HongKongNepali.com, The Next Media

Thursday
Feb 09th
Home विचार / दृष्टिकोण चिन्ता गणतन्त्र संस्थागतको

चिन्ता गणतन्त्र संस्थागतको

E-mail Print PDF
AddThis Social Bookmark Button
मनोज घर्तीमगर

प्रथम गणतन्त्र दिवसको ३ दिन अगाडि अर्थात जेठ १२ गते। नेपाली भूमिको आकाशमा विहानैदेखि कालो बादल मडारिरहेको छ र सिमसिमे झरी पर्दैछ।

अलि साँझपख भएपछि काठमाडौंको मुटु रत्नपार्कको आकाशमा बादल फाटेको छ र त्यस वरिपरी सिमसिमे पानी पनि रोकिएको छ। पानी छल्न रुखको छहारीतिर लागेका धादिङबेसीका प्रेमबहादुर श्रेष्ठ दम्पत्ति फर्केर मकै पोल्दै र बेच्दैछन्। साँझको समय भएर होला उनको मकैको भाँडो रित्तिदै छ आगो पनि विस्तारै निभ्दैछ।

"निपर्सी त गणतन्त्र घोषणा भएको दिन पो हो त नि !" श्रेष्ठ मकै पोल्दै भन्दै हुनुहुन्थ्यो। "ओहो त्यो बेला गणतन्त्र आएको खुसीमा मध्यराति सडकमा निस्किएका थियौं" उहाँले एकवर्ष अगाडि फर्किए र कालिमाटिस्थित आफ्नो डेरामा सुत्न लाग्दा एफएम रेडियोमार्फट देशमा गणतन्त्र आएको खबर सुनेपछि नसुतेर खुसि मनाउन मध्यरातमै सडकमा निस्किएको पल सम्झिनुभयो। "त्यसको भोलीपल्ट त रमाइलोले गर्दा कामै नगरेको नि !" २३ वर्षदेखि रत्नपार्क वरिपरी व्यापार गर्दै आएको श्रेष्ठ दम्पत्तिले गणतन्त्र घोषणा भएको भोलीपल्ट २०६५ जेठ १६ गते व्यापारलाई पनि थन्काईदिएको थियो।

नेपालमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र आएको १ वर्ष विति सक्यो। तर श्रेष्ठ दम्पत्तिलाई गणतन्त्र आएनआएको फरक भएन। उहाँको अनुहारमा गणतन्त्रले छाउनुपर्ने खुसिपन पनि देखिदैनन्। "हामीले सोचेजस्तो भएन" श्रेष्ठका गणतन्त्र ल्याउनका लागि आन्दोलन गर्दाका सपना उस्तै छन्। "जेहोस् सुखमन बाँच्न पाइएको छ। कतिखेर मर्ने हो भन्ने डर हटेको छ" गणतन्त्र आएपछि मर्ने डर हटेको उहाँको सबैभन्दा ठूलो खुसी हो।

यो श्रेष्ठ दम्पत्ति जस्तै २०६५ जेठ १५ गते राति संविधानसभा हल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरबाट २३८ वर्षदेखि नेपालका राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र नेपाल घोषणा गर्दा देश र विदेशमा रहेका नेपाली खुसी भएका थिए। जताततै विजय जुलुस र् याली सभा गरिएका थिए। र मनभरी ठूलाठूला आशा उनेका थिए सबै नेपालीले। तर अहिले चिन्ता गणतन्त्र नेपाली जनताको गणतन्त्रको रुपमा कसरी संस्थागत गर्ने भन्नेमा ह्वाट्टै बढेको छ।

श्रेष्ठ दम्पत्तिको नजिकै दोलखाका अमृत खड्का मम बेच्दै हुनुहुन्छ। उहाँलाई गणतन्त्र दिवस कहिले हो त्यो भने पत्तो छैन। "हामीलाई जो आए गए पनि उस्तै नि हजुर" गणतन्त्रपछि पनि उहाँको निराश मनहरु फर्किएका छैनन्। गणतन्त्र आए त केहीं होला भन्ने आश खड्काका मनमा नभएका भने होइनन्। "तर केके न होला जस्तो भने लागेको थिएन।"

