाको सामाजिक आर्थिक अवस्था। उनी ओडारमा जन्मेका रहेछन्। मावलीमा जन्म हुन आँटेकोले ओडारमा जन्माइएको रहेछ। दाजुभाइको मुख हेर्नु हुँदैन त्यो बेलामा भन्ने चलन रहेछ। त्यो चलन राम्रो नराम्रो जे जस्तै भएपनि त्यसले तत्कालिन जर्जर आर्थिक सामाजिक र शैक्षिक अवस्थालाई छर्लँग पार्छ। त्यही बेला किटाणुले कसो आक्रमण गरेनछ धत्तेरिका। अर्को हो उनको त्याग। समाज उठाउनु पर्छ भन्ने उनको चेतन हो भने समाज सेवा गर्नु उनको ध्यय हो। चेतना विना सामाज विकास सम्भव छैन भन्ने उनले बुझेका थिए। त्यहि भएर पुस्तकहरु लेख्न थाले। आफ्नो जाति अति पिछडिएको छ भनेर होला शायद मगर भाषा मै लेख्न शुरु गरे। उनी जहाँ पुगे त्यहीं विद्यालय खोले शैक्षिक विकासको लागी। घुम्दै जाँदा बाँके पुगे। त्यहाँपनि विद्यालय खोले। सुकुम्वासी बस्ती बसाउन थाले र उनीहरुकै सेवामा लिन भए। यति लिन भए कि आफ्नो पूर्वार्धको सन्सारै बिर्से। अर्को हो उनको स्वभिमान। उनी स्वावलम्वन जीवन जिउन चाहन्छन्। यो उनको स्वभिमानले गर्दा हो। आफ्नो काम आफै गर्ने हो भन्ने उनको सिद्दान्त हो। त्यही भएर कुनै बेला कुछो बेच्दै हिँडे,सकी नसकी भएपनि आफ्नो खेत आफै जोत्दै रहे तर अरुको अगाडि हात पसारेनन्। यसले मान्छेलाई स्ववलम्वी र स्वभिमानी बन्न उत्प्रेरणा दिन्छ। यो डकुमेण्ट्रीवाट पाउने अर्को कुरा हो रगतको साईनो। रगतको साईनो कति गाढा हुन्छ भन्ने कुरा यहाँ भेट्न सकिन्छ। जस्तै आफ्नो आधि पाटो बिर्सेर बसेको मान्छेपनि धेरै वर्षपछि वहिनीको सम्झनाले उनकै हातवाट टीका लाउनलाई गुल्मीको ठुलो लुम्पेक पुग्छन एक अनि अर्को सिसा जस्तै जमट भएर बसेको उनको हृदयपनि बहिनीको आशुँले पगलिन्छ। र त एक किसिम वाँके छोड्न सहमत हुन्छन् उनी। र डकुमेण्ट्रीमा झल्किने अर्को पाटो हो आत्मियता। भनिन्छ मित्रताको हात बढाइयो भने संसार जित्न सकिन्छ। मित्रताको हात बाँधिनु भनेकै आत्मियता गाँसिनु हो। यहाँनेर मान्छे आफ्नो जातिभन्दा पनि अझ पर पुगेको हुन्छ अनि अझ माथि उठेको हुन्छ (यसको मतलव उसले आफ्नो जातिलाई पूरै बिर्सन्छ भन्ने होइन)। उनको बस्तीमा उनको र उनको कामको बारेमा गरिएका अन्तर हृदयी प्रसँशा अनि उनको विदाइमा दुखेको मनले त्यस्तै देखाउँछ। उनी स्वयम लगायत को महिला को वालवालिका को प्रौढ सबैको आँखावाट आशुँ को भेल बग्छ। त्यसबेला हाम्रो मन पनि त थामी नसक्नु हुन्छ। यो भयो आदि कविको बारेमा।

डकुमेण्ट्रीले छोएको अर्को पाटो हो याउनट। याउनट हेर्दा जति सरल छ सुन्दा उत्तिनै रोचक पनि। समूहमा लसक लसक मस्किदै गीत गाउनु अनि अर्को समुहको अगाडि पुगेर झुक्नुले हाम्रो संस्कारमा रहेको पाहुना प्रति गरिने आदर भावलाई झल्काउँछ। गीत फेरि कम मीठो छैन। गीतले यसो भन्छ 'मेरो एउटा बच्चा (छोरा छोरी कुनै हुन सक्छ) छ। तिम्रो बच्चा हामीलाई देउ' (विहेवारी को लागि)। अनी अर्को समूह ले भन्छ 'हाम्रो बच्चा सानै छ वरु घरसम्म जाउँ अरु केही नभए नि सुंगुर को फिलासम्म त छ नि'। यो हेर्दा यस्तो लाग्छ मगर सभ्यताको शुरु शुरुवाटै याउनट शुरु भएको हो। कतिपय विक्रित आधुनिकताले यसलाई छुने आँट गरेको पाइँदैन। बरु लोप पो हुने हो कि ? धन्न क्यामेरमा कैद गरेछन् लाफाले।

