प्रकास रोदुङ”आँप भुईमा खस्यो, ख्याल ख्यालमै सोल्टिनी लौ माया बस्यो” म सानो हुँदा यो गीत ठूला बयस्कहरुले गाएको सुन्थेँ पछि आफैँ पनि बयस्क भएपछि गाउन थालियो। लाग्छ यी ठूलाहरुले पनि उनीहरु सानो हुँदा सुने, देखे र नै गाउन थाले होलान्।
२१औँ शताप्दिको उपलब्धिमध्य साईबर क्रान्तिलाई पनि मान्न सकिन्छ। हंगकंगमा भएका नेपालीहरु पनि यस्को अनुसरण गर्नु समय सापेक्ष नै हो। जस कारण माथिको गीत झैँ ख्याल-ख्यालमै पत्रकार भन्ने सम्बोधन हेय वा सम्मान स्वरुप पाउन थालियो। यसैको बोझले समाजमा केहि गरौँ, कम्तिमा आफैले जे सकिन्छ भन्ने चाहाना राखेर हिँड्ने क्रममा हिजो खोटांग डट ओर्ग हुदै आज मूलबाटो डटकम सम्म हिँड्न पुगिएछ। यहाँसम्म पुग्नमा एभरेष्ट साप्ताहिक र सनराईज साप्ताहिकको पनि ठूलो हात रहेको छ। सधै मेरो फोटोको प्रसंसा गरी छाप्ने किसन राई र भुपेन्द्र चेम्जोङ दाईहरुको नाम छुटाउनु मेरो भुल हुनेछ। जसको जगमा उभिएर नै म मेरो परिचय बनाउने क्रममा छु।
मूलबाटो डटकम ब्याबसायिक भएपनि हाम्रो टिमको धारणा, उदेश्य ब्यबसायिक भन्दा पनि सेवा र सामाजिक रहेकोछ। यसै उदेश्य प्राप्तिको खातिर गोर्खा निवासी मृगौला पीडित सूर्य कुमाललाई हाम्रो पहलमा सानै भए पनि सहयोग गर्ने प्रयास गर्यौँ। नाफारहित सामाजिक कार्यहरुमा हामीले मूलबाटो मार्फत निशुल्क विज्ञापनको ब्यबस्था गरेका छौँ। हंगकंगमा नक्कली सरनार्थिको बिगबिगिले हिजोको गोर्खा, आजको नेपोलीयान (नेपाली मान्छे) मा रुपान्तरन हुने कार्यले नेपाली स्वाभिमानलाई नै आँच आउने सम्भावना देखेर जानेको, सुनेको, भोगेको आधारमा मानब तस्कारहरु लुकेको दुलोमा धुवाँ हाल्ने कामको थालनी गरियो यस्लाई नेपाली समाजले कसरी मुल्याङकन गर्ने हो त्यो भबिष्यले नै बताउला। तर दु:खको कुरा यहाँका समाजबाट जे सहयोग सोचिएको थियो त्यो गलत रहेछ। हामी नया नेपालको समरचनामा गई सकेछौँ ! तर उग्र जातीय र क्षेत्रीय मानसिकता बोकेर। यो दु:खद पक्ष हो। सहअस्तित्व र सहकार्य हाम्रो मूल मन्त्र हुन जरुरी छ।
यहाँ पुरै नेपाली अटाउने एउटा पनि संस्था रहेनछ जस्तो ब्यबहारमा भयो। बाहुनवादबाट अर्जापिएको जनजाति नै, जनजातिको गलगाँड हो कि जस्तो महसुस भयो। यो उग्र खण्डित नेपाली मानसिकता अब अखण्ड नेपालप्रति रहेनछ। यो दु:खत कुराहो। सम्झिएँ, केही समय अगाडि गोर्खाका मानिस छिमेकी जिल्ला मनाङ जाँदा जसरी कुटि-कुटि मारिए त्यो क्रम नेपालको नया नक्शा कोरिएपछि अझ उग्रहुने सम्भावनालाई नकार्न सकिन्दैन।
पत्रकारिता गर्छु भन्नेहरुले पत्रकारिताको न्युनतम आफ्नो काम, कर्तब्य र अधिकार जान्नु आवस्यकछ। हंगकंगका पत्रकारहरुमा ड्रगिसको जति पनि सुझबुझ देखिएन , उनीहरु कम्तिमा आफ्नो सञ्जाल बढाउन नेटवर्क बनाउछन्। तर यहाँका समाजको चौथो अङ्ग भनिने केही पत्रकारहरु हातेमालो गर्न चहादैनन्। अरुको अस्तित्व स्वीकार्न चाहदैनन्। यस्ले वास्तबमा कसैको हित गर्दैन। सहयोगको लागि मैले दोहोर्याएर नै न्युज र पोष्टरहरु पठाएँ। पेपर मिडियाहरु सनराईज, एभरेष्ट, निर्मल श्रेष्ठले कान्तिपुर र किसन राई मार्फत हिमालमा फोटोसहित छापियो तर यहाँको लोकल वेभहरुको