Home विचार / दृष्टिकोण कथा एक क्रान्तिकारी योद्धाको

कथा एक क्रान्तिकारी योद्धाको

E-mail Print PDF
मनोज घर्तीमगर
 
"म क्रान्तिभन्दा बाहिर नजाने निर्णय लिएको छु" उसले दुधौलीपछिको एकदिन फोनमा भन्यो। "तिमी क्रान्तिभन्दा बाहिर जान हुन्न" भन्नुपर्ने मेरो दायित्वमा उसले "क्रान्तिभन्दा बाहिर जान्न" भन्दा उसको चेतना धेरै माथि भएको मैले ठानेँ। 
 
उमेश अयोग्य ! 

हस्तबहादुर रोकामगर। ऊ विगत ८ वर्षयता कमरेड उमेशबाट चिनिन्छ। जसै माओवादीको सदस्य बन्यो ऊ हस्तबहादुरबाट कमरेड उमेश बन्यो।

एउटै गाविस हो हाम्रो घर। रोल्पाको भाबाङ। उमेर पनि सँगसँगै। त्यस्तै दुई वर्षको जेठो छ ऊ। हाईस्कुल सकाएको उसले मभन्दा अलि अगावै हो।

एलएलसी दिन सदरमुकाम जानुपर्ने। ऊ भूमिगत पार्टी माओवादीको भातृसङ्गठन अखिल क्रान्तिकारीको जिल्ला सदस्य थियो। टेस्ट पास गरेपछि उमेशको नाम जिल्ला प्रहरी कार्यालय लिबाङमा "रेडकर्नर नोटिस" मा प्रकाशित भयो। त्यसपछि ऊ पूर्णकालीन भयो जनयुद्धको योद्धा भएर।

त्यसताका उमेश विद्यार्थी सङ्गठनको नेता। म कार्यकर्ता। सम्भवतः ऊ अहिले २५ वर्षको भयो। जनयुद्धमा निकै प्रचलित शब्द "आवश्यकता"। त्यही आवश्यकताअनुसार २०६० सालतिर जनमुक्ति सेना नेपालमा भर्ति भयो। १९ वर्षको थियो ऊ। सिधै सेक्सन कमाण्डर भएर युद्धमोर्चा सम्हाल्न गएको थियो। म त्यो उसको स्प्रिट मान्थे।

दोस्रो चोटीको खारा मोर्चामा हामी सँगसँगै थियौं। खाली त्यत्ति अन्तर थियो उसको हातमा एसएलआर राईफल थियो ऊ दुश्मनतिर गोली प्रहार गथ्र्यो। मेरो हातमा एउटा रेकर्डर थियो म रेकर्ड गर्थे। उमेश एउटा सैन्य टुकुडिको कमाण्डर थियो। म युद्धभूमिबाट रिपोर्टिङ गर्ने रिपोर्टर।

खारा मोर्चामा उसले निकै बहादुरीकासाथ लडेको थियो। आफ्नो टुकडीलाई दुश्मनको क्याम्पमाथि हमलामा एशाल्टमै लडाएर पनि सकुशल रिट्रिट गराउने सक्षम कमाण्डरको पहिचान बनाएको थियो। स्याबासी पनि पाएकै हो।

बिडम्बना मोर्चा सफल हुन सकेन। बिहानपख मैले उसलाई अलि निराश देख्थें। "खरानी पार्ने सोंचाई सफल भएन" फर्कदै गर्दा बाफुखोला वरिपरी उसले भन्थ्यो। उकालो चढ्दाको उत्साह ओरालो झर्दा मैले उमेशमा देख्न पाइन।

बटालियन सह-कमाण्डर कमरेड चिरणको अन्त्येस्टि हामीले सँगै गरेका थियौं। चिरण खारामा सहादत प्राप्त गर्ने जनसेनाका उच्चतहका कमाण्डर थिए। त्यस क्षण हामीलाई निकै पिडा भएको थियो। युद्ध जितेको भए त्यत्तिको पिडा नहुने ऊ बताउँथ्यो।

म रोल्पातिरै हल्लिराखें। ऊ ढाडमा टेकेर टाउकोमा हान्ने अभियानमा गण्डकतिर छिर्यो। बीचबाटामा भएका दर्जनौं भिडन्त। उमेश एसाल्टमै रहन्थ्यो रे ! बुटवल आक्रमणमा उसले खेलेको भूमिका नबिस्रनेहरु थुप्रै छन्। शाही सरकारले गर्न थालेको नगरपालिका निर्वाचन रोक्नु र देशमा एकात्मक सामन्ती राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याउनुमा उसको निकै ठूलो हात भएको म देख्छु।

दोस्रो जनआन्दोलन सफलतासँगै ऊ गण्डकबाट फर्कियो। केही समय राप्तीका भूमीमा जनतासँगै मार्च गर्यो। लामो समयपछि एकपटक घर पनि पुग्यो।

