दामोदरप्रसाद आचार्य
११ नोभेम्वर २००९
लुभेन बेल्जियम
हाल विश्वले ब्यहोर्नु परीरहेको आर्थिक मन्दीको नराम्रो प्रभाव संगै समाजवादको पक्षमा विश्व जनमत एकतावद्ध भइरहेको विभिन्न देशमा भएका हालैका निर्वाचन परिणामहरुले देखाउदै गइरहेका छन्। सन् २००८ को अन्त्यतिर आइपुग्दा विश्वका विभिन्न देशमा दशौं लाख मानिसहरु बेरोजगार भइसकेको तथ्य आज कसैको लागि नौलो विषय भएन। यो आर्थिक मन्दीको मुल कारण पनि अमेरिकाले विकशित गरेको पुँजीवादी अर्थ ब्यवस्था साम्राज्यवादी नीति र उसले विभिन्न वहानामा अन्य देशहरुमा गर्दैरहेको युद्धहरुमा भएको अत्यधिक खर्च बाट राष्ट्रिय अर्थतन्त्रमा आएको संकुचनले सिर्जित विश्वकै गम्भीर मानवीय संकट हो भन्ने विषयमा दुइमत नहोला।
उन्मुखता को पृष्ठभुमि
वास्तवमा मानव जातीको विकाशको लागि समाजवादको विकल्प छैन्। तर विश्वका प्रमुख र शक्तिशाली देशहरुले समाजवादलाई अस्वीकार गर्दै पुँजीवादमा केन्द्रीत भएको कारण उत्पन्न विकराल समस्याबाट आज विश्वमा १५ मिलियन भन्दा अधिक मानिसहरुले रोजगारी गुमाइसकेका छन् साथै विश्वको अधिकांश जनसंख्या गरिबीको दलदलमा भासिदै गइरहेको छ। तसर्थ विश्वका विभिन्न देशहरुमा परिवर्तनको पक्षमा स्वरहरु बेजोडका साथ उठिरहेका छन्। सौभाग्यवश परिवर्तनका पक्षधरहरु जनताबाट अनुमोदित भइरहेका समाचारहरु आइरहेका छन्। मूख्यतः यस आलेखमा यसै विषयमा केन्द्रीत भएर विवेचना गरीएको छ।
विश्वका केहि शक्तिशाली देशहरु आर्थिक मन्दीबाट सतहमा छताछुल्ल भएका समस्याहरुलाई केहि आर्थिक प्याकेजहरु मार्फत क्षणिक समयका लागि राहतको प्रत्याभुति दिलाउने प्रयासमा लागेका छन्। सोही अनुसार विश्वका धनि देशहरु विभिन्न देशहरुमा जि-७ जि-८ तथा जि-२० देशहरुको नाममा गोष्ठी तथा सेमिनारहरु गरीरहेका छन्। वास्तवमा यसले समस्याको समाधान नहुने तथ्यहरु सतहमा देखा परिरहेका छन्। विश्वमा बेरोजगारहरुको संख्यामा भएको अत्यधिक बृद्धिले पुँजीवादको असफलतालाई आज उदाङ्गो पारीदिएको छ।
बुधवार ३० सेप्टेम्वर २००९ का दिन अन्तरराष्ट्रिय मुद्रा कोषले प्रकाशित गरेको रिपोर्ट अनुसार सन् २००८ बाट देखिएको मन्दीमा हाल केहि सुधारका संकेतहरु देखिएको जनाएको छ। तर लाखौं लाख मानिसहरुलाई रोजगारी मुक्त गरेर मन्दीमा सुधार आएको भन्ने विषयलाई आज विश्वास गर्ने आधार भने देखिदैन्। वास्तवमा रोजगारी गुमाएका १५ मिलियन भन्दा अधिक मानिसहरुको पुनर्वहाली हुन सकेमा मन्दीमा सुधार आएको पुष्टी हुनेछ। झनै मन्दीबाट आएको आर्थिक भारलाई कम गर्न मुल्यवृद्धिका प्रयासहरु भएका समाचारहरुले अखवारका पानाहरुमा स्थान पाउन थालेका छन्।
