HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home विचार / दृष्टिकोण विश्व आर्थिक मन्दी र समाजवादको लोकप्रियता

विश्व आर्थिक मन्दी र समाजवादको लोकप्रियता

E-mail Print PDF
AddThis Social Bookmark Button
जुन ०६ २००९
लुभेन बेल्जियम

आज विश्व आर्थिक मन्दीका कारण व्यग्र छटपटाहटबाट गुज्रिरहेको छ। विश्वका विभिन्न ख्यातीप्राप्त अन्तरराष्ट्रिय कम्पनीहरुले यस मन्दीको कारण देखाउदै हजारौको संख्यामा आफ्ना कामदारहरुलाई सेवामुक्त गरिरहेका छन्। आजको यो मन्दीको कारकतत्व अमेरिका नै हो भन्ने विषयबाट विश्व अनभिज्ञ छैन। किनकि विश्वमा भएका अन्य देशहरुलाई आफ्नो आर्थिक साँस्कृतिक तथा राजनैतिक सिद्धान्तको अनुसरण गराउने उद्देश्यबाट अमेरिका प्रेरित भएको वास्तविकता विश्व सामु दिनको घाम जस्तै छर्लङ्ग छ। तसर्थ अमेरिकाको साम्राज्यवादी सोचको कारणबाट नै आज यो मन्दी उत्पन्न भएको आँकलन गर्न असम्भव छैन। 

विशेषतः पछिल्लो विकशित घटनाक्रममा तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले आफ्ना केही अनुयायीहरुसंग मिलेर "वार अन टेरर" को नाममा विश्वभरिका जनताको विरोधका बाबजुद् इराक तथा अफगानीस्तानमा हमला गरेका थिए। आजसम्म पनि अमेरिकाले ती रणभुमीबाट हात झिक्न सकेको छैन्। यस विषयमा अमेरिकाको मुख्य सहयात्री रहेको बेलायतका सेनाप्रमुखको व्यक्त विचार गम्भीर प्रकृतिको थियो। बेलायतका प्रधान सेनापति तथा संयुक्त राष्ट्र संघिय शान्तीसेनाका भुपु कमाण्डर समेत रहनु भएका माइखल रोजको मंगलबार ११ सेप्टेम्वर २००७ का दिन डेली मेल अखवारमा व्यक्त विचारमा राष्ट्रपति बुसले बिश्वलाइ नै "वार अन टेरर" को नाममा "ज्यादै असुरक्षित बनाउनुभएको छ साथै बिश्वभरी नै एउटा ठुलो अस्थिरता र आतंकवादलाइ फैलाउने काम गर्नु भएको छ। बुसको राजनीतिले पैदा गरेको आतंकवादले गर्दा नै अफगानिस्तान र इराकले हाल अस्थिरता र गृहयुद्ध झेल्नु परिरहेको छ" वहाँले उल्लेख गर्नु भएको थियो। 

दुर्भाग्यपूर्ण छ विश्वव्यापीरुपमा सेवामुक्त भइसकेका कामदारहरुको संख्या लाखौं पुगिसकेको छ। ८ डिसेम्वर २००८ को बेलायती अखवार टेलिग्राफका अनुसार चौतिस वर्षको अवधिमा अमेरिकामा पहिलो पटक नोभेम्वर २००८ को एक महिनाको अविधिमा मात्र पाँच लाख भन्दा अधिक मानिसहरुले रोजगारी गुमाएका छन्। यो रोजगारी कटौतीको क्रम बढदै गइरहेको छ। यो आलेख लेख्दै गर्दा १ जुन २००९ का दिन प्रेषित अमेरिकी न्युज एजेन्सी सीएनएनको पछिल्लो समाचार अनुसार अमेरिकी कम्पनी जेनरल मोटर्सले देशका नौवटा प्रान्तका चौधवटा कारखाना तथा तीनवटा गोदामहरु बन्द गरेको छ। त्यसबाट उसले एकैपटकमा आफ्ना बीस हजार कामदारहरु कटौतिको घोषणा गरेको छ। 