"अब त क्याम्पमै बस्ने रे ! म त फिल्डमै खेल्न चाहने मान्छे कसरी बस्ने हो यार बड्डा" उसले शान्ति प्रकृयापछिको एउटा भेटमा भनेको थियो। "तर पनि आवश्यकताअनुसार बस्नै पर्यो" आफै भन्थ्यो।

जनयुद्ध समाप्त भएको माओवादी नेताले घोषणा गरेपछि ऊ दहबनस्थित अस्थायी क्याम्पमा बस्यो। पाँचौ डिभिजनको एक टुकडीमा। कुन्नि कुन तहको कमाण्डर भएको थियो मैले सोधिन।

"पहिले युद्ध भूमिमा दुश्मनसँग खेलिन्थ्यो अहिले दहबनको चिसोसँग खेल्दैछौं" मलाई फोनमा भन्थ्यो। ऊ दहबनको अस्थायी क्याम्पमा बस्दै गर्दा म काठमांडुतिर छिर्दै थिएँ।

धेरै कोशिसपछि मेरो मोबाइल नम्बर पाएछ। एक दिन फोन गर्यो र भन्यो "खोई के भइन्छ यार पास हुने नहुने थाहा छैन।" मैले भने केको पास फेल नि "अनमिनले प्रमाणीकरण गर्दैछ क्या" उसले जनमुक्ति सेनालाई सरकार माओवादी र संयुक्त राष्ट्र सङ्घको सहमतिअनुसार नेपालस्थिति संयुक्त राष्ट्र सङ्घीय मिसन अनमीनले प्रमाणीकरण गर्ने खबर सुनायो।

"ए तिमी पनि कही फेल हुन्छौ रे !" मैले भने "के के विषय सोध्दैछ नि" उसले सामान्यतया शान्ति संझौतापछि भर्ना गरेका भर्ना हुँदा १८ वर्ष उमेर नपुगेकाको मापन गर्ने रे ! भन्ने जानकारी पाएको बतायो। "तिमि त १९ वर्ष हुँदा सेनामा भर्ना भएका हौ शान्ति संझौता भएको ०६३ मा हो तिमी २०६० सालमै भर्ना भएका हौ। तिम्रो त गणतन्त्र स्थापनामा पनि त ठूलो योगदान छ। त्यसो भएपछि ढुक्क हौ न पास हुन्छौ" मेरो भनाईपछि उसले पनि भन्यो "पास त भइन्छ होला।"

लामो समय उसले फोन गरेन। मैले पनि सम्पर्क गर्न सकिन। ऊ सैन्य नियमावलीअनुसार व्यारेकमै थियो। नियमित सैन्य अभ्यास गथ्र्यो।

"म त अयोग्य भएँ" एकदिन उसले पठाएको एसएमस मेरो मोबाइलको ईन्बक्समा देखें। "के भन्दै छौ तिमि" कलव्याक गरेर सोधेँ। "हो म पनि अनमिनको अयोग्यको लिष्टमा परेँ नि त।" नेटवर्क डिस्टर्बका कारण फोन कट्यो।

म एकछिन घोत्लिएँ। उसको ८ वर्षे विगत सम्झिएँ। गणतन्त्र स्थापनामा उसले खेलेको भूमिका स्मरण गरेँ। मैले चित्त बुझाउन अलि सकिन। विगत ६ वर्षदेखि ऊ जनसेनामा छ। कमाण्डर नै हो। उमेर पनि २५ वर्ष नाघ्न थालिसक्यो। हाइस्कुल पास गरेको मान्छे अनमीनको प्रश्नमा पनि राम्रो जवाफ दिएकै थियो होला।

"अनि केमा सक्षम भएनौ रे" मैले अर्को पालिको फोनमा सोधें। "खोई केमा थाहा छैन" ऊ आफैलाई थाहा छैन कसरी योग्य भइएन। उमेश अयोग्य हुनुको कारण पनि अहिलेसम्म कसैले भनेको छैन। "सोधेको जतिमा राम्रो जवाफ दिएको हो" उसले सिधासिधा जवाफ दिएको रहेछ। ऊ सन्तुष्ट हुन सकेको थिएन। अयोग्य हुनुको कारण जान्न चाहन्थ्यो। तर कतैबाट जान्न सकेन। निराश थियो अलि ऊ।

उमेश अहिले दहबनमै छ। अहिले ऊ अरु कमरेडहरुभन्दा फरक बस्छ। जहाँ ऊ जस्ता दुईसयभन्दा बढी छन्। अब ऊ व्यारेकबाटै निस्कने रे ! घर फर्कने खबर संचार माध्यममा छाइरहेका छन्।

महिनादिन अगाडिको कुराकानी हो। उमेश भन्दै थियो "गाउँतिर लागिने भइयो यार अब के गर्ने हो कुनै निश्चित छैन।" उसले केही प्याकेज कार्यक्रमका साथ बाहिर निस्कने खबर आइरहेको बताएको थियो।

