
पूर्ण बिक पहाडी
समयको माग संगै नेपालीहरु बिदेशमा रोजगारको लागी आफुले जानेको वा नेपाली खेतीपाती गरेको अनुभव लाई लिएर विदेशीने क्रम जारी छ र जारी नै रहने छ। जब सम्म नेपालमा स्वरोजगार स्थापना गर्न सकिदैन यो प्रक्रिया रोकिने वाला पनि छैन।
हाम्रो देश प्रकृतिक रुपमा धनी भए पनि बैज्ञानिक रुपमा गरिब छ। यो समय वैज्ञानिक समय हो भन्ने कुरामा कुनै दुईमत छैन। हाम्रो देशमा शिक्षा नै दुई धारको छ भने वैज्ञानिक उत्पादनमा पनि दुई शिक्षा नै लागु हुन्छ। त्यहि शिक्षा लिएका नेपालीहरु आज आफ्नो देशमा रोजगार बिहिन हुँदै बिदेशिएका छन्।
बिदेशिने नेपालीहरु पनि दुई धारका छन्। एक उच्च शिक्षा संगै नेपाली र बिदेशी नागरिक बन्ने योजना सहितका छन् भने अर्का थरि २ वा ३ वर्षको करारमा काम गरेर स्वदेस फर्किने नेपाली छन्।
कुनै पनि नेपाली सार्क राष्ट्र भन्दा बाहिर १८२ दिन भन्दा बढी विदेशमा रहन्छ भने त्यो स्वत गैरआवासीय नेपाली बन्छ भन्ने नाराको साथ अगाडी आएको नेपालीहरुलाई हित गर्ने सँस्थाको रुपमा लिएको छ। तर हित कुन थरिलाई कति भनेर कुनै खुलासा गरिएको छैन किन कि यहाँ दुई थरिका नेपालीहरु गैरआवासीय भएका छन्।
१ युरोप अमेरिका जापान रसिया अस्ट्रोलिया जस्तो देशमा पुगेका नेपालीहरु संग उच्च शिक्षा र आवश्कता अनुसारको धन पनि छ साथै आफु रहेको देशको नागरिक पनि बनिसकेका छन्। उनीहरुलाई दोहोरो नागरिकता को आवश्यता छ। कि त नेपाललाई त्याग्नु पर्यो कि त अहिले आफु रहेको देशलाई। त्यहि समस्याको कारण उनीहरु दोहोरो नागरिकताको पहलमा छन्। सरकार पनि उनीहरुको पहललाई पुरा गर्ने योजनामा छ। यो उनीहरुको लागी उपयूक्त छ जस्ले नेपाल र नेपालीहरुको लागी राम्रो नै गर्नेछ। यो स्वागतयोग्य कुरा हो।
२ खाडी अर्थात साउदी अरब कतार दुवई बहराईन कुवेत ओमन मलेशिया लिविया इजराईल लेवनानमा रहेका २० लाख नेपालीहरु न त शिक्षित छौं, शिक्षित भए पनि २४ प्रतिशत छौं, न त हामी संग आफुलाई पुग्ने पैसा कमाउन सकेका छौं, न त हामीहरु सधैभरीको लागी आफुले काम गर्दै आएको देशमा नागरिक बनेर बस्न पाउँछौ। हामीहरु त २ वा ३ वर्षको लागी भाडामा ल्याइएका नेपाली हौं। हाम्रो समय अवधि सकिनासाथ हामीले चाहेर पनि हामी अहिले काम गरिरहेको देशमा बस्न पाउँदैनौ। आफ्नो देशमा फर्कन बाध्य हुन्छौँ। यो कुरालाई किन भुल्दैछन् खाडीका गैरआवासीय नेपालीहरुले? के नाम कमाउनको लागी मात्रै गैर आवासीय बनेको हो भने भन्नु केहि छैन। होइन भने अनि कसरी हुन्छौँ त दोहोरो नागरिकता लिने गैरआवासीय नेपाली? प्रश्न यहाँ निर छ।
हामी दुई थरिका गैरआवासीय नेपाली भएको छौं। एक साँच्चीकै गैरआवासीय नेपाली र अर्को हात्तिको देखाउने दाँत मात्रको गैरआवासीय नेपाली। हामी अहिले हात्तिको देखाउने दाँत मात्रको गैरआवासीय नेपाली हौं। यदी होइनौं भने हामीले पाउने सुविधा के त? खाडीमा काम गर्ने नेपालीहरुको समस्या कति छन् यसको कुनै लेखा जोखा छैन। खाडीमा धेरै नेपालीहरुले कमाउने मासिक ४०० रियाल अर्थात ८००० रुपैया हो। यसले के गर्न सक्छन् खाडीमा रहेका नेपालीले? यी कुराहरुलाई किन नबुझेका हुन्? बुझेका छौं भने हामीले पनि आफ्नो माग राख्न सक्नु पर्छ।
मागहरु:
१ खाडीमा गैरआवासीय नेपाली बनेर नेपाल फर्कंदा सरकार वा गैरआवासीय नेपालीहरुले लगानी गरेको कलकारखानामा कामको ग्यारेन्टी हुनु पर्ने।
२ खाडीमा गैरआवासीय नेपाली बनेर नेपाल गएको अवस्थामा कुनै पनि सदस्यले नेपालमा कलकारखाना स्थापना गर्न चाहेमा ५० प्रतिसत लगानी गैरआवासीय नेपाली संघले विनाशर्तमा गरिदिनु पर्ने त्यो पनि न्युन ब्याज दरमा।
३ प्रत्येक जिल्लामा गैरआवासीय नेपाली संघ द्धारा कलकारखाना स्थापना गर्नु पर्ने।
के यो मागहरु गैरआवासीय नेपाली संघले सहमती जनाउन सक्छ त? होइन भने २ वा ३ वर्ष पछि नेपाली हुने नेपालीलाई के अर्थ राख्छ दोहोरो नागरिकता र ५० डलरको कार्ड ले? आखिर खाडीमा रहेका गैरआवासीय नेपाली हात्तीको देखाउने दाँत मात्र हो।
(लेखक गैरआवासीय नेपाली संघ साउदी अरब एन सि सिका केन्द्रीय सदस्य हुनुन्छ।)

