वास्तवमा यो मन्दीको सुरुवात पुँजीपतिका नामले कहलिएको अमेरिकाबाट भएको छ। यस मन्दीको चरम प्रभावको खाडलमा अमेरिका फसेको तथ्यबाट सायदै कोही अनभिज्ञ होला। तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुशको दोस्रो कार्यकालको अन्त्यतिर आर्थिक मन्दीको प्रतक्ष्य प्रभाव सतहमा छताछुल्ल हुन पुग्यो। अमेरिकाको इतिहासमा मात्र नभै विश्व इतिहासमा नै यो मन्दीले पुँजीवादी अर्थ व्यवस्थाको असफलतालाई स्पष्टरुपमा उजागर मात्र गरिदिएको छैन अपितु समृद्द र समुन्नत विश्वसमाजको निर्माण समाजवादको विकाशबाट मात्र सम्भव छ भन्ने तथ्यलाई स्पष्ट संकेत गरेको छ। 

वास्तवमा अमेरिकी जनताको जीवनस्तर दिन प्रतिदिन खस्कदै गएको यथार्थतालाई नयाँ परिवर्तन विना उकास्न सम्भव नभएको परिप्रेक्ष्यमा पहिलो अश्वेत व्यक्ति सिनेटर बाराक ओवामा डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिय निर्वाचनमा होमिएका थिए। उनले "परिवर्तन हाम्रो आवश्यकता" भन्ने नाराका साथ सन २००८ को नोभेम्वर महिनामा अमेरिकामा भएको राष्ट्रपतिय निर्वाचनमा इतिहासमा नै पहिलो अश्वेत व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन पुग्नु मुख्यतः उनले आत्मसात् गरेको जनताको परिवर्तनको आकांक्षा नै हो यसमा दुइमत नहोला। 

संसार दुइवटा विचारहरु को टकरावबाट अघि बढिरहेको छ। एउटा विचारले सम्पन्न पुँजीवादीको हित र संरक्षण गर्दछ भने अर्को विचारले असहाय गरीबहरुको हक अधिकारको हित र संरक्षण गर्दछ। पुँजीपतिको हितलाई सर्वोच्चता कायम गराउने विचारले गर्दा नै आज विश्वको जनसंख्या अधिकतम गरिबी असमानता र अन्यायबाट पिल्सीएको तथ्य जगजाहेर छ। तसर्थ विश्वमा बढदै गइरहेको गरिबी निवारण गर्ने उद्देश्यले अन्तरराष्ट्रियरुपमा विभिन्न स्वतन्त्र संस्थाहरु कार्यरत छन्। यसर्थ गरिबी निवारण असमानता तथा अन्यायको विरुद्ध संघर्ष गर्नु नै मानवीयताको वास्तविक उदाहरण हो।

आर्थिक मन्दीको कारण

मुख्यतः अमेरिकाले ईराक तथा अफगानिस्तानमा गरिरहेको युद्धहरुमा भएको अत्याधिक खर्च यसको पहिलो कारण बनेको देख्न सकिन्छ। युद्धमा गरेको अत्यधिक खर्चको प्रभावबाट उसको राष्ट्रिय अर्थतन्त्रमा पर्न आएको प्रतिकुल प्रभावले गर्दा देशको अर्थतन्त्र नै संकुचित बन्न पुगेको छ। जसले गर्दा देशका ठुला लगानीकर्ताहरु त्यस संकुचनको शिकार बन्न पुगेका छन्। जव ठुला लगानीकर्ताहरु संकुचनबाट प्रताडित बन्न पुगे तव उनिहरुले बैङ्कहरुको कर्जा फिर्ता गर्न असमर्थ भए। तसर्थ उनिहरुबाट अमेरिकाका अधिकाँश ठुला बैङ्कहरुले आ-आफ्नो लगानी उठाउन नसकेका कारण बैङ्कहरु चरम घाटा व्यहोर्न पुगे। अमेरिकाका अधिकाँश ठुला बैङ्कहरुमा अन्य देशका विभिन्न बैङ्कहरुको लगानी तथा हिस्सा रहेको छ। त्यसकारण अमेरिकाका बैङ्कहरुमा परेको प्रतक्ष्य प्रभावबाट अन्य देशका बैङ्कहरु अछुतो रहन नसक्ने अवस्थाका कारण यो समस्याबाट विश्वका अन्य बैङ्कहरुले समेत चर्को घाटाको सामना गर्नु पर् यो। यसको प्रभावबाट आइसलैण्ड बेलायत नेदरलैण्ड तथा लक्जेमबर्गका केहि बैङ्कहरु राष्ट्रियकरण समेत हुन पुगेको यथार्थता हाम्रो अगाडि ताजै छन्।