पछिल्लो समाचार अनुसार शुक्रवार ०२ अक्टोवरका दिन बिबिसी विश्व सेवाले अमेरिकी श्रम विभागको अधिकारीको हवाला दिदै जनाएअनुसार २००९ को सेप्टेम्वर महिनामा मात्र अमेरिकी अर्थतन्त्रले ९.८% अर्थात २६३००० रोजगारी गुमाएको छ यो संख्या अघिल्लो अगष्ट महिनामा गुमाएको रोजगारीको संख्या ९.७% भन्दा अधिक छ।
अधिकारीका अनुसार अमेरिकामा लगातार २१ म्हिना देखी यहि क्रमले मानिसहरु बेराजगार भइरहेका छन् साथै श्रम विभागका अझै अपि्रय खवरहरु छन्। गत जुलाई तथा अगष्ट महिनामा प्रकाशित गरीएको संख्या अपुष्ट भन्दै थप १३ हजार मानिसले रोजगारी गुमाएको रिपोर्ट सार्वजनिक भएको छ। जव अमेरिकाले २००७ डिसेम्वर बाट अर्थतन्त्रमा अवरोधको सामना झेल्न सुरु गरे देखी रोजगारी गुमाउने मानिसहरुको सख्या ७.६ मिलीयन बाट हालसम्म १५।१ मिलीयन पुगेको छ। अझै विश्वकै प्रसिद्ध संचार गृह दि न्युयोर्क टाइम्स्ले भर्खरै २० अक्टोवर २००९ का दिन आफ्ना सम्वाददाताहरु तथा सम्पादकहरु गरि करिव १५० जनाको रोजगारी कटौति गर्ने औपचारिक घोषणा गरेको समाचार प्रकाशमा आएको छ। लगत्तै २९ अक्टोवर २००९ का दिन अमेरिकाले तेस्रो चौमासिकमा आफ्नो ग्रोस डोमेस्टीक प्रोडक्ट्मा ३.५% ले बृद्धि हुनुले मन्दीमा सुधारको संकेत आएको बताएको छ।
शनिवार ०३ अक्टोवर २००९ का दिन टर्कीको इस्तानबुलमा विश्व बैङ्क तथा अन्तरराष्ट्रिय मुद्ा कोषको वार्षिकसभा पूर्व आयोजित प्रेस सम्मेलनमा विश्व बैङ्कका अधक्ष्य रोबोर्ट जोइलिकले भन्नुभयो- "विश्वकै सबैभन्दा ठुलो अमेरिकी अर्थतन्त्रले दुई वर्ष देखी अवरोध सामना गरीरहेको छ भने यहि समयमा चीन र ब्राजिलले उनिहरुको अर्थतन्त्रमा बृद्धि हासिल गरेका छन्।" स्मरणीय छ यी दुबै देशहरु समाजवादी अर्थ बयवस्था अनुरुपको शासन प्रणालीमा केन्द्रीत छन्। तसर्थ अधक्ष्य जोइलिकको भनाईले पनि समाजवादी अर्थ बयवस्था तर्फ संकेत गरेको सजिलै बुझ्न सकिन्छ। सोही कार्यक्रममा अर्का विश्व बैङ्कका युरोप तथा मध्य एसियाका उपाधक्ष्य फिलीप ले हौयरेउले भन्नुभयो- "विश्वको वित्तिय तथा आर्थिक संकटले गर्दा माथि उठ्ने प्रयाश गरीरहेका युरोप तथा मध्य एसियाका विभिन्न भागहरुका ब्यक्ती होइनन् घर नै क्रमशः ठक्करको सामना गरीरहेका छन्।" वहाँको भनाईले आगामी दिनहरु थप गम्भीर सामाजिक असन्तुलन तथा अशान्ति उन्मुख हुने तर्फ लक्षित देखिन्छ।
समाजवादीहरुको विश्व साजाँल एवं विस्तार
