२०११ मे ९, तेह्रथुम। आठराईकी १७ वर्षीया देवीमाया गौतमको सपना थियो, उच्च शिक्षा लिने। बाबुआमाले कुलघरानको केटो भएकाले राम्रो हुन्छ भनेर करकापमा बिहे भयो। उनले सर्त पनि राखेकी थिइन्, बिहेपछि पढाउनुपर्छ। विवाह भएको दुई दिनमै उनका पतिले हातै काटिदिए।
एक वर्षअघि बिहे गरेकी देवीमाया अहिले इन्द्रपुरस्थित जिता अपांग आश्रममा बस्छिन्। 'गाउँका दाइको विश्वासमा बाबुआमा पर्नुभयो,' उनले भनिन्, 'बिहे गरेर ल्याएको दुई दिनमै सुतिरहेका बेला मार्नलाई हात काटियो। रोइकराई गरेपछि गाउँले बचाए।' बिहेको चाँजोपाँजो स्थानीय बलराम ओझाले मिलाएका थिए। हात काटिदिने उनका पति मोरङ, पथरीका टंक खड्का फरार छन्। गाउँलेले चन्दा संकलन गरी उनको उपचार गरिदिए। 'जे हुनु भयो,' उनले भनिन्, 'अब कक्षा ९ मा भर्ना भएर पढ्ने सोचमा छु।
भारत घुम्न जानका लागि पटक–पटक राखेको प्रस्ताव अस्वीकार गरेपछि हात काटिएको उनले बताइन्। 'मलाई भारतमा लगेर बेच्ने दाउ रहेछ। मैले मानिनँ,' उनले भनिन्। मोरङ्का प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीले दोषीलाई कारबाही हुनुपर्ने बताए पनि थप जानकारी नभएको बताए।

