पुनर्जागरणको प्रयास

यस मन्दीको प्रभावबाट सुरक्षित भएर आगामी कार्य संचालन गर्नको लागि नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाराक ओबामा सरकारको २९ जनवरी २००९ का दिन अमेरिकी सीनेटबाट "इकोनोमिक स्टीमुलस प्लान" अन्तर्गत आठसय उन्नाइस बिलियन अमेरिकी डलरको सहयोग प्याकेज पास गर्यो। तर देशमा थप चुनौतिहरु देखा परिरहेका छन् साथै रोजगारी कटौतीको क्रम जारी छ। 

२ अपि्रल २००९ का दिन विश्वका ठुला अर्थतन्त्रको नामबाट परिचित जि २० देशहरुको सहभागितामा बेलायतको राजधानीमा लण्डन शिखर सम्मेलन सम्पन्न भयो। सम्मेलनमा सहभागी देशका नेताहरुले मन्दीबाट पुनर्जागरण प्राप्त गर्न थप रोजगारी सिर्जना गर्ने तथा आर्थिक प्रणालीप्रतिको विश्वास कायम राख्ने उद्देश्यको लागि १।१ ट्रीलियन अर्थात एघार हजार बिलियन अमेरिकी डलर प्याकेजमा सहमति गरेका छन्। तर रोजगारीहरु कटौतिको क्रम भने बढ्दै गएको समाचारहरुले आगामी दिनहरुमा सामाजिक अशान्ति बढ्ने प्रबल सम्भावनालाई टड्कारो देखाएको छ। 

पछिल्लो परिणाम अनुसार २००९ को पहिलो तीन महिनामा जापानको अर्थतन्त्र १५% ले गिरेको छ। यसले जापानको अर्थतन्त्रमाथि नराम्रो क्षति पुगेको अवस्थालाई सहजै देखाएको छ। त्यसै गरी पहिलो तीन महिनामा जर्मनीको अर्थतन्त्रमा ४ प्रतिशतले संकुचन आएको छ भने अमेरिकाको अर्थतन्त्रमा ४७ प्रतिशत तथा बेल्जियमको अर्थतन्त्रमा ३८ प्रतिशतले संकुचन आएको जानकारीहरु सार्वजनिक भएका छन्।

मन्दीको विरोधमा विशाल प्रदर्शनहरु

२५ नोभेम्वर २००८ का दिन अन्तरराष्ट्रिय मजदुर संगठनले प्रेषित गरेको प्रेस बिज्ञप्तिका अनुसार विश्व आर्थिक मन्दीका कारण सन २००९ मा विश्वभरिका करोडौ मजदुरहरुको तलवमा दयनीय किसीमबाट कटौति हुने विषयलाई स्पष्ट गरेको थियो।

एसोसिएटेड प्रेसका अनुसार जि २० देशहरुको लण्डन शिखर सम्मेलन पूर्व २८ मार्च २००९ का दिन एकसय पचास संस्थाहरुको आयोजनामा दशौं हजार मानिसहरुले रोजगारी आर्थिक न्याय तथा वातावरणीय स्वच्छताको माग राख्दै लण्डनको केन्द्रमा भव्य प्रदर्शन गरे। 

बेलायतमा यो एक वर्षमा बीस लाख मानिसहरु बेरोजगार भएका छन् तथा घरहरुको मुल्य ११% ले तल झरेको छ। प्रदर्शनकारीहरुले प्रमुखताका साथ "जनतालाई पहिलो प्राथमिकता" भन्ने मुख्य नारा लगाएका थिए। त्यसै गरी "बैङ्कहरुबाट उत्पन्न संकटको समाधान गर्न हाम्रो तलवबाट कटौति गर्ने कुरा स्वीकार्य छैन रोजगारी सिर्जना गर बम होइन" जस्ता नाराहरुले राजधानी लण्डनको प्रमुख केन्द्र गुँजायमान भएको थियो। सोही दिन सोही उद्देश्यले जर्मनीको राजधानी बर्लिनमा दशहजार तथा जर्मनीको बैङ्किङ राजधानी फ्र्याङ्कफोर्टमा हजार भन्दा बढी मानिसहरुले "जनतालाई पहिलो प्राथमिकता" जस्ता उहि नाराहरु लगाउदै भव्य प्रदर्शन गरे। उनिहरुले "मन्दीको सिर्जना गर्नेले समाधान आफैले गर्नुपर्छ" तथा "पुँजीवादलाई इतिहास कायम गर" भन्ने लेखिएका रीवनहरु टाउकोमा बाधेका र व्यानर प्लेकार्डहरु हातमा लिएर विरोध प्रदर्शन गरेका थिए। 

