जे. बि. शेर्पा
पुरै दस वर्ष बिति सकेछ युरोपमा आएर जरा गाडिसकेको पनि। मलाई अझै सम्झना छ त्यो गाढ़ा हरियो रंगमा टिलिक्क टल्किने 'इमिनेन्ट'लेखिएको हाते झोला र अप्राकृतिक रूपले चाऊरिएको झैं लाग्ने अनुहार लिएर यहाँ आएको। म भने यसबीच मोटोघाटो र रातो पिरो देखिएकोछु, चाउरी पुरिएर गयो तर पनि त्यो झोला र त्यसको लामो लाम्चो, दुवै पट्टी चेन वाला खल्ति भएको र त्यसलाई छिर्के मिर्के परेको छोप्ने भएको त्यसको आकार विर्सेको कदापि छैन। ईन्द्र चोकको मारवाड़ी साहू काँ किनेको थिएँ, सुरुसुरुमा खासै राम्रो नलाग्ने मामूली झोला थियो त्यो तर पनि समय संगै जीवनको उकाली र ओराली अनि डाँडा र काँडाहरुमा लैजाँदा लैजाँदै मेरो हमसफ़र बनी सकेको थियो। देश देशावरको चक्करमा कति पल्ट त त्यसले सिरानीको काम गरेको थियो भने कहिले पिरा वा चकटी त कहिले अढ़ेसोको जिम्मेवारी वहन गरिसकेको थियो। हिसावै गर्ने हो भने चार सयमा किनेको त्यो झोलाबाट कतिहो कति फाइदा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लिई सकेको थिएँ। कहिले काहीं मन मनै लाग्थ्यो कि यदि यस झोला उत्पादक कम्पनिले यो तरीका थाहा पायो भने पक्कै पनि त्यस झोलाको विज्ञापन अर्कै किसिमले व्यापक रुपमा गर्थ्यो होला जस्तै कि "वहूपयोगी झोला" या 'मल्टी परपोज ब्याग' अनि साविक भन्दा दोब्बर भाउमा बेच्थ्यो होला र मालामाल हुन्थ्योहोला।
मेरो त्यो त्यस्तो वहुपयोगी झोलाले नेपालमा हुँदा धेरै साथ दिएको थियो त्यसैले पहिलो पटक त्यसलाई पनि विदेश लाने निर्णय गरियो, जस अनुसार त्यो हंगकंग र शेनजेन सम्म पुगेर चिनिया भूमि स्पर्श गरेको थियो। यदि ताइवान जाने काम कुरो मिलेको भए त्यो त्यहाँ पनि अवश्य पुग्ने थियो। झोला लाई पासपोर्ट र भिसा नचाहिने भएपनि त्यो म संगसंगै फर्कनु परयो। त्यसको जीवनको दोस्रो विदेश यात्रा भने मित्र रास्ट्र भारतको परेको थियो, रक्सौल हुँदै ठगिँदै ठगिँदै लामो र कष्ट पूर्ण दिल्ली बस यात्रामा कैयौ पटक कोच्चिनु परेको र भारतीय पुलिसको संकालु हेराइ सहँदै खोतलिएर अपमानित हुनु परेको थियो विचराले। निकै राम्रो लागेछ क्यारे कुन्नि,एक पटक त झन्नै अपहरणमा परेको भाई साबको हात बाट। थाईल्यांडको हारा जींसको पनि नक्कल गरि सिलाइएका जींस मै मक्ख पर्ने भारतीय समाज थियो त्यो बेलाको, त्यसैले होला काठमांडूबाट छानेर ल्याएको त्यो झोलामा आँखा नलगाउने, नलोभिने त कमै थिए र भाई साबहरु त्यो झोला, मैले लगाएको ज्याकेट अनि जुत्ता समेत किन्छु भन्दै पछीपरेर हत्ते गर्थे।
झोलाहरू हज्जारौ थरिपरिका होलान, मैले पनि जिवनमा १५, २० थरिका झोलाहरू किनी सकेको छु तर सदा सदैवको लागि अब त्यही झोला मात्र प्यारो र पूजनीय लागिरहेछ। जीवनका उकाली ओरालीका मनग्य सम्झनाहरु त्यस झोला सित गाँसिएका छन, अल्झीएका छन। अझ मेरो मात्र नभएर हितैषी, आफन्त, इष्ट मित्रहरु समेतको सम्झनामा बसेको छ त्यो हरियो झोला। तेस्रो पटकको विदेश शयरमा त्यो झोला बेल्जियमसम्म आईपुगेको थियो र केही महिना पछि कोशेली समेत बोकर त्यो फिर्ता भयो, लाग्थ्यो त्यो फेरी अरु कसैको प्रतीक्षामा छ, कसैलाई विदेश पुर्याउन पर्खि रहेछ, न भन्दै अमेरिका जाने एक आफंतले त्यहि झोला लिएर गयो तर फिर्ता पठाउने शर्तमा र शर्त अनुसार लगतै फिर्ता पनि भयो। करीब पाँच छ पटकको विदेशको चक्कर लगाईं सके पछि त्यो झोला ले आफ्नो विशेष पहिचान बनाई सकेको थियो, कतिसम्म भने त्यो झोला लिएर जो विदेश जान्छ त्यसको विदेश यात्रा फलिफाप पूर्ण हुन्छ भन्ने सोच समेत बनी सकेको थियो र झोला माँग्न आउनेहरु थपिँदै गए, लिएर जानेहरू पनि विदेशमा जरा गाडेर बस्न थालिसकेका थिए। अब हामी सवैको सोचाइमा त्यो मामूली झोला नभई एक लक्षिणको, विशेष शक्ति युक्त झोला बनिसकेको थियो, यसो गन्दा बेल्जियम मात्र चार पटक ओहोरदोहोर गरिसकेछ अनी अमेरिका र यु।के। तिन तिन पटक र अरु एक एक पटक पुगेको देश त कति हो कति। त्यसको पनि पासपोर्ट हुने भैदिएको भए कम्तिमा तिन वटा पासपोर्ट बिभिन्न देशका भिसाहरु ले भरिसकेको हुनेथियो, तैपनि बेलाबेलामा बिभिन्न विमानसेवाहरुका रंगीचंगी बिल्लाहरू भने झुन्ड्याएर फर्किन्थ्यो।
