अधिराज राई “प्रकाश”विगत १२ बर्षदेखिको हंगकंग बसाई। ४,५ बर्षदेखिको संघ-सस्थाहरुसंगको उठबस, खेल जगत, पत्रकारिता हुदै साहित्य, बाल बच्चाहरु र परिवार सहितको बसाई, १२ घन्टे ड्युटिको चटारो आदि। सम्झेर ल्याउँदा जे जति गरी राखेकोछु ठीकै हो जस्तो पनि लाग्छ। फेरि सोच्छु खाइ न पाइ छालाको टोपीलाई जस्तै पनि लाग्छ। सामाजिक काम गर्यो जस छैन। तरै पनि सामाजिक प्राणी मान्छे हुनुको कर्तव्य आफ्नो निहित स्वार्थको लागि मात्र झेलिनु राम्रो हैन भन्ने सोचाईले नै सकेको जानेको गरी राखेको छु र गर्छु भन्ने अठोट पनि पालेको छु।
कुण्ड-कुण्ड पानी मुन्ड-मुन्ड बुद्धि भने झै मेरो विचारमा महासंघ हंगकंगले जे गरी राखेकोछ पुरस्कार र पदकको नाममा त्यो ठीक लागेको छैन। पुरस्कार र पदक भनेको लिने दिने दुबैले गर्व गर्नु सक्नु पर्छ। त्यहाँ स्वार्थ राख्नु, रहन्नु हुन्न। नत्र राजतन्त्रात्मक कालमा गोर्खा दक्षिण बाहु वा अल्फ्रेड नोवेल शान्ति पुरस्कारको हालत नहोला भन्न सकिदैन। नोवेल शान्ति पुरस्कारको गरिमा त अवस्य छ र होला तर २०औ शदाब्दीका शान्तिका दुत महात्मा गान्धिलाई ४ पटक (१९३७-३८-३९ र ४७) नोमिनेटमा पर्दा पनि पुरस्कार नदिनु र दलाई लामा र बाराक ओबामाको चरणमा फुत्त फुत्त फ्याँकी दिनुलाई हामीले कसरी मुल्याकंन गर्ने ? कामको मुल्याङकन हेरेर बैज्ञानिक तरिकाले दिइएन भने यस्को मर्यादामा औँला उठाउन जो कोहिले सक्छ। भन्ने नै हो भने बाराकले शान्तिको लागि के गरे ? बरु नेपालका नेताहरुले शान्तिको लागि के गरेनन् ? सुन्छु गिरिजाबाबुलाई अन्तराष्ट्रिय लविङ गर्ने रे पुरस्कारको लागि तर लविङ नै नगरी उईगुर नेतृ रोवेटाले पुरस्कार उछिट्याएमा हामी चकित हुनु पर्दैन।
पुरस्कारको हकमा महासंघको सोचाई सवल होला तर व्यवहारमा दुर्वल छ। विगत वर्षमा ७ दर्जन भन्दा बढीलाई विभिन्न विधामा एकै पटक पुरस्कार, पदक, प्रशंसा आदि र केहिको त दिइ सकिएको खोसियो पनि। जसमध्य यो पंक्तिकारको भागमा पनि परेको थियो प्रशंसाको विलो। म अझै भन्छु मेरो हैसियत भएको छैन कि म प्रसंसाको लाएक हुँ। पुरस्कार, पदक पाउने सवालमा जुन नीति छ त्यो सुधारिनु आवश्यक छ। कर्मचारी वढुवा भए झै पदक पहिलो श्रेणी - दोस्रो श्रेणी - तेस्रो श्रेणी किस्ता बन्दिमा दिनु उपयुक्त हो भन्नेमा सहमत हुन सकिदैन। संघ-सस्थाहरु सफल र असफल हुनुमा उसको आर्थिक नीतिमा पनि भर पर्छ।
मितब्यीता अपनाउनु अति जरुरी छ। आफ्नो सदस्य सँस्थाहरु लेवि नबुझाएको कारण निस्कासन भएको छ र हुनेवाला छ भने महासंघले चाहिँ पुरुस्कारको नाममा हजारौँ हजार खर्च गर्नु बुद्दिमानी हो कि हैन ? त्यो पनि महासंघले बेलैमा बुझ्नु पर्छ। हंगकंगमा एउटा छाता सँस्थाको आवश्यक्ता छ त्यो महासंघ हंगकंग नै हो तेस्को कुनै विकल्प छैन र खोजिनु पनि हुँदैन। बरु कमी कमजोरी भए सच्याउनु पर्छ। कानुनी हैसियत सबै सँस्थाहरुको एउटै हो, यस कारण महासंघ सक्तिशाली हुन सक्दैन तर प्रभावशाली हुनु जरुरी छ। तेस्को लागि यस भित्रका सम्पूर्ण सदस्य संस्थाहरु र कार्य समितिका पदाधिकारिहरु जागरुक भएर उठनु पर्छ। अनि मात्र महासंघ हंगकंगको साख रहनेछ। नत्र दिलबहादुर लिम्बुको हत्याको विरुद्दमा भेला भएको नेपालीहरुको जनसमुहलाई सम्झिँदै आगामी दिनहरुमा सुस्त सुस्त पाईला चाल्नुको विकल्प नहुन सक्छ। काउतिम।