त्यसपछि मन्दीको विरोधमा युरोपभरिका मजदुर संगठनहरुको सक्रियतामा सन् २००९ मे महिनाको १५१६ र १७ का दिन मुख्य युरोपीयन राजधानीहरु बर्लिन ब्रुसेल्स म्याडि्रड तथा प्राग लगायत विभिन्न सहरहरुमा तीनलाख पचास हजार भन्दा माथि मानिसहरुले "जनतालाई पहिलो प्राथमिकता" तथा "कामदारहरुले मन्दीको संकटलाई तिर्नुपर्दैन" भन्ने नाराहरु लगाउदै विशाल प्रदर्शन गरे। बर्लिनमा एकलाख म्याडि्रडमा पचासहजार प्रागमा बीस हजार ब्रुसेल्समा पचास हजार बुखारेष्टमा दश हजार र लण्डनमा दुई लाख मानिसहरुले प्रदर्शन गरेका समाचारहरु सार्वजनिक भएका छन्। सोही क्रममा बर्लिनमा भएको एकलाख मानिसको भेलालाई जर्मनीका सोसियल डेमोक्रेट्सका अधक्ष्य फ्रान्स म्युन्टेफेरिङले आफ्नो सम्वोधनका क्रममा भने - सोसियल डेमोक्रेट्स तथा कि्रश्चियन डेमोक्रेट्सकको गठबन्धन जर्मनी सरकारको "स्टीमुलस प्लान" अन्तर्गत एकासी बिलीयन युरोको प्रतिवद्धतालाई रद्दीको टोकरीमा फ्याँकिदेउ त्यसको विपरित यो अवसरलाई पुँजीवादी प्रणालीउपरको विरोधलाई तेज बनाउन प्रयास गरौं। वहाँले थप्नुभयो हामी यहाँ अन्तरराष्ट्रिय अर्थिक पुँजीवादको विरोधका लागि भेला भएका छौं साथै यस घडीमा सबैले हाम्रो रोजगारीको संरक्षण गर्नुपर्छ र हामी गर्न सक्छौं। वहाँको यस भनाईको तात्पर्यले यो आर्थिक मन्दीको कारण पुँजीवादी प्रणाली भएको तथ्यलाई थप स्पष्ट गरेको छ।

समाजवादको लोकप्रियता

आज विश्वमा देखिएको मन्दीको कारण उत्पन्न गम्भीर कहालीलाग्दो समस्याले पुँजीवादी प्रणालीलाई फिक्का सावित गरिदिएको आजको यथार्थता हो। पुँजीवादी प्रणालीमा समाज विकाशको क्रम अवरुद्ध भै त्यो व्यक्ति विकाशमा सिमीत हुने हुनाले गर्दा थोरै व्यक्ति लाभान्वित हुने तर अधिकाँश गरिबीको दलदलमा फस्न पुग्ने वास्तविकता अव गर्भमा रहेको विषय भएन। युरोपेली विकशित देशहरुमा समाजवादी व्यवस्था हुदै मार्क्सवादको सिद्धान्तका आधारमा विकाशको मार्गमा लम्कदै गर्दा व्यक्तिगत स्वतन्त्रता तथा निजीकरणलाई प्राथमिकता दिनु बाँछनिय देख्ने प्रवृतिको विकाश संगै समाजवादको उपयोगिता ओझेलमा पर्न गएको थियो। तर आजको विश्वले पुँजीवादी प्रणालीको प्रयोगबाट मानवीय हित सम्भव रहेनछ भन्ने तथ्यलाई फेरि उजागर गरिदिएको छ। 