दुधौलीबाट दुईसयभन्दा बढी आफूजस्ता अयोग्य ठहरिएका जनमुक्ति सेनाको बहिर्गमनको दृष्य टेलिभिजनको पर्दामा उसले राम्ररी हेर्न सकेन। अनमीनले थम्याइदिएको रु १००००।- र माओवादीले थमाई दिएको रु १२०००।- बुझ्दै गरेको र भक्कानिदै निस्कन थालेको कारुनिक दृष्य उसलाई सैह्यसमेत भएन।

"हाम्रो पालो माघ २६ गते रे !" ऊ दिन गन्दै बसिरहेको छ दहबनको सिरोटोसँगै खेल्दै क्याम्पबाट बाहिरिने दिन। ऊ निकै घोत्लिरहेको छ बाँकी जीवन जिउने बारे। दुधौलीको दृष्य उसको मानसपतालमा चलचित्रको रिल घुमेझैं घुमिरहेको छ।

"गाउँमा सशस्त्र समूह र एनजिओ आइएनजिओ कहिले आउलान र जालमा पारौंला भनेर बसेका छन्। त्यसमा नफस्नुहोला क्रान्तिकै लागि काम गर्नुहोला" दुधौलीबाट निस्कदै गरेका अयोग्य भनिएका जनसेनालाई आफ्नो कमाण्डरले भनेका कुरा पनि उसले सम्झिरहेको छ।

साँच्चै गाउँमै फर्कने हो त उमेश आफैलाई प्रश्न गरिरहेको छ। आठ वर्षपछि गाउँमै फर्कदा कसो होला उसले सोचिरहेको छ। ८ वर्ष अगाडि पूर्णकालीन हुँदा र ६ वर्ष अगाडि जनमुक्ति सेनामा भर्ति हुँदाको क्षण विशेष ढङ्गले सम्झिरहेको छ। समग्रमा नेपाली क्रान्तिको समीक्षा गरिरहेको छ।

सायद ऊ जनयुद्धमा सहिद भएको भए योग्य नै मानिन्थ्यो होला। सहिद हुन नपाएकोमा पनि उलाई पछुतो लाग्न थालेको छ हिजो आज। उमेशको सहिद बन्ने अठोट भने अहिले पनि कायमै छ।

"म क्रान्तिभन्दा बाहिर नजाने निर्णय लिएको छु" उसले दुधौली पछिको एकदिन फोनमा भन्यो। "तिमी क्रान्तिभन्दा बाहिर जान हुन्न" भन्ने मेरो दायित्वमा उसले "क्रान्तिभन्दा बाहिर जान्न" भन्दा उसको चेतना धेरै माथि भएको मैले ठानेँ।

उमेश यस्तो निर्णयमा पुगेको छ जसले बाँकी क्रान्ति सम्पन्न गर्न क्याम्पभित्र भन्दा बाहिर आफ्नो बढी आवश्यकता ठानेको छ। "यो नेपाली क्रान्तिको भिन्न र आफ्नै मौलिकता हो" ऊ तीनवर्षदेखि जनमुक्ति सेना क्यान्टोनमेन्टमा बस्नु अनमीनबाट प्रमाणीकरण गर्नु सक्षम योद्धाहरुलाई अयोग्य ठहर्याइनु र कुनै पनि सहयोगविना क्याम्पबाट बाहिरिनु नेपाली क्रान्तिको मौलिकता हो भन्नेमा पुगेको छ।

उमेश एउटा क्रान्तिकारी योद्धा प्रमाणित हुनु क्याम्पमै दिन कटाउनु र अयोग्य ठहर्याइनु क्याम्पभन्दा बाहिर निस्कनु र पार्टी क्रान्तिकै लागि योगदान गर्नुलाई त्यत्ति फरक देख्दैन। "लगातार तीनवर्ष क्याम्पको बसाईपछि अयोग्यका नाममा निस्कनुपर्दा क्षणिकका लागि अस्वभाविक लाग्नु पिडा हुनु ठीकै हो" ऊ फराकिलो दिमाग लगाइरहेको छ।

ऊ आफू समाजमा भएका सबै खाले असमानताहरुको अन्त्य गर्नका लागि क्रान्तिमा होमिएको हो। उमेश आजकल फोनमा क्रान्ति सम्पन्न गर्न बाँकी रहेकाले बाँकी जीवन क्रान्तिमै बिताउने बताउन थालेको छ। "क्रान्तिमै जन्मियो क्रान्तिमै हुर्किइयो अब क्रान्तिमै मर्ने अठोट लिएको छु" ऊ भन्छ।
 
Comments (1)
congrachulation
1 Tuesday, 23 February 2010 16:07
Dev Datt Ojha
i read story and regard to the Umesh brave don ! wait for oppurtunity . you are not discwalify.

Add your comment

Your name:
Subject:
Comment:
Banner

Good News !!!

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Gallery

Music Archive : दुई थुँगा (सबीन राई)

सबीन राईको नयां एल्बम "रँगमञ्च" बाट

free counters

(Since April 2009)