शङ्कर कार्की खड्काका साला। पेन्टिङ पेशा गर्ने दोलखाली शङ्कर भिनाजुलाई भेट्न त्यही आउनुभएको छ। उहाँ अलि फरक दृष्टिकोण व्यक्त गर्नुहुन्छ। "हामीले भनेस्तो गणतन्त्र अझै नआएर यस्तो भएको होला नि !" उहाँले जनगणतन्त्र आएपछि मात्रै आफूहरुजस्तो गरीब दुखीले सुख पाउने भनाई राख्नुभयो। "देश र जनताका लागि केही गर्छौ भन्नेलाई गर्न दिइन्न यहाँ। केको हामीलाई परिवर्तनको अनुभूति होस्।" कतिपय राजनीतिक दलप्रति उहाँलाई अतिनै रीस उठ्छ।

गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिले पछिल्लो समय देखाएका सक्रियता र त्यसको विरुद्धमा तातिएको सडकलाई खड्का नजिकैबाटै नियाल्दै हुनुहुन्छ। "भर्खर एकवर्ष भएको गणतन्त्र पनि के हुने हो के भन्न सकिन्न" राष्ट्रपतिले अनावश्यक काम गरेर गणतन्त्र मास्न लागेको उहाँका गुनासा छन्।

गणतन्त्र आएपछि अरु सोचेको नपुगे पनि मर्ने डरबाट मुक्त भएको बताउनुहुने धादिङबेसीका श्रेष्ठ दम्पत्ति जस्तो सुकै शासन आए पनि उस्तै ठान्नुहुने दोलखाली खड्का र जनगणतन्त्र नआएकोले आफूहरुले परिवर्तनको आभाष पाउन नसकेको बताउनुहुने दोलखाकै कार्की तिनै जना मजदुर हुनुहुन्छ। यी तीनै जनालाई गणतन्त्र दिवस कसरी मनाउने भन्ने न कुनै योजना छ न सरकारले कसरी मनाउन थालेको छ भन्ने नै थाहा। बरु छ त यहीं बेलाको सरकार ढाल्ने र बनाउने खेलले भर्खरै आएको गणतन्त्र कतै मासिने होकी भन्ने चिन्ता।

"संवैधानिक राष्ट्रपतिले अपराधी कटवाललाई कारबाही गर्ने जननिर्वाचित सरकारको निर्णयलाई उल्टाउँदा हामीलाई गणतन्त्रमाथि ठूलो चिन्ता छ" कार्की झस्किनुभएको छ गणतन्त्र राष्ट्रपतिलेनै मास्ने हुन् की भनेर। उहाँ भन्नुहुन्छ "फेरी राष्ट्रपति पनि राजाजस्तै बने पछि त गणतन्त्र आएको के अर्थ रह्यो र।"

माओवादी नेतृत्वको सरकारले नारायणहिटीभित्र निर्माण गर्न थालेको गणतन्त्र स्मारकलाई माधव सरकारले रत्नपार्कमा सार्न थाल्दा झनै चिन्तित छन् यी मदजुरहरु। कार्कीले भन्नुभयो "नारायणहिटिमा गणतन्त्र स्मारक बनाएपछि कम्तिमा नारायणहिटिमा गणतन्त्र आएको झल्को हुन्थ्यो। रत्नपार्कमा सारेर फेरी नारायणहिटिमा राजा फर्काउने हुन् की भन्ने डर लागेको छ।"

नेपालमा गणतन्त्र र जनताको शासनका स्थापनाका लागि दसवर्षे जनयुद्धमा होमि‌दा राज्यबाट बेपत्ता पारिएका नागरिकका आफन्तजनका मन विस्तारै निराशातिर जाँदैछन्। गणतन्त्र आउँदा गर्वले छाती फुलाएका ती आफन्तजन राष्ट्रपतिका असंवैधानिक कदम संसदवादी दलका सरकार ढाल्ने र बनाउने खेलले निराशातिर धकेलिरहेको छ। "गणतन्त्र आयो पनि आएन पनि !" दुई बेपत्ता छोराकी आमा चन्द्रकुमारी बस्नेत आफु अलमलमा भएको बताउनुहुन्छ।