हाल देखा परेको विश्व आर्थिक मन्दीको असर देखिनु पूर्व नै समाजवादको विकाश विना मानव कल्याण सम्भव छैन् भन्ने तथ्यलाई आत्मसात् गर्दै ल्याटिन अमेरिकी देशहरु समाजवादको मार्गमा अघि बढिरहेका छन्। जननिर्वाचित हुँदै आज विश्वकै ध्यानाकर्षण गर्दै ल्याटिन अमेरिकी देशहरु ब्राजिल बोलिभिया भेनेजुयला निकारागुआ इक्वेडोर तथा सन् २००९ मार्चमा इल साल्भाडोर सत्तामा आएको प्रसङ्ग ताजै छन्। साथै ल्याटिन अमेरिकी देशहरुमा मात्र होइन युरोपेली देशहरु फ्रान्स नेदरलैण्ड तथा बेल्जियममा पनि वामपन्थीहरु निर्वाचनबाट सत्तामा आउने क्रम बढदै गइरहेको छ। सन् २००७ फेब्रुअरीको निर्वाचनमा नेदरलैण्डको वामपन्थी पार्टी पीभिडीएले राम्रो सफलता प्राप्त गरि गठबन्धन सरकारमा आफ्नो बलियो स्थान कायम गरेको छ। जसअनुसार उपप्रधानमन्त्री सहित ६ मन्त्री तथा ६ स्टेट् सेक्रेटरी सरकारमा सामेल छन्। त्यसैगरि सन् २००८ मार्चमा भएको निर्वाचनमा फ्रान्सको समाजवादी पार्टी पिएसले राजधानी पेरिसलगायत सात अन्य ठुला शहरहरुमा मेयरलगायत नगर पार्षदहरुको निर्वाचनमा ठुलो विजय हासिल गरेको छ। निर्वाचन परिणामअनुसार १८३ नगर तथा महानगरपालिकाहरु समाजवादी गठवन्धनले हात पारेका छन् भने १२४ नगर तथा महानगरपालिकाहरु दक्षिणपन्थी गठवन्धनको हातमा पुगेको छ। राजधानी शहर पेरिस पुनः वामपन्थीहरुको कब्जामा गएको छ। त्यहाको २० वडाहरुमध्ये १२ वडाहरुमा वामपन्थीले जितेका छन्। 

बेल्जियममा पनि वामपन्थी पार्टीहरुको आकार फराकिलो बन्दै गइरहेको छ। समाजवादी पार्टी वालोनले सन् २००७ जुन १०मा भएको संसदको निर्वाचनमा कूल १५० स्थानमा २० स्थान हासिल गर् यो भने समाजवादी पार्टी भ्लान्दर १४ स्थानमा विजयी भएको थियो। तर वामपन्थी पार्टी पीभिडीएले भने सन् २००० मा भएको स्थानीय निर्वाचनमा पहिलो पटक भाग लिएको थियो। त्यस निर्वाचनमा उसले पाँच नगर पार्षदको सीट मा विजय हासिल गरेको थियो। त्यसपछि सन् २००६ मा भएको स्थानीय निर्वाचनमा उसले १५ नगर तथा जिल्ला पार्षदको सीटमा विजय प्राप्त गर्यो। अहिले सन् २००९मा भइरहेको युरोपेली संसद तथा फ्लेमीस संसदको निर्वाचनको क्रमसम्म आइपुग्दा यो पार्टीमा ६० जना मेडिकल डाक्टरहरु प्राध्यापकहरु तथा ३० भन्दा बढी कानुनविद्हरु सहित करिव ४००० पार्टी सदस्यहरु छन्। वर्तमान बेल्जियमका प्रधानमन्त्री हेर्मान भान रोम्पीको एक मात्र बहिनी टीने भान रोम्पी तथा पार्टी अधक्ष्य पिटर मेर्टेन्स् लगायत २१ जना युरोपेली संसदका लागि उम्मेदवार छन्। उम्मेदवार घोषणा भए लगत्तै पार्टी अधक्ष्य मेर्टेन्स् तथा भान रोम्पी बेल्जियमका संचार माध्यमहरु तथा मिडियाहरुका आकर्षणका केन्द्र नै बनेका छन्। 