विश्वमा भएका सम्पूर्ण डेमोक्रयाटिक सोसियलिष्ट सोसियलिष्ट डेमोक्रयाट्स सोसियलिष्ट तथा ल्यावोर राजनीतिक पार्टीहरुको बिचमा एकता कायम गर्ने उद्देश्यबाट गठित संगठनको नाम हो सोसियलिष्ट इन्टरनेशनल। यो संगठन सन् १९५१ मा गठन भएको थियो। यसको पहिलो अधक्ष्यको रुपमा बृटिस ल्यावोर पार्टीका महासचिव मोर्गान फिलिप्स थिए र उनले सन् १९५१ देखी १९५७ सम्म सेवा गरे। यस संगठनमा हाल सम्म ९८ देशका ११७ राजनीतिक दलहरु सदस्य छन्। सन् २००६ देखी हालसम्म गि्रसको पानहेलेनिक सोसियलिष्ट मुभमेन्ट पासोकका अधक्ष्य जर्ज पापनद्रुय यसको अधक्ष्यता गरीरहेका छन्।
विशेषतः विश्वमा भएका कम्युनिष्टहरु नै सच्चा समाजवादी भएको विषयमा कोहि अनभिज्ञ नहोला। विकाशोन्मुख तथा विकशित देशहरुमा भएका समाजवादी दलहरुको पनि भनाई र गराईमा एकरुपताको अभाव देखा परेका उदाहरण प्रशस्तै देख्न सकिन्छ। फलस्वरुप उनिहरुले जनमत गुमाउदै गइरहेका छन्। त्यसको ताजा उदाहरणको रुपमा जर्मनीको सोसियल डेमोक्रयाटीक पार्टी तथा पोर्तुगालको सोसियलिष्ट पार्टीलाई लिन सकिन्छ। सन् २७ सेप्टेम्वर १९९८ मा भएको आम निर्वाचनमा ६६९ सिट भएको पार्लियामेन्टमा सोसियल डेमोक्रयाटीक पार्टीले २९८ सिट हासिल गरि पहिलो शक्तिशाली दलको रुपमा स्थापित भएको थियो। त्यसपछिका निर्वाचनहरुमा उसले सिटहरु गुमाउदै आएको छ। जर्मनीमा हालै २७ सेप्टेम्वर २००९ मा सम्पन्न आम निर्वाचनमा सोसियल डेमोक्रयाटीक पार्टीले सन् २००५ मा भएको निर्वाचनबाट प्राप्त कुल २२२ सिटमध्ये ७६ सिट गुमाएर १४६ मा सिमीत भएको छ।
मूख्यतः फरक वैचारिक आस्था भएका दलहरु बिचको गठवन्धनले खास उद्देश्यहरु प्राप्त गर्न सम्भव नहुने तथ्यको यो राम्रो उदाहरण हो। वामपन्थी र मध्य दक्षिणपन्थीहरुको बिचमा बनेको गठवन्धनले वास्तविकरुपमा गरिब तथा मजदुरहरुको पक्षमा सफलता हासिल गर्न असम्भव निश्चित प्रायः छ। सन् ०१ डिसेम्वर १९६६ देखी सोसियल डेमोक्रयाटीक पार्टी र कि्रश्चियन डेमोक्रयाटीक युनियनको ठुलो गठवन्धनबाट जर्मनीको सरकार गठन हुदै आएको थियो। यो ठुलो गठवन्धनको यस वर्षको निर्वाचन परिणामले अन्त्य भएको छ साथै यो अन्त्य संगै जर्मनीमा भएका अन्य समाजवादी दलहरुको बिचमा एकताको नयाँ सम्भावनाको ढोका समेत खोलिदिएको छ।
उल्लेखनीय छ जर्मनीको राजनीतिक परिदृश्यमा ओस्कार लाफोन्टीने सर्वाधिक लोकपि्रय नाम हो। सोसियल डेमोक्रयाटीक पार्टीमा आवद्ध भै सन् १९७६ देखी १९८५ सम्म सारब्रुकेन नगरको मेयरबाट राजनीतिक यात्रा सुरु गरेका वहाँले जर्मनीको सारलैण्ड प्रदेशको मिनीस्टर प्रेसिडेन्ट १९९० मा चान्सलरको लागि घोषित उम्मेदवार जर्मनी एकिकरणका कारण स्थगित पार्टीको केन्द्रीय