गणतन्त्र आउँदा चन्द्रकुमारीलगायत बेपत्ताका आफन्तजनहरु बेपत्ता पारिएकाको नागरिक सार्वजनिक हुने आशामा थिए। "सरकारले गर्न नखोजेको होइन तर बेपत्ता पार्नेहरुले त्यसलाई रोके" माओवादी नेतृत्वको सरकारले बेपत्ता खोज्नका लागि आयोग बनाउँदा बेपत्ता पार्ने काङ्ग्रेस एमालेले त्यसलाई अवरोध गरेको उहाँको बताउनुहुन्छ। गणतन्त्र संस्थागत नभएको बताउनुहुने बस्नेत माधव नेतृत्वको सरकाले संस्थागत गर्नेमा रत्तिभर पनि विश्वास गर्नुहुन्न। उहाँलाई माधवले बेपत्ता खोज्नेमा पनि भरोसा छैन। "तिनै माधव नेपाल बेपत्ता बनाउका लागि पहिले सि‌हदरबार छिरेका हुन्। यिनलाई हाम्रो पटक्कै विश्वास छैन" बस्नेत भन्नुहुन्छ।

गणतन्त्र स्थापनाले नेपाली जनताको ठूलो विजय भएको बताउनुहुँने जनयुद्धका सहिद तेजमान घर्ती "दिर्घ" का छोरा अजय यत्तिको व्यवस्थाका लागि बाबाहरुले वलिदान नगरेको बताउँनुहुन्छ। "नेपाली जनता र सहिद परिवारको इच्छा त पूरा भएको छैन। तर पनि माओवादी नेतृत्वमा सरकारहुँदासम्म धेरै काम भएका छन्। त्यसले केहीं राहत महसुस गराएको छ।" नेपाली इतिहासमै माओवादी नेतृत्वको सरकारले धेरै जनपक्षीय काम गरेको उहाँ बताउनुहुन्छ।

अहिलेको गणतन्त्रलाई शिशु अवस्थाको भन्नुहुने अजय राष्ट्रपति रामवरण यादवका कदमले शिशु अवस्थाको गणतन्त्रलाई हत्या गर्न खोजको बताउनुहुन्छ। सहिद परिवार अजय माधव नेतृत्वको सरकारले गणतन्त्रलाई वास्तविक नेपाली जनताको गणतन्त्रमा संस्थागत गर्न नसक्ने निष्कर्षमा हुनुहुन्छ। "यसले जनयुद्ध र जनआन्दोलनको लक्ष्यलाई संवोधन गर्न सक्दैन" उहाँ भन्नुहुन्छ "किनकी यो जनअनुमोदित सरकारनै होईन।"

गणतन्त्रले नेपाली महिलालाई राजनीतिक आर्थिक सामाजिक साँस्कृतिक क्षेत्रमा आंशिक रुपान्तरण गरेको ठम्याई छ अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष जयपुरी घर्तीको। "राजनीतिक उद्देश्यको हिसाबले यो असाध्यै ठूलो उपलब्धी हो। तर पनि वास्तविक नेपाली जनताको गणतन्त्र भने नआएको पक्कै हो" एकीकृत नेकपा माओवादी संविधानसभा दलकी सचेतकसमेत रहनुभएकी नेतृ घर्तीले भन्नुभयो "हामी यसलाई सुदृढिकरण गर्नमा लागेका छौं।"

राष्ट्रपतिको कदम नसच्चिएसम्म गणतन्त्र धरापमा पर्ने बताउनुहुने घर्तीले वास्तविक गणतन्त्रका लागि सङ्घर्ष बाँकीरहेको बताउनुभयो। "राष्ट्रपतिको कदमको विरुद्धमा देशव्यापी आन्दोलनको तयारीमा छौं।"

आदिवासी जनजातिहरु सङ्घीय गणतन्त्रात्मक राज्य नबनेसम्म गणतन्त्र संस्थागत हुन नसक्ने बताउँछन्। "गणतन्त्र आएको १ वर्ष भयो संस्थागत हुने प्रकृयामा त छ तर सङ्घीय राज्य नबनेसम्म वास्तविक गणतन्त्र बन्दैन" आदिवासी जनजाति महासङ्घका महासचिव रामबहादुर थापामगर भन्नुहुन्छ "बरु गणतन्त्र मास्ने षड्यन्त्र पनि सुरु भएका छन्।" गणतन्त्रमा पिपुल्स पावर हुने बताउने थापामगर अहिलेको राष्ट्रपतिको कदमलाई शिशु गणतन्त्र मास्ने खेल भन्नुहुन्छ। गणतन्त्र आएको एक वर्ष भए पनि गाउँमा गणतन्त्र पुग्न नसकेका थापाका अनुभूति छन्।