डकुमेण्ट्रीले आदिकविको पूर्वीय पाटो समेट्न नसक्नु चाहिँ यसको कम्जोरी हो। उनको जीवनको पूर्व आधि पाटो अझ भनौ भूगोलको हिसाबले त्रीसुली पारी पट्टीको पाटोलाई थोरै समेटिएको छ। त्रीसुली पारिपनि उनको आधि जीवन अडिएको जस्तो लाग्छ। हुन त त्यो जीवनको बारेमा उनी आफै त्यति खुलेर भन्न चाँहदैनन् पनि। म स्वयमले पनि जानकारी लिने प्रयास गरेको थिएँ तर पाउन सकिएन। दुइटा छोरा र एउटी छोरी रहेकोसम्म कुरो पाइयो। डकुमेण्ट्री ले काठमाडौं हुँदै त्रीसुली तिरपनि फडको मारेको भए राम्रो हुने थियो। यी भए तपसिलका कुरा। यति हुँदा हुँदै पनि डकुमेण्ट्रीमा सम्माहित जीवित पात्रलाई नक्कली भन्नु भनेको घर बसेर नेपाल देख्ने भने जस्तै हो। उनीहरुले कि त सिँजालीलाई भेटेका छैनन् कि त उनी प्रति पूर्वाग्रह पालेका छन्। उनीसँगको साक्षात्कारवाटै थाहा लाग्छ उनी कति क्षमतावान छन् भन्ने कुरो। ती प्रकाशित कविता उनी वाटै स्रिजित हुन भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ। ढुंगालाई देउता मान्ने अनि मरेपछि प्रसँशा गर्ने हामी नेपालीको बानी ले पनि त्यसो भनेका हुन सक्छन्। नभए स्वयम जीवित साक्षीलाई पनि विश्वाश नगर्ने कस्तो विडम्वना। कि त 'वाँदरले आफ्नो घरपनि बनाउँदैन अनि अर्कालाई पनि बनाउँन दिंदैन' भने जस्तो निर्देशक निर्माताको जरो खनेको हो कि ?

उहिल्यै किर्तिपुर वरिपरि कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठ को राजनीतिक प्रचार प्रसारको बेला आफु त्यसैवाट प्रभावित भै सामाजिक सेवामा लागेको बताउँछन् सिँजाली। आर्थिक मार मुंग्रीमा परेको पछौटे समाज भित्रको पनि पछौटे जाति मगर भएको ले आफ्नै जातिको उन्नति र प्रगतिको लागि मगर भाषामा पुस्तक लेख्न शुरु गरेका रे। अन्धकारमा रुमल्ली रहेको जातिलाई आफ्नै भाषाको माध्यमवाट शिक्षाको उज्यालो छर्नु पर्छ भन्ने उनको ध्यय थियो। उनलाई थाहा थियो भाषिक किरणको माध्यमवाट नै समाजको भित्रि तहसम्म पुग्न सकिन्छ। त्यसैले त्यही बाटोमा उनी लागे। बाह्र साल तिरै 'मगर समाज सुधार संघ' खोल्न पहल गर्नु अनि विधानमा व्यवस्था गरिवरि भाषा लेखन तिर लाग्नु कम सहसिक कुरो हो त? त्यसैको उपज थियो उनको 'मगर भाषौ शुरुवौ किताव' र 'मगराँती भाषाङ् ल्हीङ ड टुक्कावौ किताव'। तर पाल्पामा मगरवाटै आफुलाई थुनाइएपछि उनमा जातीय मोहभंग भएको जस्तो लाग्छ। उनको मन खुवै रोएको थियो रे त्यो बेला। त्यसपछि वर्गीय मुक्तिकै लागि आफुलाई समर्पित गरिरहे। हुन त वर्गीय मुक्तीवाटै जातीय उन्मुक्ती सम्भव छ र सामाजिक परिवर्तन सम्भव छ तर नेपालको सन्दर्भमा धेरै जात जातिहरु आर्थिक, सामाजिक उत्पिडन मा पिल्सिएका र उनीहरुको स्थिति समग्रमा निम्न बर्गीय नै रहेकोले यहाँ जातिगत विकासले पनि सामाजिक विकास सम्भव छ अथवा सामाजिक परिवर्तन सम्भव छ। तर यो अस्थाइ समाधान मात्रै हो।

जेसुकै भएपनि समग्रमा डेढ लाखसम्म पर्ने विलासी खाटमा लेटिने हाम्रा सर्वहारा नेताहरुको अगाडि पाटे चप्पल लगाउँदै वुढेसकालमा सकि नसकि वारी जोतेको देख्दा हाम्रा आदिकवि अलि वढी आदर्श भएका हुन कि जस्तो लाग्छ।

 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

सोनु थापा मगर सँगको अन्तर्वार्ता
थाहा पाएँ दोबाटोमा अल्मल्यायौ

free counters

(Since April 2009)