अधक्ष्य तथा १९९८ देखी १९९९ सम्म अर्थमन्त्रीको रुपमा रहि सेवा गर्नुभएको थियो। सन् २४ मई २००५ का दिन वहाँले सोसियल डेमोक्रयाटीक पार्टी परित्यागको घोषणा गरी दुइ साता पछि १० जुन २००५ का दिन दि लेफ्ट पार्टीमा प्रवेश गर्नुभयो। हाल १६ जुन २००७ देखी वहाँ दि लेफ्ट पार्टीको अधक्ष्यता गरीरहनु भएको छ। साथै डेमोक्रयाटीक सोसियलिजम् पार्टीका तत्कालिन अधक्ष्य तथा युरोपियन लेफ्टका अधक्ष्य प्रोफेसर डा।लोथार बिस्की पनि जर्मनीको दि लेफ्ट पार्टीको अधक्ष्य हुनुहुन्छ।
युरोपियन लेफ्ट युरोप भरीका वामपन्थीहरुको युरोपस्तरको संगठन हो। यसमा युरोपका १६ देशका हालसम्म २१ डेमोक्रयाटीक सोसियलिष्ट तथा कम्युनिष्ट पार्टीहरु आवद्ध छन्।
जर्मनीमा हालै २७ सेप्टेम्वर २००९ मा सम्पन्न आम निर्वाचनमा अघिल्लो निर्वाचनको प्राप्त उपलब्धि उपर थप सिट हासिल गर्ने फ्री डेमोक्रयाटिक पार्टी पहिलो र दि लेफ्ट पार्टी दोस्रो विजयी दलको रुपमा देखिएको छ। सन् २००५ मा ६१४ सिटको लागि भएको आम निर्वाचनमा ५४ सिट हात पार्न सफल दि लेफ्ट पार्टीले २००९ को निर्वाचनमा थप २२ सिट गरि संसदमा ७६ सिट हासिल गरी चौथो स्थान कायम गरेको छ।
सन २९ जुलाई २००९ मा युरोपीयन देश मध्येको मोल्दोभामा भएको संसदिय निर्वाचनमा वामपन्थी दलले पहिले झै यसपटक पनि अग्रस्थान हासिल गर्न सफल भएको छ। भ्लादिमीर भेरोनिनले नेतृत्व गर्नु भएको दल पार्टी अफ कम्युनिष्टस् अफ दि रिपब्लीक अफ मोल्दोभा संसदमा १०१ सिट को लागि भएको निर्वाचनमा ४८ सिटमा विजयी भयो। लिवरल डेमोक्रयाटिक पार्टी अफ मोल्दोभाले १८ सिट प्राप्त गरी दोस्रो स्थान लिवरल पार्टीले १५ सिट हासिल गरी तेस्रो स्थान तथा डेमोक्रयाटिक पार्टी अफ मोल्दोभाले १३ सिट प्राप्त गरी चौथो स्थान कायम गरेको छ।
अर्को युरोपेली देश पोर्तुगालमा २७ सेप्टेम्वर २००९ मा सम्पन्न संसदिय निर्वाचनमा प्रधानमन्त्री जोसे सोक्रेट्सको मध्य वामपन्थी दल सोसियलिष्ट पार्टीले फेरी पनि निर्वाचनमा ३६.५६ प्रतिशत मत प्राप्त गरि विजयी भएको छ भने विपक्षी दल सोसियल डेमोक्रयाटीक पार्टीले २९.९ प्रतिशत मत हासिल गरेको छ। तर सन् २००५ मा भएको संसदिय निर्वाचनमा ४५ प्रतिशत स्पष्ट बहुमत प्राप्त गरि २३० सिट सदस्य सख्या भएको संसदमा सोसियलिष्ट पार्टीले १२१ सिट हासिल गरेको थियो। जर्मनीमा जस्तै यहाँ पनि सोही दिन भएको निर्वाचनमा फ्रान्सीस्को लौउकाले नेतृत्व गर्नु भएको लेफ्ट ब्लक ले सन् २००५ मा भएको निर्वाचनमा प्राप्त गरेको ८ सिट उपर थप ८ गरी १६ सिट हासिल गरेर संसदमा पाँचौ स्थानबाट चौथो स्थान कायम गर्न सफल बनेको छ। लेफ्ट ब्लकको यो गुणात्मक उपलब्धि हो।