यस्तै छन् मानवअधिकारकर्मीहरुको पनि गणतन्त्रको एकवर्षे अनुभूति। मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियानका अध्यक्ष विष्णुपुकार श्रेष्ठ भन्नुहुन्छ "गणतन्त्र त आयो तर संस्थागत हुन सकेन।" राजनीतिक दलहरु नयाँ संविधानमार्फत संघात्मक शासन प्रणाली बनाएर नेपाली गणतन्त्रलाई मूर्तरुप दिनतिरभन्दा पनि सत्ताको लुछाचुँडीमा लागेको देखेर यी मानवअधिकारवादी नेता दुःखित हुनुहुन्छ।

राष्ट्रपतिको कदमले गणतन्त्रलाई संस्थागत गर्नमा ठूलो चुनौती थपिएको श्रेष्ठको निष्कर्ष छ। "यसले निकै ठूलो प्रभाव पारेको छ। आउने दिनमा यसले विभिन्न पक्षमा चुनौती थपिदिएको छ।"

रोल्पा थबाङका जनयुद्धका अपाङ्ग लपबहादुर रोका "स्याउला" सोंचेको जस्तो गणतन्त्र आइनसकेको बताउनुहुन्छ। तर उहाँको आशा छ "त्यो केही समयपछि अवश्य आउँछ होला।" अहिलेको गणतन्त्रलाई वास्तविक नेपाली जनगणतन्त्र नमान्ने स्याउला वास्तविक गणतन्त्रका लागि सङ्घर्षको आवश्यकताको कुरो गर्नुहुन्छ। "हाम्रा बाँकी अङ्ग वलिदान गरेर भए पनि वास्तविक गणतन्त्र ल्याउने छौं" उहाँको प्रण छ।

मजदुर सहिद परिवार घाइते बेपत्ताका आफन्त मानवअधिकारकर्मी जनजाति नेताहरुका वास्तविक गणतन्त्र संस्थागत नभइसकेकोमा तत्कालीन सामान्य प्रशासनमन्त्री तथा एकीकृत नेकपा माओवादीकी पोलिटव्यूरो सदस्य पम्फा भुषाल सहमत हुनुहुन्छ। "राजतन्त्र नै फर्केर त आउँदैन तर राजतन्त्र जस्तै निरङ्कुश तरिकाले हुकुमी शैलीमा लोकतन्त्रमाथि निरङ्कुशता लाद्ने तन्त्रको सम्भावना अझै छ" नेतॄ भुषालले भन्नुभयो। राजनीतिक हिसाबले गणतन्त्र संस्थागत हुनुमा ठूलो ठूलो उपलब्धी ठान्नुहुन्छ उहाँ। उहाँले भन्नुभयो "तर न्याय सुरक्षा कर्मचारीतन्त्रमा सामन्तवादको पूर्ण अन्त्य नभएसम्म नेपाली जनताको वास्तविक गणतन्त्र स्थापना हुँदैन।"

माओवादी नेतृत्वको सरकारले नेपाली जनता र राष्ट्रका लागि महत्वपूर्ण काम गरेको बताउनुहुने नेतृ भुषालले वास्तविक नेपाली जनताको गणतन्त्रको स्थापनापछिमात्रै आमूल परिवर्तन हुने बताउनुहुन्छ। वास्तविक जनताको गणतन्त्र ुजनगणतन्त्रु ल्याउनका लागि सङ्घर्ष बाँकी रहेको उहाँ बताउनुहुन्छ। "थप सङ्घर्षबाट मात्र जनगणतन्त्रलाई स्थायित्व गर्न सक्छौं" नेतृ भुषालले भन्नुभयो।

अन्ततः मजदुरहरु श्रेष्ठ खड्का र कार्की बेपत्ताका आफन्त बस्नेत महिला नेतृ घर्ती जनजाति नेता थापा सहिद परिवार अजय मानवअधिकारकर्मी नेता श्रेष्ठ घाइते स्याउला र नेतृ भुषालका सार चिन्ता देखियो "यो गणतन्त्र कसरी नेपाली जनताको गणतन्त्र बन्न सक्छ ?"
 

Add your comment

Your name:
Subject:
Comment:
Banner

Latest Entries

मगर सँघ हङकङको माघे सक्रान्ती २०१२

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

Music Archive : सालैजो

Music Archive - Na Birse Timilai (Anju Panta)

Nepali Pop Song : छम छम तिमीले पाउजु बजाउँदा

free counters

(Since April 2009)