धेरैको फलिफाप गरेर त्यो अधवैसे झोला अब दराज भित्र थन्किएको छ र अलिक पुरानै भएपनि इज्जतका साथ बसेको छ। यसो विचार पुरयाउने हो भने त्यति धेरै नेपालीहरुलाई विदेश पुरयाएइ, भाग्य चम्काई दिइ नेपाललाई करोडौंको रेमिट्यान्स भित्र्याइ आर्थिक विकाशमा टेवा पुरयाउने त्यो झोलालाई त्यतिकै दराजमा थान्क्याएर राख्नु उचित हुदैन, हुनत म चाहन्छु यो झोला म संगै रहिरहोस तर एक सच्चा नागरिकको हैशियतले त्यस्तो स्वार्थी सोचाई पाल्नु देश विरुद्द घात गर्नु जस्तै ठानेँ, त्यसैले धेरै सोच समझ पछि के निर्क्यौल निकालेँ भने देश विकासको खातिर एक विशेष कार्यक्रम राखेर त्यो झोला नेपाल सरकारलाई हस्तांतरण गरिदिने! तर त्यसको निमित्त देश र जनताको लागी प्रतिवद्द सरकारले मेरो केही शर्तहरु मान्नु पर्नेछ र ती यस्ता हुनेछन :
१.अब उप्रान्त कसैले पनि त्यस झोलाको निजी प्रयोग गर्न पाउने छैन!
२.सकेसम्म त्यस झोलालाई २४ घंटे सुरक्षाका साथ परराष्ट्र मन्त्रालयको राह्दानी विभागमा वा त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलको प्रस्थान कक्षमा राख्नु पर्नेछ!
३.कोटी कोटी देउ देउता भएको नेपालमा अर्को 'झोले देउता' भनेर सरकारी तवरमै घोषणा गर्ने!
४. विदेश जाने हरेक नेपाली हरुलाई त्यो झोले देउता छुन दिने, पूजा गर्न दिने र उनिहरुको झोला त्यो झोले देउता संग छुवाउन अनिवार्य गर्नु पर्नेछ!
५.नेपालका नामूद ज्योतिष, लामा, पंडित वा गुरु, माताहरुबाट त्यो विलक्षण, चमत्कारिक झोलाको कसरी चिरकालीन सदुपयोग गर्न सकिन्छ भन्ने उपाय पत्ता लगाउनु पर्नेछ!
६.सकेसम्म सवै नेपालीहरुलाई विदेश जान प्रोत्साहित गर्ने र उचित वातावरण मिलाउनु पर्नेछ!
त्यसपछि हामीहरुले विदेशी भूमिमा जसरी जरा गाडेर वस्न सकेका छौं त्यसै गरि पछि आउने नेपालीहरुले पनि विदेशमा जरा गाडन सक्नेछन, देशमा रेमिट्यान्सको भरमार ओइरो लाग्नेछ, जसको प्रत्यक्ष र अप्रत्यक्ष हजारौ लाभ देश र जनताले पाउने छन। बेरोजगारी, भोकमरी, बंद हड़ताल, नारा जुलुस र अपराधहरु स्वत हराएर जानेछन, गृह मन्त्रालयको बजेट ह्वात्तै कम हुनेछ, देश विकाश गर्छु भनेर युगौं को सपना पाल्ने त्यागी नेताहरुलाई पनि अनेकों संघर्ष र जेलनेल खाने र भूमिगत हुने अवस्था आउने छैन, व्यक्तिगत स्वार्थ कै लागि पार्टीको पुच्छर बन्नेहरु सबै बिलाएर जानेछन।भीर पाखा र वन बुटयान खनी खोस्री गर्ने क्रम रोकिनेछ र विस्तारै सवै भिरपाखा वन जंगल हराभरा हुनेछ,त्यसको अर्को सकारात्मक प्रभाव सिधै पर्यटन विकाशमा पर्नेछ त्यस्तै खाले अनगिन्ति प्रभावहरुको एकमुष्ठ शक्तिले अहिले सम्म रोकीएर रहेका विकाशका चौतर्फी ढोकाहरु एकाएक खुल्नेछन, भकाभक बाटाघाटा, पुल पुलेसा र अस्पतालहरु बन्नेछन अनि दश पन्ध्र वर्ष भित्रमा नेपाल र नेपालीको कायापलट सोचे भन्दा र भाषण गरे भन्दा सजिलै हुनेछ। देश शांत र हरा भरा, जनता खुशी र राता पीरा।
७. र अन्तमा सरकारले त्यसपछि जलस्रोत, पर्यटन र औधोगिक विकाश र राजनैतिक स्थायित्वले मात्र देश विकाश हुन सक्छ भन्ने पुरानो सुगा रटाई निति त्याग्नु पर्नेछ र 'विदेश जाऔं, आफु बनौ अनी देशलाई बनाऔं' भन्ने नयाँ राष्ट्रीय नाराको सर्वत्र व्यापक प्रचारप्रशार गर्नुपर्नेछ।
अन्तमा, पुन: भन्छु "विदेश जाऔं, आफु बनौ अनि देशलाई बनाऔं!"


