युरोपेली देश गि्रसमा सन् ४ अक्टोवर २००९ का दिन भएको संसदीय निर्वाचनमा २५ वर्ष देखी लगातार शासन गरिरहेको परम्परावादी दक्षिणपन्थी न्यु डेमोक्रयासी पार्टीलाई विपक्षी मध्य वामपन्थी पानहेलेनिक सोसियलिष्ट मुभमेन्ट पासोकले पराजित गरि नयाँ उमङ्ग पैदा गरीदिएको छ। सोसियलिष्ट मुभमेन्ट पासोक का अधक्ष्य जर्ज पापनद्रुयको दलले स्प्ष्ट बहुमत हासिल गरेको छ। वहाँको "धनी उपर कर लगाउने तथा गरिबलाई सहयोग गर्ने" भन्ने लोकपि्रय नारा जनताबाट अनुमोदित भएको छ। संसदमा भएको ३०० सिटमा वहाँको दलले १६० सिट हासिल गरेको थियो भने न्यु डेमोक्रयासी पार्टी ९१ सिटमा सिमीत हुन पुग्यो। गि्रसको कम्युनिष्ट पार्टी केकेइ को महासचिव आलेका पापारीगाले नेतृत्व गरीरहनु भएको कम्युनिष्ट पार्टीले २१ सिट प्राप्त गरि संसदको तेस्रो स्थान कायम गर्न सफल भएको छ।
विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको एसियाली देश जापान पनि यस वर्ष आधा शताब्दी लामो दक्षिणपन्थी राजनीतिक शासनको बागडोरबाट मुक्त भएको छ। सन् १९५५ देखी अविछिन्न शासन गर्दै आएको दक्षिणपन्थी लिवरल डेमोक्रयाटीक पार्टीले सन् ३० अगस्ट २००९ का दिन भएको संसदिय निर्वाचनमा विपक्षी दल मध्य वामपन्थी डेमोक्रयाटिक पार्टी अफ जापान संग नराम्रो पराजय ब्यहोर्न पुगेको छ। संसदमा भएको ४८० स्थानमा ३०८ स्थानमा युकियो हातोयामाले नेतृत्व गरेको दल डेमोक्रयाटिक पार्टी अफ जापान विजयी भएको छ। जापान कम्युनिष्ट पार्टीका अधक्ष्य काजु शीले औपचारिकरुपमा नै कन्जरभेटिभलाई सत्ताबाट हटाउनको खातिर यो निर्वाचनमा डेमोक्रयाटिक पार्टी अफ जापानलाई सहयोग गर्न अपिल गरेका थिए। अपितु जापान कम्युनिष्ट पार्टीले यस निर्वाचनमा संसदमा ९ सिट हासिल गर्दै अघिल्लो निर्वाचनमा प्राप्त ४.९१ मिलियन मतलाई उछिन्दै ४.९४ मिलियन मत प्राप्त गर्न समेत सफल भयको छ।
यी समग्र निर्वाचन परिणामहरु तथा विश्वमा कहालीलाग्दो तवरले रोजगारीहरुमा भइरहेको कटौतिले विश्वमा समाजवादको विकल्प नभएको तथ्यलाई थप पुष्टी गरेको छ। समय परिवर्तनशिल छ। यसर्थ हिजो सुझबुझ विना नै लादिएको मानवजातिको लागि अहितकारी प्रणाली संस्कार तथा परम्परालाई आज कसैले कायम राख्न चाहन्छ भने त्यो असफल हुने अवश्यम्भावी छ। किनकि समयको गति संगै अघि बढ्न जान्ने परिवर्तनकारीले नै इतिहास कायम गरेका छन् र गर्नेछन्। तसर्थ समयको मागलाई आत्मसात् गर्नु नै सबैको लागि श्रेयष्कर हुने निश्चित छ।


