आँखामा त्यसले ठाउँ पाएन। तरै पनि यो हाम्रो ईन्टरनल कुराहो। मूलबाटोले आफ्नो नाम कहीकतै खोजेन, किनकि त्यो काम वास्तबमा मुटु भित्रैबाट सहयोगको भावनाले गरिएको थियो। मूलबाटोको प्रसिद्धिको लागि होइन। हामीले बुझ्नु जरुरी छ, हाम्रो बस्ने ठाउँ एकै हो, हिड्ने बाटो एउटै हो, संकृण विचारलाई त्यागौँ। केहि मनमुटाब र असमझ्दारीहरु भए बसेर कुरा गरौ। हालमा नेपाल पत्रकार संघ हंगकंगले पूर्णरुप लिदैछ, सहभागी भएर आफ्नो कुरा राखौँ। भनिन्छ मुर्खहरुले बादबिबाद भन्ने शब्दलाई बुद्दिजिबीले छलफल भन्छन। अब बादबिबाद गर्ने कि छलफल त्यो आफ्नो विवेकको कुरा हो।
अलपत्र परेका चार नेपालीहरु, वीरबहादुर खत्री, निमबहादुर भण्डारी, इन्द्रबहादुर वली र अफत वली जो दलालको फन्दामा परेर यहाँ पार्क-पार्क बस्न वाध्य थिए। उनिहरुको पीडा लिएर हंगकंग नै मेरो हो भन्नेहरुसंग सहयोगको हात फैलाईयो, सबै भन्दा पहिला उनिहरुबाट ठाउ र जात सोधियो। जव पीडितहरुको ठाउँ र जात यहाँका काटा-चम्चे, फाईचिवाला र गोर्खेहरुसंग नमिलेपछि उनीहरुले अनुहार खुम्च्याए।
माछा देख्दा कुरमा हात सर्प देख्दा बाहिर हात यो मानवीय गुण हो। सम्झेँ, बलेको आगो ताप्नेहरुको हुलमा बीचरा यी चार जना भोलि न सचिब, न राजदूत हुने हैसियत राख्छन्, अनि किन मुठी खोल्थे। यहाँको नेपाली सँस्थाहरु चाईनामा पहिरोजानै हुदैन आँधिबेह्री, भुकप्प आउनै हुदैनन, राहतको नाममा होस वा सदभाबको नाममा गोहिको आँशु झार्न थाल्छन्। नेपालबाट कुनै सचिब, मन्त्री वा नेता नै किन नआवस यहाँका समाजसेवाका ठेकेदारहरुले धनुष्टँकारको साथमा पुष्पगुच्छाले स्वागत गर्छन्। त्यो पुष्पगुच्छाको दाम कति पर्छ थाहाछ यिनिहरुलाई ? कम्तिमा पनि ४०० डलर। नेपालमा चाहिँ १३ सय नेपाली रुपैँयाको ऋण तिर्न गोठाला बस्दै पढ्दै गरेको खवरले यिनीहरुको मन कहिले छुने हो ? संघसस्थाहरु लेवी उठाउने, विभिन्न बहानामा पैसा माग्ने र महङगा रेष्टुरेन्टहरुमा टाईको गाँठो सर्नेगरी होर्सनेमात्र हो भने अब यसरी नेपालीहरुको नाम बेचने कतिन्जेल हो ? पार्कपार्कै मिटिङ गर्दै भोजपुरले प्रसुति गृह बनायो, खोटांगले पहिरोबाट बिस्थापितहरुलाई पुनर्बास गरायो, तहनुले बृत चित्र बनायो, बाम्राङ गाउमा कम्प्युटर लाँदा गाउँलेहरुको हातमा अबिर र मालाको भिँड थामी नसक्नु थियो यी र यस्ता राम्राकुराको उदारहणको सिको कहिले गर्ने माथिकाले।
अन्तमा हाम्रो अनुरोधलाई प्रत्यक्ष वा परोक्ष सहयोग गर्नुहुने संघ,सस्था र ब्यक्तिहरुलाई अन्तर हृदयबाटै धन्यवाद दिंदै फेरि पनि भविश्यमा सरसल्लाह र सहयोगको अपेक्षा राख्दै सम्मान स्वरुप तपाईहरुको नाम लिन चाहन्छौँ। सहयोगी संस्थाहरु ठकुरी समाज, चाम्लिङ खाम्मातिम, किरात राई यायोक्खा, खोटांग समाज, हंगकंग नेपाली फुटबल एसोसिएसन, हंगकंग नेपाली पत्रकार संघ, अन लाईन सर्भिस, डि सप, नेपाल कन्सुलेट, सनराईज साप्ताहिक, एभरेष्ट साप्ताहिक तथा कुमार साम्पाङ राई, वाईबि राई, जजिन चाम्लिङ, सिके गुरुङ, उत्रसेर राई, दिपा एवाई राई, राजिव हिराचन, जगदिप गुरुङ आदिमा म मेरो ब्यक्तिगत र सँस्थागत तर्फबाट फेरि पनि धन्यवाद दिन चाहन्छु।


