करिव एक वर्षदेखी बेल्जियममा वामपन्थीहरुको प्रभाव फैलदै गएको छ। निर्वाचन पूर्व देखी नै वामपन्थी पार्टी पीभिडीएले "राजनीतिक सर्कस बन्द गर" भन्ने नारा अनुसार नाकमा रातो कभर लगाउने तथा सर्कस खेलाडीको पहिरन लगाएर विरोध गर्ने शैली अपनाउदै गरेको छ। युरोपेली संसद निर्वाचनको संघारमा एक अमेरिकी संचार माध्यम च्यानल वानले वामपन्थी पार्टीप्रति जनताको आस्था बढ्दै गएको अनुभवले गर्दा करिव तीनजनामध्ये एकले सो विरोधको शैलीलाई ग्रहण गरेको वास्तविकतालाई बेल्जियममा नयाँ प्रकारको महामारी फैलियो भनेर ब्रेकिङ्ग समाचार सम्प्रेषण गर् यो। वास्तवमा यो अति हास्यास्पद छ। यहाँ अर्को विषयलाई पनि उल्लेख गर्नु सान्दर्भिक देखिन्छ राजनीतिक विवाद र अन्योलताको चरम उत्कर्षका क्रममा नेपालमा भर्खरै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री बने लगत्तै अमेरिकी संचार माध्यम सिएनएनले "पूर्व कम्युनिष्ट नेता नेपालको नयाँ प्रधानमन्त्री" भन्ने शिर्षकमा समाचार सम्प्रेषण गर्यो। यी दुबै भ्रामक समाचारहरुले अमेरिका विश्वमा वामपन्थीहरुको प्रभाव बढदै गएकोमा अत्तालिएको प्रतित भएको पुष्टी गरेको छ। 

उता एसियाली देश नेपालमा दशवर्षे जनयुद्धबाट विकशित १९ दिने जनआन्दोलन-२ मार्फत सन् २००८ अप्रील १० मा भएको संविधानसभा निर्वाचनबाट नेकपा माओवादी संविधानसभामा सबैभन्दा ठुलो दलको रुपमा स्थापित भएको छ साथै सरकारको नेतृत्व समेत गरिसकेको प्रसङ्ग ताजै छ। त्यसपश्चात मंगोलियामा पनि सन् २००८ जुनमा भएको निर्वाचनबाट वामपन्थी दल सत्तामा आएको छ। मंगोलियाई जनक्रान्तिकारी पार्टी एमपिआरपिले निर्वाचनमा बहुमत हासिल गरेको छ। संसदमा भएको जम्मा ७६ स्थानमा ४१ भन्दा बढी स्थानमा एमपिआरपि विजयी भएको छ भने प्रतिद्धन्द्धी दक्षिणपन्थी डेमोक्रॆटिक पार्टीले २१ स्थान मात्र हात पारेको छ। अर्कोतर्फ बिज्ञान र प्रविधिमा अग्रस्थान तथा आर्थिक सम्पन्नताले परिचित जापानमा पनि संसदमा चौथो स्थानमा रहेको कम्युनिष्ट पार्टी आर्थिक मन्दीसंगै निकै लोकप्रिय बन्दै गइरहेको छ। यसका चौबिस हजार शाखा कार्यालयहरु छन् र दशलाख भन्दा धेरै जनताले पार्टीको बुलेटीन अध्ययन गर्दछन भन्ने समाचारहरु प्रकाशमा आएका छन्। जापान कम्युनिष्ट पार्टीका नेता काजु शीले विश्व अर्थतन्त्र धराशायी बन्दै गएको अवस्थाले पुँजीवादको अन्त्य निकट भएको उल्लेख गरेका छन्। 

अन्ततः यी माथि उल्लेखित विषयवस्तुहरुले आज मानव समाजको विकाशको लागि समाजवादी ब्यवस्था असफल छ भन्ने सोचको प्रतिवाद मात्र गरेको छैन अपितु समाजवादको उत्कृष्टतालाई प्रदर्शन समेत गरेको छ। समाजवादको लहर विश्वमा नयाँ शिराबाट पुनः चल्न थालेको यथार्थता मानव सभ्यताको लागि आजको आवश्यकता हो।
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)